Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

सौम्य शक्तिको भण्डार हामी

October 22, 2021 by admin

हिमाल खबरपत्रिका (२ कात्तिक, २०७८) बाट

नेपालसँग अपार शक्ति छ, शान्तिको। नागरिकको मानसिक एवम् भौतिक जीवनमा उत्साह र परिवर्तन ल्याउन यसको पहिचान र परिचालन गर्ने हो।


नेपालीलाई सानैदेखि सिकाइएको हुन्छ, ‘हामी सानो देश’ भनेर। जुन कुरा सरासर बेठीक हो। कुनै पनि हिसाबले नेपाल ‘सानो’ छैन, र होइन। जुनसुकै मुलुकको वजन मुख्यतः जनसङ्ख्याले जनाउँछ, भूगोलले हैन। यसै कारण संसारकै सबैभन्दा ठूलो द्वीप भएर पनि ग्रीनल्याण्ड ‘सानो’ हो। नेपाल भने जनसङ्ख्याको आधारमा संसारकै ४९औं राष्ट्र-राज्य बन्न जान्छ। संयुक्त राष्ट्रसङ्घले मान्यता दिएका विश्वका १९३ राष्ट्रिय राज्यमध्ये यसलाई कसरी सानो भन्ने?

‘सानो’ को रटानले हामीमा हीनताबोध जन्माएको छ। यसका कारण नेपालको इतिहास, भूगोल, भूराजनीति, संस्कृति, अर्थतन्त्रका उपलब्धि र सम्भावनाबारे सही, वस्तुनिष्ठ आकलन गर्न हामी चुक्छौं। नेपालसँग भएका मूर्त र अमूर्त पूँजीको आधारमा धक नमानी भन्न सकिन्छ, यस देशको शान्तिपूर्ण रूपमा प्रयोग गर्ने सौम्य शक्ति (‘सफ्ट पावर’) अपार छ।

तर, यो सौम्य शक्ति पहिचान भएको छैन। जसका कारण नेपालीलाई विरक्तिले गाँजेको छ, आफ्नो मुलुकबारे गर्व गर्न र यसका सम्भावनाको प्रयोग गरी हाम्रो जन-मस्तिष्कलाई उत्साहित बनाउनदेखि सामाजिक-आर्थिक प्रगतिको बाटो ठम्याउन नसक्ने निष्क्रियतामा फसाएको छ। यसै कारण आत्मबल जगाउन हामी उग्र-राष्ट्रवादको सहारा पनि लिने गर्छाैं। त्यस क्रममा गोर्खाली वीरगाथा गाउँदा विरहगाथा बिर्सन्छौं, ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्दा बुद्धवाणीको पर्वाह गर्दैनौं, ‘सगरमाथाको देश’ भन्दा उक्त हिमचुलीको आधी भाग तिब्बत/चीनमा पर्छ भन्ने हेक्का राख्दैनौं।

कुनै पनि देशको सौम्य शक्ति पहिचान भएर/गरेर मात्र पुग्दैन। जनताको मनोभाव जगाउन र जीवनस्तर उकास्न यसको प्रयोग आवश्यक छ।

कुनै पनि देशको सौम्य शक्ति पहिचान भएर/गरेर मात्र पुग्दैन। जनताको मनोभाव जगाउन र जीवनस्तर उकास्न यसको प्रयोग आवश्यक छ। तर, जगजाहेर कुरा सौम्य शक्ति पहिचान र तत्पश्चात् परिचालन गर्न आन्तरिक राजनीति बाधक बनेको छ, २००७ सालदेखि आजैसम्म। सौम्य शक्ति पहिचान र परिचालन गर्न ‘राजनीतिक स्थिरता’ नभई ‘लोकतान्त्रिक राजनीतिक स्थिरता’ चाहिएको हो, जुन २००७ को

राणाशासन अन्त्यदेखि नै देश र जनताले प्राप्त गरेका छैनन्। कहिले राजनीतिक पात्रबीचको कलह, कहिले शाही एकतन्त्र, कहिले माओवादी विद्रोह, यिनको चेपुवामा ‘पोलिटी’ लाई बचाइराख्न नै हम्मे परेको छ। परिवर्तित शासन व्यवस्थालाई लिपिबद्ध गर्दै संविधान लेखिइसक्दा पनि राजनीतिक पात्रहरूलाई खबरदारी नपुग्दा राज्य र जनता फेरि राजनीतिक खिचातानीको दलदलमा परेको अवस्था छ, फेरि पनि।

यस्तो अवस्थामा ‘सौम्य शक्ति’ को चर्चा असान्दर्भिक मानिंदै खिसीको विषय पनि हुनसक्छ। तर, राजनीतिक नेतृत्वका कारण सबै कुरा अन्धकार देखिएको वेला नै नागरिकले आफ्नो देशको अन्तर्निहित ऊर्जा नियाल्ने हो, जुन बुझाइले नागरिकलाई आजको अवसरवादी राजनीति र भाग्यवादी सङ्कथन (‘डिस्कोर्स’)को प्रतिवाद गर्न ऊर्जा दिन्छ।

त्यो बलियो सम्भावना हो सौम्य शक्ति, जसलाई राष्ट्रिय स्वार्थका लागि वास्तविकतामा परिणत गर्नुपर्ने हुन्छ। र, यसले नेपाली नागरिकमा खुशी, फूर्ति र ऊर्जाको खोप मात्र होइन, भौतिक-आर्थिक जीवनस्तरमा गुणवत्ता थप्ने काम गर्दछ। मात्र नेपालको सौम्य शक्तिको सिद्धान्त सौभाग्यपूर्ण यथार्थ बुझ्नुपर्‍यो, भएको शक्ति अन्तर्राष्ट्रिय मैदानमा प्रयोग गर्नुपर्‍यो। नेपालको अगाडिको बाटो भनेकै आफ्नो अन्तर्निहित सौम्य शक्तिको पहिचान र प्रयोग गर्ने हो।

आफ्नो देश जान्न हिमाल चिन्नुपर्छः बायाँबाट क्रमशः मनास्लु, ङादी र हिमालचुली। तस्वीरः सेर्गे आस्मारिन

बन्दूक र सेता परेवा

‘सौम्य शक्ति’ को ठीक उल्टो सामरिक ओज बोकेको ‘शौर्य शक्ति’ (‘हार्ड पावर’) भन्न मिल्छ। सेता परेवा सौम्य शक्तिको प्रतीक हो भने बन्दूक सामरिक शक्तिको प्रतीक। ठूलो धनराशि खर्च व्यहोर्दै राष्ट्रहरू बन्दूक, बम-बारुद, क्षेप्यास्त्र, सेना, गुप्तचर निकाय आदि बटुलेर शक्तिशाली बन्छन्, र दबाब, धाकधम्की, हस्तक्षेप, बमबारी, आक्रमणद्वारा आफ्नो वर्चस्व कायम गर्दछन्, मुख्यतः आफ्नो अर्थतन्त्र र आय कायम राख्न, विदेशी स्रोतसाधनको दोहन गर्न।

रूस, अमेरिका, चीन विश्वकै ठूला सामरिक शक्ति हुन्, जबकि ठूलो जनसङ्ख्या भएका देशमध्ये भारत, ब्राजिल, इन्डोनेशिया त्यही दर्जामा पर्दैनन्। यसको कारण सैनिक बन्दोबस्तीको वजन त हो नै, तर अर्थतन्त्रको ओजले पनि सामरिक शक्ति दिलाउँछ। लोकतान्त्रिक व्यवस्था होस् वा अधिनायकवादी व्यवस्था, ठूलो आर्थिक ऊर्जाका साथै राजनीतिक स्थिरता छ (जस्तै रूस, अमेरिका, चीन) भने उसको शौर्य अझै सर्वव्यापी हुन्छ।

कास्कीको बेगनास ताल। तस्वीरः मोनिका देउपाला

हार्ड पावर र सफ्ट पावरलाई तुलनात्मक रूपमा पनि हेर्न मिल्छ। संसारका ‘ग्रेट पावर्स’ को सन्दर्भमा भारतलाई ‘हार्ड पावर’ मान्न मिल्दैन, र विश्वमञ्चमा ऊ कमजोर बन्दै गएको पाइन्छ। तर, नेपाल सहितका छिमेकको सन्दर्भमा भारत ‘हार्ड पावर’ भई प्रस्तुत हुन्छ, उसको अर्थतन्त्रको प्रभाव, सैन्य तागत तथा गुप्तचरीय गतिविधि समेतका कारण।

तुलनात्मक रूपमा सानो अर्थतन्त्र भएको दक्षिण अमेरिकी टापु मुलुक कोस्टारिकाको सौम्य शक्ति भने बृहत् छ। उसको न सेना छ, न अन्तर्राष्ट्रिय मञ्चमा धेरै रवाफिलो प्रस्तुति, तर बौद्धिक उपलब्धि ठूलो छ, नागरिकको जीवनस्तर राम्रो छ। काटमार, वातावरणीय ह्रास, जनताको जीवनस्तरमा अन्तर र यसको कारण हुने सामाजिक विग्रह आदिमा कोस्टारिका ‘दक्षिणी विश्व’ का धेरैजसो मुलुकभन्दा पछाडि छ, र यसै कारण पनि विश्व समाचारमा कोस्टारिका विरलै सुनिन्छ, देखिन्छ। नेपालले सौम्य शक्ति आर्जन गर्ने तरीका कसैबाट सिक्ने हो भने, कोस्टारिका हुनसक्छ। हामी पनि जब जनस्वास्थ्य, वातावरण, शिक्षामा अरूसामु उदाहरणीय बन्छौं, सौम्य शक्तिमान् भएको प्रमाणित हुन्छ।

‘नेम रिकग्निशन्’

आखिर सौम्य शक्तिको फाइदा के, भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। हरेक राष्ट्र-राज्यले आफ्ना नागरिकलाई अमनचैन र उच्च जीवनस्तर दिन चाहन्छ। तर, त्यसका लागि इतिहासकालदेखि नै अन्य मुलुक हमला गर्ने, अधीनस्थ गर्ने, उपनिवेश बनाएर सक्दो दोहन गर्ने जस्ता तरीका अपनाइए। अर्थात्, मुख्यतः अर्काको सम्पत्ति आफ्नो बनाउन कडा शक्तिको प्रयोग हुन्थ्यो, आफ्नो सम्पत्तिको रक्षा गर्दै।

आज पनि विश्वका ‘ग्रेट पावर्स’ को तरीका यही नै हो। यति भन्दै गर्दा यो पक्ष पनि जोड्नैपर्ने हुन्छ, कुनै देशसँग शौर्य शक्ति सहित सौम्य शक्तिको मात्रा पनि उल्लेख्य हुन्छ। जस्तै अमेरिका, जसको आणविक लगायत सैन्य शक्ति विश्वकै प्रभावशाली छ भने अर्थतन्त्र, संस्कृति, बौद्धिक स्रोत आदि पनि उत्तिकै अब्बल छन्।

राष्ट्रिय ध्वजाले नेपालको उत्कृष्ट उत्पत्तिबारे संसारलाई बताउँछ।

भारतको भने सैनिक प्रभाव कम छ, तर बलिउड, सङ्गीत उद्योग तथा आईआईटी र आईआईएम जस्ता उच्च शिक्षाका केन्द्र जस्ता सौम्य शक्तिका अनेक स्रोत छन्। शास्त्रीय सङ्गीत, महात्मा गान्धीको लेगेसी, यी वास्तवमा दक्षिणएशियाली सम्पदा हुन्, तर आज यसको फाइदा मुख्यतः भारतलाई भएको छ।

सैनिक प्रभाव प्रक्षेपण गर्न नसक्ने या नचाहने देशले भौतिक, आर्थिक, सांस्कृतिक उचाइमा पुग्ने बाटो सौम्य शक्तिको परिचालन हो। यसले गर्दा नागरिक आम्दानी, देशको स्वाभिमान चुलिएर संसारले हेर्ने आँखा फेरिने मात्र होइन, विदेशी लगानीको सम्भावना विस्तार हुन्छ, मुलुकको बौद्धिक पूँजी बढ्दछ, प्रतिव्यक्ति आय बढ्दछ।

संसारका १९३ मुलुकहरू सबैको आआफ्ना विशेषता छन्, तर ठूला भूभाग र जनसङ्ख्या भएका बाहेक अरू मुलुकलाई ती विशेषताले चिनिहाल्ने सम्भावना कम हुन्छ। केही टापु होलान्, कतै मरुभूमि होला, कतै पहाड-उपत्यका। नेपालको भने झ्वाट्टै नचिनिने अवस्था छैन। तुलनात्मक हिसाबले यही हाराहारीको क्षेत्रफल र जनसङ्ख्याका मुलुकभन्दा नेपाललाई तत्कालै चिन्ने गरेको यहाँको भूगोल, इतिहास र संस्कृतिले हो।

बुद्ध जन्मेको देश, हिमाली बौद्धधर्मीको थलो, रमणीय कान्तिपुर नगरी र राजधानी उपत्यकाको अलौकिक संस्कृति (मूर्तिकला, वास्तुकला, शहरी बसोबास), गोर्खाली सिपाही, शेर्पा पर्वतारोही, हिमाली श्रृङ्खला (खासगरी सगरमाथा, अन्नपूर्ण, धौलागिरि आदि)ले नेपाल ‘यूनिक सेलिङ प्रोपोजिशन्’ (‘युएस्पी’) भएको देश भनेर संसारभरि प्रख्यात छँदै छ। यो ‘तत्काल पहिचान’ (‘इन्स्ट्यान्ट रेकग्निशन्’) सौम्य शक्तिको शुरूआती पाटो हो।

संसारकै ‘अनौठो’  झण्डा नेपालको छ, जो पनि इतिहासको सौगात हो। यो दुई त्रिकोणात्मक ध्वजाले विदेशीमा नेपालबारे कौतूहल जगाउँछ, र नेपालको विशिष्ट उत्पत्तिलाई सङ्केत गर्दछ।

भूगोल आफैंले नेपाललाई कुनै वेला सफल देश बनाउन सम्भव तुल्याएको छ, जबकि आफ्नै शासकीय हेल्चेक्र्याइँका कारण नेपाललाई कतिपयले असफल राष्ट्र-राज्य भन्न रुचाउने गरेका छन्। हिजोआजको राजनीतिक यात्राले पनि त्यही रसातलतिर डोर्‍याउला भन्ने डर छ।

भूगोलको कुरा गर्दा एशियाका दुई विशाल राष्ट्रबीच रहेको नेपालको अवस्थिति चाखलाग्दो छ। परिवहन र पूर्वाधार विकासका कारण हिमाली श्रृङ्खला आवतजावत, ढुवानी र व्यापारको लागि तगारो बनेन। दक्षिणएशियाका मुलुक तथा चीन पूर्वी एशियाबीच सेतु बन्न सक्ने भएकाले चुस्त कूटनीति गर्दा नेपालको अन्तर्राष्ट्रिय ओज र आम्दानी दुवैमा फाइदा हुनेछ।

भूगर्भविद् टोनी हागनले नौ वर्षमा नेपालमा गरेको पदयात्रा मार्ग। स्रोतः हागनको पुस्तक ‘नेपाल- द किङ्डम इन द हिमालय’।

नेपाली भूगोलको सिमानाले आफ्नै विशिष्ट कथा बोल्दछ। अन्य दक्षिणएशियाली मुलुकहरूका सिमाना उपनिवेश त्यागेर जाने बेलायती शासकले कोरिदिएका थिए भने नेपालको सिमाना ऐतिहासिक उत्पत्तिको उपज हो। उपनिवेश नबन्नु, संसारकै पुरानो राष्ट्र-राज्य हुनु तथा आजसम्मको शासन निरन्तरताले पनि अरू देशले नपाएको जग नेपालको छ, नेपाली सङ्कथनमा यो पाटोको धेरै चर्चा हुँदैन।

वेस्टफेलिया सन्धिले यूरोपमा राष्ट्र निर्माण हुन थालेको वेला नेपाल एकीकरण भएको हो, यसै कारण नेपाल दक्षिणएशियाका अन्य देश (जो सन् १९४७, १९४८ र १९७१ मा स्थापना भए) भन्दा केही गुणाले पुरानो ‘राष्ट्र-राज्य’ हो। राज्यको जग बलियो भएकै कारण नेपालको राजनीतिमा उग्र उतारचढाव हुँदा पनि राज्य स्थिर छ। यो राज्य-स्थिरताले नेपालको सौम्य शक्ति प्रबल बनाउँछ।

विविधताको पूँजी

हिमाली श्रृङ्खलाको आधा भाग ओगटेको नेपालको बहुआयामिक चरित्र यहाँको जैविक, मानव, वातावरण र हावापानीको विविधताले पनि दर्शाउँछ। समथरको ‘ट्रपिकल’ देखि हिमालको ‘आर्कटिक्’ जलवायु र यस सम्बन्धी ‘इकोलोजी’ यहाँ पाइन्छ भने उचाइ (अल्टिट्यूड) तथा पूर्व-पश्चिम फैलावटले वन्यजन्तु, चराचुरुङ्गी, कीरा-फट्याङ्ग्रा, बोट-बुट्यानको विविधतामा नेपाल विश्वकै अग्रणी स्थानमा पर्दछ।

सन् १९६० मा प्रधानमन्त्री बीपी कोइराला र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग टोनी हागन (बायाँ)। नौ वर्षमा नेपालको हजारौं किलोमिटर पदयात्रा गरेर भूगर्भविद् टोनी हागनले नेपाललाई संसारसामु चिनाए।

नेपालमा विशेष गरी पहाड-हिमालमा मानव विविधता पनि संसारकै उत्कृष्ट छ, जसका कारण धेरै पश्चिमा मानवशास्त्री राणाशासन अन्त्यपछि यहीं झुम्मिए। यो विविधताको पनि कारण छ। मानव बसोबासको क्रममा नदीनालाले छुट्याइएका समुदायहरूले आफ्नै भाषा, पहिरन, खानपिन, रीतिरिवाज, संस्कृति जन्माए र जगेर्ना गरे।

अधिकांश भूभागमा आधुनिक फलामे पुल बन्नु अघि नेपालका पहाडी बस्तीको अस्तित्व अलग-अलग भएकाले सांस्कृतिक विविधता हुर्कियो, जो आज नेपाल राष्ट्र-राज्यको पूँजी हो, र जुन भाषिक, सांस्कृतिक विविधता बचाइराख्नु हाम्रो कर्तव्य हो। प्रख्यात मानवशास्त्री मार्गरेट मिडले दक्षिण प्रशान्त महासागरमा धेरै अध्ययन गर्नुको कारण त्यहाँका अनगिन्ती टापुमा पलाएका विविध संस्कृति थियो, यसैगरी नेपालको मानव विविधता विश्वमै उत्कृष्ट छ, दक्षिण प्रशान्त जस्तै।

स्वतस्फूर्त पर्यटनको थलो नेपालमा संसारका यात्रुलाई आकर्षण गर्न धेरै समय खर्चनु पर्दैन। ‘नेपाल’ भन्ने बित्तिकै विदेशीको आँखामा चिनारी या उत्सुकताको चमक देखा परिहाल्छ।

नेपाली मिजास, मुस्कानको मिठास

स्वतस्फूर्त पर्यटनको थलो नेपालमा संसारका यात्रुलाई आकर्षण गर्न धेरै समय खर्चनु पर्दैन। ‘नेपाल’ भन्ने बित्तिकै विदेशीको आँखामा चिनारी या उत्सुकताको चमक देखा परिहाल्छ। यो हाम्रो पूँजी हो, जो गत केही दशकयता युद्धकाल, अन्धाधुन्ध शहरीकरण र ‘एकनासे उत्पत्ति’ ले गर्दा अलि धमिलिएको छ, तर हराएको छैन।

पराईको आँखामा किन यस्तो चमक? पर्यटन क्षेत्रमा त उखान नै बनेको छ, ‘पर्यटकहरू हिमाल भनेर आउँछन्, तर यहाँका बासिन्दासँग चिनजानपछि यहीं टहल्न रुचाउँछन्।’ (‘पिपल कम् फर द माउन्टेन्स्, बट स्टे फर द पिपल।’)

नेपालको ‘टुरिजम् मार्केटिङ’ भएकै छैन भने पनि हुन्छ, यो देशको आफ्नै अन्तर्निहित तागतले पर्यटक तानेको हो। यो पनि भन्दा हुन्छ, नेपालको पर्यटकीय सम्भावना यहाँकै कतिपय पर्यटन व्यवसायीले बुझेका छैनन्। उदाहरणको लागि हिमाल चिन्ने कुरा गरौं, पर्यटन शुरू भएको दशकौं भइसक्दा पनि हामीलाई हिमाली टाकुराहरू चिन्न हम्मे पर्छ- माछापुच्छ्रे, आमाडब्लाम र सगरमाथा बाहेक कुन हो मकालु, धौलागिरि, हिमालचुली, मनास्लु? अन्य होचा टाकुराहरूको त कुरै छाडौं!

नेपालको स्वतस्फूर्त आकर्षण शुरूमा हिमाल-पहाड भए पनि वास्तवमा यहाँका बासिन्दा हुन् भन्ने कथनमा मानवशास्त्रीय तर्क पनि रहेको हामी पाउँछौं। नेपालीको मिलनसारिताको विश्लेषण बौद्धिक जगत्ले गरेको छैन, जबकि नेपालको पर्यटकीय आकर्षण मात्र नभई सौम्य शक्तिको स्रोत यो पनि हो- विश्वले हाम्रो देशको कुरा उठ्दा सम्झ्ने हिमाल, शाक्यमुनि गौतम बुद्ध, जानकी, पशुपतिनाथ, ‘पागोडा’ शैलीका मन्दिर बाहेक मुख्यतः नेपाली अनुहारको मुस्कान हो।

जब सन् ७० को दशकमा यूरोपबाट मोटरबाटो हुँदै पर्यटकहरू इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपाल आए, उनीहरू किन यहाँबाट अगाडि बढेनन्, किन आ-आफ्नो भ्यान र गाडी बेचेर यतै टहलिन रुचाए? त्यसको प्रमुख कारण नेपालीले देखाउने आत्मीयता नै हो।

काठमाडौंको गौरीघाटस्थित बागमती किनारमा छठ पर्व मनाइँदै। तस्वीर : मोनिका देउपाला

नेपाली मानवको ‘जिन’ मा मिलनसारिताको विशेष तत्त्व त छैन नै। मानवशास्त्रले भन्न सक्ने कुरा यो हो- नेपाली भूभागमा धेरै समुदायको ऐतिहासिक उत्पत्ति रहेको कुरा माथि भनियो, तर आर्थिक र सामाजिक जीवनयापन गर्न यी समुदायहरू एकआपसमा हेलमेल गर्नुपर्ने भयो, जसले गर्दा नेपालीको सामाजिक चरित्रको विकास भयो, त्यो हो ‘अरू’ (‘दि अदर’) प्रतिको खुलापन। दलित गाउँ, राई गाउँ, मगर गाउँ, बाहुन गाउँ, क्षेत्री गाउँ अलग-अलग रहे पनि मेलापात होस् वा पर्व र हाटबजारमा, एकअर्काको सहयोग लिने र सरसङ्गत गर्ने अवसर छँदै थियो।

जीवनयापनका लागि समुदाय-समुदायबीच सम्पर्क र सहकार्य अपरिहार्य भयो। यस्तो गर्दा नै नेपाली मिलनसारिताको जन्म भयो, जो ‘ट्रेकिङ’ गर्ने पर्यटकतर्फ पनि प्रेषित भयो। संसारभरि ‘उद्योग’ बनिसकेको पर्यटन व्यवसायको अनुभव बोकेका विश्व पर्यटकहरूलाई नेपाल प्रेमिल अनुभव हुनपुग्यो। यो सांस्कृतिक उदारता अझै हराएको छैन, संसारको मानसपटलमा नेपाली हँसिलो अनुहार, मिजासिलो व्यवहार कायमै छ।

राष्ट्रिय-अन्तर्राष्ट्रिय लेखन

कुनै पनि मुलुक, समाज या सभ्यताबारे ऐतिहासिक दस्तावेज जति बाहिर ल्यायो, उति नै त्यो ठाउँको सांस्कृतिक प्रभाव बढ्दछ। नेपालका इतिहासकालीन पूर्वजले दस्तावेजीकरणको महत्त्व बुझेका कारण ठ्यासफू, ताडपत्र, ताम्रपत्र, शिलालेखमा लिखत छाडेर गए। आज धेरै दस्तावेजलाई जानी नजानी नयाँ पिंढीले बुइँगल सफा गर्दा रछ्यानमा समेत मिल्काउने गरेकाले पनि हामीले आफ्नै अस्तित्व र शक्ति पहिचान गर्न नसकेका हौं कि जस्तो लाग्ने।

गएको ६ भदौमा अफ्रिकाको सबैभन्दा अग्लो तान्जानियास्थित किलिमन्जारो
पर्वत (५८९५ मिटर) चढ्ने नयाँ मार्ग खोल्ने दलको नेतृत्व गरेका नेपालका
आरोही दावा स्टिभन शेर्पा (सबैभन्दा दायाँ)। तस्वीर सौजन्यः दावा स्टिभन शेर्पा

कुनै पनि समाजको ऐतिहासिक लिखत पनि उसको सौम्य शक्तिको पाटो हो। यस निम्ति जति धेरै पुरानो लिपि पढ्ने विशेषज्ञ, विभिन्न कालखण्डका विशेषज्ञ, इतिहासविद्, कागजात संरक्षण गर्ने अभिलेखनकर्मी अगाडि बढ्दछन्, देशका लागि उति नै लाभ। आफ्नो सौम्य शक्ति बुझ्न आफ्नो अभिलेखबारे ज्ञान राख्नुपर्छ, थारू समुदायका ठालुहरूले सेन राजाबाट पाएको लालमोहर होस्, सडकछेउ सुरक्षा विना राखिएको शिलालेख होस् वा हिमाली गुम्बामा रहेका प्राचीन ग्रन्थ।

विदेशीको सङ्कलन र लेखनले पनि नेपालको सौम्य शक्ति पहिचानमा मद्दत गर्छ। दुई शताब्दी अघि बेलायती रेजिडेन्टका रूपमा नेपाल आएका ब्रायन हाउटन हज्सन्ले नेपालबारे अनेक विधामा ठूलो सङ्कलन गरेका छन्, जो आज कोलकाता, पेरिस र लन्डनका सङ्ग्रहालयमा छन्। त्यो ज्ञानको भण्डार एकीकृत गरेर नेपाल ल्याउने हो भने नेपाली इतिहास र जनमानसको पत्र-पत्र बुझ्न सजिलो हुन्थ्यो।

वीर पुस्तकालयमा रहेको सयौं वर्ष पुरानो चर्या विधा सम्बन्धी ग्रन्थले बङ्गालीहरूलाई आफ्नो संस्कृति उजागर गर्न सहयोग पुगेको छ। पाटनका वज्राचार्य अमृतानन्दले हज्सन्लाई दिएका कागजातले युरोपेली समाजलाई पहिलो पल्ट बौद्धमार्गी चिन्तनबारे बुझायो।

आधुनिक युगमा आइपुग्दा नेपालमा विदेशी पर्वतारोही ओइरिए, जसले नेपालको हिमाल चढाइबारे मात्र होइन, यहाँको रहनसहन, बसोबासबारे पनि लेखे। जस्तैः एच डब्लू टिल्म्यान, एडमन्ड हिलरी, मरिस् हर्जग, एरिक शिप्टन। यिनीहरूका हिमाली साहित्यले पनि नेपालको बुझाइ फराकिलो पार्न सहयोग गरेको छ।

समाजशास्त्रीको कुरा गर्दा फ्रेडरिक गेजको तराईबारे लेखन, टोनी हागनको नेपालभरिको अनुसन्धान र विवेचना, आधा शताब्दीको दौरानमा अन्य मुलुक/समाजबारे शताब्दीऔंको अवधिमा नलेखिएका दस्तावेज पश्चिमा समाजशास्त्रीले नेपाली समाजबारे लेखे, बखान गरे। प्रधानमन्त्री हुँदा २०१६ सालमा बीपी कोइरालाले लेखेकै छन् कि उनलाई नेपालको फराकिलोपन चिनाउने काम टोनी हागनका लेखन र फोटोग्राफीले गरे। नेपाली संस्कृतिप्रेमी समाजशास्त्री टेड रिकार्डीको कुरा गरौं- उनी नेपाली भाषासँग लालायित थिए, यसको जस्तो मिठास अन्य दक्षिण एशियाली भाषामा पाइँदैन भन्थे, र उदाहरणका लागि ‘ब्यारे’ र ‘क्यारे’ को अर्थ छुट्याउनुस् भन्दै मुस्कुराउँथे।

दक्षिणएशियामै खुला समाज (राष्ट्रव्यापी तवरमा) नेपालमै छ, जुन खुलापनको गहिराइ पाकिस्तान, बाङ्लादेशका महिला या उत्तरभारतबाट काठमाडौं आएका महिलाको प्रतिक्रियामा देखा पर्छ। अन्यत्र जस्तो बन्देज यहाँ नहुँदा तिनीहरू यहाँ औधी रमाउँछन्।

नेपालीले नेपालको बारेमा जान्नुपर्ने कतिपय कुरा छन्। जस्तै, आधुनिक अङ्ग्रेजीमा ‘ट्रेकिङ’ शब्द छिरेको सन् ६० को दशकमा नेपाल मार्फत हो। जब यहाँ पर्यटक आवागमन खुला भएर पदयात्रीहरू ग्रामीण गोरेटोमा डाँडाकाँडा घुम्न थाले, जिमी रबर्टस् र उनका पर्यटक साथीहरूलाई लाग्यो, यो खालको पदयात्राको लागि अङ्ग्रेजी भाषामा शब्दै छैन। ‘हाइकिङ’ ‘वाकिङ’ या ‘क्याम्पिङ’ ले अर्थ दिएनन्। अनि उनीहरूले डच र अफ्रिकी भाषाको ‘ट्रेक’ शब्दलाई ‘गाउँले गोरेटोमा पदयात्रा’ जनाउने गरी प्रयोगमा ल्याए, र आज ‘ट्रेकिङ’ विश्वभर पहाडी पदयात्रा भनेर चिनाउने शब्द भइसक्यो।

हाम्रो स्व-पहिचान यो माटोकै इतिहास र संस्कृतिले दिए मुताबिक हुने हो भने देश भित्र र बाहिरका लेखन र दस्तावेज हामी आफैंले चिन्नुपर्दछ। यसरी बुझेपछि एक त आफ्नो थलो प्रति हल्का राष्ट्रवाद नभई गहिरो आदरभाव प्रकट हुन्छ, साथै विश्वसामु आफ्नो प्रस्तुति रवाफिलो हुन्छ।

इतिहासको सौगात

नेपालभन्दा ठूला राज्यहरू दक्षिणएशियाका नयाँ राष्ट्र-राज्य भारत र पाकिस्तानमा विलीन भए, नेपाल भने स्वतन्त्र रहिरह्यो। तर, यो स्वतन्त्रता कसरी मजबूत रह्यो भन्ने बारे हल्काफुल्का कुरा मात्र भन्ने गरिन्छ, माथिको हिमालय र तलको औल जङ्गलले नेपाललाई सार्वभौम बन्न सघायो भनेर। त्यो कुरा एक हदसम्म सही हो, तर विगतमा शासक र जनताको के योगदान थियो भन्ने पनि बुझ्नुपर्छ।

यहाँ सन् १९५० को सन्धिको बारम्बार चर्चा गरिन्छ, विरोध गरिन्छ, तर चन्द्रशमशेर प्रधानमन्त्री भएको बखत नेपाल र बेलायत सरकारबीच भएको सम्झौता २१ डिसेम्बर १९२३ को बखान हुँदैन, जबकि नेपाललाई आधुनिक युगमा बेलायत उपनिवेशबाट अलग बनाउने दस्तावेज थियो त्यो। जब सन् १९२३ को सन्धिबारे नेपाली नागरिक बेखबर हुन्छ, जब यसबारे स्कूल कलेजमा पढाइ हुँदैन, नेपाली इतिहासको केन्द्रीय भागमा रहेको यो र यस्ता महत्वपूर्ण दस्तावेज/घटनाबारे बुझेर ज्ञान आर्जन गर्ने र आत्मबल बढाउने काम कसरी होला?

इतिहास भनेपछि एक त जनताको इतिहास बुझ्ने कोशिश पर्याप्त छैन, अर्को नेपाली इतिहासको विविध पक्ष जसले आजको राष्ट्र–राज्यलाई आकार दिन्छ, त्यसको चर्चा छैन, सिंजा राज्यको फैलावट होस् वा सिम्रौनगढको उत्पत्ति। गौतम बुद्ध ऐतिहासिक पात्र भएको कारण पनि वर्तमान नेपालको भूभागको इतिहासलाई यो तथ्यले बल दिन्छ। तर, ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्दा एक खुड्किला उक्लेर बुद्ध दर्शनलाई आत्मसात् गरी त्यसै अनुरूपको राज्य र समाज निर्माण गर्न कोशिश गर्ने हो भने नेपाललाई अर्कै तहको उचाइमा पुर्‍याउनेछ।

तिलौराकोट/कपिलवस्तुमा भइरहेको पुरातात्विक उत्खननले बुद्धको समयको खरको छाना, माटोका भित्ता देखाउँदै छः त्यहाँ छैन सङ्गमर्मर छापेको दरबार र ठूला-ठूला गुम्बज। यस्तो सूचनाले नेपाली इतिहासलाई हलुका होइन झनै वजनदार बनाउँछ।

तिलौराकोट/कपिलवस्तुमा भइरहेको पुरातात्विक उत्खननले बुद्धको समयको खरको छाना, माटोका भित्ता देखाउँदै छः त्यहाँ छैन सङ्गमर्मर छापेको दरबार र ठूला-ठूला गुम्बज। यस्तो सूचनाले नेपाली इतिहासलाई हलुका होइन झनै वजनदार बनाउँछ।

इतिहासबाट प्रागैतिहासिककालमा जाने हो भने पनि नेपाली नागरिकलाई आफ्नो भूभाग अझै गहिरिएर नियाल्न कर लाग्दछ। डच भाषाशास्त्री र शोधकर्ता जर्ज भ्यान् ड्रिमको सुझाव छ, पूरै एशिया र उत्तर/दक्षिणएशियामा मानव जातिको फैलावट नेपाली भूभागको बाटो गरी भएको हुनुपर्छ। जब आधुनिक मानवको उत्पत्ति भयो, ७५ हजार वर्ष अघि अफ्रिकाको रिफ्ट भ्यालीमा एउटा सानो बसाइँसराइको हाँगा उत्तर यूरोपतिर लाग्यो भने ठूलो हाँगा पूर्व लाग्यो।

‘लिटिल आइस् एज’ को समय भएकाले बसाइँसराइ तिब्बत र मङ्गोलिया भएर फैलिन सकेन। भ्यान् ड्रिमको आकलनमा चुरे/शिवालिकको बाटो गरी मानव लस्कर हजारौं वर्षको दौरानमा बह्मपुत्र नदी पुग्यो र त्यहाँबाट पूरै एशिया प्रशान्त क्षेत्र फैलिन पुग्यो।

प्रागैतिहासिककालको उत्खननमा लागेकी पोलिस अनुसन्धाता गुड्रुन कोरभिनसले दाङ उपत्यकामा उत्खनन शुरू गरेकी थिइन्, तर उनको निधनले यो काम अधुरै छ। यति भन्न सकिन्छ, नेपाल भूभागको इतिहास शायद मानव उत्पत्तिकाल र यससँग सम्बन्धित बसाइँसराइसँग साइनो राख्दछ। लिच्छविकाल हुँदै मल्लकाल, शाह-राणाकालमा सीमित नेपाली इतिहासका पाटाहरू धेरै फराकिला छन्। प्राप्त इतिहासकै आधारमा पनि नेपाली प्रभाव कति फैलिएको थियो, हेर्न सक्छौंः मच्छिन्द्रनाथ (बुङ्ग द्योः)को असम (कामरूप)सँग सम्बन्ध, पशुपतिनाथको कर्णाटकसँग र तेलङ्गानाका मानिस उपत्यकाका राज्यहरूका लागि सिपाही बनेर आउने प्रसङ्ग।

१० कात्तिक २०७० मा प्रकाशित हिमाल खबरपत्रिकाको आवरण।

नेपाल बेयुल

नेपालीले आफ्नो विगतलाई जतिसुकै नदेखे पनि वा चासो नदिए पनि यो इतिहासले हामीलाई आज र भोलिको जीवनयापन र आर्थिक उन्नतिको लागि क्षमता दिएको छ। नेपालको ऐतिहासिक उत्पत्तिले हामीलाई वास्तवमै असंलग्न राष्ट्र बनाइदियो, जबकि धेरै मुलुकको असंलग्नता देखावटी मात्र रहिआएको छ। निसन्देह दक्षिणएशियामा नेपाल सबैभन्दा बढी तटस्थ देश हो, जुन कारण पनि दक्षिणएशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को मुख्यालय यहीं छ।

ऐतिहासिक उत्पत्तिका कारण दक्षिण भारतसँग नेपालको खुला सिमाना छ। यसको नियमन गर्ने कुरा जायज छ, तर खुला सिमानाले नेपालीलाई कति सहुलियत दिएको छ भन्ने कुरा बेवास्ता गर्ने गरिन्छ। पाकिस्तानी र बाङ्लादेशीहरू नेपाली नागरिकलाई हेरेर लालायित हुने गर्छन्, जो बृहत् भारतीय भूभागको जताततै विना भिजा जान सक्दछन्। निश्चय नै भारतीय पनि विना भिजा नेपाल घुम्न पाउँछन्, तर नेपालीलाई उपलब्ध भूभाग धेरै गुणा ठूलो हो।

भिजाको कुरा गर्दा नेपालको अध्यागमन– आगमन ‘रेजिम्’ संसारकै खुकुलो हुनु पनि इतिहासले हामीलाई सुम्पिएको सौगात हो। यसको अर्थ संसारका अधिकांश मुलुकवासीले नेपालमा ‘भिजा अन अराइभल’ पाउँछन्। यस्तो खुला मुलुकको बासिन्दा हुनुमा एकातिर गर्व छ भने, यसबाट हुने फाइदा उत्तिकै छ।

दक्षिणएशियामै खुला समाज (राष्ट्रव्यापी तवरमा) नेपालमै छ, जुन खुलापनको गहिराइ पाकिस्तान, बाङ्लादेशका महिला या उत्तरभारतबाट काठमाडौं आएका महिलाको प्रतिक्रियामा देखा पर्छ। अन्यत्र जस्तो बन्देज यहाँ नहुँदा तिनीहरू यहाँ औधी रमाउँछन्।

नेपालमा अन्तर्राष्ट्रिय स्तरका पर्याप्त सभा-सेमिनार हल नहुँदा पनि यहाँ जति भेला, गोष्ठी हुन्छन्, त्यो यही खुला भिजा रेजिम्को कारण हो। यसरी नेपालको खुलापनका कारण आर्थिक सम्भावना पनि धेरै छ। यसले नेपाली सौम्य शक्तिलाई टेवा दिने हुनाले खुला समाजलाई विभिन्न तरीकाले बन्द समाज बनाउने प्रपञ्च विरुद्ध पहरेदारी गर्न जरुरी छ।

जलवायु सड्ढटबारे ‘सगरमाथा संवाद’ कार्यक्रम गरी नेपालको
तर्फबाट सचेत गराउने चेष्टा सरकार परिवर्तनसँगै पन्छाइएको छ।

माल पाएर चाल नपाएको प्रसङ्ग गत सरकारले अगाडि ल्याएको प्रस्तावित ‘सगरमाथा संवाद’ अन्तर्राष्ट्रिय गोष्ठीबाट प्रष्ट हुन्छ। संसारकै जलवायु परिवर्तनबारे चासो जगाउन नेपालको अनुभवले धेरै काम गर्छ भनी संवादको योजना भयो। तर, सरकार फेरबदल लगत्तै यो योजनालाई सम्झउने कोही भएन। ‘सगरमाथा संवाद’ त सरकारी निरन्तरताको सिद्धान्त अनुसार नयाँ सरकारले आयोजना गर्नुपर्थ्यो, तर संसारसामु आफ्नो क्षमता नबुझेपछि के लाग्छ, नेतागणले होस् वा नागरिक समाजले।

आफ्नो मुलुकको शान्तिपूर्ण प्रभाव हामी आफैंले बुझ्नुपरेको छ। यसका लागि संसारका अन्य मुलुकको तुलना नेपालसँग गर्नुपरेको छ- ‘तत्काल पहिचान’ (‘इन्स्टेन्ट रेकग्निशन्’) देखि ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, आर्थिक कारणले नेपालमा अन्तर्निहित सौम्य शक्ति। फेरि यो सौम्य शक्ति निर्क्योल मात्र गर्ने, यसलाई परिचालन नगर्ने हो भने सम्भावना हुन्छ, हात केही पर्दैन।

आफ्नो मुलुक र समाजको सौम्य शक्ति पहिचान गर्दा एक त नागरिकमा मानसिक सन्तुष्टि र ऊर्जा मिल्दछ, जो चानचुने कुरा होइन। यसका साथै सौम्य शक्ति अनेकन् तरीकाले परिचालन हुँदा अर्थतन्त्र चलायमान हुन्छ, नागरिकको जीवनस्तर उकासिन्छ। यदि नेपाली जनताको मानसिक र आर्थिक स्थिति उचाइमा लैजान सक्दैन भने त्यो सौम्य शक्तिको कुनै अर्थ छैन।

आजसम्म नेपालीले ‘आफ्नो’ भनेर गर्व गर्ने कुरा या त प्रकृति र भूगर्भले दिएको भयो (जस्तै सगरमाथा), या त इतिहासले सुम्पेको (जस्तै लुम्बिनी)। आधुनिक युगमा नेपालीले संसारसामु उदाहरणीय भएर गरेको काम विरलै पाइन्छ, विचार, कृति, कीर्तिमान, अनुसन्धान या अन्य। सौम्य शक्तिको पहिचान गरी, नेपाली खुलापन र लोकतान्त्रिक व्यवस्थालाई सुरक्षित राख्दै नेपालीले दक्षिणएशियाली, एशियाली र विश्व मञ्चमा खँदिलो रवाफका साथ प्रस्तुत हुन ढिला भइसक्यो।

१० कात्तिक २०७० मा साप्ताहिक हिमाल खबरपत्रिकाले आवरण सामग्री पस्किएको थियो, ‘नेपाल बेयुल’ शीर्षक अन्तर्गत। यसै लेखकले तयार पारेको उक्त प्रस्तुतिमा ‘बेयुल’ शब्दको विवेचना गरिएको थियो- तिब्बती पठारबाट कुनै पनि कारण भाग्न बाध्य समुदाय हिमाली धार कटेर नेपाली भूभाग छिर्दा झरना, हरियाली र सुमधुर हावापानीको भेक फेला पारे, भाग्दै गर्दाको स्वर्ग प्राप्ति! यही भावनालाई समेटेर बेलायती उपन्यासकार जेम्स हिल्टन्ले आफ्नो ‘लस्ट होराइजन’ आख्यानमा ‘साङ्ग्रिला’ भनी प्रस्तुत गरे।

तर, नेपालीले मिथ्याको साङ्ग्रिला खोज्दै हिंड्नु नै पर्दैन, हाम्रो पूरै देश नै सौम्य शक्तिले भरपूर एक बेयुल हो। हामी ‘नेपाल बेयुल’ का बासिन्दा हौं, यसको अर्थ बुझ्ने र यसै अनुसार संसारसामु प्रस्तुत हुँदा नै बेयुल बासिन्दाको मानसिक र भौतिक जीवनमा परिवर्तन आउँछ। नेपाल सबैले रुचाउने देश छँदै छ, अब नेपाल हर तरीकाले खँदिलो, सबैले कदर गर्ने र सुन्ने देश बन्नेछ।

(हिमालको २०७८ कात्तिक अंकमा प्रकाशित।)

Post navigation

Previous Post:

बूढो कसलाई भनेको?

Next Post:

खुम्बुका तीन हाँगा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes