Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

प्रेरणादायी प्रतिनिधित्व

July 4, 2021 by admin

हिमाल खबरपत्रिका (१-१५ पुस, २०६० )बाट

संयुक्त राष्ट्रसंघद्वारा डाकिने गरेको बृहत् “वल्र्ड समिट” हरूमा अक्सर सरकारी प्रतिनिधिमण्डलको पहुँच हुन्छ र यदाकदा केही अन्तर्राष्ट्रिय चिनजान भएका ‘गैरसरकारी’हरू पुग्ने गर्दछन् । तर गतहप्ता (डिसेम्बर १०–१२) स्वीट्जरल्याण्डको जेनेभामा भएको जमघटमा भने विभिन्न क्षेत्र, वर्ग र जातजातिको यस्तो प्रतिनिधित्व थियो कि यसले एक अर्थमा हाम्रो देश बढी सहभागितामूलक भएको दर्शायो । हामी देशको परिस्थिति देखेर नियास्रिँदा पनि जनता क्रियाशील छन् र आ–आफ्नो ठाउँमा रहेर नयाँ–नयाँ चुनौतीहरूको मुकाबिला गर्दैछन् भन्ने यसले जनाउँछ ।

 

फ्रान्सेली भाषी शहर जेनेभामा संयुक्त राष्ट्रसंघले डाकेको “वल्र्ड समिट अन इन्फर्मेशन सोसाइटी” भेलामा हजारौँ राष्ट्रिय प्रतिनिधि, वैज्ञानिक र ‘एक्टिभिष्ट’हरू संसारका कुनाकुनाबाट ओइरिएका थिए । नेपाली औपचारिक प्रतिनिधिमण्डल थिँदैथियो, नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सञ्चार मन्त्री कमल थापा र विभिन्न मन्त्रालयका उपसचिवहरू । तर चाखलाग्दो चाहिँ गैरसरकारी हिसाबले आ–आफ्नो जाँगर र सौखका कारण यहाँ आइपुगेका नेपाली थिए र जसको यसअघि एक–अर्कासँग सम्पर्क पनि थिएन । दुई तीन वटा फूटबल ग्राउण्ड ढाक्ने बडेमानको भवनमा राखिएका सयौँ स्टलहरूमा बजारै लागेको थियो, कम्प्युटर, “आइटी” र सञ्चारमा लागेका व्यवसायी र एक्टिभिष्टहरूको । र, यही प्राङ्गणमा चिनेका– नचिनेका नेपालीहरूको उद्यम र विविध क्षेत्रमा गरेको लगानी र तिनको क्रियाशीलता देख्न पाइयो ।

यहाँको “प्यालेक्स्पो” सभा गृहको केन्द्रीय प्राङ्गणमै कुनै एउटा नेपाली बजारको चारैदिशा ढाक्ने गरी टाँसिएको बडेमानको फोटोग्राफिक पोष्टरले नेपालीलाई “घरै आइपुगिएछ कि” भन्ने भान पार्दथ्यो । आ–आफ्नो स्टल छोडेर सबै जम्मा हुने ठाउँ यही नै थियो र स्वीट्जरल्याण्डमा भेला भएका सबै देशका जमातका लागि यो ‘नेपाल’ बन्न पुग्यो ।

 

 
 

एक जना दौरासुरुवाल, कोट र टोपी लगाएका जवानमाथि आँखा नपर्ने त कुरै भएन । उहाँ हुनुहुँदोरहेछ बालकृष्ण जोशी, जसको “ठमेल डट् कम” कम्पनीले इन्टरनेटको सिर्जनशील प्रयोगका लागि पुरस्कार पाएको रहेछ । युएनडीपीका हाकिम मार्क मेलक ब्राउनको हातबाट पुरस्कार लिन उहाँ यहाँ आउनुभएको रहेछ । एउटा स्टलमा “लोटस इन्टलेक्ट” लेखेको थियो र त्यहाँ हुनुहुन्थ्यो रोनाष्टका प्राज्ञ ऋषि शाह र उद्यमी शुलो श्रेष्ठ । हिँड्दाहिँड्दै भेट भयो नेपालकै म्यागसेसे पुरस्कार विजेता भारतदत्त कोइराला, जो सहयोगी सुमन बस्नेतसँग “एमार्क” भन्ने रेडियोलाई एसिया प्यासिफिकमा अगाडि बढाउन क्रियाशील हुनुहुन्छ । स्मरणरहोस्, नेपालमा एफ एम रेडियोले प्रगति गरेकोमा संसारसामु नै हामीले गर्व गर्ने अवस्था छ र अरूलाई (विशेष गरी दक्षिण एसियामा) बाटो देखाउने पनि ।

 

फेरि एक्कासी भेट भयो बुद्धिजीवी र अन्तर्राष्ट्रिय तवरमा आदिवासीहरूका समस्याहरू सुल्झउन लागिरहनुभएका दम्पती परशुराम तथा स्टेला तामाङ । दिनभरिको भेटघाट सकेर होटलतिर लाग्दा बसमा भेट भयो कुलबहादुर नेपालीसँग, जो देशका दलितहरूको समस्या सुल्झउन प्रतिबद्ध हुनुहुन्छ । सुनिता लामिछाने भन्ने अर्की एउटी नेपालीले पनि पुरस्कार पाएको सुनियो, तर केका लागि थाहा पाउन सकिएन । “प्रो पब्लिक” संस्थाका केदार खड्का र उहाँकी सहयोगीको पनि उपस्थिति थियो आफ्नै स्टलमा, जसको फोकस थियो नेपालमा “करप्शन्” । यो स्तम्भकार आफैँ जेनेभा पुगेको थियो बीबीसी टेलिभिजनमा “डिजिटल डिभाइज” को बारेमा एउटा बहसमा भाग लिन ।

स्वतन्त्र हिसाबले, एक–अर्काले थाहै नपाइकन त्यस सम्मेलनमा भाग लिन पुग्ने नेपालीहरू सके अरू पनि हुनुहुन्थ्यो होला । जसले नेपालीहरूको “प्रोफाइल” र क्रियाशीलता अन्तर्राष्ट्रिय तवरमा धेरै माथि पुगिसकेको स्पष्ट हुन्थ्यो । धेरैजसो देशहरूको नामै उच्चारण भएन त्यहाँ । पुरस्कार पाउने र स्टल राख्नेदेखि विभिन्न गोष्ठीहरूमा सहभागी हुने नेपालीको सङ्ख्या हेर्दा नेपालले फड्को मारेकै हो भन्न बाध्य हुनुपर्छ । आत्मविश्वास र स्वाभिमानका साथ अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुनु पनि देश र समाजको विकासको सङ्केत हो । फेरि “आइटी” मा साँच्चिकै अग्रसर व्यक्तिहरूमध्ये कति त जेनेभाको सम्मेलनमा आउनु पनि भएको थिएन । यसरी एउटा आधुनिक क्षेत्र र विधामा नेपालीको सहभागिता हुनु हाम्रो खुला समाज र यसमा हुने प्रतिस्पर्धाको उपज नै हो । जेनेभाको सम्मेलनबाट मैले लिएर फर्केको शिक्षा यही नै हो ।

Post navigation

Previous Post:

‘थाती राखिएको देश’

Next Post:

विदेशी चासो कति हर्ष, कति बिस्मात ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes