Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

राम नाम हिन्दूत्व र ‘पाशुपत क्षेत्र’ नेपाल

August 18, 2021 by admin

हिमाल खबरपत्रिका (२१ साउन, २०७७) बाट

राम नाम हिन्दूत्व र 'पाशुपत क्षेत्र' नेपाल
आज, ५ अगस्टमा भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी । तस्वीर: एएनआई

आज ५ अगस्टका दिन भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास भयाे पुरातात्विक बाबरी मस्जिद उभिएको स्थलमा। नेपाल राज्य र समाज तयार हुनुपर्छ, कुनै पनि खालको अन्तरसामुदायिक विग्रह सिमाना नकटोस्, न त भारतमा जस्तो धर्म मिसिएको राजनीति नै।

पाँच शताब्दीअघि भारतका पहिलो मुगल बादशाह बाबरको पालामा उनका विश्वासपात्र मीर वाकीद्वारा पुरानो कोशल महाजनपद राज्यको साकेत नामको शहरमा एउटा मस्जिद खडा गरे। १९औं शताब्दीको मध्यतिर उक्त बाबरी मस्जिद भत्काएर श्रीरामको जन्मथलो चिनाउने मन्दिर निर्माण गर्ने आन्दोलन शुरू भयो।

जब धर्म र राजनीतिलाई मिसाएर भोट मागिन्छ, लोकतान्त्रिक मूल्य गुम्न जान्छ र समाजको सबैभन्दा कमजोर तप्कालाई असुरक्षित बनाउँछ, जसरी भारतमा ‘राम नाम हिन्दूत्व’ ले गरिरहेछ।

उपनिवेशकालमा शासकहरूले मुस्लिम समुदायको स्वभावतः आस्था गाँसिएको मस्जिदमाथि हमला हुन दिएनन् तर भारतको स्वतन्त्रतापश्चात् मस्जिदसामु एकपछि अर्काे चुनौती थपिन थाले, र सन् १९९२ मा बाबरी मस्जिदलाई विश्व हिन्दू परिषद्वारा सञ्चालित कार सेवकहरूले ध्वस्त गरिदिए। लगत्तैको दंगामा दुई हजारभन्दा बढी मानिसको ज्यान गयो भारतभरि, र विशेषगरी बम्बई शहरमा। बाङ्लादेश र पाकिस्तानमा मठ–मन्दिरहरूमाथि हमला भयो, र त्यहाँका हिन्दू धर्मावलम्बी असुरक्षित भए। तर अयोध्याबाट सीधा दूरी १०० किमी मात्रमा रहेको नेपालमा भने हिन्दू–मुस्लिम विग्रह सल्कन पाएन, मतलब खुला सिमाना हुँदाहुँदै नेपाली सोच र सौहार्दताले अमनचयन कायम राख्यो।

५ डिसेम्बर १९९२ मा बाबरी मस्जिद भत्काइँदै । तस्वीर: पीटीआई

आज ५ अगस्ट २०२० को दिन, भारतको सर्वाेच्च अदालतले गत वर्ष नोभेम्बरमा दशकौं पुरानो मुद्दा फैसला गरेर अनुमति दिएपछि बाबरी मस्जिदको ठाउँमा एउटा ठूलो राम मन्दिरको भूमिपूजा भयो। ३०० फिट लम्बाइ, २८० फिट चौडाइ र १६१ फिट उँचाइको यो मन्दिर भारतको वर्तमान ‘मेजोरिटेरिएन्’ (बहुमतको हैकम चल्ने) शासनको प्रतीक हुनेछ। अनेकन् पन्थका हिन्दू धर्मावलम्बीलाई मात्र ‘रामभक्त’को दायरामा संकुचन गरिंदैछ भने २० करोड मुसलमान भारतीय नागरिकलाई मानसिक र भौतिक असुरक्षाको स्थितिमा पुर्‍याइँदैछ।

भारतमा समुदाय–समुदायबीचको दरारको हालैको शृंखला पनि पीडादायी छ — काश्मिरको विशेष संवैधानिक पहिचान भंग गर्नेदेखि मुसलमानलाई नै ‘टार्गेट’ गरी नयाँ नागरिकता ऐनको प्रस्तावसम्मका सरकारले अघि बढाएका कदमहरूबाट। विशेषगरी उत्तर भारतको सामाजिक अन्तरसम्बन्धमा आउँदै गरेको विग्रहबारे चिन्ता गर्दागर्दै यति कामना भने गर्न सकिन्छ, कि सन् १९९२ को दंगाफसादबाट हाम्रो दक्षिणी छिमेक बचोस्। यसका साथै, नेपाली राज्यका सबै अंग, आम जनता, नागरिक समाज, राजनीतिक दल तथा सरकारले सचेत हुनुपर्ने बेला हो यो, कि कथंकदाचित दक्षिणतर्फ दंगा सल्कियो भने त्यो सिमाना नकटोस्।

बाबरी मस्जिद भत्काउन लस्कर लागेका कार सेवकहरु र मस्जिद भत्काइएपछि नयाँ दिल्ली फर्किएका भाजपा नेता लालकृष्ण आडबाणीलाई स्वागत गर्दै उनकी पत्नी र वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी (दायाँ)  । तस्वीर: द प्रिन्ट

मन्दिर र हिन्दूत्व
जब धर्म र धर्मसँग जोडिएका लोकरिझ्याइँको भरमा सत्तारोहणको राजनीति गरिन्छ, त्यसले समाजमा खतरनाक ध्रुवीकरण ल्याइदिन्छ। आवधिक निर्वाचनबाट निर्वाचित सरकारद्वारा राज्य संचालन हुनु मात्र आधुनिक युगको लोकतन्त्र होइन बरु अल्पसंख्यकको प्रतिरक्षा पनि यसको अन्तर्य सिद्धान्त हो। तर, जब धर्म र राजनीतिलाई मिसाएर भगवान या संस्कारको नाममा भोट मागिन्छ, लोकतान्त्रिक मूल्य गुम्न जान्छ र समाजको सबैभन्दा कमजोर तप्कालाई असुरक्षित बनाउँछ, भारतमा ‘राम नाम हिन्दूत्व’ ले आज जसरी गरिरहेछ।

अनगिन्ती भगवान, देव/देवीमध्ये हिन्दू धर्मको नाममा राजनीति गर्ने अभियन्ताहरूको रोजाइ हुनगयो — विष्णु अवतार श्रीराम र, उत्तरप्रदेशको अयोध्यामा श्रीरामको जन्मथलो दाबी गर्दा आम जनमा धेरैलाई उत्साहित गर्न सकिने हुनाले बाबरी मस्जिद तारो बन्न पुग्यो। राम मन्दिर अभियानले भारतको स्वतन्त्रतापश्चात् बल पायो, जब हिन्दूवादी राजनीतिक जुझारुले देवदेवीको नाम प्रयोग गर्दा राम्रै भोट पाइने सम्भावना देखे।

समयक्रममा इतिहास र पुरातत्वका कुरा गौण बने, र श्रीराम स्वयं कतिसम्म एक ऐतिहासिक पुरुष थिए भन्ने कुराले अर्थ राख्न छोड्यो, जब तर्क र प्रमाणभन्दा आस्था बोल्न थाल्यो। र, यो आस्थाले राजनीति गर्नेहरूलाई राम्रै आडभरोसा दियो। शुरूका दिनमा जवाहरलाल नेहरू र बल्लभभाई पटेलको उँचाइका नेताले स्वतन्त्रता संग्रामको वेगको भरमा बाबरी मस्जिदलाई सुरक्षित नै राखे, तर जब पार्टीगत राजनीतिलाई कमजोर दर्शन बोकेका नेताले हाँक्न थाले, धर्म–लोकरिझ्याइँले दर्शनको ठाउँ ओगट्यो, र उत्तरप्रदेशको अयोध्यामा राम मन्दिर निर्माण लक्ष्य बनाउने हिन्दूत्व अभियान अगाडि बढ्यो।

सन् १८७० मा बाबरी मस्जिद । तस्वीर: स्यामुएल बर्नी ।
सन् १८७० मा बाबरी मस्जिद । तस्वीर: स्यामुएल बर्नी ।

अनि धर्मप्रयोगी राजनीति सामु राजनीतिक नेता मात्रै होइन, प्रशासक र न्यायाधीशदेखि पुरातत्वविद् र समाजशास्त्री पनि झुक्न थाले। जो जसलाई यो सब चित्त बुझेको थिएन, उनीहरूले मौनता नै ठीक ठान्ने भए र धर्म मुछिएको राष्ट्रवादले झनै जग बसाल्यो।

यसै क्रममा सन् १९४९ मा प्रशासनिक अकर्मण्यताबीच रामललाको एक मूर्ति बाबरी मस्जिदभित्र जबर्जस्ती छिराइयो। पछि अदालतले ‘रामलला विराजमान’ को ‘कानूनी व्यक्तित्व’ रहेको ठहर गर्दै राम जन्मभूमिको कानूनसम्मत दाबेदार भनी स्वीकार्‍यो। राजीव गान्धीले बाबरी मस्जिदको ताला खोलेर रामललाको पूजाअर्चना गर्न दिने भए भने यो सब कार्यले रामनामी राजनीतिक हिन्दू अभियानलाई बल पुर्‍याइरहेको थियो। मुस्लिम समुदाय हेर्‍या हेर्‍यै भयो विह्वल भई।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाल तिरस्कार गरेका भारतीय जनता पार्टीका शिखर पुरुष लालकृष्ण आडवाणीले सन् २००० मा दक्षिण भारतदेखिको १० हजार किमीको रथयात्रा गर्दै आम जनमाझ भगवान रामबारे भन्दा पनि राम मन्दिरबारे अन्धो उत्साह जगाए, जसको लक्ष्य बाबरी मस्जिदमाथि घात पुर्‍याउनु नै थियो। र, त्यसै भयो ६ डिसेम्बर १९९२ मा जब डण्डा र सावेल बोकेका कार सेवकको हातबाट। अफगानिस्तानको बामियानमा रहेको बुद्ध मूर्ति तालिवानले पड्काएको जत्तिकै मार्मिक कार्य हुनपुग्यो, बाबरी मस्जिदको अवसान।

एकल देवता मान्ने इस्लाम, इसाई र यहुदी धर्म जस्तै तेत्तिसकोटि भगवान रहेको हिन्दू धर्मलाई समेत भारतमा चलेको हिन्दूत्व अभियानले ‘मोनोथेइस्टिक’ बनाउन खोजेको भान हुन्छ।

आज ५ अगस्टको मध्याह्न उत्तरप्रदेशको सरयु नदी किनारको अयोध्यामा राम मन्दिरको भूमिपूजा र शिलान्यास भयो। कोभिड–१९ महामारीका बावजूद शिलान्यासमा सरिक भए प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ, जसको आफ्नो पन्थ भने गोरखनाथ मठ र गुरु मत्स्येन्द्रनाथसँग सम्बन्धित छ। लालकृष्ण आडवाणीलाई भने निम्ता समेत गएन, जसले ‘मोमेन्टम्’ दिएको हिन्दूत्वको आडमा नरेन्द्र मोदी आज भारतमा एकछत्र राज गरिरहेछन्।

हिन्दूत्ववाद र उग्रराष्ट्रवाद
एकल देवता मान्ने इस्लाम, इसाई र यहुदी धर्म जस्तै तेत्तिसकोटि भगवान रहेको हिन्दू धर्मलाई समेत भारतमा चलेको हिन्दूत्व अभियानले ‘मोनोथेइस्टिक’ बनाउन खोजेको भान हुन्छ। यसले गर्दा हिन्दू धर्मको पन्थ, तप्का, समुदाय र क्षेत्रको विविधता र यिनको अन्तरसम्बन्ध र आध्यात्मिकदेखि कर्मकाण्डी उर्वरतालाई थिचिएको र ‘इब्रहामिक’ धर्म जस्तै मात्र श्यामश्वेत स्वर्ग–पातालको विश्वास जनमानसमा प्रसारित हुँदैछ।

भारतका ठाउँठाउँमा आफूलाई हिन्दू मान्ने जनको इतिहाससँगको सम्बन्ध छिन्नभिन्न हुँदैछ। श्रीरामलाई ‘एकल भगवान’ बनाइने क्रममा अरू पन्थ र समुदाय कमजोर पारिंदैछन्, र एउटा राजनीतिक दल भारतीय जनता पार्टी र उसको पछाडिको शक्ति राष्ट्रिय स्वयंसेवक संघलाई संसारको दोस्रो ठूलो आवादी भएको मुलुकको सत्ता कब्जाको यात्रा सफल भएको छ।

भारतमा भाजपा/राससले ‘धर्म’ को अंग्रेजी प्रयोग ‘रिलिजन्’ को बुझाइ अगाडि सारेका छन् भने नेपालमा आजैसम्म पनि यो शब्दले सांस्कृतिक पहिचानसहित समुदाय र व्यक्तिगत जीवनयापनको तरिका या शैली भनी जनाएको छ।

भारतमा हिन्दूत्वले धर्म र राजनीति मिसावट मात्र गरेको छैन, यसले सँगसँगै उग्रराष्ट्रवादलाई पनि बोकेर हिंडेको छ, जसले भाजपा र नरेन्द्र मोदीलाई सत्तामा टिकाइराख्ला, राज्य–राज्यमा निर्वाचनमा दिलाइरहेको जित हेर्दा। तर पूरै समाज र राष्ट्रले कुन मूल्य चुकाइरहनुपरेको छ आज सोचनीय छ। भारतलाई घाटा दुईतर्फ छ, एक त उसको अन्तर्राष्ट्रिय छवि र ‘सफ्ट पावर’ ह्वात्तै घटेको छ हिन्दूत्व हावी भएको यस अवधिमा।

दोस्रो, भारतभित्र ‘राम नाम हिन्दूत्व’ लाई समर्थन गर्ने ठूलो जमात देखिए पनि धेरै मौन अस्वीकृति राख्ने हिन्दू धर्मावलम्बी पनि छन् भने दलित, आदिवासी र मुसलमान माझ मौलाउँदो मनोवैज्ञानिक त्रासले भारतलाई आन्तरिक रूपमै कमजोर बनाउँदैछ। चर्काे हिन्दूत्ववादी उग्रराष्ट्रवादमाझ आधुनिक राष्ट्र–राज्य भारतवर्षको आत्मबल ह्रास भइरहेछ, जुन कुरा न भारतीय नागरिकका लागि सुखद हो न छिमेकमा हामी सबैलाई नै।

नेपालीको ‘हिन्दू’ अभ्यास
भारतको यो चिन्ताजनक यात्राको ठीक खिलाफ नेपालमा भने ‘धर्म’ भन्नाले आजैसम्म पनि विविध आस्था, परम्परा, सांस्कृतिक गहिराइ र उदार सह–अनुभूतिमा चल्ने समाज जनिएको छ। भारतमा भाजपा/रासस ‘धर्म’ को अंग्रेजी प्रयोग ‘रिलिजन्’ को बुझाइ अन्तर्गत अगाडि सरेका छन् भने नेपालमा आजैसम्म पनि यो शब्दले सांस्कृतिक पहिचानसहित समुदाय र व्यक्तिगत जीवनयापनको तरिका या शैली भनी जनाएको छ। यहाँ ‘धर्म’ का अनेकन् पाटामध्ये पर्दछन् पूजाआजा, मेला, जात्रा, पर्व, नाच, गीत, बलि, भजन, ध्यान, तीर्थाटन र शक्तिपीठको दर्शन र प्रकृतिपूजा।

नेपालको धर्मको कर्म भनेका आजैसम्म पनि यहाँको विभिन्न समुदायको ऐतिहासिक उत्पत्ति र सांस्कृतिक पहिचानसँग सम्मिलित छ, जबकि भारतमा भने पत्यार नै नलाग्ने गरी विगतको विविधता बिर्सिने गरी आज एकल श्रीराम पेश हुँदैछन्।

परम्परागत राम भक्तिसँग कुनै शिकायत हुने कुरा भएन, र आजै पनि दक्षिणएशियाभरि दशौं लाख भक्तजनले श्रीरामको पूजनद्वारा सांस्कृतिक र आध्यात्मिक ऊर्जा लिइरहेछन्। तर यति भन्न सकिन्छ कि आज अरू देव–देवतालाई पछाडि पारेर सिमानाको दक्षिणतर्फ श्रीराम हावी हुँदैछन्। नेपालमा भने धेरै समुदाय आफूलाई मुख्यतः शैवमार्गी ठान्दछन्, हिमगिरिका फेदमा भएर होस् वा शिव र शिवभक्तिसँग विभिन्न समुदायले आफ्नो उत्पत्ति र वर्तमान गाँसेका कारण।

फेरि यहाँ देव–देवताको विविधतालाई पनि समाजले त्यागेको छैन, ब्रह्मा, विष्णु, महेश्वर भन्नुुस् वा हिन्दू मष्टाको पूजन अथवा काली/दुर्गा लगायतका देवी अनि अनेकन् अजिमा, बाराही, वनदेवी, आदि, इत्यादि। भगवान बुद्ध शाक्यमुनि गौतमको पूजन गर्ने जमात ठूलो छँदैछ भने विभिन्न बुद्ध र बोधिसत्वको परम्परा पनि राजधानी उपत्यका र हिमाली भेकको बज्रयान परम्परामा छँदैछ।

नेपालको धर्मको कर्म भनेका आजैसम्म पनि यहाँको विभिन्न समुदायको ऐतिहासिक उत्पत्ति र सांस्कृतिक पहिचानसँग सम्मिलित छ, जबकि भारतमा भने पत्यार नै नलाग्ने गरी विगतको विविधता बिर्सिने गरी आज एकल श्रीराम पेश हुँदैछन्। यहाँ सीता माताको धेरै महत्व छ भने उनी आधुनिक भारतको नयाँ वातावरणमा ‘सेकेण्डरी’ अर्धाङ्गिनी पात्रको रूपमा प्रस्तुत छिन्।

हुन सक्दछ, शिवको ‘राज’ भएको कारणले पनि विष्णुका अवतार श्रीरामको यत्रतत्र पूजा हुँदा पनि नेपालले ‘मोनोथेइजम्’ को बाटो लिएको छैन र धार्मिक ‘प्लूरलिजम्’ कायमै छ। समाज उदार छँदैछ धर्मको मामलामा, यहाँसम्म कि आफूलाई नास्तिक ठान्ने (जस्तै यस लेखक) लाई पनि रीतिरिवाजमा सामेल हुन बाटो खुलै छ। मर्यादापुरुष रामको आदर्शलाई नेपालले त्यागेको छैन भने यहाँ विभिन्न मार्गबाट आदर्शको जीवनयापन र आध्यात्मको मार्ग रोज्ने बाटो खुला छ। सबैभन्दा महत्वपूर्ण (र सन्तुष्टि) को कुरा, धर्म र राजनीति अलग नै रहेका छन्।

४ अगष्ट बेलुकी अयाेध्यामा बालिएकाे बत्ती र त्यहाँ बनाउन लागिएकाे राम मन्दिरकाे चित्र । तस्वीर: द हिन्दू

शाक्यमुनि सिद्धार्थ गौतम विशुद्ध ऐतिहासिक व्यक्तित्व हुन् जसको समयक्रममा देवत्वकरण हुनपुग्यो, र उनको जन्मथलो प्रमाणित गर्न सम्राट अशोकले २३०० वर्षअघि नै लुम्बिनीमा स्तम्भ गाडे। हुनसक्छ श्रीराम पनि पहिला एक वास्तविक महात्माको रूपमा उपस्थित थिए तर उनलाई शताब्दीयौंको दौरानमा ‘मर्यादापुरुष’ को रूपमा देवत्वकरण हुँदा उनको संभवतः ऐतिहासिकता गुमेको छ। यस्तो ऐश्वर्य व्यक्तित्वलाई फलानो ठाउँमा जन्मियो भनेर ठूलो मन्दिर अयोध्यामा बनाउनु चाहिं इतिहासलाई नभई मिथ्याको आडमा जनमानसको जगाइएको आस्थाको भरमा राजनीतिक शक्ति आर्जन गर्ने चेष्टा हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले २९ असारमा भानु जयन्तीको अवसरमा साहित्यकारमाझ वास्तविक अयोध्या चितवनको ठोरीमा पर्छ भन्नु एउटा मिथ्यालाई अर्काे मिथ्याले साट्ने प्रयत्न हो — जस्तै वास्तविक अयोध्याको दाबी भारतकै हरियाणामा पाकिस्तानी पञ्जाब, अफगानिस्तानको हेरात र थाइल्याण्डको अयुथ्यामा समेत गरिन्छ। त्यस अवसरमा प्रम ओलीको भूल भनेको भूराजनीतिक थियो, जब उनले भारतको मुख्य राजनीतिक शक्तिले आफ्नो आधारशिला मानेको ‘रामजन्मभूमि न्यारेटिभ्’ लाई चुनौती दिए, र नेपाल देशले भोगिरहेको खतराको सूचीलाई बढाउने काम गरे।

नेपालका शासक, राज्य संयन्त्र तथा सम्पूर्ण सामाजिक क्षेत्रले देशमा अन्तरसामुदायिक विग्रह नसल्कियोस् भनेर ध्यान दिने समय हो यो, न कि नयाँ नयाँ विवाद देशभित्र र छिमेकसँग थप्दै जाने। जसरी नै नयाँ संविधानको कार्यान्वयनमा राजनीतिक उतारचढाव आउँदा मुलुक अस्थिरताको भासमा पर्न जान्छ, त्यस्तै सामाजिक अमनचयन भाँडियो भने समग्र समृद्धि र लोकतन्त्रको यात्रा अलमलिनेछ। नेपाली शासक हुन् वा आम जन, यो मुलुकमा अमनचयनका साथ प्रगतिको बाटोमा हिंड्ने हो भने नेपालीले आ–आफ्ना धर्म आफ्नै ढाँचामा अपनाउन्, र दक्षिणको साम्प्रदायिकताको हावा खुला सिमानाबाट यतातिर नबहोस्।

प्रतिकृया दिनुहोस

Post navigation

Previous Post:

Oli’s claim that Ram was born in Nepal highlights dangers of mixing pop nationalism with pop history

Next Post:

Covid-19, Kanak Mani Dixit and Dr. Mahesh Maskey | कोभिड-१९ को अनुभव र बुझाइ: डा‍. महेश मास्के

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes