Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘साझा बसमा जो पनि चढ्दछ’

April 17, 2013 by admin

कान्तिपुर दैनिक (३० चैत्र, २०६९) बाट

सुलभ र सुरक्षित सहरी सार्वजनिक यातायात आम नागरिकको अधिकार हो । तर अनियन्त्रित सहरीकरणबाट ग्रस्त काठमाडौं उपत्यकामा एकातिर साइकल र पैदल यात्री अपहेलित हुँदै आएको हामी पाउँछौं भने अर्कातिर मोटरसाइकल र मोटरकारले सडकमा राज गर्न थालेका छन् ।

यस पृष्ठभूमिमा ठूलो संख्यामा निम्न तथा मध्यम वर्गका नागरिकले सार्वजनिक यातायात प्रयोग गर्ने हुनाले यसलाई व्यवस्थित गर्नु जरुरी भइसक्यो, ताकि सडकजाम, समय बर्बादी, वायु प्रदूषण, खचाखचको दुःख, यावत् कुराबाट पीडित आम यात्रुलाई राहत मिलोस्। सार्वजनिक यातायात सेवा व्यवस्थित हुने हो भने काठमाडौं उपत्यकाको अर्थतन्त्रलाई नै ठूलो टेवा पुग्नेछ, विश्वभरका सहरहरूबाट प्रमाणित तथ्य हो यो। गुणस्तरीय सार्वजनिक यातायात फस्टाउँदा निजी व्यवसायी तथा यस क्षेत्रमा कार्यरत दसौं हजार पेसाकर्मीलाई पनि राम्रो गर्नेछ, किनकि अन्य साधनको अनुपातमा बस यात्रुको संख्या बढ्नेछ।

१ बैसाख २०७० देखि उपत्यकाका दुई ‘ट्रङ्क रुट’मा चल्नेगरी हुनलागेको साझा यातायात सहकारी संस्थाको पुनः थालनीको लक्ष्य सेवाग्राही, व्यवसायी, पेसाकर्मी तथा उपत्यका अर्थतन्त्रलाई योगदान पुर्‍याउनु रहेको छ।

साझाको व्यथा

साझा यातायातको गाथा रोचक पनि छ। सहरी तथा अन्तरदेशीय यातायात सेवामा यो अग्रणी संस्था नै हो । र चार दसकसम्म यसले नेपालमा सार्वजनिक यातायातको मापदण्ड स्थापित गर्नेगरी सेवा पुर्‍यायो। तर पछिल्लो समय यसले चढावभन्दा उतार बेहोर्नुपर्‍यो । र आजसम्म आइपुक्दा यो संस्थाको पुरानो सम्झना गर्ने हो भने ‘ब्रान्डिङ’ अत्यन्त राम्रो छ, ‘क्रेडिबिलिटी’ भने मेटिएको अवस्था छ । फेरि खुट्किला चढ्दै थोरै रुटमा नमुनामूलक बससेवा पेस गर्ने योजनामा यस सहकारी संस्थाका सदस्य, सञ्चालक र कर्मचारी लागिपरेका छन् ।

आफ्नो सेवा एक दर्जन वर्ष ठप्प गरेको संस्था पुनः थालनी गर्दा अवश्य नै यसको इतिहासका नकारात्मक पक्ष मनन गर्नुपर्ने हुन्छ । जतिबेला साझाको पुरानो हरियोको ठाउँमा नीलो जापानी बस भित्रिए । सञ्चालक समितिमा सरकार हावी भयो र २०४६ पश्चात् राजनीतीकरणले रफ्तार लियो । फलस्वरुप कमजोर हुँदै गएको व्यवस्थापनले चुहावटदेखि अन्य धेरै विकृति रोक्न सकेन ।

राजनीतिक अस्थिरतामाझ संस्थाका धेरै बस ढुंगामुढा र आगजनीका सिकार पनि भए । सहरीकरणका साथसाथै पुलचोकस्थित २२ रोपनी जग्गाको बजारभाउ अकासिँदै जाँदा पनि साझा यातायातको सञ्चालनमा अवरोध आयो । किनभने एकपछि अर्को शक्तिकेन्द्रले उक्त प्राङ्गणलाई बिक्री गरेर केही रकम हात पार्ने दाउ राखे, जसका लागि पहिला त बस सञ्चालन रोक्नुपर्ने भयो ।

संस्थालाई लिक्विडेसनमा लैजाने सरकारी निर्णयपश्चात् केही कर्मचारी तथा ‘साझाका साथी’ नागरिक समूह क्रियाशील भए र ललितपुर पुनरावेदन अदालतले पुनः सञ्चालनको आदेश दियो। सरकारसँग निव्र्याजी ऋण लिएर झन्डै ८०० कर्मचारीलाई फरफारक गरी विदा गरियो। सम्बन्धित मन्त्रालयका कर्मचारीको सहयोग र सहभागितामा साझा यातायात एक सही सहकारी संस्थामा परिणत भयो । यसै अन्तर्गत साधारण सभाबाट निर्वाचित पाँच सञ्चालक तथा दुई पदेन सञ्चालक (यातायात व्यवस्था विभागका महानिर्देशक तथा सहकारी विभागका रजिष्ट्रार) को पहलमा उपत्यकाका सडकमा बस फेरि गुड्न लागेका छन्, नयाँ वर्ष २०७० को पहिलो दिन।

परिवहन अभियान

साझा यातायातको आजको उद्देश्य दसकौं अघिजस्तो ‘एक्लो वृहस्पति’ भई पुनः उदय हुनुहोइन। उपत्यका यातायातको धरातल धेरै बदलिइसकेको छ र ठूला तथा साना सक्षम बस कम्पनीहरूले बढ्दो सहरीकरणमाझ सेवा पुर्‍याइरहेका छन्।

संस्थाको मुख्य ध्येय सार्वजनिक बस यातायातको गुणस्तर बढाउने तथा विभिन्न सरोकारवाला बीचको तालमेलमा भूमिका खेल्नु हो । आम सेवाग्राहीको हितलाई मध्यनजर गर्दै बस व्यवसायीको उद्यमलाई कसरी सफल, मर्यादित र सेवामूलक बनाउने यसमा ध्यान दिनुपरेको छ । सुरुमा साझा यातायात स्वयम्ले केही नमुनामूलक रुट सञ्चालन गरेर आफ्नो गुमेको विश्वसनीयता स्थापित गर्ने कोसिसमा रहनेछ । यसै योजना अन्तर्गत उपत्यकाका उत्तर-दक्षिण र पूर्व-पश्चिम दुई ‘ट्रङ्क रुट’मा धेरै यात्रु क्षमताका बस गुड्न लागेका हुन् ।

सहरी यातायात सफल भएका मुलुकमा सरकारले ‘सब्सिडी’ दिएर बस सञ्चालन गर्न लगाएको हुन्छ । उपत्यकाका बस संस्थाहरू बेलाबखत आलोचनाको पात्र त हुने गर्छन्, तर यो कुरा बिर्सनु हुँदैन कि निजी क्षेत्रले बिना सहुलियत सेवा पुर्‍याउँदै आएको छ । टेम्पो, माइक्रो, मिनीदेखि ठूला बसले सार्वजनिक यातायातकै भूमिका निर्वाह गर्दै आएका हुन्, यसको श्रेय त्यतातिर जानैपर्छ ।

सरकारले निर्देशनात्मक भूमिका खेल्नुपर्ने हुन्छ, सार्वजनिक यातायातलाई जनमुखी बनाउन । तर मुख्यतः निरन्तर राजनीतिक अस्तव्यस्तताका कारण यतातिरको भूमिका अपर्याप्त छ । बस रुटहरूमा तालमेल होस्, बसहरूको सिटिङ स्तरीय होस्, यात्रु संख्यामा नियन्त्रण होस्, बस चढ्ने खुट्किलो अग्लो नहोस् तथा सहरिया र आगन्तुक सबैले उपत्यकाभरिको बस सञ्जाल एकै नजरमा बुझ्न र प्रयोग गर्न सक्ने होस् ।

निजी व्यवसायीको आम्दानीको स्रोत सुरक्षितमात्र नभई, राम्रै बढाउने हो भने अन्यत्रजस्तै यहाँ पनि सबै संस्थालाई आ-आफ्नो अस्तित्व यथावत् रहनेगरी एउटा सार्वजनिक यातायात सञ्जालको छातामुनि लेराउनुपर्ने हुन्छ । ‘ल्यासे फेर’ तरिकाले कमजोर सरकारी नियमन अन्तर्गत चलेका बससेवालाई अन्य मुलुकमा ‘क्लस्टरिङ’ गर्दै यसरी एउटा ‘रुट नेटवर्क’ भित्र लेराउने काम गरिएको हामी पाउँछौं । भारतको राजधानी दिल्लीमा निजी व्यवसायी अन्तर्गत चलेका ‘ब्लु लाइन’ बसहरू आज सबै ‘डेली ट्रान्सपोर्ट कर्पोरेसन’ (डीटीसी) को छाता अन्तर्गत चल्छन् । एकातर्फ जनसेवा भएको छ भने अर्कोतर्फ निजी व्यवसायीलाई लाभ मिलेको छ ।

साझा यातायातको पुनः थालनीको सन्दर्भमा दिमाग खियाउँदा अन्ततोगत्वा उपत्यकामा पनि सबै बस संस्थाहरूलाई ‘क्लस्टरिङ’ गर्दै सेवाको गुणस्तर बढाउनु उपयुक्त होला । अधिकांश मुलुकमा सहरी यातायात सहुलियतका साथ चल्ने सन्दर्भमा उपत्यकामा चल्ने निजी यातायात कम्पनीलाई पनि भन्सार छुटदेखि अन्य सुविधा उपलब्ध हुनुपर्ने देखिन्छ ।

बृहत् परिवहन योजनाअनुसार सहरी बसलाई लामो दूरी बस सञ्जालसँग जोड्नुपर्ने हुन्छ भने छुट्टै ‘बस लेन’ परिकल्पनालाई वास्तविकतामा ढाल्नु छ । बस परिवहन तथा पैदल यात्री र साइकल यात्रीबीच तालमेल चाहिएको छ । सञ्जाल सशक्त बनाउँदा इलेक्ट्रोनिक परिवहन कार्ड प्रयोगले यात्रु सेवा र व्यवस्थापकीय पक्ष सबल बनाउँछ ।

जो पनि चढ्ने बस

कलाकार हरिवंश आचार्यको केही वर्ष अघिको गीतको बोल छ: ‘साझा बसमा जो पनि चढ्दछ…’। आजसम्म पनि यो गीत लोकपि्रय हुनुको कारण हरिवंशको सक्षम गायनका साथै साझा बसप्रति जनताको गहिरो लगाव हुनुपर्छ । धेरै आस साझा यातायातमा राखिएको छ, जसलाई आफ्नो पूर्व अनुभवभन्दा बदलिएको परिवेशमा पूरा गर्न कोसिस गर्नेछ, यो सहकारी संस्थाले । मात्र १६ बसका साथ सेवा पुनः आरम्भ गर्दैछ साझा यातायात, अन्य कम्पनीको तुलनामा धेरै सानो । नमुनामूलक तथा अनुकरणीय सेवा पुर्‍याउनु यसको लक्ष्य हो । सुरुमा उपत्यकामा सहरी बस यातायात हालेर संस्था पहिलाजस्तै अन्तरदेशीय रूटमा पनि सक्रिय हुनेछ ।

सार्वजनिक बस यातायात नै काठमाडौं उपत्यकाका लागि उपयुक्त विकल्प हो भन्नेमा कुनै द्विविधा छैन । भूमिगत अथवा आकाशे मेट्रो प्रणाली वर्तमान उपत्यका अर्थतन्त्रले धान्न सक्दैन । र यसैकारण पनि विचार निर्माणकर्ता तथा सरकारी योजनाकारले ‘बस र्‍यापिड ट्रान्सिट’मा नै ध्यान दिए उपयुक्त हुनेछ । ठूलो बस ‘ट्रङ्क रुट’मा तथा साना बस र टेम्पो ‘टर्सिएरी रुट’ अर्थात् ससाना रुटमा चलाउँदै, बसमात्र चल्ने लेनहरूसमेत निर्माण गर्दै आजसम्म धेरै दुःख खेपेका आम यात्रुको सेवा गर्ने बेला आएको छ ।

भोलिका दिन हरिवंश गाउनेछन्, ‘साझा बसमात्र होइन, सार्वजनिक बस यातायातमा जो पनि चढ्दछ…’।

Post navigation

Previous Post:

Resilience and cynicism

Next Post:

‘डलरको खेती’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes