Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

माइतीघरको मण्डल

June 26, 2019 by admin

हिमाल खबरपत्रिका (८-१४ असार, २०७६) बाट

अरूले ‘योगा’ गरून्, हामी ‘योग’ ! 

सन् १९६६ मा नेपाली चलचित्र ‘माइतीघर’ बन्यो । बी.एस्. थापा निर्देशित, माला सिन्हा र सीपी लोहनी अभिनीत ‘माइतीघर’ निजी क्षेत्रबाट नेपालमा बनेको पहिलो चलचित्र थियो ।

चलचित्र निर्माणकर्ताको कार्यालय थियो, तस्वीर (दायाँ पहिलो) मा देखिएको यो भवन रहेको ठाउँ, जुन थापाथली इन्जिनियरिङ क्याम्पसको ठीक विपरीत दिशातर्फ पर्दछ । मैले सम्झेसम्म यो ठाउँमा तीनतले पुरानो भवन थियो, जसको झ्यालमुनि ‘माइतीघर’ लेखिएको साइनबोर्ड टाँगिएको थियो ।

जसरी पुल्चोकको उकालोमा एउटा इनार थियो, जुन हराएको दशकौं भइसक्दा पनि त्यो स्टपलाई बस कण्डक्टरले भन्न छोडेनन्, ‘लौ इनार आयो, इनार ! इनार !’ त्यसैगरी ‘माइतीघर’ को कार्यालय बन्द भएर सबै सिनेकर्मी लाखापाखा लागिसक्दा पनि — आजैसम्म — यो ठाउँलाई ‘माइतीघर’ नै भनेर चिन्छौं । उपत्यकाका धेरै ठाउँमा अहिले पनि पुरानै नेवाः नाम (या तिनका विकृत रुप) कायम छन्, माइतीघर जस्तै नयाँ नामहरु पनि — रातोपुल, कालोपुल, घण्टाघर, पेप्सीकोला ।

तर अब माइतीघर भनेर पनि पुगेन, ‘माइतीघर मण्डल’ भन्नुपर्‍यो । केशव स्थापित काठमाडौं नगरको जागरुक मेयर हुँदा अतिक्रमित त्यस क्षेत्रबाट घर भत्काएर असाध्यै मोहक हरियालीमाझ विशाल मण्डल बनाए ।

ऋग्वेददेखि हिन्दू धर्मको र बज्रयान बुद्धमार्गीसम्मका लागि ब्रह्माण्ड दर्शाउने, ध्यानलाई सघाउने, मण्डल आकारलाई माइतीघरको त्यो ठूलो, गोलो आकारको ट्राफिक सर्कलमा निर्माण गर्नु सिर्जनशील कार्य थियो । यस्ता राम्रा काम आधुनिक उपत्यकामा विरलै पाइन्छन् (हेर्नु तीनकुनेको हालत !) ।

४ असार बुधबार गुठी सम्बन्धी विधेयकको विरोधमा भेला भएका उपत्यकावासीको प्रदर्शनको अवसर पारेर धेरै तला माथिबाट यो मण्डल राम्ररी देखिने गरी थुप्रै तस्वीर खिचिए । चारैतिर जनमानसको जमात, अनि बीचमा अति सुन्दर मण्डल । प्राङ्गणमा बडेमानको फलामे खम्बा ठड्याएर ठूलो राष्ट्रिय ध्वजा फर्फराएको छ … पंक्तिकारको विचारमा, यसले यो परिसरको आध्यात्मिक शोभा बढाएको छैन ।

रह्यो उच्चारणको कुरा । हामीले लगभग बिर्सिसकेको, प्रयोग पनि नगर्ने विधा ‘योग’ नबुझ्ने अंग्रेजले ‘YOGA’ लेख्यो र फेरि शब्द नेपालीमा भित्रियो ‘योगा’ भइकन । यसैगरी नेपाली इतिहास र संस्कारको अभिन्न अंग हुँदा पनि कतिपयले सुन्दै नसुनेको ‘मण्डल’ चाहिं ‘MANDALA’ भयो । र, ‘मण्डला’ अवतारमा हाजिर भयो । अनि हामीले सम्बोधन गर्न थाल्यौं — माइतीघर मण्डला ।

तस्वीरः बिक्रम राई ।

मण्डललाई मण्डला भन्ने यो उपक्रममा पछिल्लो दशक ‘मण्डला थिएटर’ र ‘मण्डला बुक्स’ पनि मिसिए । हालैको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जोकोही माइती जाने सन्दर्भ जोड्दै ‘मण्डला’ नै शब्दोच्चारण गरे ।

हाम्रामा हुँदै नभएको कुरा बुझाउन त केही बिग्रेन — गिलास, रकेट, कम्प्युटर, मोटरकार, बस, टेम्पो आदित्यादि । तर आफ्नै मौलिक प्रयोगलाई पाश्चात्य उच्चारण नगरेकै वेश ।

कसैले भन्लान् पनि, जिब्रोमा बसिसकेको ‘मण्डला’ लाई फेरि ‘मण्डल’ नफर्काऔं, भाषा भनेको चलायमान हुन्छ । तर, होइन । योगा समुद्रपारकाले गरुन्, तर हामी योगाभ्यास गरौं । र, मन भारी जब हुन्छ, आक्रोश जब जाग्छ, जाऔं शान्तिपूर्ण प्रदर्शनी गर्न — माइतीघर मण्डल !

त्यो दिनको प्रतीक्षा पनि गरौं, जब वायु र ध्वनि प्रदूषणमुक्त शहरमा बिहानीपख हामी भेटौं योग गर्न, माइतीघर मण्डलको बगैंचामा !

 

प्रतिकृया दिनुहोस

Post navigation

Previous Post:

चक्रपथ = मरणपथ

Next Post:

लञ्च बक्साको हमला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes