Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

विश्वको नासो लुम्बिनी

March 16, 2012 by admin

नागरिक दैनिक (३ चैत्र, २०६८) बाट

शाक्यमुनि सिद्धार्थ गौतम जन्मेको लुम्बिनी बाटिका नेपाल राज्यको भूभागभित्र पर्छ। हाम्रो लागि यो सांस्कृतिक संयोग हो, इतिहासको सौगात नेपालीवासीलाई। शाक्यमुनि गौतम प्राचीनकालको गङ्गा मैदानका अन्य ऐतिहासिक बुद्धमध्ये सबैभन्दा परिचित बन्न पुगे। उनको जीवनसँग सम्बन्धित चार स्थान (लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर) मध्ये तीन स्थान आजको भारतमा पर्छन् भने जन्मस्थान नेपालमा। सम्राट अशोकले लुम्बिनीमा स्तम्भ स्थापना गरेर यसलाई प्रमाणित गरेका छन्।

लुम्बिनीबाहेक कपिलवस्तु, गोटीहवा, निगलिहवा, रामग्राम आदि नेपाली भूभागमा अवस्थित हुनाले हाम्रो सांस्कृतिक गरिमा बढाएका छन् भने तीर्थाटन र पर्यटनद्वारा पुरै अर्थतन्त्रलाई समृद्धि दिलाउन सक्छन्। लुम्बिनी र कपिलवस्तु आसपासमा बसोवास गर्ने मुस्लिम तथा अन्य विपन्न समुदायलाई यो आर्थिक सम्भावनाले सुन्दर भविष्यतर्फ लैजान सक्छ। काठमाडौं उपत्यका तथा पहाडहिमालका महायान र हीनयान बौद्धमार्गी तथा अनेक आस्था राख्नेका लागि लुम्बिनीको महत्वको कुरै गर्नु परेन।
नेपालीको लागि ठूलो आर्थिक, सांस्कृतिक र धार्मिक सम्भावना बोक्दाबोक्दै लुम्बिनी सम्पूर्ण संसारको जायजेथा पनि हो। विश्वभरका एक अर्ब बौद्धमार्गी तथा आध्यात्मिक लगाव भएका र मानवीयताका पक्षधर सबैका लागि यो पवित्र स्थल हो। नेपाली जनता तथा राज्यले नासोका रूपमा लुम्बिनीलाई पाएका छन्। शाक्यमुनिको जन्मथलो र वरिपरिको क्षेत्रलाई संरक्षण गर्ने र यसको पवित्रतामा कुनै पनि खालको हमला हुन नदिनु हामी नेपालीको कर्तव्य हो।

अपशोच, लुम्बिनीको ‘प्रयोग’ गर्दै आफु र आफ्नो दललाई फाइदा हुने गरी एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले एकपछि अर्को कदम चाल्दै छन्। शान्तिकामी नेपाली जनताको मनोभावना एकातिर छ भने अर्कोतिर धाक, धम्की, द्रव्य तथा राज्य संयन्त्रको प्रयोग गर्दै माओवादी आफुले चाहेको समाज निर्माण गर्न प्रयासरत छ।
अध्यक्ष दाहालले लुम्बिनीमा धावा बोलेका छन्, र उनको अपवित्र आकाङ्क्षा सायद कसैबाट लुकेको छैन। तर जनसाधारण नतमस्तक छन् र तिनको लुम्बिनीबारेको मनोभावनाप्रति विचार निर्माता, बौद्धिक र नागरिक अगुवाहरूबाट प्रतिनिधित्व भइरहेको छैन। प्रायः सबैको साहसहरण भएको छ।

बुद्धको वाणी

माओवादी खुला राजनीतिमा आएपछि जनतासँग गरेका कबुलअनुसार लोकतन्त्र र शान्तिपूर्ण राजनीतिमा आस्था राख्ने दलमा परिणत हुन्छ भन्ने आशा थियो। यसो भएको छैन, र पुष्पकमल दाहाल अझै विद्रोहकै कुरा गर्छन्, शान्ति प्रक्रियामा तीन-तीन वर्ष बखेडामा अल्झाएका छन् र नेपालीको भविष्यलाई भासमा पार्ने गैरलोकतान्त्रिक संविधानलाई जबर्जस्ती पस्कन खोज्दैछन्।

यस्तो पृष्ठभूमिमा १४ हजारको मरणको उत्तरदायित्व तथा जवाफदेहीलाई लत्याएर उम्कन खोज्ने कोसिस हो, गत वर्षभरिको लुम्बिनी प्रयोगको कसरत। शान्ति प्रक्रियामा हलो अड्काउने, संविधान बन्दुकको आडमा निर्माण गर्न खोज्ने अनि आफु ‘चोखिन’ लुम्बिनीको आपत्तिजनक प्रयोग गर्ने। आफ्नो राजनीतिक शासकीय महत्वाकाङ्क्षाका लागि उनले नेपाली बौद्धमार्गी र बाँकी सबै जनतालाई प्रयोग गर्न सक्षम देखिए। र, अन्तर्राष्ट्रिय सम्पदा लुम्बिनीमाथि धावा बोल्दा पनि कसैले नबोलुन् भन्ने उनको अपेक्षा देखिन्छ। कतिसम्म भने संयुक्त राष्ट्रसंघका महासचिव बान कि-मुनसम्मलाई प्रयोग गर्ने धृष्टता राखिसके दाहालले।

गौतम बुद्धको वाणी थियो- शान्ति, सौहार्द, ध्यान, अन्तरात्माको पहिचान तथा एउटा मानवद्वारा अर्काको सह-अनुभूति। तर पुष्पकमल दाहाललाई भने लुम्बिनी प्रयोगको आफ्नो यात्रामा निजी अग्रगमनलाई सहयोग गर्नेबाहेक यस्ता भावनाले छुँदैनन्।

उनलाई आफ्नो राजनीति गर्न शान्ति अपनाएको नेताका रूपमा प्रस्तुत हुनु छ, तर द्वन्द्वका औजारहरू आफ्नो हातमै लिएर। लुम्बिनी गएका छन् दाहाल तर हिंस्रक भावना नत्यागीकन। उनको यस्तो निजी अभियानले लुम्बिनीको आध्यात्मिक र धार्मिक गरिमालाई असर त पर्छ नै तर यसको राजनीतिक र आर्थिक क्षति कसैले अनुमान गरेभन्दा ठूलो हुन्छ। नेपाली जनता र राज्यले शाक्यमुनिको पवित्र जन्मस्थललाई एउटा हिंसा नत्यागेको नेतालाई प्रयोग गर्न दिएको कुरा संसारभर फैलनेछ र इतिहासले पनि बिर्सने छैन। लुम्बिनीमा दाग लाग्नेछ जसको भौतिक, सांस्कृतिक र आध्यात्मिक क्षति मापनभन्दा बाहिरको विषय हुनेछ।

अध्यक्ष दाहाललाई अर्बौं डलरको कुरा गरेर जनतालाई फकाउन सकिन्छ भन्ने लागेको हुनसक्छ तर यस सम्पदास्थलबाट हुनसक्ने आम्दानीबारे नागरिकलाई सिकाउनुपर्दैन। मात्र शान्ति र लोकतान्त्रिक स्थायित्व होस् नेपालमा, लुम्बिनीले अर्बौंको आम्दानी स्वतःस्फूर्त रूपमै दिनेछ। यसैले हिंसा, धम्की, त्रास र झुटबाट लुम्बिनीलाई चोखै राखौँ।

महसचिव आगमन

शान्ति प्रक्रिया नटुंगिदै, संविधानलेखन अड्किएको बेला किन नेपाल आउन लागेका हुन् बान कि-मुन यो कौतुहलको विषय हो। पुष्पकमल दाहालसँग एउटै पोडिएमबाट सह-अध्यक्ष भई लुम्बिनीको विकासको लागि उद्घोष गर्ने योजना रहेको बुझिएको छ। यसो हो भने संयुक्त राष्ट्रसंघका महासचिवले लोकतान्त्रिक शान्तिकामी दलमा परिणत नभएको शक्तिलाई सहयोग पुर्‍याउनेछन्। संयुक्त राष्ट्रसंघको ‘डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स’ को सुझावमा महासचिव बान कि-मुन आउन लागेका हुन् भने उही अनमिनको गल्ती दोहोर्‍याउने कर्मचारीहरूको सुझावमा यसो भएको हुनुपर्छ।

बान कि-मुनकी बौद्धधर्मी आमाको लगावका कारण तथा लुम्बिनी उत्थानका लागि केही गरौँ भन्ने हेतुले महासचिव आउन आँटेका हुन् भने मध्य वैशाख २०६९ कै बेला किन भ्रमण पारेको? नेपालको शान्ति प्रक्रिया तथा संविधानलेखनको लागि बान आउन लागेका हुन् भने यति ढिलो आएर ‘मद्दत’ गर्न खोज्नुको फल माओवादी दलले मात्र चाख्न पाउनेछ। यति ढिलो आएर अन्तर्राष्ट्रिय दबाबमा लोकतान्त्रिक संविधान बन्छ भन्ने ठान्नु नै भ्रम हो।

संयुक्त राष्ट्रसंघको सफलताको उदाहरण पेस गर्न नेपाल आएर चमत्कारिलो ढङ्गले शान्ति प्रक्रिया र संविधानलेखन आफुद्वारा सफल गराएको देखाउन महासचिव बानले चाहेको हुनसक्छ। उनका सल्लाहकारको यो सल्लाह थियो भने नेपाली जनतालाई सफल नहुने प्रयोगमा ‘गिनी पिग’ बनाउन खोजेको मान्नुपर्छ।

अध्यक्ष दाहालले बान कि-मुनको छेउमै उभिएर जेजस्तो घोषणा गरे पनि शान्ति र संविधानका लागि त्यो विश्वसनीय हुनेछैन। किनभने उनले जति कुरा आज अन्तर्राष्ट्रिय समुदायसामु कटिबद्धता गरे तिनको कार्यान्वयन भएन। शक्तिखोर शिविरमा डेढ वर्षअघि संयुक्त राष्ट्रसंघका पदाधिकारी र पुरै कूटनीतिक गणसामु ‘पीएलए’ को झन्डा उतार्ने काम त भएकै हो तर माओवादीले शान्ति प्रक्रिया पूरा गरेन।

तसर्थ बान आगमनले माओवादीमाथि दबाब पर्छ भन्ने कुरा गलत हो। घरीघरी हामीले देखिसक्यौँ बिना सङ्कोच, मान्यताविहीन अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय ‘गुडविल’लाई आफ्नो पक्षमा ल्याइछाड्नेछन्। बानको नेपाल यात्रा ‘जनयुद्ध’ शुरु गरेदेखि आजसम्म जनतालाई दुःख दिएकोमा अन्तर्राष्ट्रिय जगतबाट ‘इनाम’ को रूपमा लिइनेछ।

आलो घाउ

‘जनयुद्ध’ मा मानिस मार्न लगाएकोमा कम्तीमा पनि पछुतो हुनुपर्नेमा पुष्पकमल दाहालले खुला राजनीतिमा आएपछि बीबीसी नेपाली सेवाद्वारा घोषणा गरे – ‘हामीले यातना नदिईकन हत्या गर भनेर निर्देशन दिएका थियौँ।’ कस्तो ‘महान्’ मानवीयता। यिनै व्यक्तिले बालकहरूलाई योद्धाको रूपमा प्रयोग गरे। सम्पूर्ण जनतालाई त्रासमा राखे, आफ्नो दस्ताको विस्तारका लागि शिक्षक, स्थानीय नेता, सामुदायिक जुझारुको हत्या गर्न निर्देशन दिए, ज्यादती गर्ने राज्यलाई मौदानमा ओराले। तर आजैसम्म पनि एक शब्द ग्लानि, एक शब्द पछुतो, एक शब्द पुनर्मूल्याङ्कन, एक शब्द आत्मालोचना भएको हामीले सुनेका छैनौं।

आफूले जनतालाई दुःख दिएकोमा माफी माग्नु त परैको कुरा, अझै पनि अध्यक्ष दाहाल द्वन्द्वकालका पीडकहरूलाई आममाफी र उन्मुक्ति दिने पहलमा छन्। राज्यद्वारा पीडित माओवादी समर्थकप्रति समेत उनको संवेदनशीलता रहेन, बरु राज्य र माओवादी दुवैतर्फका पीडकहरूलाई छुट्कारा दिन पाए उनलाई पुग्छ।
उदाहरण त अनगिन्ती छन् तर बालकृष्ण ढुङ्गेलको सन्दर्भ मात्रै यहाँ उठाए पनि पुग्छ। माओवादी अध्यक्षले ढुङ्गेललाई आफ्नै हेलिकप्टरमा ओखलढुङ्गा उडाए गत साता, अनि भाषण गर्न लगाए आफ्नै छेउबाट। जनतालाई आतङ्कित पार्ने पुरानै शैली र कुनै पनि तरिकाले पीडकलाई कानुनबाट बचाउ गर्नेे अभीष्ट! अनि यस्तो व्यक्तिसँग मञ्चमा सहअध्यक्ष भएर लुम्बिनीमा उद्घोष गर्ने महासचिव बानले?

स्वर्ण गङ्गा

बान कि-मुनलाई आफ्नो प्रस्तावित नेपाल भ्रमणको खाका र समयबारे पुनरावलोकन गर्न सुझाव दिन सकिन्छ। पवित्र लुम्बिनीमा निजी भ्रमण तथा दर्शनका लागि त नेपालको ढोका सदा खुला रहेकै छ र लुम्बिनी उत्थानको लागि पाइला चाल्ने संयुक्त राष्ट्र संघका दोस्रा महासचिव उ थान्टको पथमा चल्न महासचिव बानलाई एक एक नागरिकले स्वागत गर्नेछन्। तर हिंसा त्याग नगरेको दलका नेता पुष्पकमल दाहालसँग लुम्बिनीमा सहकार्य गर्नु भने मानवीयताको मापदण्ड विपरीत देखिन्छ।

दाहालको पहलमा भूराजनीतिको गन्ध आएको हुनाले पनि अहिले महासचिव बान वैशाखमा आउनु उपयुक्त देखिँदैन। नेपालको शान्ति प्रक्रिया र संविधानलेखनका लागि आउने भनी नयाँ सूचना सञ्चार भइरहेछ पछिल्ला दिन दाहालतर्फबाट तर अन्निमनले गरेको माओवादी पक्षीय गल्तीमाथि अर्को गल्ती थप्नु बुद्धिमानी होइन। माओवादी अध्यक्षद्वारा भ्रमणलाई आफ्नो स्वार्थमा प्रोपोगण्डाका रूपमा प्रयोग हुने हुनाले महासचिव र उनका सल्लाहकार सचेत हुनुपर्छ।

लुम्बिनीलाई संयुक्त राष्ट्रसंघको संरक्षण चाहिएको छ। जापानी वास्तुविद् केन्जो टाँगेको परिकल्पना तथा योजनाले एउटा लिक बनाइदिएको छ, यसै बाटोमा जान लुम्बिनी विकास कोष छँदैछ। यसका साथसाथै बौद्धधर्मी मुलुकहरूको सदस्यता रहेको एउटा ‘अन्तर्राष्ट्रिय लुम्बिनी विकास समिति’ संयुक्त राष्ट्रसंघ सचिवालय न्युयोर्कमा पनि छ। अरू कुनै सम्पदास्थलको सन्दर्भमा यस्तो उचाइको अन्तर्राष्ट्रिय समिति छैन, तर करिब दुई दशकदेखि यो समितिलाई निष्त्रि्कय राखिएको छ।

उक्त समितिलाई बिउँताउने काम नगरेर, लुम्बिनी विकास कोषलाई स्वायत्तता तथा व्यवसायीकरणतर्फ नलगेर प्रधानमन्त्री भट्टराईले पुष्पकमल दाहाललाई अध्यक्ष बनाएर अलग्गै ‘राष्ट्रिय निर्देशक समिति’ बनाउन पुगे लुम्बिनीको ‘शत्रु’ खडा गर्ने गरी। प्रम भट्टराईको योजना आफ्ना अध्यक्षलाई न्युयोर्कको भुलभुलैयामा अलमल्याइदिनुथियो भने दाहाललाई बिना प्रायश्चित लुम्बिनीको स्वर्ण गङ्गामा आफ्नो पापको भारी पखाल्नु थियो। त्यसैले जनतालाई भार र आफूलाई लाभ हुने महासचिव बानको भ्रमण योजना उनले बुने।

एक जना व्यक्तिले आफ्नो निजी राजनीतिक यात्राको लागि यसरी विश्वको सम्पदास्थल र अर्बौं जनमानसको आस्थाको केन्द्रमा धावा बोल्न सक्नु नेपालको राजनीतिक बिचल्लीको सङ्केत हो। महासचिव बान कि-मुनलाई ज-जसले सुझाव दिनुपर्ने हो, दिनेछन् भन्ने आशामा….।

Post navigation

Previous Post:

खुट्टा तान्दै गर !

Next Post:

Ban Ki-moon and His Proposed Nepal Trip: A Vituperative Assessment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes