Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

बूढो कसलाई भनेको?

October 4, 2021 by admin

हिमाल खबरपत्रिका (१६ असोज, २०७८) बाट

ज्येष्ठ नागरिकलाई परम्परागत हिसाबले बढी उमेर भएका कारण होइन, उनीहरूको अनुभव र ज्ञानको आदर एवं सम्मान गर्ने हो।


मेरो कपाल फुल्न थालेको तीन दशक भयो र यो अवधिभर ‘बूढो’ भएको बुझाइ सहित जिन्दगीको यात्रामा छु। कपाल भर्खर फुल्न थाल्दा अनुहार र ज्यानले कसैको आँखामा तन्नेरी नै थिएँ होला। त्यस बखत अमेरिकामा हुँदा मैले आफ्नो बचाउमा भन्ने पनि गर्थें- कपाल झरेर मुडुलो हुनुभन्दा त सेतै फुल्नु ठीक !

तर, साढे ६ दशकको उमेर पार गर्दा धेरैको ठम्याइमा (मेरो होइन) वास्तवमै बूढो हुँदा, आँखा वरिपरि चाउरीले जरा गाड्दा र सेताम्मे फुल्नुका साथै टाउको आधाउधी कपाल बेगर हुँदा मैले बुढ्यौली वा बुढेसकालबारे बुझ्नुपर्ने भएको छ।

नेपाली समाजमा बुढेसकाललाई हियाउने, खिल्ली उडाउने प्रवृत्ति छ। यसरी हियाउनेहरूमा न त मुलुक र समाजको फेरिएको जनसांख्यिकी अवस्थाबारे चेत छ, न उमेर पुगेकाहरूको मनोभावनाप्रति सह-अनुभूति, न त आफैं ढिलो-चाँडो बूढो भइन्छ भन्ने हेक्का नै।

पहिलो कुरो त कसलाई ‘बूढो’ भन्ने र नभन्ने ज्ञान र सूचनाको कमी छ। सन् १९५४ मा नेपालीको औसत आयु २८ वर्ष थियो, जुन अहिले ७१ वर्ष पुगिसक्यो। जनस्वास्थ्य सेवा तथा चिकित्सा सेवाका कारण पनि जीवनस्तरमा सुधार भइरहेको छ। उतिवेलाका ६० वर्षीय नागरिक र अहिलेको त्यही उमेरका नागरिकको स्वास्थ्य र फूर्ति बेग्लै छ।

जीवन निर्वाहका लागि कठिन शारीरिक परिश्रम गर्दा पहिलेका प्रौढ ग्रामीण व्यक्तिको जीउ अस्वाभाविक रूपमा छिट्टै गल्थ्यो। आज अनेक सेवा-सुविधा र जीवनस्तरमा आएको सुधारका कारण त्यतिको गलेको हुँदैन। विगतमा ५/६ (वा त्योभन्दा बढी) वटा बच्चा जन्माएर हुर्काउँदा महिलाको शरीर ४० वर्ष नपुग्दै कमजोर हुन्थ्यो। परिवार नियोजनले गर्दा अधिकांश महिलाका लागि यो अवस्था फेरिएको छ।

यसरी बूढो वा बूढी बन्ने मानक माथिमाथि सर्दो छ, तर सदियौंदेखिको सामाजिक मान्यता उही छ। तीन-चार दशक अघिको सोचाइमा फेरबदल आएको छैन। ज्येष्ठ नागरिक भन्ने बित्तिकै शारीरिक हिसाबले अशक्त र मानसिक हिसाबले छोराछोरी, नातिनातिनामा आश्रित भन्ने मान्यता छ, जुन गलत हो।

आत्मविश्वास र स्वमूल्यांकन कम भएका व्यक्तिले हाे, अरूलाई ‘बूढा’ या ‘बूढी’ भन्दै होच्याउने। एउटा उमेर पार गरेका व्यक्ति अभ्यास, अनुभव र ज्ञानका खानी हुन्, तर ‘बूढा’ या ‘बूढी’ भनेर गिज्याउनेहरूले यो मानव स्रोतको भण्डारलाई उपेक्षा गर्छन्। ज्येष्ठ नागरिकलाई परम्परागत हिसाबले बढी उमेर भएका कारण होइन, उनीहरूको अनुभव र ज्ञानको आदर एवं सम्मान गर्ने हो।

युवा भन्ने बित्तिकै ऊर्जा, जोश र आधुनिक सोच भएको व्यक्ति भनेर बुझिन्छ। जबकि, त्यो सुनिश्चित हुने रहेनछ। युवा नेताबाट मुलुकले केही आश गरेको दशकौं भयो, तिनै तन्नेरी नेता आज बुढ्यौलीको सँघारमा पुगिसके। सदा युवा त बन्न पाइएन नि, र मौका नपाएर कुर्दैमा सञ्जीवनी बुटी खाएको त हुँदैन नि!

२०६२/६३ को जनआन्दोलनताका पनि राजनीतिमा युवा नेतृत्व चाहियो भन्ने आवाज जताततै सुनिन्थ्यो। जबकि राजासँग जुध्ने, सडक आन्दोलनमा सरिक हुने र आन्दोलन सफल पार्ने मुख्य व्यक्ति थिए, ८६ वर्षीय गिरिजाप्रसाद कोइराला। आजको राजनीतिक मैदानमा हेर्नुहोला, राजनीतिक अडान लिने, लोकरिझ्याइँको विरुद्ध आफ्नो विचार राख्न सक्ने युवा नेता को हुन्? फेरि सोच्नुस् को हुन्? कसैको नाम आउँछ दिमागमा?

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे खुला दिलले बोल्ने को छ? अध्यादेश आतंकबारे स्वतन्त्र विचार राख्ने को छ? हत्या आरोपमा मुद्दा खेपिरहेका व्यक्ति प्रतिनिधिसभाको सभामुख हुनुहुँदैन भन्ने कसले?

ज्येष्ठ नागरिकहरू अभ्यास, अनुभव र ज्ञानका खानी हुन्, तर ‘बूढा’ या ‘बूढी’ भनेर गिज्याउनेहरूले यो मानव स्रोतको भण्डारलाई उपेक्षा गर्छन्।

जोशिला युवा नेतालाई फरक धारणा राख्ने आँट गर्दछन् भन्ने विश्वास सबैको छ, तर आफ्नो राजनीतिक जीवन नखलबलियोस् भनेर हावाको बहाव हेर्दै बस्ने वर्तमान दलका राजनेतामाझ युवा, वयस्क, वृद्ध नेतामा एकरत्ति फरक छैन।

आजभन्दा भोलि बढी ज्येष्ठ नागरिकहरू नेपालमा अगाडि आउनेछन्। एक त सरकारी जागिरबाट अवकाश हुने ५८ वर्षे उमेरहदका कारण धेरै सक्षम र जोशिला नागरिक ‘वर्कफोर्स’ मा प्रवेश गर्दैछन्। अर्को, शहरी मध्यम वर्गीय परिवार होस् या ग्रामीण परिवारका युवाहरू; यूरोप, अमेरिका र अष्ट्रेलिया पलायन भएका छन्। त्यस्तै, खाडी, मलेशिया, कोरियामा मजदूरी गर्दै छन्। ती युवाहरूको घर धान्ने जिम्मेवारी चाहिं ज्येष्ठ नागरिककै काँधमा छ। ज्येष्ठ नागरिकहरू पनि काम गर्न सक्छन् भन्ने यो प्रमाण हो।

कोभिड-१९ महामारी माझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जो वाइडेन दुवैको कार्यकालमा मुख्य सल्लाहकार छन्, ८० वर्षीय एन्टोनी फाउची। अमेरिकाकै सर्वोच्च अदालतको सशक्त न्यायाधीशको भूमिका निर्वाह गरेकी रुथ बेडर गिन्सबर्गको ८७ वर्षमा निधन भयो। गिन्सबर्ग जीवनको अन्तिम कालसम्म पनि फैसला सुनाउँदै थिइन्।

नेपालका ज्येष्ठ नागरिकको उदाहरणीय सक्रियताको पनि कमी छैन। देशभरि जनस्वास्थ्य पुर्‍याउन लागिपरेका डा. गौरीशंकरलाल दास ९७ वर्षको उमेरमा मानवअधिकार क्षेत्रमा सक्रिय छन्। आजभोलिको समसामयिक विषयमा कसैले के भन्लान् भन्ने कुरामा परवाह नगरी बस्ने प्रखर विचार निर्माणकर्ता हुन्, ८९ वर्पीया भद्रकुमारी घले। १०२ वसन्त पार गरेका शताब्दीपुरुष संस्कृति इतिहासकार सत्यमोहन जोशीको कुरै गर्नुपरेन।

सामाजिक सञ्जालमा म आफैंले बेहोर्नुपरेको गिज्याइँ हो, ‘बूढा’ सम्बोधन। यस्तो भन्नेले मेरो प्रतिष्ठालाई हिर्काउने, मेरो आत्मसम्मान र आत्मबललाई होच्याउने हेतुले भनेका हुन्। वृद्धवृद्धासामु सम्बन्धित विषयमा तर्क र तथ्य सहित प्रस्तुत हुनुको साटो केवल उमेरको गन्तीबाट निर्बल, थकित, म्याद गुज्रेको दर्शाउन खोज्छन् र आफ्नो मूर्खता, अनभिज्ञता प्रमाणित गर्छन्।

सामाजिक सञ्जालमा मलाई बूढा भनेर होच्याउनेले बहसलाई कत्ति पनि योगदान दिंदैन। यस्ताबाट मैले सिक्ने पनि ठाउँ हुँदैन। आफ्नो दूषित मस्तिष्कको अन्धाधुन्द प्रचार गर्न रुचाउनेसँग मलाई सम्पर्कमा पनि बस्नु छैन। त्यसैले सामाजिक सञ्जालमा त्यस्ता महानुभावहरू स्वाभाविक रूपमा ‘ब्लक’ को भागीदार हुनुहुन्छ।

६६ वर्ष टेक्न लाग्दै गर्दा यही हो मेरो विचार। एक त, बूढो कसलाई र बूढी कसलाई भन्ने भनेर अलि अध्ययन गर्नुपर्दछ। अर्को, बूढो या बूढी भनेर हेप्ने होइन। सके ज्येष्ठ नागरिकको अनुभव र ज्ञानको सम्मान गरौं, तिनबाट सिकौं। नहियाऔं, खिसी नगरौं।

Post navigation

Previous Post:

कति ताली बेइजिङलाई?

Next Post:

सौम्य शक्तिको भण्डार हामी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes