Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

पाटनढोकाबाट माछापुच्छ्रे

July 25, 2021 by admin

हिमाल खबरपत्रिका (१८-२४ जेठ २०७१) बाट

१२ जेठ रातभरि पानी परेपछि तुवाँलो लाग्नुपर्ने यो याममा वायुमण्डल एकछिनको लागि सफा भयो। पाटनढोका, ललितपुरको जुनसुकै अग्लो भवनको छतबाट पश्चिम हेर्दा देखिन्थ्यो, अन्नपूर्ण–१ तथा माछापुच्छ्रे चुचुरा। काठमाडौं उपत्यका र पूर्वी नेपालमा बादल लागेकोमा मध्य नेपाल घमैलो थियो बिहानको ८ बजे, र अन्नपूर्ण श्रृंखलामा सूर्यको लालीले छोएको थियो। अरू वेला बेलुकीको अस्ताउँदो घामको ‘ब्याक्लाइट’ मा आकार मात्र देखिने अन्नपूर्ण श्रृंखलाको चुचुरो त्यो वेला छुट्याउन सकिने भएको थियो। टेलेफोटोमा खिचेको तस्वीरलाई ठूलो पार्दा भने अलि धमिलो देखिएको छ।

१२ जेठ २०७१ को बिहान ८ बजे ललितपुर, पाटनढोकाबाट देखिएको दृश्य।

पोखराबाट टड्कारो देखिने अन्नपूर्ण श्रृंखला पाटनढोकाबाट देखिन्छ भन्दा धेरैलाई पत्यार नलाग्नु स्वाभाविक हो, किनकि, काठमाडौं उपत्यकावासीलाई हिमालयप्रति आजसम्म त्यति चासो छैन। उपत्यकाको कुनाकाप्चाबाट देखिने जबर्जस्त श्रृंखलालाई देखाएर ‘गणेश हिमाल’ त भन्छौं तर पाबिल, गणेश–१ या गणेश–२ छुट्याउने जमर्को गर्दैनौं। गोरखा हिमाल गौचर विमानस्थल लगायतका उत्तरपूर्वी क्षेत्रबाट छर्लङ्ग देखिन्छ, तर मनासलु, हिमालचुली र बौद्ध चुचुराप्रति चासो छैन। भक्तपुर, नगरकोट र धुलिखेलबाट छुनै सकिने गरी ‘जुगल’ श्रृंखला देखिंदा फूर्वीघ्याचु, छोवाभमरे, दोर्जेल्हाक्पा र लोन्पोघाङ्ग पनि छुट्याउन सक्नुपर्ने हो। र, वरिपरिका शिवपुरी, चन्द्रागिरि, नागार्जुन र फुल्चोकी टुप्पाबाट काठमाडौं उपत्यकाको धरातलबाट राम्रै गरी देखिने हिमाल मात्र नभएर हिमालय श्रृंखलाका अरू हिमाल पनि प्रष्टसँग अवलोकन गर्न सकिन्छ।

वास्तवमा हिमालय पर्वत यति अग्लो छ कि पृथ्वीको गोलार्द्धलाई पनि एकहदसम्म यसले जित्न सक्छ। उपत्यकाको दक्षिणपूर्वमा रहेको फुल्चोकीको टुप्पाबाट नेपालको झ्न्डै आधा भाग देखिन्छ, मकालुको दक्षिणमा रहेको चाम्लाङ्ग शिखरदेखि धौलागिरि चुचुरासम्मको करीब ३६० किमिको दूरी। यसरी मुलुकका आधा भाग देखिनुले ८८५ किमि लम्बाइको नेपाललाई सानो जनाउँदैन, बरु यसले हाम्रा हिमालहरूको उचाइ दर्शाउँछ। त्रिभुवन राजपथको सिमभञ्ज्याङ्गबाट हिमश्रृंखला हेर्दा त ‘स्नो लाइन्’ को रेखामा पृथ्वीको गोलार्द्ध नै देखिन्छ, ‘कर्भेचर अफ दि अर्थ’।

म र मेरा स्कूले सहपाठीलाई हिमाल चिनारी गराइदिएका थिए सेन्ट जेभियर्स गोदावरीका हाम्रा गुरु अमेरिकी पादरीहरूले। वर्षको एकचोटि ‘फुल्चोकी डे’ मा पूरै स्कूललाई टुप्पामा पुर्‍याउँथे। नेपाललाई आफ्नो कर्मथलो बनाएका यी पादरीहरू हिमालय र एक–एक चुचुराको आकार, इतिहास र विभिन्न क्षेत्रको बसोबासबारे औधी चासो राख्दथे र हामी विद्यार्थीमा पनि चासो जगाइदिए। कहाँ छ खुम्बु हिमाल र शेर्पा–राईको बसोबास, जुगल हिमालको सामुन्ने हेल्मो र तामाङ, र अन्नपूर्ण–धौलागिरिको उत्तरपट्टिका मनाङ्गवा, लोवा, थकाली र दक्षिणपट्टिका गुरुङ र मगर।

आजकल विभिन्न समुदायको पहिचानको संघर्षका कारण बसोबासको विविधताबारे सबैमाझ् संवेदनशीलता बढेको छ। तर, हिमालको चिनारी भने अहिले पनि जहाँको त्यहीं छ।

Post navigation

Previous Post:

Convictions and Modi-fications

Next Post:

पाटनढोकाबाट माछापुच्छ्रे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes