सालिक भत्काउनु, सालिक ठड्याउनु

हिमाल खबरपत्रिका (१५ भदौ, २०७७) बाट

२०४६ सालको जनआन्दोलनका क्रममा दरबारमार्गस्थित राजा महेन्द्रको सालिकबाट राजदण्ड निकाल्दै आन्दोलनकारी ।

यस्तो नहोस् कि हामीले कुनै सालिक भत्काउँदा पछिपछिसम्म सम्झिराख्नुपर्ने इतिहासका ज्यादती र तिनका खलपात्र बिर्सन मद्दत पुगोस्। त्यसैले पनि बँचेका सालिकहरु रहन दिऊँ, यिनीसँग सम्बन्धित असल/खराब चरित्र सम्झने कोशिश गरौं।

सडक र चौरस्तामा रहेका सालिकलाई ढाल्ने, भत्काउने होड छ। कतिपय पश्चिमा मुलुकमा आज भइरहेको जस्तो यसअघि पूर्वी यूरोपेली मुलुक र रूसमा स्टालिनका मूर्ति ढालिए, इराकमा सद्दाम हुसेनको र नेपालकै आन्दोलनमा कतै भानुभक्तका सालिक, कतै राजा महेन्द्रको, कतै बीपी कोइरालाको।

ताजा खबर भन्ने हो भने संयुक्त राज्य अमेरिकामा काला जातिलाई हेपाहा दृष्टिकोणले हेर्ने, डेढ शताब्दी अघिका कमारा प्रथाका हिमायती नेता र सैनिक कमाण्डरहरूको सालिक जबर्जस्ती ढाल्ने अथवा ढालिने आशंकामा स्थानीय सरकारले आफैं उखेलेर सुरक्षित स्थानमा लग्ने काम हुँदैछ।

बेलायतमा रबर्ट क्लाइभकाे मूर्ति, जो बेलायती विदेश मन्त्रालय बस्ने वेस्टमिन्स्टरको प्राङ्गणमा उभिएको छ, यसलाई हटाएर संग्रहालयमा थुनिनुपर्ने अभियन्ताहरूको माग छ। क्लाइभकाे नेतृत्वमा इष्ट इण्डिया कम्पनीले बंगालमा सैन्य कार्यद्वारा बेलायती उपनिवेशको जग बसालेका थिए, र यो अन्यायपूर्ण अध्यायको शुरूआत गर्ने व्यक्तिलाई यसरी आदर सम्मान गरिनुहुँदैन भन्ने अभियन्ताको आग्रह छ। अन्यत्र पनि उपनिवेशकालका ज्यादतीकर्ताहरूको सालिक हटाउन माग छ, जस्तै बेल्जियमका राजा लिओपोल्ड, जसको नेतृत्वमा अफ्रिकाको कङ्गो प्रान्तमा दशौं लाखको नरसंहार रचियो।

सन् १९५६ मा हंगेरीमा भएको सोभियत संघ विरुद्धको आन्दोलनमा बुडापेष्टमा ढालिएको स्टालिनको सालिक। तस्वीर: एन्डाेर डी हेलर

पुराना सालिक, वर्तमान आक्रोश
कुनै घटनाक्रमको दशकौं या शताब्दीयौंको अन्तरालमा पनि भेदभावपूर्ण प्रणाली बसाल्ने उहिलेका नेतृत्वदायी भूमिका खेल्नेहरूको सालिक वर्तमान आक्रोशका प्रतीकात्मक तारो बनेका छन्। कतै भने प्रत्यक्ष भूमिका नखेलेका व्यक्तित्वको सालिक पनि प्रतिनिधिपात्रको रूपमा अपमान गरिएको या ढालिएको छ।

२०४६ सालअघि बनेपामा रहेकाे राजा त्रिभुवनको सालिक र अहिले सालिक विनाको खण्डीकृत संरचना (दायाँ)। तस्वीर: प्रशान्त  श्रेष्ठ  

नेपालमा २०४६ सालको जनआन्दोलनको राप माझ एक युवकले दरबारमार्गमा रहेको महेन्द्रको सालिकमा चढेर राजदण्ड झिके। बनेपाकाे मूल सडकबाट राजा त्रिभुवनको सालिक झारियो, आजसम्म पनि बनेपाकाे स्तम्भमा फलामका डण्डी जिङरिङ्ग छँदैछन्। मधेश आन्दोलनको क्रममा जनकपुरमा रहेको भानुभक्तको सालिक पनि ढालियो भने नेपालगञ्जको त्रिभुवनको सालिक ।

पुरानो सालिकले वर्तमानको पीडा पनि झल्काउँछ, र यसै कारण ऐतिहासिककालका मूर्ति पनि ढाल्न मिल्छ भन्ने अभियन्ताहरूको भनाइ छ। सडकको हूलले लेनिनको होस् वा महेन्द्रको, क्लाइभको होस् वा भानुभक्तको, ढाल्न चाहे ढालुन्, रिस पोख्ने तरिका पनि हो यो, उनीहरूको तर्क रहन्छ।

अर्काे पंक्ति छ, जसले भन्छ, सार्वजनिक स्थलमा ठडिएका सालिकहरूले इतिहासको राम्रो र नराम्रो पाटो झल्काउँछन्, यसैकारण यिनलाई भत्काउने, टुक्र्याउने काम गलत हो। स्थानान्तरण गर्दै कुनै संग्रहालयमा राखिनुपर्दछ, नाश नै गरिहाल्नुहुन्न।

सार्वजनिक स्थलका मूर्तिहरू भत्काउनुहुँदैन र स्थानान्तरण पनि गर्नुहुन्न भन्ने एउटा अर्को पंक्ति पनि छ, जसको तर्क यस्तो छ — ठीक बेठीक जेहोस्, ऐतिहासिक पात्रका प्रतिमा यसरी राखिएका हुन्, यी आफैं इतिहास बनेका छन् अब, र त्यसैले मूर्ति ढाल्ने हो भने समाज र संस्कृति कमजोर बनाउने काम हुन्छ — बरु सालिकलाई जहाँको त्यहीं उभिन दिएर उक्त पात्रले गरेको विध्वंस र पाप छलफलको केन्द्रविन्दु बन्न सक्छ। खडा सालिकलाई माटोमा मिलाउँदा त नमीठो इतिहास बिर्सने काम पो हुन जान्छ।

जनकपुरस्थित भानुभक्तकाे सालिक (बायाँ) र मधेश आन्दाेलनमा सालिक भत्काइएपछिको सिमेण्टको ठूटो । तस्वीर: घनश्याम मिश्रा

यो पंक्तिको थप अर्काे तर्क पनि छ — कसैलाई एउटा पात्रले घृणा जगाउला, जबकि अरूलाई त्यही पात्र प्यारो लाग्ला। जस्तो कि कसैलाई माओत्सेतुङको या चिङ्गिस खाँको मूर्ति देख्ने बित्तिकै रगत उम्लिएर आउला, कसैलाई भने प्यारो लाग्ला। कसैले औधी मन पराउने, र कसैले पूरै घृणा गर्ने पात्र छन् भने तिनका सालिक उभिन दिएकै ठीक।

अरनिकोदेखि आजसम्म
नेपालमा मूर्तिकलाको इतिहासले गर्दा सालिकको इतिहास पनि लामै छ। आजकल हिस्सी नपरेको सालिक र मूर्ति बनाउने, र सार्वजनिक स्थलमा ठड्याउने गरिन्छ जबकि यहाँका मूर्तिकारको सीप इतिहासकालमा विश्व प्रसिद्ध थियो।

लिच्छविकालदेखि देवी–देवता, बुद्ध र बोधिसत्वको प्रतिमा काठ, ढुङ्गा, तामा र ढलोटमा बनाइने क्रम आजसम्म जारी छ। यो इतिहासले कलाकार अरनिको पनि समेट्छ। यी नामुद शिल्पी जब ल्हासा हुँदै बेइजिङ पुगे, बादशाह कुब्ला खाँले उनको परीक्षा लिन एउटा अलि बिग्रिएको मूर्ति मर्मतको काम दिए। उनी उत्तीर्ण भए र जीवनकालभरि दरबारको सल्लाहकार रहे, मन्त्री दर्जा पाइकन।

अरनिकोको पदचाप आजसम्म नेपाली मूर्तिकारहरूले पछ्याइरहेका छन्। उपत्यकाको मूर्ति उद्योगले राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा दिएको छ, विशेषगरी चिनियाँ बौद्धमार्गीको चासो बढ्न थालेपछि। देशभित्र होस् या भारत, भूटान र चीनमा पूजाकोठामा राखिने स–साना मूर्तिदेखि भीमकाय ठूला मूर्ति पनि नेपालका कलाकारले निर्माण गर्ने गरेका छन्।

मूर्तिकलाको फैलावटमा विकृति पनि आएका छन्, हतारमा बनाइएका मूर्ति कतै भद्दा त कतै मुद्रा नै नमिलेको पाइन्छ। अहिले त सार्वजनिक स्थलमा मूर्ति निर्माणको होड नै चलेको छ। ठाउँठाउँमा भगवान बोधिसत्व वा नेता वा समाजसेवीका सालिक स्थापित छन् कतै द्वन्द्वकालका लडाकू वा पीडितको।

पहिला ठूलाठूला मूर्ति विरलै पाइन्थे, किनकि हातले ढुंगा कुँदी–कुँदी मूर्ति तयार गर्न धेरै समय र खर्च लाग्दथ्यो। आजकल सिमेन्ट, छड र कंक्रिटको कारण १०० देखि २०० फिटको मूर्ति बनाउन समेत हम्मे पर्दैन, यस्ता मूर्ति ठडिएका ठाउँमा तीर्थालु भन्दा पनि पर्यटक र घुमन्ते जान्छन्। कतिपयको ठूलोभन्दा ठूलो, अग्लोमा अग्लो मूर्ति बनाएर ‘गिनिज बूक’ मा नाम छिराउने चाहना पनि छ, जसले कला, सन्दर्भ, इतिहासक्रमलाई बेवास्ता गर्छ।

ढुंगामा छिनो र हथौडा लगाएर लामो समय लगाएर बनेका मूर्तिमा मूर्तिकार (हरू) को आस्था र लगाव समेत जोडिएको हुन्छ र मूर्तिमा ‘आध्यात्मिक वजन’ पनि थपिन्छ। काठ या फलामे फर्माभित्र कंक्रिट खन्याएर बनेको बडेमानको मूर्ति भने पर्यटक आकर्षणमा मात्र सीमित हुने डर हुन्छ। पाटनको बहाः र बहिः भित्र कसैले खर्च गरेर ठूलो बुद्ध मूर्ति स्थापना गर्ला, तर त्यसले टोलका युवाको ब्याडमिन्टन खेल्ने स्थल हडपेको भन्ने ख्याल गरिंदैन। भगवानको मूर्ति ठड्याएपछि यसलाई हटाउन मिल्ने कुरै भएन, यो सदाको लागि रहन्छ।

१९७२ सालमा टुँडिखेलमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको सालिक । सालिक मुनिको प्लिन्थको महत्व यो तस्वीरले दर्शाउँछ । तस्वीर: ड्यानियल डब्लू एडवार्ड

मुक्तिनाथ परिसरमा ज्वालामाई र मुक्तिनाथ मन्दिरबीच भूमिस्पर्श मुद्रामा स्थापना गरिएको शाक्यमुनिको ठूलो मूर्तिले त्यस क्षेत्रको ऐतिहासिकतामा धक्का दिएको भान हुन्छ, ‘स्केल’ को हिसाबले छेउका दुवै पावन स्थललाई असर गरेको देखिन्छ। यस्तो कार्य सम्पदा स्थलको ऐतिहासिक पहिचान र गरिमा विपरीत छ। मन्दिर या गुम्बाले तीर्थालु-श्रद्धालु तान्दछन् भने आधुनिक मूर्तिले पिकनिकवाला।

शहीद र शासक
सालिक स्थापना हुँदैमा सबैको उचित सम्मान हुन्छ भन्न मिल्दैन — जसरी शहीदगेटमा राणा खिलाफ लड्ने र मारिने चार शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको अर्धकदका प्रतिमा त छन्, तर यी सबै माथि राजा त्रिभुवनको प्रतिमा राखिएको छ। त्रिभुवन स्विट्जरल्याण्डस्थित जुरिकको अस्पतालमा मरेका हुन्, उनलाई ‘शहीद’ भन्नै सकिन्न। तर शहीदगेट निर्माण हुँदा पञ्चायतकाल थियो, कसले बोल्ने?

व्यक्तित्वको अपहेलना अरू तरिकाले पनि गरिन्छ। सालिक राख्नै परे चलनचल्तीको ठाउँमा राख्नु, तर कति सालिक कोही हत्तपत्त नपुग्ने ठाउँमा राखिन्छन्, सालिकका वरिपरि फोहोर फाल्ने ठाउँ बन्दछ, जंगल र झाडीले सालिक नै नदेखिने गरी ढाकिदिन्छ।

टुँडिखेलमा राखेकाे जंगबहादुर राणा र रणोद्दीप सिंहकाे घाेडचढी सालिक । तस्वीर: कनकमणि दीक्षित (सन् १९७५ ताका)

अनुहार नमिल्ने सालिकहरू त बग्रेल्ती छन्, भद्दा हिसाबले सिमेन्टमा निर्माण गरिएका पनि। महाराजगञ्ज चक्रपथ चोकमा जसरी नारायणगोपालको अर्धकदलाई भूस्थलबाट हटाएर प्रहरी पोस्टको छत माथि अधकल्चो गरी राखिएको छ, त्यसले नारायणगोपालको अपमान भएजस्तो लाग्छ।

सुनसरीको दुहबी सडककाे बीचमा ठडिएको भूपालमानसिंह कार्कीकाे सालिक, जुन २०६३ ताका भत्काइयो।

कसै कसैले आफ्नो शक्ति र प्रभावको प्रयोग गर्दै जबर्जस्ती आफन्तका सालिक जनतामा थोपर्छन्, जस्तै लोकमानसिंह कार्कीले पञ्चायतकालमा आफ्ना पिता भूपालमान सिंह कार्कीको सालिक विराटनगर–इटहरी बीच पर्ने दुहबीमा राजमार्गको छेउमा पनि नभई, बीचैमा राखिदिए। उक्त सालिक हट्यो, २०६३ ताका।

व्यक्तित्वको अपमान गर्ने अर्काे तरिका हो सानो मूर्तिलाई अजङ्गको ‘प्लिन्थ’ मा राख्ने, ‘स्केल’ को पर्वाह नगरी, जस्तै रानीपोखरीस्थित गणेशमान सिंहको सालिक। ऐतिहासिककालमा अक्सर शासक आफैंले आफ्नै शालिक स्थापना गर्थे, रानीपोखरीमा हात्ती सवार प्रताप मल्लदेखि पाटन दरबारका योगनरेन्द्र मल्ल, पशुपतिनाथ परिसरमा पूरै शाहवंश र कालमोचनमा जंगबहादुर।

राणाकालीन र शाहकालीन सालिक
सालिक भत्काउनु उचित वा अनुचित बहसमा मेरो सुझाव छ — यदि कुनै ऐतिहासिक पात्र र उनले प्रतिनिधित्व गर्ने शक्ति वा प्रवृत्ति पराजित भएको छ भने (या आफू/आफूहरू सच्चिने बाटोमा लागेका देखिएका छन् भने) सालिकलाई रहन दिने, बरु यिनकै वरिपरि अमानवीय, कठोर इतिहास उजागर गर्ने गरी सूचनापाटी राख्ने, यसको भरमा कार्यक्रम र गोष्ठी गर्ने।

पूर्णतः पराजित पात्र भएका कारण होला काठमाडौंको टुँडिखेल वरिपरि राणा शासकहरूका घोडचढी सालिकहरू भत्काउने कोशिश भएन। यो पनि हुनसक्छ कि राणाकाल अन्त्यको धेरै समय नबित्दै पञ्चायतकाल आइहाल्यो, र राणा विरुद्धको जनआक्रोश पञ्चायतकालमा व्यक्त हुन पाएन या मत्थर भयो।

नेपालगञ्जमा रहेको राजा महेन्द्रको सालिक।

दोस्रो जनआन्दोलनको सेरोफेरोमा ठाउँठाउँमा वीरेन्द्र, महेन्द्र र पृथ्वीनारायणका सालिक माथि आक्रमण नभएको होइन, तर कतिपय ठाउँमा सकुशल रहे पनि। राजाहरूका मूर्ति धेरै नभत्काइनु कारण यो पनि हुनसक्छ कि, देशभरि नै जिल्ला–जिल्लामा पञ्चायतको रजतजयन्ती मनाउन ठूल्ठूला स्तम्भ बनेका थिए र यिनैलाई भत्काएर राजनीतिक दलका ‘क्याडर’ र सर्वसाधारणले धीत मारे।

सिंहदरबार अगाडि रहेको पृथ्वीनारायणको मूर्तिलाई आक्रोशित माओवादी जमातले हल्लाइसकेको थियो, झार्नका लागि। शायद २०६३ वैशाख ११ गते संसद पुनर्स्थापना सन्दर्भमा हामी धर्ना बसेथ्यौं सिंहदरबार अगाडिको ‘कस्वे’ मा। त्यतिबेला उत्तेजित एउटा समूह सालिक लडाउन तम्सियो, र केही अभियन्ता तत्कालै अघि बढेर नचाहिंदो काम रोकेको म सम्झन्छु।

राजा महेन्द्रको सालिक (राजदण्ड विना भए पनि) सकुशल छ काठमाडौं दरबारमार्गको राउण्डअबाउटमा भने राजा वीरेन्द्रको ललितपुर लगनखेलको राउण्डअबाउटमा। राणाकाल अन्त्य गर्न प्रजातन्त्रवादीहरूसँग शुरूमा सहकार्य गरेका कारण हुनुपर्दछ, राजा त्रिभुवनमाथि जनताको सहानुभूति रह्यो र त्रिपुरेश्वरको सेतो प्लास्टरमा बनेको उनको सालिकमाथि हमला भएन।

२०७२ सालको भूकम्पको बेला समेत त्रिभुवनको यो सालिक अद्भुत हिसाबले बच्यो, जुन ट्राफिक प्रहरीको सीसीटिभी भिडियोले देखाउँछ पनि। सालिकको छत गह्रौं सिमेन्ट र मार्बलले बनेकोले भत्किइहाल्यो, तर जुन घुमाउरो पाराले चार खम्बासहित त्यो ढल्यो, सालिकलाई हिफाजत हुने गरी झर्‍यो। मेरो विचारमा उक्त सालिकलाई फेरि पनि ‘छतरी’ मार्फत ओत दिनुपर्छ, र हुरीबतासले विरुप बनाएको त्रिभुवनको मुहारलाई पुरानै अवस्थामा फिर्ता गरिनुपर्दछ।

बेलायतमा रबर्ट क्लाइभकाे सालिक। सन् २००३ मा इराकमा सद्दाम हुसेनकाे सालिक ढालि‌ंदै । 

राणाकालीन सालिकहरू एक शताब्दी बढी उभिए र अरूभन्दा राम्रो ‘पेडेस्टल’ मा राखिएका छन्, जबकि ‘पेडेस्टल’ को महत्व पछिका मूर्ति ठड्याउनेले बुझेको देखिंदैन। मैले सुने अनुसार तीन–तीन टन वजनका यी ‘स्ट्याच्यू’ बेलायतमा उतिबेलाको नयाँ प्रविधिबाट बनेको हो, र राणा प्रधानमन्त्रीहरूका अनुहार हुबहु उतारिएको छ। मैले सन् १९७५ तिर टेलिफोटोबाट खिचेको रणोद्दीप सिंहको मुहारमा त्यो झल्कन्छ, आँखा मुनिका लोता समेत देखिने गरी बनेको छ सालिक।

आज, शहरको साजसज्जाको रूपमा देखिनुपर्ने यी राणाकालीन सालिक कुनामा अरू संरचनाले घेरिएका छन्। इतिहास लोप हुँदै गएको हाम्रो समाजमा राणा शासकको विशेषता र ज्यादती उजागर गर्न पनि यी मूर्तिको सान्दर्भिकता अझै छ। मैले सन् १९७५ तिर खिचेको तीन भरिया र जंगबहादुरको तस्वीरले आफ्नो धारणा पोख्न खोजेथें, शासक र ‘रैती जनता’ बीचको दूरी देखाउने गरी। जंगबहादुरको त्यो तरबार अहिले कसैले भाँचिदिएको छ। रणोद्दीपको श्रीपेचको कल्की गायव छ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले एउटा सालिकको प्रयोग, महत्व र प्रतीकात्मक प्रभावबारे राम्ररी बुझेको हामी पाउँछौं। कलाकारद्वयको प्रज्ञा–प्रतिष्ठानमा (२०५७ सालमा) प्रदर्शन भएको ‘सालिक’ प्रहसनले जुद्धशमशेरको न्यूरोडस्थित मूर्तिलाई जीवन्त बनाई हास्य र व्यङ्ग्यद्वारा शासक र जनताबीचको दूरीको अभूतपूर्व प्रस्तुति गरेका थिए।

यो प्रहसन यूट्यूबमा हेर्दा भान हुन्छ, ‘मह जोडी’ को सबैभन्दा मार्मिक, उत्कृष्ट र सन्देशमूलक प्रहसन नै हो यो, जुन आज दुई दशकपछि पनि उत्तिकै सान्दर्भिक छ। जुद्धशमशेरले प्रजातन्त्रकालका नेतालाई ‘अनि तिमीहरू कति नै ठीक छौ र ?’ भनी गरेको प्रश्न लोकतन्त्रकालका नेतालाई पनि उत्तिकै लागू हुन्छ।

चाहिएको विद्यापतिको सालिक

हामीले मूर्तिमाथि मूर्ति थोपरेर जनताको काँधमा बोझ थप्नुहुँदैन, यो मेरो बुझाइ हो । आज झन्‌झन् अग्लो र संख्यामा धेरै मूर्ति बनाउने होड छ जसरी जताततै स्थानीय सरकारले डाँडाका टुप्पामा निरर्थक ‘भ्यूटावर’ खडा गर्दैछन्।

काभ्रे, साँगामा सबैभन्दा ठूलो शिवजीको मूर्ति, फर्पिङमा पद्मसंभव, लुम्बिनीभरका चौरस्ताहरूमा बुद्ध मूर्ति, र ठाउँठाउँमा नयाँ मूर्तिको योजना, जस्तै धुलिखेलमा मञ्जुश्रीको। निर्वाचित नेताहरूले ‘काम देखाउन’ जसरी मूर्ति ठड्याउँदै छन्, त्यसलाई उचित मान्न सकिन्न।

ठूल्ठूला मूर्ति बनाउनुभन्दा ऐतिहासिक मूर्तिकलामा धनी हाम्रो समाज पुराना मूर्तिको स्याहारसम्भारमा जुटे हुने। नयाँ भगवान स्थापना गर्नुभन्दा पुरानै मन्दिरमा पूजाआजाले अर्थ राख्दछ, इतिहास र संस्कृतिसँग हाम्रो सम्बन्ध प्रगाढ हुन्छ। चोरको हातमा परेर विदेशिएका हजारौं मूर्ति समुद्रपारका म्यूजियम, ग्यालरी र ‘आर्ट कलेक्टर’ बाट फिर्ता ल्याउने योजना बनाउन सकेको राम्रो, न कि हस्याङफस्याङ गर्दै कंक्रिट र ढलोटको नयाँ नयाँ मूर्ति निर्माण।

यति भन्दाभन्दै सबै कुरा श्यामश्वेत हुँदैन, र यस्तो अवस्था पनि आउँछ जब कतै सालिक या मूर्तिको आवश्यकता पर्दछ। यसै सन्दर्भमा एउटा मूर्ति राजधानीमा चाहिन्छ र बन्नुपर्छ, त्यो हो मैथिली भाषाका आदिकवि विद्यापतिको ।

नेपाल राज्य काठमाडौंकेन्द्रित छँदैथियो, त्यसैले यसले आफ्नो इतिहासलाई उपत्यकाका दरबारको इतिहास ठान्यो, सम्झनुपर्ने व्यक्तित्व पनि केन्द्रीय राज्य सत्ता र यससँग गाँसिएका संस्कृतिकै। नेपाल राज्यका सञ्चालकले ‘राष्ट्र निर्माण’ को क्रममा ‘लिङ्गवा फ्राङ्का’ को नाउँमा नेपालीलाई अगाडि सारे र अन्य भाषाहरू यस क्रममा कमजोर हुँदै गए, र आजसम्म पनि यो क्रम जारी छ।

नयाँ संविधानले समावेशिता र सामुदायिक पहिचानलाई आफ्नो मूल मन्त्र ठानेको सन्दर्भमा नेपाली इतर भाषाका सम्मान गर्नुपर्नेमा उपत्यका बाहिर, तराई–मधेशको र विशेषगरी मिथिला प्रान्तको मैथिली भाषालाई कदर गर्दा नेपालको राष्ट्रिय व्यक्तित्वलाई नै वजन दिनेछ। र मैथिलीलाई कदर गर्दा यसका आदिकवि विद्यापतिलाई एक नेपाली मात्र नभई दक्षिण एशियाली धरोहरको रूपमा उनको सम्झना गरिनुपर्छ। सालिक मात्र स्थापना नगरेर विभिन्न कार्यक्रमको योजना हुनुपर्दछ।

अपवादको रूपमा नयाँ सालिक अनावरण गरौं। काम टार्ने र क्षणिक वाह्वाहीको लागि सधैं उभिन बाध्य सालिक नउठाऊँ। भएका सालिकलाई इतिहासको राम्रो या नराम्रो पात्रको प्रतिनिधित्वका रूपमा बुझौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *