सुरक्षामा छड्के

हिमाल खबरपत्रिका (१६-३० माघ २०५८) बाट

प्रधानमन्त्री शेरबहादुर देउवा ७ माघमा पोखरा पुग्नुभएको थियो । जता जाँदा पनि उहाँको मोटरकेड वरिपरिको सुरक्षा कडिकडाउ सबैको ध्यान खिच्ने खालको थियो; बन्दुक तेर्साउँदै दौडेका पुलिस, सशस्त्र पुलिस, सेनाका जवान, बडेमानका जीप र पिकअपहरू, झ्पिझ्पि बत्ती र साइरेन । प्रधानमन्त्रीका निम्ति बाटोघाटोमा देखाइएको यो सुरक्षाको प्रदर्शन साँच्चै ‘भव्य’ थियो । तर के पब्लिकको नजरबाहिर पनि माओवादीसँग सशस्त्र सङ्घर्षमा लागेका प्रधानमन्त्रीको सुरक्षा त्यतिकै बलियो थियो त ? त्यही साँझ्; पोखराकै एउटा तारे होटलमा प्रधानमन्त्रीज्यू सीडीओ लगायत अरू स्थानीय पदाधिकारीहरूसँग गम्भीर छलफलमा व्यस्त हुनुहुन्थ्यो । बाहिर होटल अगाडिपट्टि पार्किङ लटमा पुलिस र सेनाका जवानहरू छ्यापछ्याप्ती थिए । भित्र रेस्टुरेन्टमा भने तिनका हाकिमहरूको निःशुल्क डिनरको कार्यक्रम जम्न थाल्यो । यो पङ्क्तिकार छेवैको टेबुलमा बसी–बसी सब हेरिरहेको थियो । पर्यटक सुकेको बेला होटलमा प्रधानमन्त्री नै ल्याइदिएपछि त्यो डिनर त “अन् द हाउस” भएको स्पष्टै झ्ल्को पाइन्थ्यो । उहाँहरूको साँझ्को ‘ड्यूटी’ बियरबाट शुरु भयो, चिकन चिल्लीका साथ । (ड्यूटी किनभने उहाँहरू सबै औपचारिक बर्दीमै हुनुहुन्थ्यो ।) माथि प्रधानमन्त्री आफ्नो सुरक्षाप्रति निर्धक्क रही मिटिङमा व्यस्त हुनुहुन्थ्यो होला, तल ती साप र अफिसरहरूको भने पार्टी भर्खर शुरु हुँदैथियो । बियर पश्चात् सबैको हातको लागि स्कच र सोडा मगाइयो, आयो । पेगमाथि पेग लाग्दा रेस्टुरेन्टमा हल्लाको डेसिबल लेभल पनि बढ्दैगयो । अनि तन्दुरी डिनर र त्यसपछि डिसर्ट त खानै प¥यो । कसैले एपल पाई मगाए, कसैले फ्रुट स्लाइड त कसैले चोकलेट ग्याटो अर्डर गरे । कुनै परिकारको अर्डरमा वेटरले, “त्यो त छैन हजुर, सकियो” भन्दा एउटा साहेबको उर्दी थियो, “छैन भने बनाउनु प¥यो ।”

मीन बज्राचार्य

यसै क्रममा माथि प्रधानमन्त्रीज्यूको मिटिङ, तल सुरक्षाकर्मी प्रहरी र सेनाका अफिसरको अति सौहार्दपूर्ण वातावरणको त्यो सामूहिक भोजन । यो पङ्क्तिकार त्यहाँबाट हिँड्दा दश बजिसकेको थियो, र फर्केर हेर्दा; सेना र प्रहरीका अफिसर गफ गर्दै, चुरोट तान्दै मेचमा ढल्किसकेका र उनीहरूको वरिपरि माछापुछ«ेमा बादल लागेजस्तै चुरोटको धुवाँ ढकमक्क ढाकिएको थियो । यस्तो सम्वेदनशील राष्ट्रिय घडीमा पनि अति से अति सतर्क हुनुपर्ने सेना र प्रहरीको “नेपाली ताल” देख्दा अरूसँग के आश गर्न सकिएला जस्तो लाग्यो । त्यो तारे होटलको रेस्टुरेन्टमा छर्लङ्ग देखिएको “नेपाली ताल” का लक्षणहरू यस्ता थिएः

१. ओहदाको दुरुपयोग ।

२. व्यावसायिकपनको अभाव ।

३. “पाएको बेलामा भ्याइदिइहाल्ने” प्रवृत्ति ।

४. सतर्कता र कर्तव्यप्रति सचेतताको कमी । लोकलाजप्रति बेवास्ता ।

५. अति गम्भीर कार्य र अभिभारालाई पनि हल्का पाराले लिने बानी ।

मजा गर्नमा मग्न ती सेना र प्रहरी अफिसर (जसको सतर्कताको लेभल अरू समयभन्दा बढी यस घडीमा हुनुपर्दथ्यो) लाई यति पनि होस रहेन कि, कसैले हेरिरहेछ कि ? माओवादीले नभए कमसेकम पत्रकारले । आखिर यस्तै “नेपाली ताल” ले माओवादी जन्मायो । माओवादीको “नेपाली ताल”ले देशव्यापी आतङ्क उब्जायो र अनि सङ्कटकाल । नेता, पार्टी, प्रशासक, प्रोफेसर, शिक्षक, पत्रकार, उद्यमी, लेखक, वकिल, न्यायाधीश, कर्मचारी, विकासे व्यवसायी आदि सबैको “नेपाली ताल”ले सद्दे देशलाई चकनाचुर पार्दैछ । र, पोखरामा त्यो दिन थाहा भयो; प्रहरीको त के कुरा हालसालै मैदानमा उत्रेको सेनाको पनि “नेपाली ताल” उस्तै रहेछ । यो देश सबैको साझ जस्तै “नेपाली ताल” पनि साझ्ै रहेछ ।

नेपाली ताल

अन्त पनि नेपाली तालले असर पारिरहेछ, जताततै नै नेपाली ताल छ । यस्तो तालले हुनसक्ने कुरा पनि हुन दिँदैन । एउटा लिस्ट नै बनाए पनि हुन्छ । साझ यातायात, एउटै भरपर्दो पब्लिक ट्रान्सपोर्ट भन्न मिल्ने सेवा, यता आएर ‘लिक्विडेसन’ मा परेको छ । सायद राजनीतिज्ञ र व्यापारी सबैको आँखा ‘लिक्विडेसन’ पछि त्यो पुल्चोकको डिपो हात पार्नेमा छ । तर यत्रो इतिहास बोकेको, सेवा पु¥याएको संस्था आफ्नै अगाडि मर्दा कसैलाई कपाल दुखेको छैन । भक्तपुरेहरूलाई पनि ट्रलिबसको मरणले केही असर परेको देखिँदैन । मनकामनाको प्राइवेट रोपवेको सफलताको चर्चा हरेक जिब्रोमा छ भने थानकोट नजिक अचल हेटौँडा रोपवेको दशामा कसैको नजर पुगेको छैन । काठमाडौँ उपत्यकाको मुटुमा तराईबाट सीधै ढुवानी गर्न सकिने यो तम्तयार साधन बन्द भएको दुई वर्षभन्दा बढी भइसक्यो, तर अर्थशास्त्री, वातावरणवादी, पत्रकार, गैसस, भलाद्मी, कर्मचारी, राजनीतिज्ञ कसैलाई यसको पर्वाह छैन । मौका परे चन्द्रागिरी डाँडाको फेदीमा (मातातीर्थभन्दा अलि माथि) गएर जो–कोहीले आकाशतिर हेरे हुन्छ । सयौँ फिटमाथि वारि डाँडाबाट पारि तन्किएको तारमा दुई टुहुरा रोपवे कार देखिन्छन् । दुईवर्ष बढी भयो तिनीहरू जहाँको तहीँ अडेका छन् । देशको दुर्दशालाई यो अचल रोपवेले कसरी प्रतिबिम्बित गर्छ, विचार गरौँ, “नेपाली ताल” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *