Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

पर्वत ज्ञाता, हिमाल गाथा

January 17, 2021 by admin

हिमाल खबरपत्रिका (२१ पुस २०७७) बाट

हिमालको काखमा जन्मेर राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति कमाएका डा. हर्क गुरुङले हिमाली चुचुरा र श्रृंखला कहिल्यै बिर्सेनन्। 

डा. हर्क गुरुङले अनेक क्षेत्रमा नाम कमाए- शासन व्यवस्थादेखि पर्यटन, सामुदायिक पहिचान, राज्य व्यवस्थापनसम्म। तर पनि हिमाल उनको नजरबाट कहिल्यै हटेन। हिमालय पर्वतको भौगर्भिक उत्पत्तिदेखि फेदका मानव वस्ती, जीवजनावर, पर्वतारोहणको इतिहासदेखि हिमाल वारिपारीको व्यापार, सबै क्षेत्रमा अध्ययन गरि अब्बल अंग्रेजीमा डा. गुरुङ आफूले देखेको, बुझेको कुरा पाठकसामु ल्याउँदथे। नेपाल–हिमालका विविध पक्षबारे अंग्रेजीमा लेख्ने एरिक शिष्टन, एड्मण्ड हिलारी र एच. डब्लू. टिल्मनलाई साथ दिने एक मात्र नेपाली उनै डा. गुरुङ नै थिए।

आफूलाई ‘पहाड हिमालमा विशेष चासो राख्ने भूगोलविद्’ भनेर चिनाउने डा. गुरुङले दुई छोरी र एक छोराको नाम पनि हिमालकै राखे- सगरमाथा,अन्नपूर्ण, मनासलु।

मनासलु चुचुरो त डा. गुरुङलाई विशेष लाग्ने नै भयो, किनकि उनी जन्मिएको बुढीगण्डकी र मर्स्याङ्दी नदीबीचको भेगमा हो जहाँ फैलिएको पर्वतमाला गोरखा हिमालमध्ये पर्दछ मनासलु। गुरुङ जन्मेको गाउँ तराँचेबाट सीधै देखिने चुचुरा भने हिमालचुली ‘पिक–ट्वेन्टीनाइन’ हो र बौध हो। 

हिमालको काखमा जन्मने नेपाली त धेरै छन्, तर यदि कसैलाई हामी ‘पर्वत ज्ञाता’ भन्न सक्छौं भने उनी हुन्। काठमाडौं आउँदा होस् या स्कटल्याण्ड पढ्न जाँदा उनको मन अनि शोधखोजबाट हिमाल कहिल्यै टाढा भएन। 

पर्वतारोहणको गाथामा विशेषगरी सोलुखुम्बु क्षेत्रका शेर्पाहरूले एक छत्र छाएका छन्। कम्तिमा पनि सन् १९०७ देखि शेर्पा समुदायले पर्वतारोहणमा सहभागी भएका हुन्, दार्जिलिङ्गको बाटो हुँदै- जहाँ बेलायती साहेबहरू पर्वतारोहणका लागि जम्मा हुन्थे। तर, त्यसअघि पनि नेपालीहरू पर्वतारोहणमा संलग्न थिए, जसबारे प्रामाणिक तथ्य बाहिर ल्याउने डा. गुरुङ नै थिए। उनले पत्ता लगाए कि ब्रिटिश गुर्खा फौजमा संलग्न सिपाहीले हिमालय ‘एक्स्प्लोरेशन’मा लाग्ने बेलायती अफिसरलाई धेरै अघिदेखि नै साथ दिएका थिए, भरियाका रूपमा मात्र नभइ पर्वतारोही समकक्षी नै भएर। 

हवाईजहाजबाट गोरखा हिमश्रृंखला। बायाँबाट क्रमशः मनासलु, हर्क गुरुङ चुली र हिमालचुली। तस्वीर स्रोतः इन्टरनेट।

डा.गुरुङको अध्ययन अनुसार, पर्वतारोहणमा पहिले पाइला अघि सार्ने काम सन् १८८० मा चार्ल्स ब्रुस्को नेतृत्वमा काश्मीर हिमालय पुगेको १/५ गुर्खा ब्याटालियनका गुर्खा सिपाहीबाट भएको थियो। मगर समुदायका ती ‘पहिलो पर्वतारोही’ थिएः अमरसिंह थापा, करवीर बुढाथोकी, हर्कवीर थापा, लाल्वीर थापा, प्रितमन राना। सन् १८९४ मा बेलायती अफिसरसँगै हर्कवीर थापा र करवीर बुढाथोकी युरोपको आल्पसतर्फ लागे। र एक, दुई होइन २१ वटा चुचुरा चढ्न सफल भए। उनीहरूले पहिलोपटक चढेको चुलीलाई अहिले पनि ‘गोर्खाचुली’ (पिज गुर्खा) भनिन्छ।

मध्यपहाडी भेगका नेपालीको पर्वतारोहण–कौशलबारे डा.गुरुङले बताएको म सम्झन्छु। शेर्पाहरूको गहिरो हिउँमा हिड्ने आदत र ‘हाइअल्टिच्यूड’ बसोबासका कारण ‘इन्ड्योरेन्स्’ क्षमता धेरै हुन्छ। तर, मध्यपहाडका मगर, गुरुङ र अन्य समुदायको काठ दाउरा र चरन गर्दा भीरपाखा गर्ने बानीका कारण  भएकाले ‘टेक्निकल क्लाइम्बिङ्ग’ उनीहरूका लागि सहज हुन्छ भन्ने डा.गुरुङको तर्क थियो। 

विकट खुम्बुका शेर्पा समुदायको व्यापार क्षमताले डा. गुरुङलाई रोमाञ्चित पारेको थियो। शेर्पाहरू कसरी खुम्बुबाट उत्तर लागेर तिब्बतमा जडिबुटी जम्मा गर्दै चाङ्गथाङको पठार हुँदै पञ्जाब झर्दथे, र आफूले बोकेका सामान बेचबिखन गरि घरमा चाहिने सरजाम किनमेल गरि बिहारको बाटो हुँदै खुम्बु उकालो लाग्दथे। यो व्यापार–यात्राबारे डा. गुरुङको भनाइ थियो– काठमाडौंका बौद्धिकले जत्तिनै ‘अनकन्टार’ र दुर्गम क्षेत्र भने ठाने पनि त्यहाँको समुदायले संसार देखेका हुन्छ, आधुनिक तौरतरिका बारे अनभिज्ञ हुँदैनन्। 

काठमाडौंबाट हिमालय    

डा. हर्क गुरुङ। तस्वीर: कुमार आले।

उत्तरपूर्वदेखि उत्तर पश्चिमसम्म फैलिएको हिमश्रृंखलाबारे राजधानी काठमाडौंका उपत्यकावासीमै  चासोको कमी देखेर डा. गुरुङ अचम्मित हुन्थे। त्यसको कारण थियो- आफूसँग भएका हिमालहरूबारे गर्व गरेर नथाक्ने नेपालीमै किन पर्वतश्रृंखला बारे न्यून ज्ञान? अनि त लेखे पनि “नेप्लिज् टेक् प्राइड् इन् द माउन्टेन्स, बट् डु नट नो देम्।”

कोभिड–१९ महामारीको शुरूआतमा गरिएको बन्दाबन्दीका बेला उपत्यका छेउछाउका हावा सफा हुँदा हिमालहरू छर्लङ्ग देखिए। यसबीच उपत्यकाका ठाउँठाउँबाट सगरमाथाको चुचुरो देखिने चर्चा पनि चल्यो, कतिले त उल्याँए पनि।

डा. गुरुङ साथमा भइदिएको भए मुसुमुसु हाँस्थे होलान्। किनकि उपत्यकाबाट कुन–कुन हिमालका हाँगो देखिन्छन् भन्ने उनलाई राम्ररी थाहा थियो नै, पूर्वको खुम्बु हिमाल देखि रोल्वालिङ्ग, जुगल, गणेश, गोरखा हुँदै अन्नपूर्णसम्म। 

डा. गुरुङलाई थाहा थियो, पाटनको कुनै उच्च ठाउँबाट पश्चिम हेर्दा उनको विद्यावारिधीको विषय पोखरा उपत्यका उत्तर पर्ने अन्नपूर्ण श्रृंखलाको माछापुच्छ्रे, अन्नपूर्ण– २, र लमजुङ्ग हिमाल देखिन्छ। यस्तै आफ्नो गाउँ तराँचे (ङादी)को छेवैको हिमालचुली र मनासलुलाई काठमाडौंबाट हेर्दा नार्गाजुन (जामाचो) ले छेक्दछ तर, पशुपति र विमानस्थलक्षेत्रबाट प्रष्ट देखिन्छ।

डा. गुरुङले हिमाल चिनारी बारेको आफ्नो ध्याउन्न सरकारी कार्यक्रममा पनि छिराउन सफल भए। नेपालमा ६००० मिटर भन्दा बढी उचाइका १३१० वटा चुचुरा रहेकोमा ३०० भन्दा कमको मात्र नामाकरण भएको थियो। डा. गुरुङलाई चुचुराहरूको न्वारन गराउनुपर्ने आवश्यकता महशुस भयो र सन् १९८३ मा एउटा समिति नै गठन भयो, जसको अध्यक्षता स्वयं डा. गुरुङले नै गरे।

यही न्वारन कर्मकै क्रममा हुनुपर्छ, सानो पिलाटस विमानमा पूर्व–पश्चिम उडेर डा. गुरुङले तस्वीरहरू खिचे, ती श्यामश्वेत तस्वीरहरूलाई मैले पनि हेर्न पाएको थिएँ। उनले सन् १९९४ मा ‘नेपाल हिमालयन इन्भेन्टरी’ सूची बनाउन सघाए, जुन कार्यद्वारा डा.गुरुङले सरकारलाई आफ्नो सिमानाभित्रका ‘चुचुरा चिनारी’ गराइदिए।

हिमालका छोरा

गोरखा हिमश्रृंखलामा संसारकै २०औं अग्लो चुचुरा छ, जुन लमजुङको तराँचे गाउँको शिरैमा पदर्छ। यो हिमालले बालखैदेखि गुरुङलाई रोमाञ्चित पार्दथ्यो। यसको नाम पश्चिमा पर्वतारोहीले ‘पीक–ट्वेन्टी नाइन’ राखिदिएका थिए। नामाकरण समितिमा रहेका डा. गुरुङले नयाँ न्वारन गरिदिए ‘ङादी चुली’।

सन् २००६ मा डा. गुरुङको निधन भएपछि सरकारले यस चुचुरोको नाम ‘हर्क गुरुङ चुली’ राखेको छ। धेरै नचिनिएको, नचढिएको संसारकै अग्लोमध्ये पर्ने हिमचुचुराको नाम हिमाल–ज्ञाता, हिमालका छोराको नामसँग जोडिनु सखद् हो।

जबजब नेपालका हिमाल, पर्वतको चर्चा/परिचर्चा हुन्छ,  पर्वतीय पर्यटन, पहाडी भूगोल र बसोबासको कुरा आउँछ, नसम्झि नहुने नाम हाम्रो सामुन्ने आउँछ- डा.हर्क गुरुङ। र, नेपालीलाई नेपालकै हिमाल चिनाउने जुन यत्न उनले गरे, त्यो कारणले पनि डा.गुरुङ हामीबाट कहिल्यै बिदा हुने छैनन्!

Post navigation

Previous Post:

वीर गाथा, विरह गाथा

Next Post:

सग्लो समाज | वीर गाथा विरह गाथा | Episode 1 Saglo Samaj

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes