Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

पाँचपोखरी: प्रगतिका ५ सूत्र

August 18, 2021 by admin
हिमाल खबरपत्रिका (१० मंसिर, २०७७) बाट)
 
नबिथोलिएको ठाउँ छ, काठमाडौं नजिकै, जहाँको स्थानीय रहनसहन र पहाड हिंडाइ चढाइले बोलाइरहेछ।

 


बिहानीपखको पाँचपोखरी, क्षितिजमा देखिने नेपालै ढाक्ने ‘दक्षिणएशियाली तुवाँलो’।

 

राजधानी उपत्यकादेखि उत्तरपूर्व सिन्धुपाल्चोकको जुगल हिमाल शृंखलाको फेदैमा पर्छ, सिन्धुपाञ्चोकको पाँचपोखरी तीर्थस्थल — छेवैको हेलम्बु उत्तरको गोसाइँकुण्डका तालहरू जत्तिकै रमणीय, तर हिमाल भने अझै नजिक।

काठमाडौं छेवैको यो भूगोल गोसाइँकुण्ड जस्तो परिचित छैन, तर यहाँको लेकवासीलाई दक्षिणतिर रातको उपत्यकाको उज्यालोले जिस्क्याइरहेको हुन्छ।

आधुनिक रहनसहन, ‘विकास’ र बाटोघाटो ढिलो पुगेको पाँचपोखरी क्षेत्रले परम्परागत संस्कृति, स्वच्छ वातावरण, शुद्ध खानपिन खोज्न थालेका उपत्यकावासीको उत्साह जगाउन र आफूतर्फ आकर्षित गर्न थालेको छ।  रीतिरिवाज, घुमाइ–फिराइ र जीविकाको तौरतरिका ‘बिग्रन’ नदिने हो भने स्थानीय अर्थतन्त्रले पक्कै पनि यसको फाइदा लिनेछ। गुजारा मात्र होइन ‘धन’ आर्जनको पनि उत्तिकै सम्भावना छ।

‘हवेली’ दरबार २०७२ को भूकम्पले ढाल्यो।

‘हवेली’ को मुख्यद्वार।

यस्तो किन पनि भने, मुलुक र राजधानी उपत्यका नजिकका धेरै क्षेत्रमा परम्परागत जीवनशैली र वातावरण जोगाउन समेत नसकिएका बेला पाँचपोखरीको खानपिनमा स्थानीय मिठास भेटिन्छ, गोरेटोमा प्लास्टिक (खासगरी चाउचाउका पुरिया) भेटिंदैनन्, डिजल र पेट्रोलको गन्ध, ट्याक्टर र ट्रकको ङ्यार–ङ्यार छैन। पाँचपोखरीका स्थानीय नेतृत्व र जुझारुहरू प्रष्ट छन् यही आफ्नो सक्कली संस्कृति बुझेर अन्धाधुन्द आधुनिकताको भेलबाट बचेर अनि स्वाभिमान बचाउँदै सुखद कमाइ हुनसक्नेमा। आउँदा दिनमा पाँचपोखरी क्षेत्रको प्रगति हेर्नलायक हुनेछ।

पथप्रदर्शक क्षेत्र
पाँचपोखरी थाङपाल गाउँपालिकाले उँधो पाँचखालतिर बालुवा उत्खननले कुरुप बनेको इन्द्रावती नदीको स्वच्छ उद्गम भूमि समेट्दछ। काठमाडौंबाट साँखुहुँदै जर्सिङपौवाको भञ्ज्याङ कटेर मेलम्चीबाट उत्रने बाटो कुनै बेला कालोपत्रे थियो। फेरि पनि कालोपत्रे बिछ्याइयो भने बौद्धबाट डेढ घण्टामै मेलम्ची बजार पुगिन्छ। बजार उत्तरबाट मेलम्ची खोला झर्दछ भने उत्तरपूर्व तेर्सिएको छ उपल्लो इन्द्रावती उपत्यका, पहाडदेखि बेंसीसम्म खेतका कान्लै कान्लाले सजिएको लाम्चो रमणीय पाखो।

पाँचपोखरी क्षेत्रको विशेषता (‘यूनिक सेलिङ्ग प्रपोजिसन–यूएसपी’) जति छन्, तिनका भरमै यहाँका अधिकांश तामाङ बासिन्दालाई समृद्ध जीविका दिलाउन सक्छ। भारतमा (विशेषगरी कश्मीर र लद्दाखमा) र समुद्रपार रोजगारीका लागि जाने यहाँका युवालाई गाउँमै पालनपोषण गर्ने क्षमता पाँचपोखरी क्षेत्रसँग छ।

खुशीको कुरा त यस्तो सम्भावना साकार पार्न जुझारु र स्थानीय निर्वाचितदेखि प्रान्तीय पदाधिकारी समेत तम्सिएका छन्। पाँचपोखरीले उत्पादन र सेवा यसरी पेश गर्नुपर्याे कि यहाँका युवा लद्दाख त के काठमाडौं पनि पलायन हुन नपरोस्, आफ्नै थातथलोको बलमा आम्दानी भित्रियोस्, सन्तुष्टि मिलोस्। यो सम्भावना प्रबल छ किनकि पाँचपोखरीले बनाउने चिजबिज र देखाउने, हिंडाउने ठाउँ धेरै छन्, र ४० लाख बढी जनसंख्या भएको राजधानी उपत्यकाका घुमघाम र पदयात्रा गर्न चाहने यात्रा–पारखीको लागि ‘नबिथोलिएको’ भन्न मिल्ने नजिक ठाउँ यही नै हो।

पाँचपोखरी पुग्नुअघिको आकाश, छोर्तेन र लुङ्गता।

मात्र पाँचपोखरीका स्थानीय जुझारु र नेतृत्वले अन्यत्रको विकृति र गल्तीहरूबाट बच्नु जरूरी छ। यो भेकमा अधिकांश खेतबारीमा रासायनिक मल र विषादी छर्ने काम भएको छैन, र शहरमा ‘अग्र्यानिक’ कृषि उत्पादनले बजार पाइरहेको समय यहाँ उब्जनीले बजार कमाउँछ। मुलुकलाई नै पत्रु खानाले सखाप पारेको बेला यहाँका मौलिक अन्न र उब्जनीबाट बनेका खाजालाई निरन्तरता दिंदा उदाहरणीय काम हुन्छ। तलबाट ‘सिङ्गल युस्’ प्लास्टिकको प्रयोग हुने वस्तुलाई जतिसक्दो रोक्नुपर्याे, बाटो–गोरेटो प्लास्टिकरहित राख्नुपर्याे। गुम्बा र स्तूप सजाउने लुङ्गता र पताका एक्रेलिक नभई सूती कपडाकै प्रयोगमा प्राेत्साहन गर्नुपर्याे। नेपालका डाँडामा जताततै काम देखाउने हेतुले भ्यू टावर बन्दैछन्, जसले पिकनिकवाला ल्याउँछ, रात काट्ने, खर्च गर्ने आन्तरिक या बाह्य पर्यटक ल्याउँदैन। यस्तै सिमेन्ट र कंक्रिटका सस्तो, सजिलो गरी बन्ने मूर्ति खडा गर्ने होड छ देशभरि, यसबाट जति बच्यो उति नै राम्रो।

देशको अन्यत्रको पर्यटन विकासका उदाहरण अध्ययनको फाइदा पनि पाँचपोखरीले लिनसक्छ। मुख्यतः कुरा खर्च र आम्दानीको हो। यसो गर र उसो गर भन्दै एक–दुई वटा ‘मोडल होम्स्टे’ बनाएर पुग्दैन। तनहुँको बन्दीपुर होस् वा पाटन शहरको स्वथः टोल, देखियो कि कुनै काम राम्रो आम्दानीको सुनिश्चितता हुन्छ भने नागरिक आफैं उत्साहित हुँदै अघि बढ्छन्। अतः पाँचपोखरी क्षेत्रको बारेमा बखान गरेर पुग्दैन, स्थानीय बासिन्दाले देश–विदेश गएर भन्दा यहाँ नै गुजारा होइन राम्रो कमाइ हात पार्न सक्नुपर्दछ। भाग्यवश, यो संभव देखिन्छ। र, सम्भावनाहरू उधिनेर पाँचपोखरीले आफ्ना लागि राम्रो गर्न सक्छ, र अरू क्षेत्रका लागि पनि पथप्रदर्शक।

०००

पाँचपोखरीका विशेषता यी हुन्, जसको आधारमा यहाँको अर्थ–सामाजिक अग्रगमनको योजना बनाउन सकिन्छः

१. पाँचपोखरी तीर्थस्थल
२. पद्मसंभव सम्पदा
३. पर्वतारोहण र पदयात्रा
४. ‘हवेली’ सांस्कृतिक केन्द्र
५. प्राङ्गारिक उत्पादन र सेवा

पाँचपोखरी संस्कृति

पहिलाका गाविसहरूलाई समेटेर राज्य पुनर्संरचना अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिकामा ल्याइयो। यहाँको सबैभन्दा महत्वपूर्ण थुम्को आमायाङ्ग्रीलाई हेलम्बु र पाँचपोखरीवासी दुवैले पुज्छन् र आफ्नो ठान्छन्। पाँचपोखरी पदयात्रा गर्दा दुई गाउँपालिकाको सिमानामा पर्ने आमायाङ्ग्री कहिल्यै नजरबाट छुट्दैन भने पाँचपोखरीको पूर्वपट्टि बलेफी खोलाको जलाधार क्षेत्र पर्दछ, जुगल शृंखलाको मुख्य निकास।

वृक्षरेखा (ट्री लाइन) भन्दा माथि खर्क र पहाड माझ अवस्थित पाँचपोखरी तालहरूको निर्मल पानी र अनकन्टार अवस्थितिका कारण ऐतिहासिक कालमा यो तीर्थस्थल बन्ने अवश्यंभावी थियो। भक्तपुर, पाटन, र साँखुलगायत तल्लो भेकका तीर्थालु पहिल्यैदेखि यता उक्लने भएतापनि गोसाइँकुण्ड जस्तो प्रख्यात चाहिं भएन पाँचपोखरी, जुन कारण पनि यस क्षेत्रको मौलिक वातावरण र संस्कृति यथावत् रह्यो।

स्थानीय कथन अनुसार यहाँको तामाङ वाइबा समुदायका पूर्वज बुम्बा रुवा वाइबाले २४०० वर्ष जति अघि शिकार गर्दै पाँचपोखरी माथि पर्ने पूर्वी पाखोमा पुग्दा तल तालको छेउ महादेव र सहयोगीहरूले धानको बाली भित्र्याउँदै गरेको देखे। हत्तपत्त झर्दै त्यतातिर जाँदा महादेवलगायत सबै किसान लोप भए। बुम्बा रुवाले यसै ठाउँमा आफ्नो शिकारी कुकुरको घण्टीसहित पीठ स्थापना गरी पाँचपोखरीको आजैसम्मको धार्मिक र सांस्कृतिक महत्व स्थापित गरे।

भौगोलिक वनावटले पाँचपोखरी ठीक गोसाइँकुण्ड जस्तै छ भने यहाँको लेक वरिपरि विना पर्वतारोहण सामग्री र अनुभव डुल्न सकिन्छ, र मुख्य हिमाली शृंखला भन्दा यो अलग छ। तालहरूको पूर्वपट्टिको धारमा उक्लने हो भने आँखैसामु जुगल हिमालको चुचुरा, हिमनदीहरू र बलेफी खोला उपत्यका पर्दछन् भने परसम्म रोल्वालिङ र खुम्बु हिमालका शृंखला तन्किन्छ। दक्षिणतर्फ आँखा लगाउँदा भने तरेली परेको महाभारत शृंखला परैसम्म देखिन्छ — र काठमाडौं वरिपरिको फुल्चोकी, शिवपुरी, चन्द्रागिरिलगायत।

दोर्जे ल्हाक्पा चुचुरोबाट झरेको हिमनदीमा देखिने माथिपट्टिको सफा हिउँ र तलको धुलाम्य हिमनदी।

नेपालका डाँडाकाडामा वनको प्रयोग ह्वात्तै घटेको छ भने डोजर प्रकोपले नहिर्काइसकेको क्षेत्रमा जंगल प्राग्ऐतिहासिक अवस्थामा फर्कंदैछ। शुरूमा सामुदायिक वनको सफलताले वन विनाश रोकेको थियो भने पछि गएर बसाइँसराइ र एलपीजी ग्याँसको आगमन, फलाम, छड र जस्तापाता प्रयोगको कारण पनि यहाँको हरियाली २०००–३००० वर्ष मानव बसोबास पूर्वको स्थितितर्फ फर्कंदैछ। यस प्रक्रियाको नकारात्मक पाटो भनेको वनपैदावार प्रयोगको सांस्कृतिक र सामाजिक पक्ष मासिएको छ।

पाँचपोखरी संस्कृति पनि अन्यत्र जस्तै मासिएला कि भन्ने पीर जाग्छ, जब छुर्पी, मोही र घिउ बन्न छाड्छ, टल्कने जस्ता छानाले पहाडी मौलिकतालाई बिथोल्दिन्छ, बल्दो दाउराको सुवास हराउँछ, गाउँ–गाउँबीचको गोरेटो झाडीमा परिणत हुन्छ, र जहाँ स्थानीय कोदो रक्सी जाँडको साटो प्लास्टिकको बोतलका ‘लोकल’ र शिशा बोतलको बियर प्रयोगमा आउँछन्।

१४ हजारदेखि १५ हजार फिटमा बिहानीको घाममा देखिएको तुवाँलो।

प्राकृतिक कुरा गर्ने हो भने स्थानीय तामाङका पूर्वजले यस ठाउँमा बसोबास गर्न तिब्बत पठारबाट हिमाल छिचोलेर आउँदाको अवस्थामा पुग्दैछ यो ठाउँ, र त्यस कारण चराचुरुङ्गी, जनावर र बोटबिरुवाको अवस्था ‘ओरिजिनल’ मा फर्कंदैछ। हावाहुरीले ढलेका रूखहरू जंगलमै कुहिनुलाई ‘प्राकृतिक’ मानिन्छ भने पाँचपोखरी क्षेत्रको जंगलमा जताततै बडेमानका गोब्रे सल्ला ढलेका छन्, कुहिएका छन्।

लाग्दछ शोध र अनुसन्धानले पाँचपोखरी क्षेत्रको भौगोलिक, भौगर्भिक, वन्यजन्तु, वानस्पतिक तथा सांस्कृतिक परिचयले दिगो र कमाइको पर्यटनलाई राम्ररी सघाउनेछ। जहाँ मानिस पिकनिकको लागि झट्ट आएर स्वाट्ट फर्किंदैनन् यात्रुहरू, जो यहाँको रहनसहनमा चासो राख्नेछन्, केही दिन विताउनेछन्, र स्थानीय अर्थतन्त्रलाई बलियो, आत्मनिर्भर बनाउँछन्।

हालको लागि पाँचपोखरीको आकर्षण भनेको कष्टपूर्ण पदयात्रामार्फतको तीर्थयात्रा नै हो, जो एकादशीदेखि जनैपूर्णिमासम्म गरिन्छ। तल्लो भेकबाट हजारौं यात्रु यहाँ आइपुग्छन्, र स्थानीय बासिन्दाको वर्षभरिको कमाइ यहीबेला हुन्छ। पाँचपोखरी तीर्थयात्रालाई यहाँको भविष्यतर्फको यात्राको शुरूआतको विन्दु मन्नुपर्ने देखिन्छ, जसले प्रचारप्रसारद्वारा वर्षभरिको पर्यटनलाई सघाउँछ।

गुरु रिम्पोछे पद्मसंभव

बुद्धधर्मको एशियाभरिको शुरूआती फैलावट मुख्यतः वर्तमान बिहार–बंगाल मैदानबाट हाल पाकिस्तान–अफगानिस्तानमा पर्ने उतिबेलाको गान्धार प्रान्तबाट भएको हो, कुशान वंशको बेला। भगवान बुद्धलाई सांकेतिक रूपमा नभई मुहारसहित चित्रण गर्ने कार्य पहिले कुशानकालमा नै भएको हो।

त्यही कुशान राज्य अन्तर्गत पर्ने स्वात क्षेत्रमा जन्मिएका हुन् गुरु रिम्पोछे पद्मसंभव। तिब्बत र हिमाली प्रान्तमा बुद्ध धर्मको वज्रयान पन्थ प्रचार गर्दै पूर्ववत् प्रकृति पुजन र बोन धर्मलाई विस्थापित गर्ने काम पद्मसंभवले गरे। नेपालको हिमाली भेकमा पनि ठाउँठाउँमा गुरु रिम्पोछेको पदचाप पर्न गएको कुरालाई किंबदन्ती होइन तथ्यमा आधारित भन्न मिल्छ, र हिमाली इतिहासमा विशेष दक्खल राख्ने विद्वान रमेश ढुङ्गेलले त केही वर्षअघि पद्मसंभवको वर्तमान नेपालको पदयात्रा पछ्याउँदै प्रस्तुति नै तयार पारेका थिए।

स्थानीयवासीले महादेवलाई मान्ने त भइहाले, र यहाँको वाइबा समुदाय त पाँचपोखरीको तालका पहरेदार भए। तर पद्मसंभव पनि समान रूपमा पाँचपोखरी क्षेत्रको संरक्षक हुन् र मनाङदेखि हलेसीमा टेकेका गुरु रिम्पोछेको पाउ यहाँ पनि परेको मानिन्छ।

आम जनतामा वर्तमान नेपालको बुद्धधर्म सम्बन्धी इतिहास र सम्पदाबारे धेरै गहिरो बुझाइ छैन, महायान÷वज्रयान बुद्धमार्गी स्वयंको कुरा नगर्ने हो भने। शाक्यमुनि सिद्धार्थ गौतमको नेपाल भूमिमा जन्म हुनुमा मात्र गर्व गरिन्छ, उनी पूर्वका ऐतिहासिक बुद्ध जो कपिलवस्तु भूमिमै जन्मिए (कनकमुनि र क्रकुछन्द) को सूचनासम्म हामी धेरैले राख्दैनौं। बृहत् हिमाली बुद्धधर्म भन्न मिल्ने महायान अन्तर्गतका विभिन्न बोधिसत्व (लोकेश्वर, मञ्जुश्री, ई.) बारेमा पनि आम नागरिकमा चासो जगाउने हो भने नेपालको ऐतिहासिक सांस्कृतिक वजनको बुझाइ (र यसबाट हुने मानसिक सन्तुष्टि) थोरै हुने होइन। यसै क्रममा गुरु रिम्पोछे पद्मसंभवको बारेमा पनि आम बुझाइ बढाउनुपर्नेछ।

पाँचपोखरी महादेव मन्दिरका पताका जो सबै सूतीको नभई एक्रेलिकका छन्। प्लास्टिक प्रदूषण थपिंदो छ।

छेवैको हेलम्बुका जनताले जस्तै पाँचपोखरीका जनताले गुरु रिम्पोछेलाई आफ्नै ठान्दछन्, यहाँका लामा र झाँक्रीहरूको आस्थाको केन्द्र हुन्। यहाँका विभिन्न स्थलहरू गुरु रिम्पोछेको हिमालय–यात्रासँग सम्बन्धित छन्, र विशेषगरी उनले ध्यान गरेको भनिएको गुफा सानो भोताङ गाउँको माथिको डुप्खाङ नाम गरेको ठाउँमा पर्दछ (डुप् = तपस्या, खाङ = ठाउँ)।

हिमाली बुद्ध धर्म, पद्मसंभव र बोधिसत्वहरूको बारे अध्ययन गर्ने थलो सजिलै हुन सक्दछ पाँचपोखरी। साथै योग, ध्यान र चिन्तन गर्न काठमाडौंको कोलाहलबाट टाढा तर छिट्टै पुग्न सकिने ठाउँ पाँचपोखरी हो।

अन्य भेकका जनता र नेताले गरेको गल्ती दोहोर्यायो भने फेरि आफ्नै इतिहास र सम्पदाको फाइदा यहाँका बासिन्दालाई प्राप्त हुनेछैन। हरेक पहाडको थुम्कोमा भ्यू टावर ठड्याएर र यो वा त्यो भगवानका भीमकाय मूर्ति ठड्याएर समुदायको फलिफाप हुँदैन। हालै पाँचपोखरी यात्रा गर्दा पद्मसंभवको ठूलो मूर्ति बनाउने भनेको सुनियो।

यस्तोमा छ मेरो तर्कः गुरु रिम्पोछेको मूर्ति त ठाउँठाउँमा बनिसके, सबैभन्दा भयंकर त फर्पिङमा बनेकै छ। गुरु रिम्पोछेले स्वयं ध्यान गरेको गुफा नै यहाँ छ भने यसको सेरोफेरोमा रहिकन खँदिलो तीर्थाटन गन्तव्य र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नु राम्रो होइन र ? जसरी मुस्ताङमा ज्वालामाई र मुक्तिनाथ मन्दिरबीच ठूलो शाक्यमुनिको मूर्ति स्थापना गरेर दुवै सम्पदास्थललाई ओझेलमा पार्ने गरी आध्यात्मलाई अवमूल्यन गरियो, त्यसको सिको किन गर्ने ? ऐतिहासिकता नै दिगो पर्यटन विकासको सूचक हो भन्ने बुझ्नुपर्‍यो।

अर्जुन वाइबा, संसार देखेर पाँचपोखरी फर्केका व्यवसायी र जुझारु। पछाडिपट्टि ‘चट्टानोरोहण’ गर्न मिल्ने ६,००० मिटर हाराहारीको चुचुरो।

पाँचपोखरी पर्वतारोहण

एक दशक यता मात्र राम्रो पंक्ति युवा पहाड पदयात्रामा आकर्षित भएका हुन् भने हिमालय पर्वतारोहण ‘स्पोर्टस्’ अझै केही वर्ष अगाडिको कुरा भयो। तर नेपालमा ‘ट्रेकिङ्ग ट्रेल’ बाट आँखा उँभो उठाई पहाड, चट्टान, हिमाल चढ्ने दिन आउँदैछ, र यसलाई प्रवर्धन गर्न तथा यस ‘उद्योग’ को फाइदा लिन पाँचपोखरी सही स्थानमा देखिन्छ, काठमाडौं नजिक हुनाले र यहाँको सामुदायिक नेतृत्व सबल र इच्छुक हुनाको कारण।

जुगल हिमाल राजधानी उपत्यकाबाट सबैभन्दा नजिक देखिने हिमशृंखला हो, गणेश हिमाल र लाङटाङ हिमालभन्दा नजिक। भक्तपुरवासीको लागि त नगरकोट डाँडा पारि देखिने यो शृंखला ‘आफ्नै’ हिमाल जस्तो लाग्दछ, जबकि एक–एक चुचुरा धेरैले चिन्ने जमर्को गरेको पाइँदैन। दुई चुचुरा भएको दोर्जे ल्हाक्पा हिमालको कारण पूरै हिमालको थुप्रो (रेन्ज, शृंखला) लाई ‘जुगल’ भनिएको हुनुपर्दछ, तर यहाँ एकभन्दा अर्काे राम्रो बान्कीका ७००० मि. हाराहारीका शिखरहरू छन् — लोन्पो घाङ्ग, घाङ्ग छेन्पो, फूर्वी छ्याछु, लेडिज् पिक, ग्याल्जेन पिक, डोम् ब्लाँ, छोवा भमरे ई.।

जुगलको उत्तरपट्टि तिब्बतमा शिशा पाङ्गमा पर्छ भने पश्चिमपट्टि लाङटाङ लिरुङको एक्लो टाकुरा, अनि पूर्वपट्टि दोलखाको उत्तरमा पर्ने रोल्वालिङ हिमालको गौरीशंकर (छिरिङ्गमा) र मेलुङ्गसे। यी अन्य हिमशृंखला भन्दा जुगल हिमाल नै काठमाडौं उपत्यकाको उदीयमान पर्वतारोही जत्थाको लागि पायक पर्छ — सजिलो पदयात्रादेखि गाह्रो पदयात्रा (‘ग्रेट हिमालयन ट्रेल’को अंश) यहीं छ भने चट्टानोरोहण (रक् क्लाइम्बिङ्ग) देखि ७००० मि. का ‘मझ्यौला’ हिमालको पर्वतारोहणसम्म छ।

उपत्यकाका थोरै पारखीहरू ‘रक् क्लाइम्बिङ्ग’ गर्छन्, तर पहाडमै चट्टान चढ्दै टुप्पो पुग्ने ‘स्पोर्टस्’ अझै बामे सर्दो छ, र पर्वतारोहण भन्नु नै हिउँ छिचोल्दा हिमाली टाकुरा पुग्ने भनेर बुझिन्छ। पाँचपोखरीको महत्व यहाँ छ, कि यो उपत्यका नजिक हुँदाहुँदै यहाँ तीन–तीन थरीका पर्वत/हिमाल छन् जसले गर्दा हरेक चासो र ‘टेक्निकल’ क्षमताका लागि उपयुक्त छ।

पाँचपोखरी मध्येको ठूलो ताल, सूर्य कुण्ड। पाँच तालका दुई निकासलाई इन्द्रावतीको उद्गम मानिन्छ।

यहाँ तीन प्रकारका पर्वत छन् ः पहिलो, ६००० मि. माथिसम्मका, पाँचपोखरीको सिरानमा रहेका चट्टानी पहाड, जसलाई फेदबाट एक दिनको दौरानमा चढ्न सकिने। दोस्रो, ६५०० माथिका पर्वत, जसको लागि करीब एक हप्ता खर्चिनुपर्छ, ‘टेक्निकल क्लाइम्बिङ्ग’ (डोरी, जुमार, हार्नेस्, अन्य उपकरण) क्षमतासहित। यस्ता दर्जनौं चुचुरा पाँचपोखरीदेखि पूर्व रोल्वालिङसम्म र पश्चिम गोसाइँकुण्ड लेक हुँदै त्रिशूली नदीको पूर्वी पाखासम्म पाइन्छन्। अधिकांश यी चुचुरा कसैले चढेको छैन। तेस्रो, ७००० मि. माथिका जुगल हिमाल शृंखलाका पर्वतहरू। लाङटाङ जुगल क्षेत्रका २६ ‘ट्रेकिङ पिक’ मध्ये ११ वटा जुगलको भागमा पर्दछन्।

जुगल हिमालका यी चुचुराहरूमा विदेशीको आँखा पहिल्यै परेको हो, र सन् १९५५ मा तीन बेलायती महिलाले यहाँ पर्वतारोहण गरेका थिए। तुलनात्मक रूपमा जुगल हिमालका एक दर्जन जति शिखर चढ्न सजिलो पनि छ र अन्य ठूला हिमाल जस्तो खर्चिलो र महीनौं लाग्ने हुँदैन।

भोटेनाम्लाङ गाउँकी पर्वतारोही माया गुरुङ, जो पाँचपोखरी क्षेत्रको अर्थ–सामाजिक अग्रगमनका लागि लागिपरेकी छिन्।

हरेक भेक र प्रान्त पर्वतारोहणको प्रारम्भ अक्सर शुरूका ‘एड्भेञ्चरर’ हरूको कृति र तत्पश्चात्को लेखनबाट हुने गर्छ। राणाकालको अन्त्यतिर काठमाडौंका शासकहरूले बल्ल पश्चिमाहरूलाई हिमाल चढ्न अनुमति दिन थाले, र फ्रान्सेली मरिस् हर्जगको टोली सन् १९५० मा पहिलो ८००० मि. चुचुरा (अन्नपूर्ण) चढ्यो। यसै बेलातिर गणेश हिमाल, लाङटाङ र जुगल हिमाल क्षेत्र अनुसन्धान गर्ने र हिमाल चढ्ने इजाजत पाए, प्रख्यात बेलायती पर्वतारोही एच्. डब्लू टिल्म्यानले। उनले धादिङ उत्तरबाट शुरू गरी त्रिशूली नदीको सिरानमा पुग्दै अनि लाङटाङ उपत्यकाहुँदै एउटा उच्च भञ्ज्याङबाट पाँचपोखरी क्षेत्र आइपुगे। टिल्म्यानले हिमालय घुमाइबारे लेखेको ‘नेपाल हिमालय’ मेरो ठम्याइमा नेपाल हिमालयबारे सबैभन्दा गहकिलो पुस्तक हो। कुनै पनि भेकको पर्यटन अगाडि बढाउन लेखनी चाहिन्छ, र ८० वर्षको उमेरमा दक्षिण एट्लान्टिक महासागरमा साहसिक यात्राको क्रममा बेपत्ता भएका टिल्म्यानले यसरी पाँचपोखरीको समाजलाई सौगात छोडेर गए।

आज टिल्म्यानलाई सम्झन हामीसित ‘टिल्म्यान पास’ छ जुन बाटो गर्दै हेलम्बु र पाँचपोखरीबाट उत्तरको लाङटाङ उपत्यका पुग्न सकिन्छ। यसरी आफ्नो हिमाल पहाड मात्र होइन, पाँच पोखरीबाट गोसाइँकुण्ड, लाङटाङ पनि जान सकिन्छ।

पाँचपोखरीबाट प्रकृति, पर्यावरण बारेमा धेरै अध्ययन पनि गर्न सकिन्छ, किनकि सबै प्रक्रिया टड्कारो देखिन्छ, नाप्न सकिन्छ र र नीतिनिर्मातालाई सचेत गराउन पनि। जस्तै जलवायु परिवर्तनको असर, र ‘दक्षिणएशियाली ब्राउन क्लाउड’ — भारत र पाकिस्तानदेखि हावाले ल्याएको तुवाँलो जो चार हजार मिटर माथिका हिउँ र हिमनदीमा बस्छ र कालो पदार्थ भएकोले वरफ छिटो पग्लन्छ। यसरी हाम्रो हिमालमा हिउँ कम हुँदै गएको र हिमनदीहरू स्वयं मैलो, कुरुप भएको प्रमाण हेर्न पाँचपोखरी गएर माथि हिमालतिर नियाले पुग्छ।

हिमाली पदयात्रा, पर्वतारोहण र ‘रक क्लाइम्बिङ’ को केन्द्र बन्न सम्भव छ, यसको लागि मनाङमा जस्तै पर्वतारोहण तालिम र प्रशिक्षणको केन्द्र बन्न पाँचपोखरी क्षेत्र उत्तिकै लायक छ। यहाँका युवाहरू मान्यताप्राप्त ‘माउन्टेन गाइड’ बनुन् र काठमाडौंबाट यता उक्लने जमातलाई डोरी, चट्टान, हिउँको अभ्यास गराउन सकून्। केही वर्षयता ‘पाँचपोखरी हाफ् म्याराथन’ बाट उत्साहित स्थानीय युवाले जसरी यो ‘स्पोर्टस्’ अँगालेका छन्, यसैगरी मौका मिले — सक्षम पर्वतारोही, पथप्रदर्शक र प्रशिक्षक बन्न सक्नेमा शंका छैन।

बेलुकीपख पाँचपोखरी पश्चिम पर्ने गोसाइँकुण्ड लेकका ६,५०० मिटर माथिका दर्जनौं नचढिएका स–साना टाकुरा।

‘गरिहालौं’ सोच र स्रोत 

पाँचपोखरी क्षेत्रको दिगो अर्थ–सामाजिक अग्रगमनको लागि केन्द्रविन्दु यहाँका मुख्यतः तामाङ समुदायको बसोबास भएको गाउँ नै हुन् — गुन्सा, रैथाने पोखरी, ठूलो र सानो भोताङ, भोटेनाम्लाङ, छिम्ती, ई.। पाँचपोखरीबाट झरनाको रूपमा तल झर्दै पश्चिम लागेको इन्द्रावतीको दक्षिण पाटोमा पर्ने यी गाउँहरू धान, गहुँ, कोदो, मकै खेती र साग–तरकारी सम्पन्न छन्। यहाँका बासिन्दाले देश–विदेश देखेका छन्, कश्मीर र लद्दाखदेखि मलेशिया र खाडीसम्म।

यहाँका घरहरू प्रायः सबै पक्की सिमेन्ट–कंक्रिटका छन्, ‘रेमिटेन्स अर्थतन्त्र’ का कारण। भारत, खाडी र मलेशिया जतिकै घुमफिर गरे पनि, स्थानीय परिवेशसँगको सम्बन्ध दह्रो देखिन्छ। भोताङवासी अर्जुन वाइबाकै कुरा गरौं। आफ्ना पूर्वजले पाँचपोखरी पत्ता लगाएको गर्व छ उनलाई। अर्जुनले लद्दाखमा भारतीय सेनाको लागि काम गरे, दिल्लीको होटलमा अनि दुबईको रेस्टुरेन्टमा शेफ बनेर सीप सिके। फर्कंदा २०७२ को भूकम्पको मारमा उनको परिवार पनि प¥यो, धेरै पैसा खर्चेर धर्मपत्नीलाई भारतका अस्पताल चहार्दा पनि बचाउन सकेनन्।

पाँचपोखरी फेदका गोब्रे सल्लालगायतका जंगल घना भएको छ, तर प्रकृति र हरियालीसँग गाँसिएको मानव संस्कृतिको महत्व घटेको छ।
 

आज अर्जुन तल भोताङबाट पाँचपोखरी ओहोरदोहोर गर्छन्, पदयात्रीलाई ‘होस्ट’ गर्छन्, र पूरै पाँचपोखरी क्षेत्रको प्राकृतिक सम्पदा र संस्कृतिको संरक्षणमा नै समुदायको भविष्य छ भन्नेमा उनी विश्वास गर्छन्। यो क्षेत्रको रहनसहनले यात्रुलाई आकर्षण गर्छ, यहाँका स्थानीय र ‘अग्र्यानिक’ सागपात, अन्न र जंगली उत्पादनले गाउँ सम्पन्न बन्छ भन्ने उनको बुझाइ हो। अर्जुनको आफ्नो निजी लक्ष्य भनेको दोर्जे ल्हाक्पा हिमाल चढ्ने हो।

तर जाँगरिला स्थानीयवासी भएर पुग्दैन, आर्थिक, सांस्कृतिक तथा सामाजिक सम्भावना चाहिन्छ, जो भाग्यवश पाँचपोखरीसँग छ। यस्तै ‘केही गर्न सकिन्छ, केही गरौं’ भन्ने स्थानीय निर्वाचित नेतृत्व, गाउँपालिका अध्यक्ष टाशी लामा ह्योल्मो र वडा–३, भोताङका वडाध्यक्ष निमा छिरिङ तामाङ। संघीय सरकारको उपस्थिति यहाँ त्यति देखिंदैन, तर वागमती प्रदेशका पर्यटन मन्त्री अरुण नेपालको लागि पाँचपोखरी र जुगल हिमाल क्षेत्रको पर्यटन प्रवद्र्धन ‘गरिहालौं !’ विषय भएको छ।

भोटेनाम्लाङकी पर्वतारोही र जुझारु माया गुरुङ पनि यस भेकको सामाजिक र आर्थिक अग्रगमनको लागि मियो भएकी छिन्। ‘पहिलो समावेशी महिला सगरमाथा आरोहण दल’मा रहेर सात नेपाली महिला सहित सन् २००८ मा सगरमाथा चढेपश्चात् विश्वका सात महाद्वीपका सबैभन्दा अग्ला चुचुरा पनि चढिसकेपछि अहिले मायाको ध्यान सिन्धुपाल्चोकको यस कुनाले तानेको छ। “चेलीबेटी बेचबिखनको गाथा बोकेको क्षेत्रलाई सम्पन्नताको केन्द्रविन्दु बनाउन सकिन्छ, यहाँका युवा पर्वतारोही, पथप्रदर्शक, उद्यमी, व्यवसायी बन्न सक्छन्”, उनी भन्छिन्।

स्थानीय र प्रान्तीय राजनीतिक नेतृत्वलाई उत्साहित बनाउँदै माया गुरुङले गत वर्ष जुगल शृंखलाको ‘ग्याल्जेन पिक’ चढ्न सफल भइन् र धेरैको मनमा सम्भावनाको ढोका खोलिदिइन्। यस्तै पाँचपोखरी–हेलम्बुदेखि लाङटाङ जाने ‘टिल्म्यान कोल’ द्वारा दुई हिमशृंखलाबीचको पर्वतारोहण र पदयात्राको गाँठो कस्ने तयारीमा छिन् अहिले उनी।

“पश्चिम युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लाँको फेदमा रहेको शामोनी गाउँ पर्वतारोहण उद्योगको केन्द्रविन्दु बनेको छ। हाम्रो भोताङ पनि त्यस्तै बन्न सक्छ, माया भन्छिन्।

स्याटलाइट तस्वीरमा समेत देखिन्छ २०७२ को भूकम्पले सिन्धुपाल्चोकमा ल्याएको पहिरो वा दागहरू।

थापा ‘हवेली’

मुख्तियार भीमसेन थापाको अधोगतिसँगै उनका भाइ रणवीरसिंह थापा पनि ‘कालापानी प्रवास’ मा जानुपर्ने भयो। उतिबेलाको अनकन्टार, पाँचपोखरी फेदमा पर्ने भोताङ गाउँमाथिको (पद्मसंभव गुफा रहेको) डुप्खाङको पाखो नजिक उनले दरबार बनाए ठूला गोब्रे सल्लाबाट बडेमानको सत्तरीसहित। उपत्यकाका कालिगढले नेवार शैलीमा कुँदेर झ्यालढोका सहितको बन्यो एउटा सानो ‘हवेली’ — भीमसेन थापाले अवध राज्यको धेरै वास्तुकला भित्र्याएकै थिए, उनका भाइले उर्दू शब्दले आफ्नो दरबार सजाए। त्यो उँचाइबाट पारिपट्टि हेलम्बु क्षेत्र र आमायाङ्ग्री र उत्तरपट्टि गोसाइँकुण्ड लेक सबै देखिने नमूना भवन र प्राङ्गण थियो, यो। २०७२ को भूकम्पले सिन्धुपाल्चोकलाई विशेष धक्का दियो, र त्यसै प्रकोपमा यो गजबको दरबार पनि ढल्यो, र आजसम्म यो खण्डहरको रूपमा रहेको छ।

पाँचपोखरी क्षेत्रको अन्तिम ठूलो गाउँ सानो भोताङ।

केही स्थानीयवासीको भनाइ छ कि यस भेकलाई पछाडि पारिरहन यहाँको ‘खानदानी’ थापा परिवारको पनि भूमिका छ। तर अब यही ‘हवेली’ दरबारको सहयोगमा इतिहास उल्टाउने बेला आएको छ। स्थानीय नागरिक समाज, नेता र थापा खलक मिलेर हवेलीलाई यस भेकको सांस्कृतिक केन्द्रविन्दु बनाउनुको विकल्प देखिंदैन। पर्यटन प्रवद्र्धन र प्रगतिका अन्य लक्ष्य प्राप्तिका लागि यो ‘हेडक्वार्टर’ नै बन्न सक्दछ। होम्स्टेको स्तरोन्नति, राम्रा रेस्टुरेन्टका उदाहरण, पाँचपोखरी क्षेत्रका सम्भावनाबारे अनुसन्धान र बहस, ‘माउन्टेन गाइड’ तालिम, आदि इत्यादि कुरा यस भवनलाई ‘बेस’ बनाइनुपर्छ।

यदाकदा अन्यत्र पहाडमा पनि आँखीझ्याल र कुँदिएका राम्रा राम्रा चौकोस र थाम नपाइने होइनन्, जस्तै गोरखा र नुवाकोट दरबार। तर यस्तो कलात्मक ऐतिहासिकता राजनीतिक केन्द्र कहिल्यै नबनेको पाँचपोखरीमा रहनु सुखद हो। यसै कारण पनि रवीन्द्र पुरी अथवा रोहित रञ्जितकार जस्ता पुरातात्विक भवन पुनर्निर्माणका विशेषज्ञको सहयोग लिई, राम्रो राशि सरकार र जनताबाट उठाई, हवेलीलाई सामाजिक अवतारमा पुनर्जीवन दिनु आवश्यक छ।

एकाबिहानै पदयात्रीसँग सफरमा निस्केका कुकुर पाँचपोखरीमा ५ कुण्ड नियाल्दै। (तस्वीरः माया गुरुङ)
 

पर्यटन प्रवर्धन, सेवा र उत्पादन गर्दा बिर्सन नहुने कुरा यो हो — यस क्षेत्रमा प्रायः तामाङ समुदायको बसोबास छ, र यही स्थानीय तामाङ संस्कृतिलाई बचाइराख्नुपर्छ, कुनै अव्यावहारिक ‘सङ्ग्रहालय’ को रूपमा यथास्थितिमा राख्ने सोच नभई यहींकै बासिन्दाको फाइदा र उपभोगको लागि। यसै कारण पनि स्थानीय भाषा, रहनसहन, खानपिन, वास्तुकला, औजार, लुगाफाटा, चाडपर्वले निरन्तरता पाए राम्रो। गाउँघरको कुरा गर्दा बाहिर मौलिक र स्थानीयता राखेर भित्र आधुनिक बनाउँदा स्थानीयलाई पनि सुख, होम्स्टे पनि आरामदायी।

बचाउनुपर्ने त परम्परा, भेषभुषा र चाडपर्व मात्रै होइन, नाम पनि छन्। जस्तै बोन्दोगाङ्ग देउरालीलाई आजकल टुपीडाँडा भन्ने चलन छ, यस्तै कसैकसैले पाँचपोखरी पुग्नुअघिको नोर्शयाङ्ग नामको बस्तीलाई नर्सिङपाटी भनेको पनि सुनियो। स्थानीयताको महत्व नाममा पनि रहन्छ, र यो खालको ‘नेपालीकरण’ उपयुक्त होइन।

‘५–पोखरी ब्रान्डिङ्ग’

पाँचपोखरीको जनजीवनमा आफ्नै संस्कृति र सम्पदाको भरमा ठूलो आयआर्जन गर्ने क्षमता छ भने त्यो क्षमतालाई वास्तविकतामा ढाल्ने नै हो स्वादिलो चुनौती। बजार काठमाडौंको मध्यमवर्ग हो, विदेशी र समुद्रपारका पर्यटक ताकिरहनुपरेन, पछि गएर त्यो बजार पनि आफ्नै हो।

पाँचपोखरीले आफ्नो सेवा र उत्पादनलाई प्रवद्र्धन गर्नेछ र यसका साथै उत्पादन र सेवाको काठमाडौंमा मार्केटिङ हुनेर्छ। एउटा ‘ब्रान्डिङ्ग’ पहल चाहिएको छ, ‘पाँचपोखरी’ भन्नु नै गुणस्तरीय उत्पादन, दक्ष पथप्रदर्शन, वा आरामदायी र सफा होम्स्टे बुझिने गरी। कुनै एउटा ‘अडिट’ निकायले नै यहाँका सेवा र उत्पादनलाई ‘सर्टिफाई’ गरोस्, र ‘५ पोखरी’ छाप यहाँको सक्कली सेवा÷उत्पादनमा लागोस्। यसरी उत्पादन र सेवाको स्तर सुनिश्चितता गर्दागर्दै बजार प्रवद्र्धन गर्दा काठमाडौं उत्साहित नहुने कुरै छैन।

राजधानी उपत्यकाको कुनै पनि ठाउँबाट देखिने जुगल हिमाल फेदको पहाडी रेखा, त्यही नै हो पाँचपोखरी क्षेत्र। हवाई लाइनमा २० माइलको दूरी मात्रैमा रहेको पाँचपोखरी ‘टाढा’ रहेको छ। यो टाढा हुनुको फाइदा अब यस थाङपाल पाँचपोखरी गाउँपालिकाले लिन ढिलो गर्नुहुँदैन।

देवकुमार वाइबाको घट्ट। उनी काठमाडौंबाट आएको ‘लोकल’ अन्नको माग पूरा गर्न तयार छन्। (तस्वीरः इलम दीक्षित)
 
घट्टमा देवकुमार वाइबा (तस्वीरः माया गुरुङ)।

अहिले मौलिक संस्कृति, मौलिक खाना र परम्परागत रहनसहनको स्वाद लिने चाहना राख्ने ठूलै जमात निर्माण भएको छ राजधानी उपत्यकामा। र यसको आपूर्ति गर्ने क्षमता पाँचपोखरीको समुदाय र नेतृत्वले। यहाँका धामीझाँक्री र लामाद्वारा संरक्षित स्थानीय संस्कृति आजैसम्म पनि उर्वर छँदैछ।

प्राङ्गारिक उत्पादनलाई सुरक्षित राख्दै काठमाडौंको बजारमा पुर्याउनु परेको छ, यहाँको परम्परागत अन्न, गेडागुडी, तरकारी र जंगली च्याउ, अलैंची, ई.। परम्परागत चाडपर्व एक त स्थानीय संस्कृतिको निरन्तरताकै लागि बच्नुपर्छ। यसको भरमा आगन्तुकलाई पनि आकर्षित गर्नुपरेको छ। ‘होम्स्टे’ को चलन नेपालभरि नै बढ्दो छ, तर यति भन्नै पर्ने हुन्छ कि अधिकांश ‘होम्स्टे’ राम्रो खर्च गर्न सक्ने पाहुनाको लागि आरामदायी छैनन्। यहाँ पनि अनुसन्धान र अनुभवको भरमा ‘५ पोखरी होम्स्टे’ ब्रान्ड चाहियो — घरको बाहिर पुरानो शैलीको भने भित्र न्यानो, सुकिलो, आरामदायी सुत्ने कोठा, बैठक र टोइलेट।

पाँचपोखरीको सन्दर्भमा पुरानो शैलीको काठ र ढुंगाका घरहरू सबै सिमेन्ट र कंक्रिटमा परिणत भइसके, र २०७२ सालको भूकम्पले बचेखुचेकालाई पनि लिएर गयो। सक्षम र संवेदनशील वास्तुविद्को सहयोगसहित, नयाँ भवन बनाउँदा परम्परागत रूप दिन जरूरी छ र ‘आधुनिक’ घरका ‘फसाड’ लाई पनि परम्परागत देखिने बनाए राम्रो।

पाँचपोखरीका परम्परागत घट्ट घुम्न छाडेका छैनन्। ठूलो भोताङ गाउँ छेवैमा भीर–पहराको मुनि अलैंचीको घारीमाझ देवकुमार वाइबाको रोमाञ्चक परिवेशमाझ घट्ट छ, मोटर बाटैछेउ। घट्ट सञ्चालनमा छ, र आफूले उब्जाएको अन्न गाउँलेहरू यहीं पिसेर प्रयोग गर्छन्। देवकुमार भन्छन्, काठमाडौंबाट ‘अर्डर’ आए कोदो, गहुँ र चामल पिसेर आजको भोलि नै पु¥याइदिन्छु। यही घट्टको भरमा पाँचपोखरी बजार प्रवद्र्धनको काम प्रारम्भ गर्न सकिन्छ। त्यसका साथै होम्स्टे, पदयात्रा, पर्वतारोहण, सांस्कृतिक पर्यटनदेखि खानपिनमा नयाँ तौरतरिकासहित बजार विस्तार।

पाँचपोखरीका बासिन्दालाई इतिहासले सहयोग गरेन। यो इतिहास उल्टाउन र आफ्नो समृद्धिको ढोका आफैं खोल्न एक दशक यता स्थानीय जागरुकहरू लागेका थिए, द्वन्द्वकालपश्चात् सम्भावनाहरू देखिन्थे, तर शुरूमै भारतीय नाकाबन्दीले असर ग¥यो। केही काम अगाडि बढाउँदा बढाउँदै २०७२ सालको भूकम्पले हिर्कायो, जसलाई आजै पनि पहाडका पाखाहरूको पहिरोका दागहरूले सम्झाउँछ। गत वर्ष फेरि पर्यटन अगाडि बढ्न लागेकै बेला कोरोना महामारी र बन्दाबन्दीले थलाइदियो।

तर थलिएकै बेला हो योजना बनाउने र भोलिको लागि तयारी गर्ने। पाँचपोखरीवासी आफ्नै उत्थानको लागि उत्साहका साथ तयारीमा छन्। पाँचपोखरीको उत्थानका पाँच सूत्रमा कुनै नयाँ कुरा नहोला, तर यिनको प्रयोग अरूलाई रोमाञ्चित गर्दागर्दै पाँचपोखरीलाई उचाल्नेछन्।

 
 

Post navigation

Previous Post:

New Delhi’s new dealings in Nepal

Next Post:

Saglo Samaj NEW TV Show Coming Soon!

One comment

  1. Bibhor Bista says:
    January 18, 2021 at 3:45 PM

    I found this article very interesting and worth reading Kanak sir. Thankyou

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes