Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

वनमाराले वन मासेकै हो?

January 27, 2023 by admin

हिमाल खबरपत्रिका (१३ माघ, २०७९) बाट

कुनै वेला ‘पञ्चायती झार’ समेत भनिने आयातीत वनमाराबारेका केही कथन र अनुमान उल्टिँदै गएका छन्।

चार दशकभन्दा अघि डाँडाकाँडा पैदल चहार्दै गर्दा मैले वनमारा (ल्याटिन नाम ‘ऐडेनोफोरम् युफ्याटोरिएम्’) बारे मेसो पाएँ। विशेष गरी त्रिशूली नदीको किनारस्थित बेत्रावती गाउँदेखि उत्तरको एउटा पूरै इलाका वनमाराले ढाकेको देखेपछि लेख पनि लेखें। त्यो आयातीत बिरुवालाई ‘पञ्चायती झार’ पनि भनिन्थ्यो, जताततै वर्चस्व जमाएका कारण। कालो डाँठ र चुच्चो पात भएकाले यसलाई कालीमुन्टे पनि भनियो।

त्यति वेला लेखका लागि मैले उद्धृत गरेका विशेषज्ञहरू भन्थे, यो एक रत्ती कामै नलाग्ने ‘इन्भेसिभ् स्पिसिज्’ (मिचाहा प्रजाति) हो, जसको उत्पत्ति उत्तरी अमेरिकाको मेक्सिकोको आसपासमा भयो। यो नेपालमा सन् १९६० को दशकमा अमेरिकी सरकारले ‘पीएल फोरएटी’ (‘पब्लिक ल ४८०’) अन्तर्गत दिने खाद्य सहयोगमा प्राप्त गहुँसँग मिसिएर आएको अनुमान थियो।

कसैको हित नगर्ने झार भनेर कालीमुन्टेले नाम नै कमायो। फँडानी भएको जङ्गल क्षेत्रमा फैलिएर रैथाने बोटबिरुवा उम्रन नदिने, जङ्गल स्वाहा पार्ने नै यो झारको काम हो भनिन्थ्यो र अद्यापि भनिन्छ। वनमाराको जरा गहिरो नजाने भएकाले यसले भीरपाखाको स्याहार पनि गर्दैन, न गाउँघर र गृहस्थीमा खासै काम लाग्छ। बस्तुभाउले खाँदैनन्, एक मात्र प्रयोजन भनेको गोठमा सोत्तर बिछ्याउने हो। वनमाराले यस्तै परिचय बनायो।

त्यति वेला वनमाराको आगमनलाई वातावरण र समाजमा एउटा हस्तक्षेपकारी अध्यायको शुरूआतका रूपमा हेरियो। अनि यसको नियन्त्रणको उपाय खोजियो। जस्तै- धनकुटा-पाख्रिबास कृषि अनुसन्धान केन्द्रले यस बिरुवाको डाँठमा अन्डा पार्ने विशेष झिंगालाई प्रोत्साहन गर्‍यो, फैलावट रोक्न केही गर्छ कि भनेर। डाँठ र पात छुट्याएर मल बनाउन मिल्छ कि भनेर पनि हेरियो। तर, कसैको केही लागेन, वनमारा विस्तारमा रोक लागेन।

आज आएर नेपाली वातावरण र समाजले वनमारालाई ठाउँ दिएको हो कि भन्ने लाग्न थालेको छ। जस्तो कि, १५ वर्षअघि म र परिवार ललितपुर-फूलचोकीबाट कुशादेवी हुँदै पनौती झर्दै गर्दा स्थानीय महिला वनमाराको भारी बोक्दै आएका थिए। कामै नलाग्ने झारमा यत्रो बलबुता किन लगाएको भन्दा जवाफ आयो, “यो भर्खर पलाएको वनमारा हाम्रा बाख्र्राले खान्छन्।”

त्यति वेलै मैले लेखेको सम्झन्छुः यो समुद्रपारबाट आएको झार स्थानीय बस्तुभाउको उत्पत्तिकालदेखिकै आहार थिएन, त्यसैले शुरूमा नचिनेको पात-बिरुवाबाट टाढै बसे। तर, बिस्तारै एउटाले हरियो देखेर यसो सुँघसाँघ गरी चपायो होला, ठीकै लागेर खाँदै गयो। अर्काले देखासिकी गर्‍यो, अनि ‘एक मुख दुई मुख मैदान’ भयो।

बाख्राले त खान थालेछन्, अन्य बस्तुभाउले यत्तिकै हेरेर बसे होलान् त? त्यति वेला मसँग यसको जवाफ थिएन। यही पुसको अन्तिम साता काभ्रेको नमोबुद्धमा एक भारी वनमारा बोक्दै बिसाउँदै गरेकी पार्वती सत्याल अधिकारीलाई सोधें, “केका लागि यो कालीमुन्टे?”

“गाईबस्तुले उल्का मन पराउँछन्।”

हेर्दाहेर्दै वनमारा हामीकहाँ गाईबस्तु र खसीबाख्राको खुराक बनिसकेछ। नयाँ परिस्थिति स्विकार्दै अघि बढ्ने ‘एड्याप्टबिलिटी’ प्रवृत्ति मानवमा सीमित नरहेर जनावरमा पनि लागू हुँदो रहेछ।

वनमारा कसरी नेपालसम्म आइपुग्यो भन्नेमा पनि पुनरावलोकन हुँदै रहेछ। ‘पीएल फोरएटी’ अनुदानको गहुँबाट नभई पानीजहाजको बाटो आयो भन्ने अड्कल छ कसैको। सन् १९३० को दशकमा मेक्सिकोतिरबाट बर्माको रंगुन आएका पानीजहाजले ‘शिप्स् ब्यालास्ट’ (धेरै सामान नबोकेको मालवाहक पानीजहाजलाई स्थिर राख्न पानी राखेर सन्तुलन मिलाउने प्रक्रिया)का लागि त्यहाँको पानी प्रयोग गर्दा रहेछन्, जो रंगुन बन्दरगाह आएर त्यहाँ पम्पद्वारा फ्याँकिन्थ्यो। त्यही पानीमा तैरिएर आएका बीउबाट वनमाराले शुरूमा दक्षिण-पूर्वी एशियामा जरो गाड्यो अनि हुँदै उत्तर र पूर्व लाग्दै सन् १९५०-६० को दशकमा पूर्वोत्तर भारत र सिक्किम-दार्जीलिङ हुँदै नेपाल आइपुग्यो।

गत आधा शताब्दीको चश्माले हेर्दा वनमाराले जङ्गल विनाश गर्ने कथन पनि पूरै सत्य देखिएन। जसरी पहिरो गएको ठाउँमा उत्तिस पुग्छ भनिन्छ, त्यो पाखालाई पूरै ढाक्ने गरी त वनमारा आउँदो रहेछ। यसकारण बर्खाको वेला भूक्षय रोक्न केही काम गर्‍यो कि? अन्य स्थानीय रूखबिरुवा फर्केपछि वनमारा सर्लक्क हट्ने पो हो कि? किनकि, पारिलो ठाउँमा वनमारा देखिन्छ, तर रूखको छहारी पाएको घना जङ्गलको जमीनमा त्यति देखिँदैन।

इन्धनका लागि दाउराको सट्टा एलपीजी ग्यास (अब त बिस्तारै बिजुली चुल्हो), घर निर्माणमा काठ नभई सिमेन्ट, कंक्रिट, छडको प्रयोग आदि कारणले नेपाली मध्य पहाडको घना बन्दै गरेको जङ्गलमा वनमाराको उपस्थिति कमजोर हुँदै गएको त होइन? सात-आठ शताब्दीको अतिक्रमणपछि यो झार अन्ततः लोप हुँदै जाने त होइन?

(हिमालको २०७९ अंकबाट।)

Post navigation

Previous Post:

‘स्पाइनल बिटल’ को सफर

Next Post:

राम र शालिग्राम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes