Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

वीर गाथा, विरह गाथा

January 3, 2021 by admin

हिमाल खबरपत्रिका (१५ पुस २०७७) बाट

– कनकमणि दीक्षित र माेहन मैनाली

हताहथविदेशी भूमिमा नेपाली सिपाही मर्ने क्रम दुई सय वर्षभन्दा पहिले शुरु भएको हो। यो क्रम आजसम्म पनि जारी छ। आज सम्म पनि हामी गोरखाली विर गाथा दोहोर्‍याइरहेका छौं। हामीले पढ्ने, हेर्ने, सुन्ने सामग्रीमा लडाईंको पीडा बारे पर्याप्त संवेदनशीलता पाइँदैन। फेरि, पहिले(पहिलेका लडाइँमा सिपाही मात्र मर्दैनथे, उनीहरुसँगै जाने परिवार र बालबच्चा पनि मर्दथे। यस लेखमा दुई शताब्दी अगाडिको नालापानी किल्लामा, झण्डै दुई शताब्दी अघिको अफगानिस्तानको युद्धमा र पहिलो विश्वयुद्धमा लडेका नेपाली सिपाहीका अनुभव समेटिएका छन्।

मल्लकालसम्म उपत्यकाबासीहरू प्रायः सेनामा जाँदैनथे। त्यसैले त्यतिबेला  सेनामा दक्षिण भारतको तेलंगनादेखिका मानिसलाई भर्ना गरिन्थ्यो । सिपाहीलाई तिलंगा भन्ने चलन थियो। मल्ल शासकहरुले मुसलमानहरूलाई पनि सेनामा भर्ना गर्ने गरेका थिए। अफगानहरु पछिसम्म पनि नेपाली सेनामा भर्ना हुन दरखास्त दिन्थे।

सन् १८१४–१८१६ को बेलायत–नेपाल युद्धको आसपासमा विदेशी शक्तिका लागि लड्ने चलन थालियो। नालापानी किल्लाको नेतृत्व गर्ने बलभद्र कुँवर दर्जनौ लडाकू लिएर पञ्जाबका महाराजा रणजित सिंहको फौजमा भर्ना भए। हालको पाकिस्तानको पेशावर शहर नजिक नौशेरामा पठानसँगको लडाइँमा बलभद्र मारिए।

काठमाडौं दरबारलाई पराजित गर्ने क्रममा पश्चिम मोर्चाका लडाकू जम्मा गरेर बेलायतीले ‘नसिरी पल्टन’ नाम दिएर पहिलो ‘ब्रिटिश गोरखा’ फौज खडा गरे। गोर्खालीहरूले संसारका विभिन्न ठाउँमा लड्ने क्रम यही बेला शुरु भयो।

अफगानिस्तानको चढाइ
अफगानिस्तानको चढाइ गोरखाली फौजले लडेको शुरुमध्येको लडाइँ थियो। कम्पनी सरकारले अफगान शासक दोस्त मोहम्मद खाँलाई हटाएर आफूलाई मनपर्ने शाह शुजाहँलाई पदस्थापन गराउन चाह्यो। यसका लागि बेलायती, भारतीय र गोर्खाली गरी २१ हजार सैन्य दस्ताले काबुल चढाइ गर्यो। यी २१ हजार सैनिकका साथमा करिब ३४ हजार पछुवा गएका थिए। तीमध्ये धेरैजसो सिपाहीका श्रीमती र बालबच्चा थिए।

उति बेलाको चलन त्यस्तै थियो।

अफगानिस्तान चढाइ गर्ने सैन्य दस्ताको नाम ‘ग्रान्ड आर्मी अफ द इन्डस’ थियो। त्यो फौजका सिपाही र पछुवामध्ये कति नेपाली थिए भन्न सकिन्नँ तर हजारौँ गोर्खाली थिए भन्न सकिन्छ।

यस अन्तर्गतको गोर्खाली ग्यारिसन काबुलबाट केही कोश उत्तर पर्ने चारिकार नाम गरेको जिल्ला सदरमुकाममा भएको लडाइँमा सामेल थियो जसको नेतृत्व बेलायती अफिसर एल्ड्रेड पोटिंगरले गरेका थिए। त्यहाँ ७५० गोरखाली सिपाही र २०० महिला तथा बालबच्चा थिए।

ठाउँ सुरक्षित थिएन, अफगान छापामारले सजिलै गोली वर्षाउन सक्थे र खानेपानीको मुहान किल्लाबाहिर पर्थ्यो। कोहीले क्यान्टिन र कोहीले लोटामा पानी लगेर प्यास मेटाउँथे। ती सामान नहुनेले कपडा भिजाएर त्यही निचोरेर पानी खान्थे। तर त्यो कुलो अफगान फौजले बन्द गरिदिए, नालापानीमा बेलायतीले गरे जस्तै गरेर।

त्यतिबेला बेलायत संसारकै सबैभन्दा बलवान शक्ति थियो तर  त्यो शक्तिले अफगानिस्तानमा आजसम्मको इतिहास मै ठूलो पराजय बेहोर्नु पर्‍यो।

‘ग्राण्ड आर्मी अफ द इन्डस’ टुक्रँदा टुक्रँदा काबुलबाट भाग्ने बेला आइसक्दा ४ हजार ५०० सिपाही र १६ हजार पछुवा मात्र बाँकी रहे। ज्यान गुमाउनेमध्ये धेरै गोलीले ढालिएका थिए, तरबारले काटिएका थिए। कति चिसोमा कठ्यांग्रिएर मरे। काबुलबाट पेशावर फर्कन खोज्दा हजारौँ मारिए। चट्टानी पहाड बीचको साँगुरो त्यो बाटोमा सयौँ लाश खप्टिएकाले बाटो हिँडिनसक्नु थियो।

असहाय मानिसमध्ये कोही छेउछाउका बोटविरुवाका जरा लुछ्थे, कोही मरेका जनावरको मासु खान्थे। आखिरमा उनीहरु सबै जाडोमा मरे। मानिस र जनावरका लाश कुहिएर फोहाेर भएको पानी खाँदा धेरै स्वस्थ मानिस पनि मरे।

नाेभेम्बरको एक दिन केही नलागेपछि गोरखलीहरु भागेर काबुल जान किल्लाबाट निक्लिए। अरु नभए पनि जहान र बच्चा साथै लग्न नपर्ने सिपाही त बाँच्लान् कि भन्ने आशा पोटिंगरले गरेका थिए। काबुल जान निस्किएका ३७० सिपाहीमध्ये ३०० जना मारिए। आफ्नो कब्जामा लिएका सिपाही र महिला तथा बालबच्चालाई अफगानले दास बनाए।

यसरी ‘ग्रान्ड आर्मी अफ द इन्डस’ रणभूमिमा ध्वस्त भयो। अधिकांश सिपाही र पछुवा फर्केनन्। त्यतै मरे। बाँचेकाहरू दास भिखारी भएर त्यहीँ बसे।

मोतिरामको कथा 
अफिसर एल्ड्रेड पोटिंगर, उनका सहयोगी जन हटन र गोर्खाली सिपाही मोतिराम भने उम्कन सफल भए। मोतीरामको भनाइ हटनले आफ्नो रिपोर्टमा राखेका छन्।

मोतीरामको वर्णनबाट हामीले मातृभूमिबाट धेरै टाढाको अफगानिस्तानको रणभूमिमा गोरखाली लडाकू र तिनका परिवारले पाएको दुःखबारे थाहा पाउँछौं।
उनको वर्णन यस्तो छः
दुईजना नेपाली जोगी अफगानिस्तानका हिन्दूपीठ दर्शनका लागि त्यहाँ पुगेका रहेछन्। मोतीराम तिनै जोगीको शरण परे। एक ठाउँमा उनीहरूमाथि स्थानीयवासीले हमला गरे तर उनीहरु भाग्न सफल भए। त्यसपछि के होला के होला ठान्दै मोतीरामले आफ्नो पूरै कमाइ एकसय रुपैयाँ एउटा ढुंगामुनि लुकाए र भारत आउने बाटो समाते। अर्को अफगान टुकडीले मोतीरामलाई समात्यो र उनकै भरुवा बन्दूकले मार्न खोज्यो तर बन्दूक जाम भयो। मोतीरामले आफू मुसलमान भएको बताए। उनीहरूले मोतीरामलाई ‘त्यसो भए अल्लाहको स्तुती कालिमा पाठ गरु भने ।’ मोतीरामलाई उक्त पाठ गर्न आउँदो रहेछ। उनी छुटे ।

‘अर्को एक ठाउँमा मोतीरामलाई अफगान सामन्तले बन्दी बनाएर हलो जोत्न लगाए। त्यहाँबाट भागेपछि अर्को ठाउँमा उनले घोडाको शयस बन्नुपर्‍यो। उनी फेरि भागे र आफूले ढुंगामुनि पैसा राखेको ठाउँ पुगे, पैसा टिपे र फेरि बाटो लागे। यसपालि उनले हिन्दू व्यापारीको एउटा समूहलाई भेटे जसमा एकजना साधु पनि सामेल थिए। ब्यापारीले उनको ९० रुपैयाँ खोसे। बाँकी रहेको १० रुपैयाँ मोतीरामले साधुलाई दिए। साधुले उनलाई गेरु बस्त्र लगाइदिए, खरानी धसिदिए र आफ्नो सहयोगी भन्दै हरिद्वार फर्कने बाटो आफूसँग हिँडाए। यसरी मोतीराम अफगानिस्तानबाट बाहिरिए। भीख माग्दै बेलायती पल्टनको छाउनी बसेको ठाउँ लुधिआना शहर पुगे।’

यो झण्डै २०० वर्ष अघिको कुरा हो। मोतीरामको वर्णनले हामीलाई रोमाञ्चित पार्छ तर उनको गाउँ, थर र बाँकी जीवनकथाबारे हामीलाई केही थाहा छैन। गोर्खालीले त्यतिबेला कान्दाहार, गजनी, काबुल, चारिकार, जलालवाद र खैबरमा भोगेको दुःख नेपालको इतिहासमा उल्लेख छैन।

ला बासीको मरण क्षेत्र

फ्रान्सको ला बास्सीमा भएको लडाईंमा सहभागी बेलायती सैनिक। तस्वीरः इन्टरनेट

आजभोलि लन्डन बसिरहेका पत्रकार तथा लेखक श्रीभक्त खनालको पोहरसाल चैततिर बेलायत बसिरहेका नेपालीहरूको फेसबुक ग्रुप पेज हेरिरहेका थिए। त्यहाँ एकजनाले डायरीका दुईवटा पेज राखेर लेखेका रहेछन्, मसँग भएका यी पानामा के लेखिएका छन् भनेर मलाई कसैले बताइदिनुहुन्थ्यो कि ?

ती पानामा लेखिएका अक्षर हेर्दा श्रीभक्तलाई यो निकै पुरानो कुरा हो भन्ने लाग्यो। त्यो अनुरोध गर्ने मानिस फिलिप क्रसलाई उनले यो के हो भनी सोधे। फिलिपले उनलाई यी सामग्री आफ्ना जिजुबाजे,जर्मन सेनाका लेफ्टिनेन्ट अलेक्जेन्डर पेफियरले पहिलो विश्वयुद्धमा लडाइँको मैदानमा भेटेको बताए।

डायरीमा असजिलो गरि कोरिएको अक्षरमा कविता लेखिएको छ।
यो कठै बरा साने कप्तानको चढ्दो उमेर थियो ‘
जोबन सबै शत्रुका हातबाट गयो
पल्टनको माया मोहन नेपालैमा रह्यो
जिउँदै मरेर कैलाशमा गयो।

पहिलो विश्वयुद्ध शुरु भएको केही समयमै उत्तरी फ्रान्सको ला बासी भनिने क्षेत्रमा एकातिर जर्मन र अर्कातिर ब्रिटिश शक्ति बीच भिषण लडाइँ भयो। त्यहाँ धेरै सिपाही मारिए। गुप्तचरी गर्ने जर्मन सेनाका लेफ्टिनेन्ट अलेक्जेन्डर पेफियरले एकजना गोरखाली सिपाहीका लाश भेटे र खोजतलास गरे। त्यहाँ  उनले एउटा डायरी, तस्वीर र खुकुरी फेला पारे।

गोर्खाली सैनिकको नाम (बायाँ) र डायरीको पानामा गोर्खालीले बिलौना गरेको डायरीको पानाहरु। स्रोत: फिलिप क्रस

यो डायरी समेतका स्रोतका आधारमा गोरखाली फौजले पहिलो विश्वयुद्धमा भोगेका दुःखबारे श्रीभक्तले लेखेको लेख हिमालखबर डटकम मा प्रकाशित भयो।

पहिलो विश्वयुद्धमा बेलायती फौजका लागि लडेका मराठी, पठान, पञ्जाबी र कुमाउनी सिपाहीका अनुभव धेरैहदसम्म बाहिर आए  किनभने उनीहरुमा उर्दू, पञ्जाबी र देवनागरीमा लेख्ने आदत थियो।

तर गोरखालीले भोगेका अनुभवबारे धेरै कुरा आएका छैनन्। पल्टनमा भर्ति हुनुअघि उनीहरूमा लेख्ने परम्परा उति नभएकाले नेपालीका  कुरा बाहिर आउन नसकेको हुनसक्छ।

ब्रिटिश लाइब्रेरीका चिठ्ठी
ला बासीमा भेटिएको र हालै बाहिर आएको, सिपाहीको एउटा डायरीले युद्धमा गोरखालीको अवस्था केही मात्रामा भए पनि दर्शाएको छ।

२८ जुलाई  १९१४ मा पहिलो विश्वयुद्ध शुरु भयो। फ्रान्समा जर्मन सेनाले पाँच दिनमा ब्रिटिश सेनाका १५ हजार सिपाही मारे। थेग्न गाह्रो भएपछि बेलायती शासकले गोरखाली रेजिमेन्ट समेतका भारतीय फौज त्यहाँ तान्यो। ३० अक्टोबरमा, एकै दिनमा गोरखाली फौजका ६०० जना सिपाही मारिए।

लडाइँको मैदान, अस्पताल र युद्धजेलखानाबाट सिपाहीले लेखेका तर हाल ब्रिटिश म्युजियममा राखिएका केही चिठीले पनि पहिलो विश्वयुद्धको लडाइँमा गोरखाली सिपाहीको अवस्थाबारे जानकारी दिन्छन्।

झण्डै तीन दशक अघि इतिहासकार प्रत्यूष वन्तले ‘गोरखाली दुःख’ बारे अनुसन्धान थालेका थिए। ती चिठीका आधारमा उनले हिमाल अंग्रेजी र हिमाल द्वैमासिकको २०५२  मा लामो लेख लेखेका थिए। वन्तका अनुसार, ब्रिटिश लाइब्रेरीमा राखिएका ती चिठी सेन्सर भएर थन्किएका थिए। त्यसैले तिनमा लडाइँबारे  र मनका कुरा खुलेर लेखिएको त छैन तर पनि ती चिठीबाट सिपाहीको अवस्थाबारे थाहा पाइन्छ।

कार्यक्रममा अन्तर्वार्ताका क्रममा प्रत्युष वन्त (बायाँ) र कनकमणि दीक्षित ।

वन्तले उतारेको एउटा पत्रमा लेखिएको छः
मेरो चिन्ता गर। किनभने यो युद्ध एउटा ठूलो सैनिक विद्रोह जस्तो भएको छ। मेरो चौथो डबल कम्पनीका पाँच जना मारिएका छन्। दोस्रो कम्पनीका एक तिहाइ नै मारिएका छन्।।।हाम्रो गोरखा रेजिमेन्टहरुमा सारै ठूलो नोक्शानी भएको छ। बाँकी बचेकाहरुलाई बाँच्न कठिन छ।

मार्मिक बिडम्बना, यी चिठी आमा, बाबु, संगिनी साथी जसलाई लेखिएका थिए तिनका हात परेनन्, सेन्सर भए। चिठी जफत भएर पछि ब्रिटिश लाइब्रेरी पुगे। तैपनि सिपाहीले पत्र लेख्न छाडेनन्।

‘१९ मे  तारिख १९१५ मा हाम्रो डिभिजनलाई पाँच बजे बिहान जर्मन ट्रेन्चहरुमा चढाइ गर्ने अर्डर दिइयो। उनीहरुको ट्रेन्च हामी भएको ठाउँबाट चारसय गज पर थियो। हामी बन्दुकमा बेनेट चढाएर अनि मुखमा खुकुरी च्यापेर अघि बढ्यौँ। मैले भाग लिएकोमा यो चढाइ सबैभन्दा ठूलो थियो। हाम्रा धेरैजना मारिए तर हामीले शत्रुका ट्रेन्चहरु कब्जा गर्यौँ। मेरो दाहिने हातको पाखुरामा गोलाको टुक्रा धसिएकाले म आफ्नो कम्पनी साथ अघि बढ्न सकिनँ। भगवानका कृपाले गोलीले हाडलाई भेट्टाएनछ। अहिले म बेलायतमा छु र राम्रो हुँदैछ। तर छिट्टै फेरि फ्रान्स फर्केर अरु पनि पाजी जर्मनहरुलाई मार्छु। किनभने तिनीहरु मानिस नै होइनन्। तिनीहरु बिखालु ग्यास छाड्छन्।’

अर्का सिपाही आफ्ना भाइलाई लेख्छन्-
तिमीले यहाँको हालखबर सोधेका रहेछौ। यहाँ तावा र भुङ्ग्रोबीचको अवस्था छ। घर फर्केर आएपछि सँगै बसेर तिमीलाई सारा कुरा बताउँला। तर त्यो दिन कहिले आउने हो खै केही भन्न सक्तिनँ। 
यहाँको हालखबर लेख्ने थिएँ तर अफिसबाट त्यसो गर्ने अर्डर छैन। हाम्रा धेरै चिठी पोस्टअफिसमा खोलिन्छन्। अर्डर विपरित केही लेखिएको भेटिए त्यो चिठी लेख्नेलाई सजाय हुन्छ। भाइ तिमीलाई पक्कै पनि धेरै दुःख छ, धेरै गारो होला। हामीलाई पनि यहाँ कम दुःख छैन। भाइ, यहाँ धेरै पानी पर्छ। ज्यादै जाडो हुन्छ। हिलो पनि त्यत्तिकै छ।

नेपाली सिपाहीले लेखेका चिठी अंग्रेज सेनाले सेन्सर गर्ने हुनाले कतिले चिठी लेख्दा ‘पछि बताउँला’ भन्ने गर्छन्। अर्का एकजना सिपाहीले आफ्ना भाइलाई लेखेका छनः
यहाँको हालखबर के भनौँ रु दुबैतर्फबाट मेशिनगन र तोप धुमधामसित चल्छन्। राइफलको खास काम छैन। तिमी भारत फर्कन पाएकोमा आफूलाई भाग्यमानी ठान।

सैनिक हुलाक प्रणाली राम्रो हुनाले त्यतिबेला अरू ठाउँमा लडाइँ लडिरहेका सिपाही साथीलाई पनि चिठी लेख्ने चलन रहेछ। इजिप्टमा लडिरहेको साथीलाई यूरोपमा लडिरहेको सिपाहीले यसरी लेखेका छनः
असोज २५ गते जर्मन ट्रेन्चमाथि गरिएको आक्रमणमा म पनि सरीक थिएँ। म घाइते भएँ र ट्रेन्चमै अलपत्र परेँ। बन्दी बनाएर मलाई जर्मनी लगियो। त्यहाँ उनीहरुले मेरो खुट्टा काटे। त्यहीँको अस्पतालमा दुई महिना राखेर मलाई बेलायत फर्काइयो। अहिले मलाई भारत फर्काउने अर्डर भइसकेको छ।

धेरै युद्धबन्दी यो चिठी लेख्ने सिपाही जस्ता भाग्यमानी थिएनन्। उनीहरु मुक्त भएनन। जर्मनी पुर्‍याइएका एकजना युद्धवन्दी सिपाहीले आफ्ना भाइलाई लेखेका छन्:
तिम्रो दाइ बहादुर पुनको धेरै आशिर्वाद छ। तिमीसँग तीन(चार रुपैयाँ भएमा यहाँ पठाइदेउ। खानेपिउने केही कुरा र लुगाफाटा पनि पठाइदेउ। धनीराम पुन र म जर्मनीमा युद्धवबन्दी छौँ।

जसबहादुरको गीत
पहिलो विश्वयुद्धमा जर्मनले थरीथरीका भाषा बोल्ने धेरै सिपाहीलाई युद्धबन्दी बनाएको थाहा पाएपछि जर्मन अध्येताले युद्धवन्दीलाई भाषिक अध्ययन गर्न राम्रै प्रयोग गरेका रहेछन्। त्यसका लागि उनीहरूले विभिन्न भाषा बोल्ने गोर्खाली सिपाहीलाई गीत, कथा आदि माध्यमबाट आफ्ना कुरा व्यक्त गर्न लगाएछन् र त्यसको रेकर्ड राखेका रहेछन्।

अनुसन्धानकर्ता अलका आत्रेय चुडालले तीमध्येका केही रेकर्डको अनुसन्धान गरी जर्मनीमा राखिएका गोरखाली युद्धबन्दीको अवस्थाबारे दुईवटा लेख लेखेकी छिन्। एउटा लेखमा उनले जर्मनीको हाम्बमोन्डलगरेमा थुनिएका जसबहादुर राईले गाएको गीत उतारेकी छिन्।

जसबहादुर १९१५ को शुरुमा पक्डिइएर युद्धबन्दीका रुपमा जर्मनी लगिएका थिए। त्यहाँ जसबहादुरले रचेको र गाएको गीतको अंश यसो भन्छ:
टिस्टै खोला, बाढी है  ज (क) न आयो, बगायो कुन भुलले
जर्मनी देशमा, आइपुग्यौँ हामी, अङ्ग्रेजको हुकुमले
ए सुन सुन, सुन लाउने चरी, अङ्ग्रेजको हुकुमले
नेपालै ज्यानको, तीनधारे पानी, मूलपानी तुरुरु
न उडी जानु, न बसी आउनु, मन रुन्छ धुरुरु
ए सुन सुन, सुन लाउने दिदी, मन रुन्छ धुररु
हिन्दूस्तान पारि, के राम्रो पहाड, घाँसैको खलियो
बसेको पिरती, छुटानाम भयो, मन बाँध बलियो
ए सुन सुन, सुन लाउने चरी, मन बाँध बलियो 

गर्मीको मौसम, गर्मी झन् भयो, पंखैले हुम्काइदेऊ
युरोपको देशमा, बस्नु मन छैन, इन्डिया पहुँचाइदेऊ
गोरखाली खान्छ, खसीको शिकार, खाँदैन राजहाँस
न बस्दा गति, न मर्दा मति, बेल्जियमको महाराज
जानु झन् जानु, झाड नै मेरो, धूँ भने कति धूँ
परालको आगो, जिउ भयो धागो, रुँ भने कति रुँ

घर फर्कन जति रहर भए पनि जसबहादुर राई फर्कन पाएनन्। यो गीत रेकर्ड भएको ७ महिनापछि ३ जनवरी १९१७ मा २४ वर्षको उमेरमा जसबहादुर बन्दीगृहमा बिते। युरोपको जाडोले गर्दा धेरै युद्धबन्दी टीबी लागेर मर्दथे । जसबहादुर पनि टिबी लागेर मरे भन्ने अनुमान गर्न सकिन्छ।

नालापानी विभत्स
लडाइँ जहिल्यै पनि क्रुर हुन्छ जुन कुरा गोरखाली वीरगाथा प्रस्तुत गर्ने क्रममा बुझ्न गार्हो परेन। जस्तै नालापानी किल्लाको लडाइँ। नालापानीको गाथा वर्णन गर्दा बलभद्र कुँवर र उनका लडाकूको साहसिक कामको मात्र वर्णन गरिन्छ। अंग्रेजले पानीको मूल बन्द गरेपछि र दिनहुँ तोपको बम वर्षाले किल्ला भित्रका सिपाही र उनीहरुका परिवारले व्यहोर्नु परेको दुःख आजै सम्म पनि बाहिर आएको छैन।

नालापानी युद्धको प्रतिकात्मक चित्र।

नालापानीको लडाइँलाई मूलतः गोरखालीबारे गाथा गाउने हिसाबले सम्झिइन्छ। त्यस लडाइँमा मारिएका तथा घाइते भएका सिपाही तथा बालबच्चा र महिलाको अवस्था सम्झने गरिँदैन। हो, त्यतिबेलाको त्यहाँको अवस्थाबारे नेपालीले धेरै लेखेर गएनन्। तर एकजना अंग्रेज अफिसरले लेखेर छाडेका कुराले नालापानी किल्ला भित्रको अवस्थाबारे धेरै बताउँछ। यसबारेमा हिमाल खबरपत्रिका को  १ चैत  २०६५ को अंकमा एउटा लेख छापिएको छ।

लेखका अनुसार, नालापानी गढीमा ६०० जनाजति गोरखाली थिए। आधा जति लडाकू र आधा महिला तथा बालबच्चा थिए। घोडचढी र हात्तीले बोक्ने तोप सहितबाट सुसज्जित, इस्ट इन्डिया कम्पनीको ९०० जनाको फौजले नालापानी गढीमा आक्रमण गरे। २९ नोभेम्बर १९१६ को रातीसम्ममा एक हजारभन्दा बढी तोपका गोला त्यहाँ बर्सिएका थिए। गढी ध्वस्त भयो। यसै बीच गोरखाली सेनाले भाग्ने कोशिश गर्यो। त्यस क्रममा धेरै मारिए। वलभद्र सहित ७० जनाजति भने भाग्न सफल भए।

गोरखाली फौजले छाडेपछि त्यहाँ पुगेका कम्पनी फौजका हेनरी शेरउडले आफ्नी श्रीमतिलाई त्यहाँको अवस्था यसरी वर्णन गरेका छन्  जुन ‘द लाइफ अफ मिसेस शेरउड’ नाम गरेको पुस्तकमा राखिएको छ।

‘गढी एकदमै साँघुरो थियो। प्राङ्गण लाशले भरिएको थियो। मेरो दायाँपट्टि एउटा चोसोमा तामाका दुइटा तोप थिए। दश फिट लामो र ६ फीट चौडा एउटा तोपको चोसोमा सात वटा लाश भेट्टाएँ एकमाथि अर्को। धेरै पर्खालका घेराभित्र यस्तै दृश्य मैले देखेँ। गढीको मुख्य भागबाट रोइकराइ बीच ‘पानी ! पानी !’ को आवाज आइरहेथ्यो। तल झरेर हेर्दाको दृश्य अकल्पनीय थियो। जताततै करिब दुई फिट गहिरो ट्रेञ्च खनिएको थियो। विचराहरूले गोलाबारुदबाट बच्न यही ट्रेन्चमा आश्रय लिन खोजेका थिए। त्यो सानो ठाउँमा ८६ वटा लाश भेटिए। घाइतेहरूको अवस्था हृदयविदारक थियो। सक्नेहरू बाहिर निस्कन खोज्दैथिए। बाँकी  पानी माग्दै थिए। हाम्रा सिपाहीले सकेसम्म पानी खुवाउन खोजे। हातखुट्टा भाँचिएकाहरू यसरी यहाँ कुरेका तीन दिन भइसकेको थियो।

‘खुट्टा भाँचिएर हलचल गर्न नसक्ने भएर लाशका बीचमा बसेकी एउटी जिउँदी महिलालाई म कहिल्यै बिर्सन्न होला। उनले यसरी मुख बाएर पानी मागिन म त्यसको वर्णन कसरी गरुँ रु उनको नजिक पुग्न सकिएन। मेरा सहयोगीले उनलाई टाढैबाट पानी खान दिए। अर्की महिला पनि थिइन्। उनलाई केही भएको थिएन। उनले चोट लागेको नाबालक बोकेकी थिइन। उनी अत्तालिएकी थिइन तर घाइते बच्चा भने शान्त थियो। ऊ आमाको दूध चुसिरहेको थियो। सिपाही जस्तो देखिने गोरखा ओछ्यानमा लम्पासर थिए। टाउकोमा चोट लागेका उनी बेसुरा जस्ता देखिन्थे। रगतले कटकटिएको धूलोमा उनी आफ्ना ओँलाले चित्र बनाउँदै थिए। सबैभन्दा मन छुने दृश्य दुई शिशु दिदीबहिनको थियो। एउटी चार वर्षकी। अर्को करिब वर्ष दिनकी। उनीहरु दुबैका आमाबाबु बितिसकेका थिए। ठूली चाहिँ आफ्नी बहिनीबाट छुट्टिइला भन्ने डरले डाँको छाडेर रोइरहेकी थिइ ।’

‘म दोस्रो पल्ट गढी आइपुग्दा अलि व्यवस्थित पाएँ। त्यहाँ भएका ८७ वटा लाश जलाइएका थिए। ती लाश त्यहाँ मर्नेहरूका लाशमध्ये थोरै मात्र थिए। गढी वरिपरि हतारमा गाडिएका लाश छरपस्ट थिए। ढुंग्यान जमिनमा गहिरो खन्न सकेनन होला। मैले कम्तिमा ३० वटा आधाआधी पुरिएका लाश देखेँ। कसैका हात, कसैका खुट्टा बाहिर निस्किएका। आज मैले युद्धको विभत्स दृश्य देखेँ। कति भयङ्कर हुँदोरहेछ यो !’

ट्रेन्चको लडाइँ
शेरउडले वर्णन गरेको नालापानी लडाइँको झण्डै एक सय वर्षपछि पहिलो विश्वयुद्ध भयो। त्यो लडाइँ कम दर्दनाक थिएन। गोरखाली सिपाहीले लेखेका र हाल ब्रिटिश लाइब्रेरीमा राखिएका चिठीका आधारमा त्यो लडाइँ कति क्रुर थियो भन्ने अनुमान गर्न सकिन्छ।


त्यो लडाइँ नेपालीले देखेको भोगेको लडाइँभन्दा फरक थियो।  ट्रेन्चको लडाइँ, तोपको बमबारी, हवाइजहाजबाट झर्ने बम र गोला, उत्तरी यूरोपको जाडो र स्याँठ अनि चिसो झरी। बेला बेलामा ट्रेन्चबाट निस्किएर खुकुरी हातमा लिएर पारिपट्टिको जर्मनमाथि जाइ लाग्नु पर्ने, काँडे तार मुनि घस्रिँदै, जमिन मुनि ओछ्याएका माइनको खतरा मोल्दै। उता हवाइजहाजबाट बमवारी र मेशिन गन फायर, यता विषालु ग्यास र आगो यन्त्रको प्रयोग। नेपालीहरु उनीहरूले कहिल्यै नदेखेको ‘ट्रेन्च वारफेर’ मा यसरी झोसिन पुगे।

इतिहासकार प्रत्यूष वन्तले उतारेको एउटा चिठ्ठी अस्पताल बसेका सिपाहीले २३ अक्टोबर १९१५ मा लेखेका थिए। त्यसमा भनिएको छः
काम छाडेर फर्की, घरमै कमाइ गर् नत्र दुःख पाउँछस भनेर मलाई आमा बराबर भन्ने गर्नुहुन्थ्यो। त्यतिवेला त मैले आमाको कुरालाई हाँसोमा उडाइदिएँ। अहिले फुरसतमा सोच्दा पछुतो लाग्छ। आमाको सम्झना आउनासाथ मनमा कुरा खेल्छ। कर्ममा जे लेखेको छ त्यही हुन्छ। हामी जालमा परेका माछा झैँ भएका छौँ।।।अहिले घाउ ज्यादै दुःखिरहेछ तर केही दिनमा यो बिसेक हुने आशा गरेको छु।शान्ति हुने कुनै बन्दोबस्त भइरहेको छ भने साँचो समाचार पत्ता लगाएर मलाई खबर गर्नु।

अर्का सिपाहीले लेखेका थिएः
मेरो रेजिमेन्टका सबै सपाही मारिए। म एकजना मात्र जिउँदो छु। खानेपिउने सामान एकदमै कम छ तर पनि परमेश्वरको कृपाले म बाँचेँ। म घाइते मात्र भएँ। मसँगैको साथी मारियो।

लडाइँका बेलाको अवस्थालाई देखाउन प्रत्यूष वन्तले सैनिक इतिहासकार जेफरी ग्रिनहटलाई उद्धृत गरेका छन्। ग्रिनहटले भनेका थिएः मोर्चामा पर्न नपरोस् भनेर धेरै जनाले आफैँले आफैलाई गोली हानेको बुझिन्थ्यो।

अर्का सिपाहीले लेखका थिएः
जमिन लासहरुले भरिएको छ। पाइला हाल्ने ठाउँ कतै छैन।

आफ्नो आश मारेका सिपाहीले लेखेका थिएः
सुवेदार बहादुरजी।।।मेरी श्रीमतीलाई खान बस्न कुनै दुःख नहोस भनेर विचार पुर्‍याइदिनुहोला।

गोर्खालीहरूले गुरिल्ला युद्धमा ख्याति कमाएका हुन्। शक्तिशाली गोलाबारुद र हवाइजहाजको उपयोग गरिने, लामा सुरुङभित्र अस्वस्थकर ओसिलो ठाउँमा बसेर गर्ने लडाइँ उनीहरूका लागि नौलो र अत्यासलाग्दो थियो।

मे १९१६ मा एकजना सिपाहीले लेखेका रहेछनः
यो लडाइँ अत्यन्तै भयानक छ। जमिनमा वा जमिनमुनि, आकाशमा वा समुद्रमा कहीँ पनि मानिस सुरक्षित छैन। बलिया बलिया किल्लाहरु समेत धुलोपिठो हुन्छन् भने अरु थोकको के कुरा रु तोपबाट गरिने लगातार गोला वर्षा भएपछि डाँडाहरु पनि धुलाको थुप्रो बन्दछन्। समुद्रमा रहेको जहाजको पनि त्यही गति हुन्छ। जर्मनीमा विषालू ग्यास र आगे फ्याँक्ने बन्दूक प्रयोग हुन्छ। जमिनमुनि विस्फोटकहरु बिछ्याइएका हुन्छन्। दुइ वा तीन सय गजको दुरीमा विस्फोट भइरहन्छ। एरोप्लेन, जेपलिन, फोक्कर एयरक्राफ्ट आकाशमा एक अर्कासित लडिरह्न्छन्। यी सबै थोकको उपयोग मानिसको विनाश गर्नका लागि भइरहेको छ। यो सत्यको लडाइँ हो ? यी साधनहरुको प्रयोग एक पक्षले मात्र गरेको होइन। अर्को पक्ष पनि उत्तिकै सुरो छ। यो लडाइँ एक ठाउँमा मात्र सीमित छैन। संसारभरि फैलिएको छ।।।यसबाट के देखिन्छ भने यस संसारका मानिससँग ईश्वर औधि रिसाएका छन्।

विरानो देशमा लड्दा घरको नियास्रोले सताएको कुरा अर्का सिपाहीले लेखेका थिएः
अहिलेसम्म युद्धको अन्त्य हुने कुनै संकेत पाइएको छैन।।। वसन्त ऋतु सुरु भइसकेको छ र नयाँ पालुवा देखा पर्दैछन्। हामीलाई हाम्रै प्यारो, न्यानो मुलुकको सम्झना आउँछ। हामीलाई हाम्रै देश प्यारो छ। आफ्नो देश देख्ने दिन कहिले आउला खै ?

ऐतिहासिक न्याय

धेरै गोरखा सिपाही फर्केर आफ्नो देश देख्ने दिन कहिल्यै आएन। पहिलो विश्वयुद्धमा खटिएका दुई लाख गोरखा सिपाहीमध्ये २० हजार उतै बिते। कति हताहत भए, कित फर्केर पनि आफ्नो गाउँ गाउँ पुगेनन्।

अहिले गोर्खाली फौजका युद्धका अनुभव भएका सामग्री बाहिर आइरहेका छन्। यसले गर्दा नेपालीहरूले यस बारेमा थप जान्ने मौका मिलेको छ।

अलका आत्रेय चुडालले जसबहादुरसँगै बन्दी बनाइएका ३०० भन्दा बढी गोर्खाली सैनिकहरूको आवाजको रेकर्ड अध्ययन गरेर, उनीहरूका भनाइ उतारेर, तिनको ब्याख्या गरेर तयार गरेको किताब नेपाल प्रज्ञा-प्रतिष्ठानबाट चाँडै प्रकाशित हुँदैछ।

जसबहादुर आफ्नी प्रेयसीलाई सम्झन्थे। चरालाई सन्देशबाहक बनाएर भए पनि आफ्नो सन्देश पठाउन चाहन्थे। त्यसो हुन पाएन। जसबहादुर र उनीजस्ता युद्धवन्दीको बोलीलाई, भावनालाई र विचारलाई भए पनि उनीहरूको माटोमा पुर्‍याउनुपर्छ भनेर लागेकी छु, चुडालले भनिन्।

एक सय वर्षभन्दा पहिले, विदेशमा युद्धआन्दी भएका गोर्खालीका भावना र सिर्जना समेटिएको यस किताबले पहिलो विश्वयुद्धमा लडेका गोर्खाली सैनिकबारे हामीलाई धेरै र नयाँ जानकारी दिनेछ।

टिम आई गुरुङकाे किताब ‘आयो गोर्खाली’ ।

अर्को खुशीको खबर पनि छ- लडाइँको मैदानमा भेटिएका गोर्खाली सैनिकका सामान नेपाल फिर्ता आउने सम्भावना छ। फिलिप क्रसले आफ्ना जिजुहजुरबाले भेला गरेका सामग्रीमध्ये बेलायतीहरूका सामग्रीका हकवाला पत्ता लगाएर तिनका जिम्मा लगाएका रहेछन्। ‘गोर्खाली सैनिकका लाश खोजतलास गर्दा पाइएका डायरी, तस्वीर र खुकुरी मेरा पुर्खाका हुन् भनेर कोही नेपाली सप्रमाण आउँछ भने यी सामग्री उसलाई फिर्ता दिन्छु भनेर उनले भनेका छन्, श्रीभक्तले बताए।

वास्तवमा नेपालीहरू विदेशी अनकन्टारमा मारिए तर सिपाहीहरुको युद्ध अनुभव तथा मरणबारे आजसम्म पनि धेरै चासो राखिएको छैन। हामी गोर्खाली वीरगाथा गाउनमै व्यस्त छौँ। नेपाली सिपाही मारिएको र घाइते भएको कुरालाई उल्टाउन त सकिंदैन र तर विरानो देशको मरण र भोगाइको सम्झना गर्दा एक हदसम्म ऐतिहासिक न्याय मिल्छ भन्नुपर्ने हुन्छ।

हालै बजारमा आएको ‘आयो गोर्खाली’ नामक अंग्रेजी किताबमा लेखक टिम आई गुरुङ लेख्छन्, ‘गोर्खाली लडाकूहरूको साहसको वर्णनले आधा मात्र कथा भन्छ। गोरखाली स्वयंको अनुभव र पीडा बाहिर आएको छैन। ब्रिटिश गुर्खा फौजबाट अवकाश प्राप्त गुरुङ लेख्छन्, ‘एकातर्फ नेपाली राष्ट्र वीरगाथा प्रस्तुत गर्नमै ब्यस्त भयो भने गोरखाली लडाकूबारे ब्रिटिशले आफूलाई पायक पर्ने गरी सामग्री पस्के।’

हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०) बाट हरेक हप्ता सोमबार राति ८:३० बजे प्रसार भइरहेको भिडियो म्यागाजिन ‘सग्लो समाज’ को पहिलो अंकमा २०७७ पुस १३ गते प्रसारित सामग्रीमा आधारित।

Post navigation

Previous Post:

Saglo Samaj NEW TV Show Coming Soon!

Next Post:

पर्वत ज्ञाता, हिमाल गाथा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes