Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

राम र शालिग्राम

February 26, 2023 by admin

हिमाल खबरपत्रिका (५ फागुन, २०७९) बाट 

दुई देशबीचको सम्बन्ध थप सौहार्द बनाउन यो ढुङ्गा ढुवानी राम्रै भयो। तर, यो कार्य भारतमा जस्तै हिन्दू धर्मलाई राजनीतीकरण गर्ने प्रयासको हिस्सा नहोस् र भएको नदेखियोस् पनि।

दुइटा ठूला चट्टान नेपालको सौगात बनेर भारतको अयोध्या पुगेका छन्। म्याग्दीको बेनी नगरपालिका– ६ स्थित कालीगण्डकी नदीको तटबाट निकालिएका ती शिला क्षमापूजा गरेर माघ १२ गते फ्ल्याट्बेड ट्रकमा जनकपुर पठाइएको थियो। त्यहाँबाट मुजफ्फरपुर, गोरखपुर हुँदै अयोध्या पुर्‍याइयो। उत्तर प्रदेशको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरमा राखिने श्रीरामको प्रतिमा बनाउन लगिएका हुन् ती शिला। एउटा शिला १८ टनको क्वार्जाइट् थियो भने अर्को १६ टनको क्याल्साइट्, एउटाले प्रतिमा नबने ‘ब्याकअप्’ अर्को।

दुई देशबीचको सम्बन्ध थप सौहार्द बनाउन यो ढुङ्गा ढुवानी राम्रै भयो। तर, यो कार्य भारतमा जस्तै हिन्दू धर्मलाई राजनीतीकरण गर्ने प्रयासको हिस्सा नहोस् र भएको नदेखियोस् पनि। भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को आडभरोसामा भारतीय जनता पार्टी (भाजपा)ले ‘हिन्दूत्व’ को आक्रामक दर्शन अघि बढाउँदै समाजमा विग्रह र दरार उत्पन्न गरिरहेछ। यस ‘हिन्दूत्व’ अभियानलाई रफ्तार दिने काम सन् २००२ मा अयोध्यामा रहेको ऐतिहासिक बाबरी मस्जिद भत्काउनेबाट शुरू भयो, र त्यस ठाउँमा राम मन्दिर बनाएर रामको मूर्ति प्रतिस्थापन गर्ने योजना बनेको हो।

अयोध्यामा राम मन्दिर निर्माण भाजपाको राजनीतिक अभियानको अभिन्न अङ्ग बनेको छ। सन् २०२४ को आम चुनावलाई ध्यानमा राखी यस मन्दिरको उद्घाटन १ जनवरी २०२४ मा प्रधानमन्त्री नरेन्द्र मोदीबाट गरिने योजना छ। जसरी हिन्दूवादी कट्टरपन्थले भारतको समाजलाई अस्थिर बनाएको छ, अर्थतन्त्रलाई धक्का दिएको छ, र उसको विश्वव्यापी प्रभावलाई कमजोर पारेको छ, प्रस्ट हुन जरुरी छ कि नेपालको मौलिक सामाजिक–सांस्कृतिक बनोटलाई उग्र धर्मवादी सोचले बिथोल्नु छैन।

भारतमा हिन्दू इतर समाजलाई हेपेर, हिन्दूभित्र पनि अनगिन्ती पन्थलाई पन्छाएर वैष्णवहरूमाझ पनि श्रीरामलाई प्रमुख स्थान दिँदै आरएसएस–भाजपा अगाडि बढेको छ। नेपालमा पनि ‘हिन्दू’ अन्तर्गत वैष्णवदेखि शिवमार्गी, कृष्ण प्रणामी मष्टा पूजक, प्रकृति पूजक आदि विभिन्न पन्थ र आस्था–मार्ग छन्। यहाँ गैरहिन्दूको संख्या पनि कम छैन। अयोध्याको मन्दिरमा राखिने श्रीरामको मुख्य प्रतिमाका लागि शिला पठाउँदा उत्साहित हुँदाहुँदै नेपालीजनले उत्तर प्रदेशको राम जन्मभूमि भनिएको ठाउँमा निर्माणाधीन मन्दिर पछाडिको ऐतिहासिक र सामाजिक वास्तविकता बुझ्नैपर्छ।

थाहा भएकै हो, रामायण पूर्ण ऐतिहासिक होइन। दक्षिणएशियाको ऐतिहासिक र सांस्कृतिक उत्पत्तिको क्रममा विभिन्न स्थानलाई श्रीरामको जन्मथलो मानिएकै छ। तसर्थ राजनीतीकरण नगरिएको पुरातत्त्व विधाले अयोध्याको ‘राम जन्मभूमि’ लाई ‘आधिकारिक’ मान्ने कुरै भएन। फेरि भारतवर्षका विभिन्न ठाउँमा ‘अयोध्या’ रहेको दाबी पनि छ। नेपालमा पनि चितवन माडीमा अयोध्यापुरी छ।

भारतमा भाजपाको प्रभावका कारण र त्यसमा पनि मोदीको उदयपश्चात् राजनीति र हिन्दूत्वको सङ्गमका कारण उत्तर प्रदेशको अयोध्याको राम जन्मभूमि ठूलै तीर्थस्थल बन्ने निश्चित छ। तर, अन्यत्र दाबी गरिएका राम जन्मभूमिलाई नकार्न मिल्दैन।

उत्तर प्रदेश, अयोध्याको राम मन्दिर अभियानलाई यत्रो ‘सफलता’ प्राप्त हुनुमा भारतीय मिडियाको पनि भूमिका छ। उसको काल्पनिक र अपरिपक्व ‘कभरेज’ नेपालबाट पठाइएका दुई शिलाको सन्दर्भमा पनि छरपस्ट देखियो। धेरै भारतीय मिडियाले यी दुई चट्टानलाई ६ करोड वर्ष पुरानो भनी बखान गरे। जो गल्ती होइन, सबै चट्टान पृथ्वीको उत्पत्तिसँगै सम्बन्धित भएकाले प्रागैतिहासिक हुन्छन् नै। कतिपय प्रस्तुतिमा यी चट्टानबाट बन्ने मूर्ति हजारौं वर्ष रहने भने। हो नै- ढुङ्गाको चरित्र नै त्यही हो।

अधिकांश भारतीय टीभी च्यानल र पत्रिकाले यी दुई ठूला ढुङ्गालाई ‘शालिग्राम’ भने, जबकि ती त्यो होइनन्। हो के भने यी ढुङ्गा शालिग्राम पाइने क्षेत्रको कालीगण्डकी किनारबाट निकालिएका चाहिं हुन्। शालिग्राम कालीगण्डकीको खोचमा पाइन्छ, र अक्सर मुठ्ठीभन्दा साना र काला हुन्छ, जसलाई विष्णुको स्वरूप पनि मानिन्छ। यी दुई भीमकाय चट्टानलाई ‘शालिग्राम शिला’ संज्ञा दिनु हामीमाझका साधारण ढुङ्गालाई जबर्जस्ती धार्मिक रङ दिनु हो।

सुझाव त यो पनि, जसरी उत्तर प्रदेशको अयोध्याको मन्दिरका लागि कालीगण्डकीका चट्टान पठाइयो, त्यसैगरी श्रीराम जन्मभूमि कहलिएका अन्य दिव्य भूमिका लागि पनि माग आए कालीगण्डकी क्षेत्रबाटै शिला पठाइयोस्। शुरूआत चितवनको अयोध्यापुरीबाटै पनि गर्न सकिएला! 

(हिमालको २०७९ फागुन अङ्कबाट)

Post navigation

Previous Post:

वनमाराले वन मासेकै हो?

Next Post:

Pokhara’s desperation and hope

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes