Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

वीर अस्पतालमा उत्तानो पर्दा

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१–१५ मंसीर, २०५६ ) बाट

वीर अस्पतालमा रहँदा ‘बेड’ र ‘स्ट्रेचर’ बाट लेखकले खिचेका तस्बिरहरूको संयोजन ।

राजधानीको मुटुमा रहेको वीर अस्पताल सबैको गाली खाने अचानो बनेको छ । तर फेरि वीर अस्पताल नभए पनि हुँदैन नेपालका शासक र जनता दुबैलाई । न्यूरोसर्जन उपेन्द्र देवकोटा र उहाँको टीमले उत्तानो पारी घाँटीमा ‘ट्र्याक्शन’ लगाइदिएर मलाई तीन हप्ता बेडमा राखिदिँदा कोठाको दलिन निरीक्षण गर्ने राम्रो अवसर मिल्यो, साथै टाउको घुमाउन नपाउँदा कान बढी चुस्त भयो । र, हाम्रो राष्ट्रिय अस्पतालको अवस्थाबारे विचार पुर्‍याउने अवसर मिल्यो ।

क्याबिन नं. ५ को अवस्थाबाटै कुरा शुरु गरौँ । पेट बोकेर डम्म भएका साङ्लाहरू सिलिङमा सयर गर्न निक्लन्थे, तर इनामेल पेन्टको चिप्लोले उनीहरूलाई त्यहाँ टिक्न दिन्थ्यो र ? अनि लम्जुङको लिलीभीरबाट कोही खसेजस्तै (जुन कारण म वीर अस्पतालमा भर्ना भएँ) फुतुफुतु विरामीको शरीर माथि खस्ने गर्थे । साङ्लाको बिगबिगी सरसफाइसँग सम्बन्धित छ भन्छन्, तर त्यस्तो अपच निष्कर्षमा पुग्नुको साटो आँखा अलि पर सारेर सिलिङ फ्यानतिर लगेँ । ६ वर्षसम्म आफूखुशी रहन दिइएको, कालो कट्कटिएको त्यस पङ्खालाई मेरो परिवारले टलक्क पारेर सफा गर्दा त रमाइलो सूचना फेला पर्‍योः “२०५१/५/२३ मा का.न.पा. २५ वडाबाट सहयोग ।” खुशी लाग्यो, दुई सार्वजनिक संस्थाबीचको यस्तो सम्बन्ध ! छेउको भी.आई.पी. कक्षमा भर्ना हुनुभएका सांसद पी.एल. सिंह सद्भाव ‘भिजिट’ मा आउनुहुँदा भन्नुभयो, “म मेयर छँदा वडाहरूलाई खर्च गर्न राम्रै रकम जुटाइदिएको थिएँ ।”

सिलिङ फ्यानलाई मात्र हेरिनँ, वीर अस्पतालका नर्सहरूको सीप र मिजासको अनुभव पनि गरेँ । आखिर दिनको एकचोटि डाक्टरको ‘हेलो’ पछि दिनभरि विरामीको स्याहार र चिन्ता त नर्सकै हातमा हुने भयो– काँप छुटेको छ कि, सेलाइन ड्रिप पास हुन छाड्यो कि, उत्तानो परेको विरामीले निल्न सकेन कि… ।

राति राति वीर अस्पतालका धेरै पेसेन्टहरू सुत्थे होलान्, तर नसुत्ने पनि थिए । पोष्ट अपरेटिभ वार्डमा ब्रेन ट्यूमर झिकिएको सानो केटोको वेदनापूर्ण चिच्याइ, मृत्युशैय्यामा रहेका बाबुलाई उनकी छोरीले बोलाउँदै गरेको सानो स्वर– “ड्याडी ! ड्याडी…” उत्तानो परेर सुन्न मात्र सकेँ । दिउँसो रत्नपार्कवारि ट्राफिकको निरन्तर घन्किने आवाज हुन्थ्यो भने मध्यरातमा एम्बुलेन्सको साइरेनले घातक आकस्मिक घटनाको सङ्केत दिएको दियै । अनि बाहिर कतै झ्गडाको आक्रोशित आवाज र भित्र कोरिडरमा दाजु–बहिनी, बा–आमा बितेको कारणले सहारा हराएको कसैको रुवाइ–कराइ ।

बिहान सबेरै ६/७ वटा ट्याङ्कर आएर डिजल पम्पद्वारा अस्पतालको ट्याङ्कीमा पानी खन्याउँदाको आवाज सुन्दा लाग्यो– नेपालीले नेपालीलाई कति हेप्दारहेछन् । अति संवेदनशील अवस्थामा रहेका कैयौँ बिरामीलाई त्यस्तो ढ्याङ्ग–ढ्याङ्ग–ढ्याङ्ग–ढ्याङ्ग कोलाहलले निंद्रा चोरिदिँदा कसैको संवेदनशील चित्त दुख्दो रहेनछ । फेरि अर्को विचार आयो – अस्पतालले गरोस् पनि त के, सयौँ होटल र अफिसले ‘डिप–बोरिङ्ग’ गरेर सबैको साझ सम्पत्ति जमिनको गर्भको पानी खपत गर्छन् भने जनताको सेवा गर्ने यो बूढो सार्वजनिक अस्पताललाई डिप–बोरिङ्ग गराइदिने कोही निक्लेनछ ।

अनि आयो भगवानको कुरा । आस्थै आस्थाले भरिपूर्ण रहेछ यो देश, खासगरी मृत्युकै अलिकति नजिक पुग्न लाग्दा । वीर अस्पतालमा जहाँ पनि भगवान नै भगवान– फ्रेम भित्रबाट क्याबिन क्याबिन, बरण्डा–बरण्डाबाट चिहाउँछन्– शिव, सरस्वती, बुद्ध, साइबाबा आदि आदि । आँखा छल्नै नपाइने यी अन्तरयामीहरूको ।

मेरो खल्बलिएको ढाडको अपरेशन गर्न गुड्दै जाँदा थाहा पाएँ, उत्तानो परेकाहरूले ठ्याक्कै देख्ने गरि राखिएका रहेछन् यी फ्रेमभित्रका देवहरूलाई । एक किसिमले राम्रो हो यस्तो भक्तिभाव जगाउने चेष्टा, तर “मर्न जान लागिस्, भगवानको नाम सम्झी” भने जस्तो पनि लाग्यो मलाई, विशेषगरी आफू हुलिन लागेको अपरेटिङ थिएटर बाहिर भोलेबाबाको शान्त मुद्रा देख्दा– “आऊ बाबु, आऊ” भनेजस्तै । यही बाटोमा गुडाउँदै लगिने कतिको अन्तिम दृश्य हुन्छ होला त्यो अपरेटिङ थिएटर रखवार गर्ने त्रिशूलधारी नीलकण्ठको ।

डाक्टर, नर्स र अपरेटिङ थिएटर बाहिर झुण्ड्याइएका शिवजीको राम्रै हात र दृष्टि परेर मेरो अस्पताल–प्रवास टुङ्गियो । उत्तानो परेर त्यति दिन रहेको जीउ ठाडो हुन पायो । आज वीर अस्पतालको त्यो उत्तानो परेर माथि हेर्ने र कानले सुन्ने समय मेरो पछाडि छ, तर अस्पतालको विचार मनबाट जाँदैन । वीर अस्पताल सम्पूर्ण नेपालको अहिलेको अवस्थाको प्रतीक हुन गएको छ । हाम्रो देशजस्तै सम्भावनाले भरिपूर्ण छ यो अस्पताल, तर प्रथमतः राजनैतिक स्वार्थ (अस्पतालमा पनि डाक्टरहरुबीच काङ्ग्रेस–एमाले चल्छ) ले यसलाई हिर्काएको छ । सरकारबाट निर्धक्क पैसा निकासा गरिँदैन; तिर्न सक्ने जति नर्सिङ होम जान्छन् (तर ‘सिरियस’ या ‘कम्प्लिकेटेड’ भए फेरि अस्पतालकै दैलोमा फर्कन्छन्), जनताका छोराछोरी, बाबु–आमा, या इमर्जेन्सी उपचारका लागि भने यहीँ आउँछन् । वीर अस्पताल बफादार कुकुरजस्तो भएको छ, जसले मालिकको लात खाँदाखाँदै पनि, पुच्छर लुकाएरै भए पनि पछ्याउन छोड्दैन ।

वीर अस्पताललाई हेलाँ गर्नु भनेको यहाँ उपचारका लागि देशको कुनाकाप्चाबाट आउने नेपाली नागरिकको हेलाँ गर्नु हो । यस अर्थमा वीर अस्पतालको अवस्था देशकै र जनताको स्थितिको सङ्केत दिने व्यारोमिटर हो । जबसम्म काठमाडौँको जानेसुनेकाले आफूमाझ रहेको यो अस्पतालप्रति ध्यान पुर्‍याउँदैनन् (दैवी फ्रेमहरू उपहार दिएर मात्र पुग्दैन) र जबसम्म शक्तिशाली राजनैतिक व्यक्ति र निकायले वीर अस्पतालप्रति गम्भीर चासो देखाउँदैनन्, देशका अरू कैयन् समस्याहरूलाई हेर्ने उनीहरूका आँखा पनि सप्रेको मान्न सकिँदैन । अर्थात्, हामी कुरेर बसौँ । जब वीर अस्पताल सप्रेला, त्यो बेला मात्र देश र जनताको हाल पनि सप्रेको अनुमान लगाए हुन्छ ।

Post navigation

Previous Post:

Trekking in Rainshadow

Next Post:

सधैं भूमिगत ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes