Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘स्पाइनल बिटल’ को सफर

December 19, 2022 by admin

हिमाल खबरपत्रिका (३ पुस, २०७९) बाट

स्पाइनल बिटलमा फेरि विदेश घुम्ने इच्छा जागेको छ- यसपालि भारतको दक्षिण कुनामा पर्ने कन्याकुमारी जाऔं कि !

एउटा यन्त्र न हो, कार। यसको ज्यान हुँदैन, तर जीवन हुन्छ। फलामे बडी भएका पुराना कार दशकौं टिक्छन्। आजभोलिका फाइबरग्लास प्रयोग गरिएकाहरू भने धेरै नचली कबाडी बन्छन्। पुराना कार धेरै दगुर्थे पनि, किनकि शहरमा बाटो सीमित भए पनि खुला थिए, जाम थिएन। आजभोलि दशौं लाख पर्ने हाइ-फाई कारले हद भए एक-डेढ घण्टा या ३०-४० किमीभन्दा बढी सफर गर्नै पाउँदैनन्। यस्तो जिन्दगी के जिन्दगी!

मेरो बुबा (कमलमणि दीक्षित)ले सन् १९७३ मा किनेको फोक्सवागन कम्पनीको ‘बिटल’ कार चाहिं साह्रै भाग्यमानी। उसले जिन्दगीमा जति यात्रा गर्‍यो र जे देख्यो, आजका चिल्ला गाडी र तिनका मालिक या चालकले शायद कल्पना समेत गर्न सक्दैनन्। त्यसअघि बुबाको १९६६ मोडल उही फोक्सवागन बिटल थियो, जसमा चढाएर हामी पाँच जनाको परिवारलाई ‘बाइरोडको बाटो’ (त्रिभुवन राजपथ) हुँदै उहाँले भारतको मुजफ्फरपुर मार्फत राजविराज पुर्‍याउनुभएको थियो। त्यो गाडी बेचेर उहाँले हल्का नीलो रङको अलि आधुनिक १९७३ मोडल किन्नुभएको हो।

२०१० साल ताका ‘एनएसयू फक्स’ मोटरसाइकल चढेर मदन पुरस्कारको काममा तथा लेखक-स्रष्टासँग भेटघाट र अन्तर्वार्ता, तस्वीर लिन जाने बुबाले ती काममा अब ‘बिटल’ को प्रयोग गर्न थाल्नुभयो। यसमा शयर गर्दै बुबा राजधानी उपत्यकाको कुनाकन्दरा पुग्नुभयो। यही गाडीमा खिचिएको माथिको तस्वीर मैले धेरै पछि मात्र देखें, ऐतिहासिक। तस्वीरमा बुबा चालक सीटमा, अगाडि गणेशमान सिंह, पछाडि कोचिएर बसेका कृष्णप्रसाद भट्टराई र योगप्रसाद उपाध्याय, चारै प्रसन्न मुद्रामा। पछाडिपट्टि बसेका एक जना भने ठम्याउन सकिएन।

१० वर्ष न्यूयोर्क बसेर नेपाल फर्केपछि मलाई बुबाले यो ‘नीलपरी’ सुम्पिनुभयो। र, शुरू भैगो यसको अन्तर्राष्ट्रिय यात्रा। त्यो मेसो मिल्न म दुर्घटनामा पर्नुपर्‍यो। पदयात्राका क्रममा लमजुङको लिलीभीरमा बाटोबाट चिप्लिएर खसें, ढाड भाँचियो। फलस्वरूप साथीहरूसँग मिलेर ‘स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र’ स्थापना भयो। संस्थालाई पैसा जुटाउन यही बिटल कार काममा आयो।

कमल दीक्षितसँग गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र योगप्रसाद उपाध्याय।

मेरुदण्डमा चोट लाग्नेहरू ग्रामीण भेग र विपन्न पृष्ठभूमिका धेरै हुन्छन्, घाँस काट्दा या भारी बोक्दा लड्ने भएकाले। सरकारले पनि कति अनुदान देओस्! काम र खर्च बढ्दै जाँँदा हाम्रो केन्द्रले पैसा उठाउन अनेकन् उपाय गर्नुपर्‍यो। जसमध्ये यो कारलाई अन्तर्राष्ट्रिय सफरमा पठाएर ‘प्रति किमी’ को दरले देश-विदेशका हितैषीबाट पैसा उठाउने अभियान चलायौं।

त्यसै क्रममा यो बिटल दुई-दुई चोटि काठमाडौंबाट बिर्तामोड, सिलिगुडी, चाङ्ग्राबान्धा र उत्तर बाङ्लादेशको बोगुरा शहर हुँदै ढाका पुग्यो। भारत र बाङ्लादेशको सफरमा यो अनौठो गाडीले नेपालको मौलिक नम्बर प्लेट देखाउँदै जाँदाको ठाँटै अर्कै थियो (जुन मौलिकता इम्बोस्ड नम्बर प्लेटमा रोमन अङ्क र अक्षर राखेर आज मासिने क्रममा छ)।

त्यसपछि त स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रलाई पैसाको दरकार पर्दा यही बिटललाई गुहार्नुपर्ने भयो। २०६८ सालमा फेरि पनि आर्थिक सङ्कट आइपर्‍यो, अनि राष्ट्रपति रामवरण यादवले शीतल निवासमा बिदाइ गरिदिएपछि ‘स्पाइनल बिटल’ भारत र पाकिस्तानतिर लाग्यो।

काठमाडौंबाट सुनौली र गोरखपुर हुँदै स्पाइनल बिटलले लखनउ पुगी शताब्दीऔंअघि शेर शाह सुरी बादशाहले बनाएको (र, पछि बेलायतीले विस्तार र नामकरण गरेको) ‘ग्य्रान्ड ट्रंक रोड’ समात्यो। त्यसबाट आग्रा हुँदै नयाँ दिल्ली पुग्यौं। दिल्लीमा हामीलाई लहोरतर्फको यात्रामा बिदा गर्न आए, नामूद अभिनेता ओम पुरी। र, साथै थिए, भारतीय सेनाका पूर्व मेजर हरिपाल सिंह अहलुवालिया। भारतमा स्पाइनल इन्जुरी पुनःस्थापनाका अगुवा अहलुवालियाले सन् १९६५ मा सगरमाथा समेत आरोहण गरेका थिए।

लहोरतर्फको यात्रामा बिदाइ गर्दै कलाकार ओम पुरी र मेजर हरिपालसिंह अहलुवालिया।

अटारी-वागा सिमाना पार गरी उही ग्य्रान्ड ट्रंक रोडको बाटो हुँदै लहोर पस्यौं, र सम्भवतः एशियाकै पहिलो ‘सुपर हाइवे’ मा गुड्दै पोटोहार पठार उक्लिएर इस्लामाबाद र रावलपिन्डी पुग्यौं।

यसै गरी हामी पञ्जाबबाट खैबर पख्तुनख्वा प्रान्तको पेशावर शहर पुग्यौं। नेपाल-अंग्रेज युद्धका गोर्खाली सेनाका कमान्डर बलभद्र कुँवर नालापानी त्यागेपछि पञ्जाबका राजा रञ्जित सिंहको सेनामा भर्ना भएका थिए, पठानी विद्रोहीहरूसँग लड्ने क्रममा पेशावर नजिकको नौशेरा क्षेत्रमा उनको मृत्यु भयो। पेशावरको गोरखनाथ मन्दिरमा हाम्रो यात्राको अन्त्य भयो। यता, हाम्रो स्पाइनल बिटल नीलपरीले पुनःस्थापना केन्द्रका लागि राम्रै कमाइ गरिसकेको थियो।

हेर्दाहेर्दै काठमाडौं-पेशावर यात्रा गरेको पनि ११ वर्ष भइसकेछ। पुनःस्थापना केन्द्रमा बिरामीको चाप अझै बढेको छ र फेरि रकम जुटाउनुपरेको छ। यता, स्पाइनल बिटलमा फेरि विदेश घुम्ने इच्छा जागेको छ- यसपालि भारतको दक्षिण कुनामा पर्ने कन्याकुमारी जाऔं कि !

(हिमालको २०७९ पुस अंकबाट।)

Post navigation

Previous Post:

नाकाबन्दीपछि पछि हटेका भारतीय जासुसी संयन्त्र फेरि सल्बलाउन थाले : कनकमणि दीक्षित (अन्तर्वार्ता)

Next Post:

वनमाराले वन मासेकै हो?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes