Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

नेपालमण्डलको ‘सबाल्टर्न’ मुटु

August 31, 2017 by admin

हिमाल खबरपत्रिका (११-१७ भदौ, २०७४) बाट

एक–एक पाठकले आफूभित्र नियाल्न जरुरी छ, किन काष्ठमण्डपतर्फ ध्यान गएन ?

काष्ठमण्डप भत्कियो, भूकम्पबाट । अढाइ वर्ष भइसक्यो, पुनःनिर्माण अड्किएको छ । यो राष्ट्रिय लज्जाको विषय हो । उत्तिकै लज्जास्पद विषय हो, चर्चाको विषय नबन्नु यो ढिलाइ । मिडियाले नउठाए पनि स्वस्फूर्त जनचासो बन्नुपर्ने हो काष्ठमण्डप पुनःनिर्माण, तर हामी इतिहास तथा संस्कृति संरक्षणमा ध्यान नदिने जमातमा परिणत भइसकेका छौं ।

जिम्मेवार निकायको कमि–कमजोरीबारे टीकाटिप्पणी गर्न उफ्री उफ्री लाग्छौं, तर सम्पदाको विषयमा आफैंभित्र नियालौं– अढाइ वर्षमा पनि काष्ठमण्डप पुनःनिर्माण नहुँदा मलाई किन छोएन ?

१२ वैशाख २०७२ मा काष्ठमण्डप अथवा मरुसत्तल ढल्दा मर्माहत भएकी थिइन् नेपाली प्राचीन कला र संस्कृतिकी ज्ञाता मेरी स्लसर, जसको गतहप्ता अमेरिकाको राजधानी वाशिङ्गटन डीसीमा ९९ वर्षको उमेरमा निधन भयो । उनको बुझाइ थियो, त्यो मरुमा रहेको सत्तल मन्दिर या पीठ नभई एउटा ठूलो पाटीको रुपमा निर्माण भयो करीब १३०० वर्ष अगाडि । धेरै पछि मात्र गोरखपन्थीले यसको एक भागमा अखडा जमाए ।

१५० वर्ष भन्दाअघि राजमानसिंह चित्रकारले कोरेको काष्ठमण्डपको चित्र ।

यो उपत्यका भित्र र बाहिरका भरिया, बटुवा, व्यापारी र यात्रुले आश्रय लिने थलो थियो, दक्षिण–उत्तर व्यापार मार्गको दोबाटोमा । छेवैमा पानीको स्रोत (आजको मरुहिटी) भएकाले पनि यात्रुहरुको लागि यो स्थान पायक पर्न गयो । पछि काष्ठमण्डपलाई केन्द्रविन्दु बनाउँदै, दक्षिणतर्फको यङ्गल र उत्तरतर्फको यंवु जोडिंदै गएर काष्ठमण्डप ‘सिटीस्टेट’ उत्पन्न भयो– हाम्रो काठमाण्डू ।

मेरी स्लसरले (स्व.) शुक्रसागर श्रेष्ठ, काशीनाथ टमोट जस्ता पुरातात्विक विद्वान् तथा नेपालमा चासो राख्ने पश्चिमा विज्ञहरूसँग ६ दशकसम्म सम्पर्कमा बसेर उपत्यकाबारे शोध, लेखन र प्रकाशन गरिन् । सन् १९८२ मा ‘नेपालमण्डल’ कृति दुई भोलुममा निकालिन् । र त्यसअघि विज्ञ गौतमवज्र बज्राचार्यसँग मिलेर काष्ठमण्डपकै कृति प्रकाशित भएको थियो सन् १९७४ मा ।

२०७२ वैशाखमा भुईंचालो गएपश्चात् उनले एक मित्रलाई लेखिन्– ‘कस्तो विडम्बना ! सबैको ध्यान दरबार स्क्वायरहरूमा छ, जबकि नेपालको सबभन्दा महत्वपूर्ण इमारत त काष्ठमण्डप हो ।’

हो, पाटीको रुपमा सबैको आश्रयस्थल भएकोले काष्ठमण्डप त्यस्तो चम्किलो भवन होइन; न थियो यो मन्दिर या दरबार । राजारजौटा अथवा देवदेवीको नभई यो जनमानसको थलो थियो– सुस्ताउने, भजन गर्ने, स–सानो व्यापार गर्ने, अड्डा जमाउने ठाउँ ।

धरहराले नेपालवासीलाई राजधानी उपत्यका चिनायो । सिंहदरबारको ‘फसाड’ ले जनतालाई नेपाल राज्य जनायो । काष्ठमण्डपले ऐतिहासिक कालसँग वर्तमानलाई बाँध्यो, नेपालीजनमा राजकीय वा विभेदकारी नभई सांस्कृतिक निरन्तरताको सन्देश दियो । जसरी सुमेरु पर्वत ब्रह्माण्डको केन्द्रविन्दु मानिन्थ्यो, त्यसैगरी काष्ठमण्डप, नेपालमण्डल काठमाडौं उपत्यकाको मुटु बन्न पुग्यो ।

नेपालमण्डलबाट नेपाल उत्पत्ति भयो । र आज भन्नै पर्दछ, काष्ठमण्डप नेपाल राष्ट्रको मुटु हो । यत्ति पनि थपौं कि काठमाडौं नामै त यसबाट आयो भने आज कैयन् संस्थाले यसको नाम या आकार प्रयोग गरेका छन्― कान्तिपुर दैनिकको लोगो नै काष्ठमण्डपको आकारमा रहेको छ ।

हाम्रो ऐतिहासिक उत्पत्तिसँग गाँसिएको यस्तो भवनको पुनःनिर्माण भुईंचालो जानेवित्तिकै हुनुपर्थ्याे, तर आजैसम्म आलटाल र भाँजो हाल्ने काम भएको  छ। कसले यसो गर्‍यो भन्नेतर्फ नलागी दुइटा कुरा विचारौं― हामी एक–एक नागरिक यसबारे चिन्तित तथा जागरुक हुने कहिले ?

भुईंचालोपश्चातको अवस्था सम्झँदा मन खट्किन्छ । भग्नावशेषबाट जसोतसो खम्बा र सत्तरीहरू निकालेर, घिस्याएर पाखा लगाइए । एक–एक गरी केलाउँदै महत्वपूर्ण कलाकृति जगेर्ना गर्नुको साटो केही समयमै त्यहाँ डोजर चल्यो । मेरी स्लसरलाई चिन्ता थियो– त्यहाँ काठका ठूला खम्बामाथि रहेका सिंह आकारहरुको के हविगत भयो ? सत्तरी र खम्बामा ठोकिएका ११ ताम्रपत्र कता पुगे ? एकापट्टिको बार्दलीमुनि काठमा कुँदिएको बौद्ध र शिवमार्गी चित्रकथा (फ्रीज्) लाई के असर पर्‍यो ?

“तीनवटा ताम्रपत्र फेला परेका छन्”, काशीनाथ टमोट भन्छन् । ठाउँठाउँमा भाँचिए पनि त्यो ‘फ्रीज्’ स्व. शुक्रसागर श्रेष्ठले एक वर्षअघि हनुमानढोका परिसरमा फेला पारे । मेरी स्लसरले फ्रीज्को खबर एक वर्षअघि पाएपछि पृथ्वी पारिपट्टि एक्लै खुशी भइन् र टमोटलाई लेखिन्, “मलाई त सेप्टेम्बरमै क्रिसमस आएजस्तो भयो !”

काष्ठमण्डप बनाउँछु भनेर अघि सरेका जुझारु नागरिक तथा नवनिर्वाचित काठमाडौं महानगरपालिका पदाधिकारीबीचको मनमुटावले गर्दा पुनःनिर्माणको कार्य मात्र होइन, यसको सोच नै पनि ठप्प छ । यो अवस्था नेपालमण्डलको सांस्कृतिक गरिमा, ऐतिहासिकता तथा भविष्यप्रतिको जिम्मेवारी अनुकूल छैन । यस्तो विषयको बहस राष्ट्रिय तवरमा मिडियामा, नागरिक समाजमाझ, प्रोफेसर–विद्यार्थीमाझ र घरघरमा हुनुपर्ने हो । हाम्रा जनप्रतिनिधिले काष्ठमण्डप बनाइहाल भनेर संसद्को रोष्ट्रमबाट आह्वान गर्नुपर्ने हो ।

काष्ठमण्डप कुनै राजारजौटा अथवा भगवानको थलो होइन, आदिकालदेखि नै यो आमजनताको आफ्नो थियो । यसै कारण ‘गणतन्त्र नेपाल’ ले त यस सत्तलको महत्व झनै बुझ्नुपर्ने थियो । जनताकै थलो भएकै कारण भूकम्प गएको समयमा यहाँ नागरिकहरू भेला भएका थिए, रक्तदानको पवित्र कार्यमा जुटेका थिए । भवन ढल्दा १० जना टोलवासीको ज्यान गयो । दिवंगतहरूलाई समेत सम्झेर आजको असहज खिचातानी अन्त्य गर्दै मरुसत्तलको पुनःनिर्माणमा सबै लाग्नुपर्‍यो ।

इतिहास र ऐतिहासिकता बेगर ‘नेपालमण्डल’ खोक्रो, निर्जीव ‘काठमाडौं’ हुन्छ । यसको ‘सबाल्टर्न’ इतिहासले जनमानसको कथा–व्यथा बोल्छ । यस्तो विगत बोकेको सम्पदाको पुनःनिर्माणमा थप ढिलो नगरौं ।

Post navigation

Previous Post:

‘बन्द समाजमा क्रिएटिभिटी संकुचित हुन्छ’

Next Post:

Border wall

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes