Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘यूसेज’को कुरा

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१६–३० साउन ,२०५६ ) बाट

हिमाल सम्पादन गर्ने क्रममा केही नयाँ ‘आविष्कार’ गर्नु पर्‍यो र गर्‍यौँ पनि । फारसी शब्द ‘खबर’ र संस्कृत ‘पत्रिका’लाई मिलाएर हिमाललाई खबरपत्रिकाको चिनारी दिँदा “न्यूजम्यागजिन”को लागि एउटा नयाँ शब्द नै जन्मायौँ जस्तो लाग्छ । खालि कति भने हाम्रो विचारमा यो ‘खबरपत्रिका’ एउटा साधारण जातिवाचक संज्ञा (कमन नाउन) को रूपमा भाषामा रहोस्, सबैले यसलाई चलाउन् तर कुनै ‘सिर्जनशील’ सम्पादक या प्रकाशकले आफ्नो नयाँ प्रयासलाई नै ‘खबरपत्रिका’ नामाकरण गरेर यसलाई एकाधिकार गरेर व्यक्तिवाचक संज्ञा (प्रपर नाउन) नबनाई दिउन् । यो डर छ, तर त्यसो नहोला ।

नेपालमा पत्रकारितालगायत कामकाजमा, अर्थतन्त्रमा र बौद्धिक क्षेत्रमा आजभन्दा भोलि संवेदनशील विषयका लागि संवेदनशील तरीकाले भाषाको प्रयोग गर्नुपर्ने हुन्छ । आजसम्म हरेक व्यवसायिक कार्यमा लागेकाहरुलाई नेपाली भाषाले ‘नपुगेको’ खट्किएकै छ । बजारीकरण, प्रजातान्त्रिक अभ्यास र अन्य विभिन्न किसिमले बाहिरी दुनियाँले नेपाली समाजलाई अस्तव्यस्त पारिरहेका बेलामा भाषामा नयाँ नयाँ प्रयोगको आवश्यकता झ्न् पर्न जान्छ । कहिले जनजिब्रोबाटै त्यस्ता नयाँ शब्द सजिलैसँग आउँछन्, कहिले भने गहन विषय अरूलाई बुझउन भनेर भाषामा नयाँ खालको प्रयोग वा चलन (यूसेज) अगाडि बढाइन्छ । महाकवि देवकोटाले पनि त्यसो गर्नुपरेको थियो ।

नेपाली भाषाले भोलिको संसारमा विचारको आदानप्रदानका लागि अझ् बढी खँदिलो हुँदै जानुपर्छ, यस कुरामा दुईमत नहोला । चाहिएमा अरू भाषाबाटै सापटी लिएर र केही नलागे शब्द बनाउनै पनि पर्छ । हामी त्यसो पनि गरौँला तर पाठकलाई बुझएर रिझएर मात्र । नेपाली भाषाले आजभन्दा भोलि झ्न्झ्न् मसिना कुराको विश्लेषण गर्नुपर्ने हुन्छ, र लोकसङ्गीतले नपुगेर शास्त्रीय र पप सङ्गीतको आवश्यकता महसूस भएजस्तो भाषा पनि लोकजिब्रोको लागि मात्र नभई जटिल आधुनिक युगको आवश्यकता पूरा गर्ने गरी चलनचल्तीमा आउन सक्नुपर्छ । यदि नेपाली भाषाको यसरी विकास भइदिएन भने हामी सबैले राम्रो अङ्ग्रेजी पढ्ने, लेख्ने हुनुपर्ने हुन्छ । त्यो त्यति सजिलो होला जस्तो लाग्दैन ।


‘रोटीचार्ट’

त्यसैले नयाँ लेखन चलनचल्तीमा ल्याउनै पर्‍यो र हामीले लेराएका पनि छौँ । जस्तै गत अङ्कको बजेट सम्बन्धी आवरण लेखको दोस्रो प्यारामा एउटा मौलिक प्रयोग हामीले गरेका छौँ— ‘या/र’ को । अङ्ग्रेजीमा ुबलमरयचु को चलन खुब पाइन्छ, कुनै जटिल विश्लेषण गर्ने क्रममा । उक्त लेखमा पनि त्यस्तै जटिल कुरा विश्लेषण गर्दा ‘या/र’ को प्रयोग गरियो ।अङ्ग्रेजी या अरू कुनै भाषाको शब्दको चलनको हकमा हिमालले मुख्य मन्त्र नै “पाठकको बुझइ” लिएको छ । जुन शब्द प्रयोग गर्दा लेखक र सम्पादकको कलमबाट एउटा विचार पाठकको मस्तिष्कमा सजिलोसँग चढ्दछ त्यही मार्ग हामी अपनाउने छौँ । कुनै कुरामा पाठकलाई ‘हो’ भनाउन (कन्भिन्स् गराउन) यदि ‘बुझउन’ या ‘विश्वस्त तुल्याउन’ वा ‘विश्वास दिलाउन’ लेख्दा कुराको मर्म ठ्याक्क खुल्दैन भने, अङ्ग्रेजीको ‘कन्भिन्स्’ शब्द नै चलाउन हामी तत्पर छौँ । “भाषाको चलन” भनेर लामो लेख्नुको साटो ‘यूसेज’ ले सहज काम दिन्छ भने यसलाई नै यूसेजलाई नै चलाउने हाम्रो नीति रहेको छ ।

यूसेजको कुरा गर्दा, शब्द प्रयोग मात्र हैन, उच्चारणमा पनि हामीले ध्यान दिनुपरेको छ । पश्चिमा र खासगरी अङ्ग्रेजीबाट आउने शब्दहरूलाई कसरी नेपालीमा लेख्ने भन्दा हिमाल खबरपत्रिकाले अपनाएको (प्रारम्भिक) मापदण्ड यस प्रकारको छः नेपाली भाषामा राम्रै बसिसकेको शब्द वा यूसेज छ भने, अङ्ग्रेजीको मूल शब्दको विकृत रूप भए तापनि त्यही चलाउने । जस्तै नेपालीमा ‘कङ्गारु’ भन्ने चलन भैसक्यो भनेपछि त्यसलाई ‘क्याङगरु’ भन्नमा जोड नदिने । गिलासलाई ‘ग्लास’ नभन्ने र लप्टन र कप्तानलाई ‘लेफ्टिनेन्ट’ र ‘क्याप्टेन’ नलेख्ने । ‘मिल्क क्यान’ ले छाडेको ‘मिल्किन’ र ‘सिक म्यान’ ले ल्याएको ‘सिकमानी’ जस्ता शब्दले भाषाको भण्डारमा सङ्ख्या मात्र होइन मिठास पनि थपेको हामी ठान्छौँ । तर गत अङ्कमा त्रिभुवन विमानस्थलमा जडान गरिएको आकाशमा विमान हेर्ने यन्त्रलाई अरू सबैले ‘राडार’ भने पनि हिमालले ‘रेडार’ लेख्यो, किनभने यो शब्दलाई नेपाली भाषाले आफ्नै तरीकाले अपनाउन बाँकी छ, त्यसैले मूल उच्चारण ‘रेडार’ नै चलाउनु बेस हुन्छ भन्ने हाम्रो ठहर छ ।

अङ्ग्रेजीकै शब्दको कुरा गर्दा, कतै यस्ता शब्द हुन्छन्, जसमा नेपाली उच्चारण नै हुँदैन र आजसम्म हामीले नेपालीमा लेख्दा कम्प्रोमाइज गर्दै आउनु परेको छ । जस्तै दबलप को ‘अ’ उच्चारण दक्षिण एसियाका कुनै भाषामा छैन । त्यसैले धेरैले हिन्दीमा लेखिने तरीकाले ‘बैँक’ लेख्छन् भने हिमालले अलि नेपालीहरूको वास्तविक उच्चारणसँग मिल्दो ‘ब्याङ्क’ लेख्ने गरेको छ ।

वास्तवमा नेपालीको लेखनलाई अलि अगाडि लाने हो भने पाश्चात्य भाषाहरूमा “डाएक्रिटिकल मार्क” चिह्नहरूको प्रयोग गरेर ठीक उच्चारण गर्न सघाउ पुर्‍याउने तरीका नेपालीमा पनि अपनाउनु परेको छ । यस तरीका अन्तर्गत, ब्याङ्कको सही उच्चारण गर्नुपर्ने तरीका हो ‘बाङ्क’ लेखेर ‘बा’ माथि या तल केही चिह्न राख्ने जसले सही उच्चारण दर्शाउँछ ।

बाँकी रह्यो कुन डाएक्रिटिकल मार्क या ‘एक्सेन्ट’ चलाउने । माथिका आदर्श या आकांक्षाका कुरा चाहिँ यहाँ हाम्रो विचार पाठकका सामु राख्ने हिसाबले मात्र यहाँ पेश गरिएका हुन् । हामीले अलि बढी अनुसन्धान र गृहकार्य गरेपछि सूचना सहित हिमालमा नयाँ यूसेज थाल्नेछौँ ।

अन्त्यमा गएकै अङ्कको एउटा अर्को थालनीको पनि कुरा गरौँ । कैयौँ वर्ष डेटा (‘डाटा’ हैन) लाई चित्रण गर्दा हामीले ‘पाइचार्ट’ भन्ने गरेका छौँ, जबकि, ‘पाइ’ भन्ने परिकार धेरैजसो नेपालीले सँुघ्न समेत पाएका छैनन् । ‘पाइचार्ट’लाई सो नाउँ दिनुको कारण ‘पाइ’को आकार गोलो हुनुले मात्र हो । तसर्थ, हिमाल खबरपत्रिकाले विचार गर्‍यो, उनीहरूको ‘पाइ’ जस्तै हाम्रो तावामा तताउने ‘रोटी’ पनि त गोलै आकारको हुन्छ । यसरी नै एउटा अर्को यूसेज थालियो, भाषामा, ‘रोटीचार्ट’ भन्ने ।

Post navigation

Previous Post:

श्रीलङ्काको अर्को पहिचान

Next Post:

चोरिएका देउता फिर्ता चाहियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes