Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

न्याय मागिरहेछ नन्दप्रसाद अधिकारीको आत्मा

March 27, 2020 by admin

हिमाल खबरपत्रिका (९-१५ चैत, २०७६) बाट

शिक्षण अस्पतालको ‘बडी ब्याग’ मा रहेको नन्दप्रसाद अधिकारीको शवले सद्गत मागिरहेको छ तर त्योभन्दा पहिले उनको आत्मालाई न्याय चाहिएको छ ।

शिक्षक मासिकको सह–प्रकाशन नीति–विमर्श को चैत २०७६ अड्ढको आवरणमा मन दुख्ने तस्वीर छापियो । एउटा ‘बडी ब्याग’ छ, जसभित्र छ पाँच वर्षअघि आमरण अनशनबीच ज्यान गुमाएका नन्दप्रसाद अधिकारीको शव । टाँसिएको स्टिकरमा लेखिएको छ: ‘२०७१/६/६ गते, जिल्ला गोरखा, फुजेल गाउँ ७ बस्ने नन्दप्रसाद अधिकारी’ ।

तर यो तस्वीरले नागरिक समाज या आम समाजमा सनसनी, आक्रोश या चिन्ता जगाएको देखिएन । द्वन्द्वपीडितले एकोहोरो आवाज उठाइरहेका छन् तर सञ्चारमाध्यमको ध्यान संक्रमणकालीन न्यायबाट धेरै पर पुगिसकेको छ । केही महीनाअघि एक प्रधानसम्पादकबाट त ‘कत्ति पुरानो घाउ कोट्याइरहने !’ भनेको सम्म सुनियो ।

बुझ्न गाह्रो छैन, नेपालमा अधिकांश सार्वजनिक महत्वका विषय चर्चामा आउन पार्टीगत चासो या प्रोपोगण्डामा भरपर्छ । मुख्यतः शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको र केपी शर्मा ओली, पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक ‘डिस्कोर्स’ मा धेरै हदसम्म कब्जाका कारण पनि यो तस्वीरले चर्चा नबटुलेको हो ।

नन्दप्रसाद अधिकारी अस्पतालको बेडमा . तस्वीर: कनकमणि दीक्षित

आजको धेरै नै प्रभावशाली सामाजिक सञ्जाल, विशेषगरी फेसबूक, यूट्यूब र ट्वीटरका हस्तीहरू (जसलाई ‘इन्फ्लूएन्सर’ भनिन्छ) माझ पनि द्वन्द्वकालका ज्यादतीको जवाफदेहीप्रति पर्याप्त चासो देखिंदैन, जसको अर्थ बलात्कार, हत्या, अपहरण र यातनाका आरोपितलाई पुर्पक्ष, कारबाही र दण्ड नहोस् भन्ने नै हो ।

तर, नन्दप्रसाद अधिकारीको शव राखिएको त्यो बडी ब्यागको तस्वीरले ढिलो–चाँडो नेपाली राष्ट्र र समाजको मस्तिष्कमा उत्तरदायित्वबोध गराइछाड्नेछ । नीति–विमर्श मा तस्वीर सँगैको ‘लंगफम्’ लेखमा जेबी पुन मगर लेख्छन्, “. . . प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवाको नेतृत्वमा अहिले पनि संक्रमणकालीन न्यायलाई लम्ब्याउँदै जाने रणनीतिमा काम भइरहेछ । . . . प्रचण्ड जसरी हुन्छ हिजोका गम्भीर अपराध मानिने घटनालाई सामसुम पार्न र त्यसलाई वैधानिकताले ढाकछोप गर्न चाहन्छन् । . . . सड्ढटकाल अवधिमा भएका नीतिगत निर्णय र गम्भीर मानवअधिकारका घटना सन्दर्भमा आफूमाथि सोधपुछ गरिन र त्यसले आफ्नो राजनीतिक ‘करिअर’ ध्वस्त हुनसक्ने बुझाइमा प्रचण्ड जस्तै देउवा पनि संक्रमणकालीन न्याय लम्ब्याउन खोजिरहेछन् ।”

अवश्यै, नन्दप्रसाद बितिसके र उनको शव शिक्षण अस्पतालको मोर्गमा राखिएको छ । तर नन्दप्रसादको आत्माले संक्रमणकालीन न्याय नपाएसम्म कुनै पनि वेला दाहाल र देउवाहरूको ‘करिअर’ ध्वस्त हुनसक्छ । लेखक पुनलाई वीर अस्पतालको शय्याबाट नन्दप्रसादकी श्रीमती र सह–अनशनकारी गंगामायाले भने झैं, ‘उहाँको शवले नै न्याय मागिरहेछ । त्यसको टुङ्गो नलागेसम्म कसरी गरुँ सद्गत ?’

नन्दप्रसाद अधिकारीको शव बाकस नं. ४ मा । तस्वीर: कनकमणि दीक्षित

२०६५ साल पहिलो पटक मानवअधिकारकर्मी सुशील प्याकुरेलको साथ मैले नन्दप्रसाद र गंगामाया अधिकारीलाई वीर अस्पतालको आकस्मिक कक्ष बाहिरको पेटीमा धर्नामा बसिरहेको भेटेको थिएँ । १८ वर्षीय छोरा कृष्णप्रसादको माओवादीद्वारा २४ जेठ २०६१ चितवनमा चरम यातनापश्चात् बीभत्स हत्या भएपछि न्यायको खोजीमा अधिकारी दम्पती फुजेल गाउँको घडेरी छोडी राजधानी आए । विभिन्न सरकारबाट कहिले थुनामा पारिए, कहिले थानकोट लखेटिए, कहिले पाटनको मानसिक अस्पतालमा जाकिए । छोराको हत्याको जवाफदेहीमा उनीहरूले कानूनी बाटो नै रोजेका थिए तर त्यसमा आलटाल र ढिलाइका कारण दम्पती आश्वासन र छलकपटबीच पटक–पटक आमरण अनशनको विकल्प अपनाउन बाध्य भए ।

अधिकारकर्मी चरण प्रसाईं, सुबोध प्याकुरेल, अधिवक्ता बाबुराम गिरी लगायत हामीले धेरैचोटि नन्दप्रसाद र गंगामायालाई अनशन नबस्न सम्झाउन खोज्यौं । ज्यान बचाउन जबर्जस्ती वीर अस्पतालको क्याबिनबाट ‘पुरानो आईसीयू’ मा लैजाँदा नन्दप्रसादको हामीमाथिको आक्रोश अझै पनि कानमा छँदैछ । अनशनको अन्तिम दिनको अन्तिम अवस्थामा हात जोड्दै अनशन त्यागिदिनुस् भनेको सम्झन्छु । जीउज्यान कमजोर हुँदा पनि नन्दप्रसादको आँखामा जहिल्यै अठोटको चमक हुन्थ्यो तर त्यो दिन बिहान अलि धमिलो पाएँ । हलुका गरी मुण्टो हल्लाए । ‘नाइँ’ भने या त ‘तिम्रो जहिल्यैको आग्रह यही त हो नि’, ठम्याउन सकिएन ।

नन्दप्रसादको निधनपछि शव एम्बुलेन्समा हुइँक्याइहाले । पछ्याउँदै सुबोध प्याकुरेल र म शिक्षण अस्पताल पुग्यौं । दुई चारवटा चिसो बाकस खोल्दै हेर्दा ‘बक्स नं. ४’ मा उनको शव भेट्यौं । दुई वर्ष जतिपछि अस्पतालले बक्सबाट झिकेर सामूहिक शव कक्षमा उनको लासको स्थानान्तरण गर्‌याे ।

सन् १९८१ मा उत्तरी आयरल्याण्डकी राजनीतिक जुझारू २७ वर्षे बबी स्याण्डस्को कारागारमै आमरण अनशनका क्रममा मृत्यु भयो । स्याण्डस्को जति विश्वव्यापी चर्चा भयो, नन्दप्रसादको त्यत्ति नै हुनुपर्ने हो । तर देशबाहिर त के देशभित्रै पनि नन्दप्रसादको जीवन–त्यागको मूल्य बुझिएन, कदर त परै जाओस् ।

कृष्णप्रसाद मारिए । नन्दप्रसादको शव अझै अस्पतालमा छ । ६० वर्षीया गंगामाया नाजुक स्वास्थ्यस्थितिका साथ वीर अस्पतालको क्याबिन नं. ७ मा छिन् । जेठा छोरा (स्व. कृष्णप्रसादका दाजु) नुरप्रसाद पाटन उच्च अदालतमा हूलहुज्जत गरेको भन्दै मानहानि र ज्यान मार्ने उद्योगमा कारागारमा छन् । उनको परिवार पनि छिन्नभिन्न भएको छ ।

कानूनी शासन, न्यायको सर्वोच्चता र जवाफदेही सिद्धान्तको लागि लड्ने एउटा परिवारले पाएको इनाम हो, यो । फुजेल गाउँको अधिकारी परिवारको कानूनी राज्य र दार्शनिक स्पष्टताबारे आमजनमा पर्याप्त सूचना पुगेको छैन । नन्दप्रसादको मरणको दाग तत्कालीन प्रधानमन्त्री सुशील कोइरालामा पर्न गयो । थाहा छैन, अरू कुन–कुन नेताले आउँदा दिन अरू कति दाग बेहोर्नुपर्ने हो ।

प्रतिकृया दिनुहोस

Post navigation

Previous Post:

‘वागमती इच्छापत्र’

Next Post:

‘स्मार्ट सिटी’ कि ‘स्टुपिड सिटी’?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes