Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

संघ अर्थात् जनतासामु झुक

November 2, 2011 by admin

नागरिक दैनिक (१६ कार्तिक, २०६८)

प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिपरिषद्ले लुम्बिनी विकासका लागि गठित राष्ट्रिय निर्देशक समितिको अध्यक्षमा पुष्पकमल दाहाललाई तोकेको छ। यसै सिलसिलामा दाहाल शनिबार न्युयोर्क जाँदैछन्, भनिँदैछ, बान की मुनसित भेट गर्न। यस समितिको गठन आफैँमा त्रुटिपूर्ण छ र यो आफ्नो सरकारको आयु हातमा लिएका पुष्पकमल दाहाललाई फकाउने प्रधानमन्त्री भट्टराईको योजनामात्र रहेको देखिन्छ।

व्यक्तिगतरूपमा दाहालले बोकेका राजनीतिक तथा नैतिक अस्पष्टताहरूले लुम्बिनीको गरिमामा दाग लगाउने ठूलो सम्भावना छ। त्यस्तो अवस्थामा मूल्य मान्यतासम्बन्धी उनका कमजोरीहरूलाई नेपाली जनताकै कमजोरी ठानिनेछ। दाहालका उपयोगवादी तथा दोष सकार्न नचाहने व्यक्तित्वका कीर्तिमानहरू शाक्यमुनि सिद्धार्थ गौतमका पूरै संसारलाई शान्ति तथा अहिंसा सिकाउने मान्यताहरूभन्दा धेरै फरक छन्।

लुम्बिनीका सरदार
मध्य तराईमा पर्ने नवलपरासी, कपिलवस्तु तथा रुपन्देही जिल्लाका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको उत्खनन हालै सुरु भएको छ। सिन्धु­गंगा मैदानको आदिकालको व्यापारमार्ग (उत्तरपथ) मा रहेको यो क्षेत्र ऐतिहासिक बुद्ध, क्रकुछन्द, विपश्वी र सिद्धार्थ गौतमको जन्म थलो हो।
संसारका जनमानसका लागि उत्तम आध्यात्मिक मार्गको खोजी गर्ने मनिषीहरूको आस्थाकेन्द्रका रूपमा रहेको लुम्बिनीको प्रवर्द्धन गर्न सन् १९७८ मा जापानका वास्तुविद् केन्जो टाँगेले ‘मास्टर प्लान’ बनाएका हुन्। लुम्बिनीको आध्यात्मिक महत्वलाई संरक्षण गर्दै नेपाली जनताको आर्थिक उन्नतिमा सहयोग गर्ने विधिवत् जिम्मा पाएको संस्था हो लुम्बिनी विकास कोष। यो घोषित विश्व सम्पदा स्थलको संरक्षण गर्ने जिम्मा अन्तर्राष्ट्रिय संस्था युनेस्को हो। संयुक्त राष्ट्रसंघका दोस्रा महासचिव ऊ थान्तद्वारा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन भएको थियो। अहिले लुम्बिनीमाथि धावा बोल्ने क्रम बढिरहेका बेला त्यसलाई समेत बिउँताउनुपर्ने अवस्था छ।
यी सबै संस्था तथा योजना अस्तित्वमै नरहेजस्तो गरी माओवादी अध्यक्ष लुम्बिनीका नयाँ योजनाकार र सरदारका रूपमा आफूलाई अगाडि सार्दैछन्। सत्य कुरा त, लुम्बिनीको समेत उपयोग गर्दै उनी नेपालका एक्लो शक्तिकेन्द्रका रूपमा अगाडि बढ्न चाहन्छन्। यसमा उनको एकाधिकार रहेको आफ्नो दलको अथाह सम्पत्ति तथा प्रभावको पनि उपयोग हुनेछ। लुम्बिनीमार्फत उनी आफ्नो छविमा एउटा भावनात्मक धार्मिक तत्व थप्न चाहन्छन्। तर, यी सबमा उनी बुद्धप्रति आस्थावान् भएको कुनै पनि संकेत देखिँदैन। यी सब काम हुन लागिरहेको छ चटकी हिसाबले, आफ्नो नेतृत्वमा भएका हिंसात्मक कृत्यहरूका लागि माफीसम्म नमागी र ‘जनयुद्ध’ को लागि कुनै जवाफदेहीबिना।
‘जनयुद्ध’ ले १३ हजारभन्दा बढीको ज्यान लियो, १५ वर्षका लागि अर्थतन्त्रलाई थला पार्‍यो र सबैभन्दा गरिब नेपाली नागरिकहरूलाई लाखौँ लाखको संख्यामा भारत र समुद्रपारका मुलुकहरूमा पलायन हुन बाध्य पार्‍यो। यसमा माओवादी अध्यक्षले आफ्नो उत्तरदायित्व स्विकार्नुपर्ने हो। तर, उनी त्यस्तो केही गर्दैनन्। त्रसित र विनित नागरिक अगुवाहरू दाहाललाई ‘मानवीयताको प्रमाण पेस गर’ भन्न अघि सर्दैनन्। लुम्बिनीलाई ‘हाइज्याक’ गर्ने यो प्रयास एउटा चतुर नेताको संसारको आँखामा चोखिँदै आफ्ना जनतामाथि भने सर्वसत्तावादी पकड लाद्ने चेस्टामात्र हो।

व्यक्तिगत इतिहास भने कहालीलाग्दो छ। दाहाल स्वयं अन्तर्राष्ट्रिय फौजदारी अदालतले पिछा गर्ला कि भनेर धेरै चिन्तित छन्। विभिन्न राजदूतहरूले उक्त न्यायालयले राज्यले हस्ताक्षर गर्नुअघिका मुद्दाहरू हेर्दैन भनी उनलाई निश्चित रहन आग्रह गर्दागर्दै पनि दाहालको चिन्ता बेलाबेला प्रकट हुने गर्छ। माओवादी त्रिमूर्तिका अरु दुई बाहुनसँगसँगै उनले लोकतान्त्रिक संसदीय राज्य र संविधानविरुद्ध २०५२ सालमा ‘जनयुद्ध’ सुरु गरे। स्थानीय जनतालाई आतंकित गराउँदै आफ्नो काबुमा ल्याउन उनले स्थानीय सामुदायिक र राजनीतिक अगुवाहरूलाई छानीछानी अपमान गर्न, यातना दिन र सफाया गर्न सिफारिस गरे।
२०६२/६३ सालमा भूमिगत जीवन छाडेपछि बीबीसी नेपाली सेवाको प्रत्यक्ष प्रसारणमा उनले स्विकारे कि, पार्टी पंक्तिलाई आदेश थियो, ‘परेअनुसार सफाया ( इलिमिनेट) गर्नू, तर यातना नदिई।’ त्यसको केहीपछि उनले काठमाडौँको शंकर होटलमा सम्पादकहरूको एउटा जमघटमा दलको निर्देशन ‘सिधै कञ्चटमा गोली प्रहार गर्नु’ थियो भन्ने खुलासा गरे। यसरी राज्यविहीनताको अवस्थामा रहेका पहाड मैदानमा जनतालाई बलात् मौन बनाइएको थियो।
दाहाल कुनै पनि प्रकारका शान्तिप्रेमी नभएको प्रमाण यत्रतत्र छन्। उनको हिंसा र दण्डहीनता प्रयोगको निरन्तरता अर्जुनबहादुर लामाको हत्यामा आरोपित अग्निप्रसाद सापकोटालाई गत सरकारमा प्रभावशाली मन्त्री नियुक्ति गरेबाट प्रस्ट हन्छ। आफैँ वकील, आफैँ न्यायाधीश बन्दै उनी गत हप्ता वीरगन्ज गए र भने, राजीनामा गर्न बाध्य मन्त्री प्रभु साह हत्याको दोषी थिएनन्, नेपाल प्रहरीले जे भनोस्। अहिले पनि दाहालको दल सर्वोच्च अदालतले जन्मकैद सुनाएको बालकृष्ण ढुंगेललाई राष्ट्रपतीय माफी दिलाउन कसरत गरिरहेको छ। माओवादी दलको कानुन­प्रशासनलाई दबाउने अभियानअन्तर्गत ढुंगेल संविधानसभाको सदस्य भई भित्रबाहिर गरिरहेका छन्।

महासचिव बान
मुलुकमाथि भएको निरन्तर जथाभावीका उदाहरण अनगिन्ती छन्। गत सालभरि दाहाल कीर्ते ठेगाना र टेलिफोन नम्बर राख्ने शंकास्पद संस्था एपेकको मुखौटाका रूपमा प्रस्तुत भए। उक्त संस्थाले एक पैसा नउठाईकन तीन अर्ब अमेरिकी डलरको सपना देखाएर पूरै राष्ट्र झुक्याउन कोसिस गर्‍यो। तर, सबल अन्तर्राष्ट्रिय समाचार सम्प्रेषणमार्फत नेपाली सञ्चारजगत्ले आफ्नो क्षमता प्रदर्शन गर्‍यो।
एपेकको योजना एकै पटक दाहाललाई नेपाली राजनीतिमा अजेय बनाउनु, अवसरवादीहरूका लागि लुम्बिनीको ढोका खोल्नु र नेपालको अहित हुनेगरी भूराजनीतिलाई टचल्काउनु थियो। दाहाल सहर्ष पूर्वयुवराज पारस शाहका हाराहारीका उपाध्यक्ष बनेका थिए। नेपाल सरकारको जानकारी र सहभागिताबिना हाम्रो सार्वभौमिकतालाई चुनौती दिँदै बेइजिङको युनिडो कार्यालय (जसको काम औद्योेगिक विकास हो) ले एपेकसित सहमतिपत्रमा हस्ताक्षर गर्नुमा दाहालको स्वीकृति देखिन्छ।
भेटमा महासचिव बानले माओवादी अध्यक्षसित शान्तिप्रक्रियासम्बन्धी उनको तीनवर्षे चलाखीपूर्ण ढिलाइबारे स्पष्टीकरण माग्लान् भन्ने आशा गर्न सकिन्छ, जसका कारण संविधान लेखन अवरुद्ध भयो। संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूले महासचिवलाई लुम्बिनी विकास कोषको समानान्तर संस्था खोल्ने आवश्यकता छैन बरु उक्त कोषलाई राजनीतिमुक्त बनाएर पुनर्जीवन दिन सकिन्छ भन्नेबारे बताउलान् भन्ने पनि आशा गरौँ। उनले यो पनि बताऊन्, लुम्बिनी बचावटका लागि उपयुक्त अन्तर्राष्ट्रिय निकायका रूपमा काम गर्न युनेस्को छँदैछ र लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समितिलाई समेत बिउँँताउनुपर्छ जसले गर्दा सबै किसिमका अतिवादीबाट लुम्बिनीलाई जोगाउन सकिन्छ। ऊ थान्त र केन्जो टाँगेका मूल्य-मान्यतामा पुष्पकमल दाहालको महत्वाकांक्षालाई हाबी हुन दिनुहुन्न।

अशोक र वाल्मीकि
२३ सय वर्षअघि सम्राट् अशोक आफ्नो सहभागिता रहेका आमहत्याको प्रायश्चित गर्न पवित्र भूमि लुम्बिनीमा आएका थिए। यता उपयोगवादका महारथी अध्यक्ष दाहाल छन् जो आफ्ना हिंसात्मक कृत्यहरूबारे एकै शब्द नबोली बुद्धको यो पवित्र जन्मस्थललाई जनसम्पर्कस्थलका रूपमा विकास गर्न चाहन्छन्। नेपालीहरूको मानवतावादी मूल्य-मान्यता, तानाशाहीको विरोध तथा अहिंसात्मक राजनीतिप्रतिको लगाव २०६२­६३ को महान् आन्दोलनमा प्रदर्शित भएको थियो। तर, चतुर राजनीतिज्ञ दाहालका आँखामा त्यस मान्यताको प्रतिविम्बसम्म देखिँदैन।

कुनै दिन दाहालले शान्तिबारे विचार गरे भने सम्भवतः संघम् शरणम् गच्छामी भन्ने बौद्ध सूत्रमा ध्यान देलान्। त्यो बेला उनले संघ, यस सन्दर्भमा नेपाली जनतासामु झुक्नैपर्छ, शरणमा पर्नैपर्छ। त्यस संघको चाहना भनेकै प्रतिष्ठा, लोकतन्त्र, सुरक्षा, आर्थिक विकास र समतापूर्ण परिस्थितिमा बाँच्न पाउनु हो।
एउटा जाज्वल्यमान कमलपुष्प जमेर बसेको पोखरीबीच फुल्न नसक्ने होइन। वाल्मीकि पनि त व्याधा थिए, जो ऋषि­कविका रूपमा फेरिए। नेपाली जनताले जसको शक्ति उसको भक्तिलाई हृदयदेखि स्विकार्न सक्दैनन्। ‘जनयुद्ध’ का कठोर नेतालाई शाक्यमुनि बुद्धको जन्मस्थल सहजकर्ताका रूपमा स्वीकार गर्न सक्दैनन्। यस्तो प्रतिष्ठित पदका लागि योग्य हुने हो भने उनले आफ्नो दललाई निम्न काम गराउनुपर्छ।
क. राजनीतिक हतियारका रूपमा हिंसा परित्याग गरेको सार्वजनिक घोषणा
ख. २०५२ र २०६२ का बीचमा मारिएका व्यक्तिलाई सम्झँदै ‘जनयुद्ध’ अनैतिक थियो भन्ने कुराको विनम्रपूर्वक स्वीकारोक्ति
ग. विस्तृत शान्ति सम्झौताका आधारमा शान्ति प्रक्रियाको पूर्णता

व्यक्तिगत तहमा यी सबै कुरा बाहेक आफ्नो बलमिच्याइँ, धाक, हिंसाको त्रासद्वारा जनतासित सम्पर्क राख्ने दाहालले हामीलाई विश्वास दिलाउनुपर्छ, आफ्नो दलको अग्रगमनका लागि नागरिकले नागरिकलाई हत्या गर्न लगाएकोमा उनलाई पछुतो छ।
नेपाली नागरिकहरूको मूल्यमान्यता र लुम्बिनीको गरिमाको उचाइमा पुग्न पुष्पकमल दाहालले भूराजनीति र शक्तिको खेलभन्दा माथि उठ्नुपर्छ। उनले ऋषि वाल्मीकिद्वारा रचित संस्कृत साहित्यको पहिलो श्लोक आत्मसात गर्नु राम्रो हुन्छ, जुन कविले एउटा व्याधालाई सम्बोधन गरेर लेखेका थिए
ए व्याधा, तिमी कसरी प्रतिष्ठापूर्वक बाँच्न सक्लाऊ
तिमीले त प्रेमपूर्वक बाँचिरहेका प्राणीलाई मारेका छौ।

Post navigation

Previous Post:

Sangham saranam gachhami

Next Post:

The lords of impunity

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes