Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

मर्नुको अर्थ

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१६-३२ साउन ,२०५८ )बाट

पाकेको घाउ नदुखे झ्ैँ नेपालीको मरणले नेपालीलाई छुन छाडेको छ । केही वर्षअघिसम्म पनि राजनैतिक हिंसाका कारण एक जनाको मृत्यु हुँदा देशै स्तब्ध र बन्द हुने अवस्था थियो । तर आज स्थिति बिग्रेर अर्कै पराकाष्ठामा पुगेको छ । अब त हामीलाई बीस या चालीस जना नेपालीको मृत्युले छुँदै छुँदैन । पचास–साठी जना मारे पो त खबर र विश्लेषणको विषय बन्न सक्थ्यो ! बिग्रने क्रम शुरु भयो छ–आठ वर्षअघि राजनीतिक क्रियाकलापलाई प्रहरी लगाएर नियन्त्रण गर्ने गैर–राजनीतिक सोचाइ र व्यवहारबाट । स्पष्ट निर्देशन र लक्ष्य किटान नगरी, बिना निगरानी छोडिदिँदा रुकुम रोल्पाका गाउँहरूमा प्रहरीद्वारा अत्याचार र हत्या हुँदा त्यतिबेला केही संस्था र व्यक्ति बाहेक कसैको कपाल दुखेन काठमाडौँ उपत्यकामा, जसले गर्दा त्यहाँ माओवादी आन्दोलनको जग बस्न गयो । दुई वर्षयता आएर पुलिसका तल्लो दर्जाका अफिसर र जवानको लगातार माओवादीद्वारा सामूहिक हत्या हुन थालेपछि त झ्न् मरणको अर्थ नै रहन छोड्यो, उनीहरू त सत्ताका ‘प्रतिनिधि’ भएका कारण मानवीयताको सौहार्दता पनि पाएनन् । यस्तो अवस्थाले हाम्रो राष्ट्रिय मानसिक सन्तुलनलाई धक्का पारिसकेको छ । र, यो असन्तुलन कुनै बेला हुने माओवादी समस्याको समाधानपछि पनि राष्ट्रिय मस्तिष्कमा रहिरहने छ । पैतीस–चालीस जना प्रहरी मारिँदा र तीमध्ये धेरैको निर्मम तरिकाले प्राणहरण गरिँदा राष्ट्रिय विपत्ति मानिनुपर्ने थियो । तर संसदमा कुरै उठ्दैन । नेताहरू सबै मौन । पहिलो दिन फोटो र खबर छाप्ने पत्रिकाहरूले भोलिपल्टै बिर्सिने । एउटा एफ्.एम्. रेडियोले एकपटक गम्भीर मुद्रा अपनायो, अरू नाचगान मै तल्लीन । पुलिसका हाकिमहरूमा पर्याप्त चिन्तै नभएको जस्तो । प्रधानमन्त्रीले देशवासीको नाममा सन्देश पनि दिनु नपर्ने । मानव अधिकारवादीहरूले पनि पुलिसको हत्यालाई त्यस्तो केही मान्नु नपर्ने । न त मानव अधिकार आयोगले । पुलिसको के कुरा, काङ्ग्रेसका ठूलै स्थानीय नेताहरू मर्दा तिनको पार्टीले न जिल्लामा नत राष्ट्रिय तहमा प्रतिक्रिया जनाउँछ, अरू पार्टीले सहानुभूति दर्शाउने त सपना भइहाल्यो । यसो किन भएको होला ? हत्या किन सस्तो भयो नेपालमा ?

मेरो अड्कलमाः गाउँघरमा २०० जना मारिनु र चार भञ्ज्याङ्ग भित्र, शहरमा एक जनाको हत्या हुनु एउटै भएजस्तो लाग्न थालेको छ । कल्पनाहीन हाम्रा अग्रजहरूलाई ‘परमरण’ को पीडा ‘माओवादी, पुलिस या जनतामध्ये’ बुझन अप्ठेरो भएजस्तो छ । के यस्तो १ः२०० क्रूर अनुपातले गर्दा नै उपत्यकामा राजनीति ‘गर्ने’, पत्रकारिता ‘गर्ने’ र मानवअधिकार ‘गर्ने’ लाई गाउँको मरणले नछोएको हो कि ? तर कतिसम्म ? माओवादी समस्या समाधान नहुने हो भने मरण र हत्या निश्चय पनि काठमाडौँ उपत्यकातर्फको उकालो लाग्नेछ । अनि ? जसरी पहिले रुकुम, रोल्पा र जाजरकोटका गाउँले गृहस्थीको पीडा ‘नेपाल खाल्डो’ छिरेन, अहिले देशैभरि छरिएका हत्या गरिएका पुलिसका परिवारको पीडा पनि ‘चिन्तनशील’ र ‘बुद्धिजीवी’ को कानमा परेको छैन । किन ? कारण मारिने दुवैथरि गाउँका तल्लो–मध्यम वर्गका हुन् । राजधानीको ‘चेतनशील’ वर्गले प्रतिक्रिया जनाउन शायद त्यसभन्दा माथिल्लो वर्गको या त उच्चै राजनीतिक पहुँच हुनु पर्दथ्यो, अथवा काठमाडौँ उपत्यकाको बासिन्दा हुनुपर्दथ्यो । हुन गए ती सबै निम्न वर्गका र दुर्गम गाउँका या त निम्न वर्गका र छरिएका (जस्तै मर्ने प्रहरी), जसले गर्दा उनीहरूको पीडा सामूहिकीकरण भएर राजनैतिक शक्तिको रूपमा अगाडि आउन पनि सकेन । हुन पनि, मर्ने प्रहरीहरूको (र, शायद नाम बाहिर निस्किएमा, हमलाको क्रममा मर्ने माओवादी छापामारको पनि) नाम र थरबाट पनि यो कुरा बुझन सकिन्छ । तराई, पहाड, पूर्व–पश्चिम, झ्ण्डै सबै भेक समेट्दोरहेछ आजकलको प्रहरीको तल्लो दर्जाले र नेपालको अनुहार पनि त्यहाँ पाइँदोरहेछ— विविधता र गरीबी दुवै । मरणको बजार यस्तो सस्तो भए छ कि माओवादी र पुलिसको हिंसाबाट मारिने क्रमको कारण अरू खालका मृत्युले पनि नाप्न छोड्यो । अब बस–ट्रक दुर्घटना या पहिरो बाढीमा परी मर्नेलाई नगने पनि भयो, त्यस्तै एन्सेफलाइटिसबाट मर्ने, जङ्गली च्याउ खाएर बित्ने या झडा–पखालाले लैजाने । मान्छेले मान्छे मार्दा (त्यो पनि राजनीतिक कारण दर्शाइ) त मनमा चिसो पस्दैन भने दैवी कारणले जानु त कति ठूलो कुरा भयो र ?

अन्धकार युगतिर फर्कियो समाज र पाताल नै हो कि यो, जहाँ मान्छे मार्नु र मर्नु यस्तो सामान्य हुन गयो ? यत्तिले नि चेतिनस् ! भन्दै अर्को प्रकोप नेपाल पठाइयो– राजपरिवारकै पतन । तर नारायणहिटीको त्यस्तो सर्वनाशले पनि हामीलाई अत्याउनुपर्ने जति अत्याएन । किनभने त्यो सामूहिक शाही हत्या कसले ग¥यो र किन ग¥यो को खुल्दुलीले बगाइहाल्यो सबैलाई, र तत्पश्चात् त राजनीतिक गतिविधिले मानसपटल ओगटिहाल्यो । के तीन चार वर्ष बीचमै हामी क्रूर, निर्दयी र अरूको पीडा सहजै पचाउन सक्ने भएका हौँ त ? या सबै मानिसको मुटुमा रहने निर्दयी र असम्वेदनशील पाटोको एक झ्लक मात्र देखा पर्न गएको हो ? के, यो क्षण पार भइजाँदा हामी फेरि शाक्यमुनि बुद्धको देशमा फर्कन सकौँला ? दोष खोज्नु त मानव चरित्रको स्वाभाविक पक्ष मात्र होइन, यो इतिहासको माग पनि हो । यसरी मर्नुको अर्थै नहुने गरी देश भाँडिनुको दोष कसको भन्ने ? लेखाजोखामा माओवादीदेखि राजसंस्थासम्म एक–एकको कार्य र अकार्यको तौल हुनेछ । तर, अरू जनसमूह, वर्ग वा व्यक्तिलाई दोष दिए पनि, मुख्य जिम्मा त जनआन्दोलन पश्चात् देश हाँक्न अघि सरेका राजनैतिक पार्टीहरूकै हुनेछ । जनताले त आखिर पार्टीहरूलाई आफ्नो विश्वास र भविष्य सुम्पेको थियो, खासगरी यिनका शीर्षस्थ नेताहरूलाई । सबै विकृति केन्द्रित हुने दुई मूल थलो भएको पाइनेछ–नेपाली काङ्ग्रेस र प्रतिपक्षको उच्चतहमा । इतिहासको लेखनलाई कुर्न पनि पर्दैन । केही वर्ष पश्चात् नै जब समाजशास्त्रीहरूले संसदीय प्रणालीको उत्तरदायी पद बहन गरेर पनि देश र समाज बिग्रन कसले दिए, कसले ज्यान यहाँ सस्तो बनाइदियो भनी खोजतलास गर्दा, अगाडि आउने नामहरू पुष्पकमल दाहाल र बाबुराम भट्टराईका मात्र हुने छैनन् । हुनेछन् वर्णानुक्रममा—

कृष्णप्रसाद भट्टराई

खड्गप्रसाद ओली

गिरिजाप्रसाद कोइराला

बामदेव गौतम

माधवकुमार नेपाल

शेरबहादुर देउवा र, अरू केही ।

Post navigation

Previous Post:

Job for a democrat King

Next Post:

Gadar: Bombay’s gift to Lahore

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes