Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘स्वास्थ्य क्षेत्र सुधारिए नेपाल अन्तर्राष्ट्रिय चिकित्सा केन्द्र बन्न सक्छ’

July 4, 2022 by admin

हिमाल खबरपत्रिका (१६ असार, २०७९) बाट 

‘मुटु र फोक्सोको प्रत्यारोपण गर्नुपर्ने ९० प्रतिशतले शुल्क धान्न सक्दैनन्। उनीहरू अस्पतालबाट गएको केही साता या महीनामै मर्दै छन् भन्ने थाहा हुन्छ, तर म केही गर्नै सक्दिनँ। त्यस्तो वेला मलाई निदाउन गाह्रो हुन्छ।’

सन् २०१४ अक्टोबरमा मृतकको शरीरबाट चल्न छाडिसकेको मुटु झिकेर अर्को व्यक्तिमा गरिएको प्रत्यारोपण सफल भएको समाचार आयो। अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट्स अस्पतालमा यो प्रत्यारोपणको नेतृत्व नेपाली चिकित्सक डा. कुमुद धितालले गरेका थिए।

पिता विष्णुप्रसाद धितालको सरुवासँगै नेपाल, बेलायत र इटाली जस्ता देशमा अध्ययन गरेका उनी मुटु र फोक्सो प्रत्यारोपण शल्यचिकित्सकका रूपमा प्रख्यात छन्। उनी आफ्नो विशेषज्ञता नेपालमा पनि प्रयोग गर्न चाहन्छन्। अहिले भारत, ब्याङ्लोरको स्पर्श अस्पतालमा कार्यरत धितालसँग कनकमणि दीक्षितले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंको बुझाइमा आजका दिन नेपालको चिकित्सा क्षेत्र कुन स्तरको छ?

म विद्यार्थी छँदा वेलावेला काठमाडौं आउँथें। त्यति वेलाभन्दा अहिले धेरै सप्रिएको छ, तर चिकित्सा क्षेत्रमा पारदर्शिता भने छैन। जथाभावी अस्पताल, रिसर्च सेन्टर भनिने संस्था खुलेका छन्। तर, त्यहाँ खास के भइरहेछ, मानिस कति र कसरी मरिरहेछन्, कतिको उपचार सफल भएको छ, पूर्वाधार, जनशक्ति र उपचारको मापदण्ड कस्तो छ, कुनै जानकारी छैन। नियामक निकायले राम्रोसँग नहेर्दा राम्रो काम गर्नेले पनि प्रशंसा पाएका छैनन्।

स्वास्थ्यमा निजी क्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धा बढ्दा चिकित्सक र बिरामीको सम्बन्ध राम्रो हुन सकेको छैन। उपचार, शुल्क जस्ता विषयमा हुने खटपटले विश्वासको वातावरण भत्किएको छ। भारतमा दिनदिनै नेपाली बिरामी भेट्छु। कतिपय चिकित्सकले नेपालकै अर्को चिकित्सककहाँ भन्दा बिरामीलाई विदेशै रेफर गरिदिन्छन्। त्यसैमा फाइदा देखेका छन्।

नेपालमा धेरै राम्रा चिकित्सक छन्, कतिपय अस्पताल पनि राम्रा छन्। तर, प्रणालीप्रति विश्वास नभएकैले नेपालमै हुने उपचारका लागि समेत धेरै नेपाली विदेश गइरहेछन्। यसरी नेपालमा राम्रा अस्पताल र चिकित्सक नरहेको सन्देश अन्यत्र पुग्छ। पैसा पनि बाहिरिन्छ। यो कुरा पनि सम्झैं, राज्यले पूर्वाधारमा लगानी गरे हाम्रो देश चिकित्सा पर्यटनको केन्द्र बन्न सक्छ।

चिकित्सा पर्यटनको केन्द्र बन्न पहिले सबै नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्ने होइन र?

नेपाल जस्तो देशमा ‘पाराडाइम सिफ्ट’ गर्नुपर्छ, र ‘लिपफ्रग’ गर्नुपर्छ चिकित्सा क्षेत्रमा। अहिलेको तरीकाले कहीं पुगिँदैन। विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको बिरामी-चिकित्सक अनुपात हाम्रोमा मिल्दैन। सरकारले संरक्षण नगर्दा धेरै चिकित्सक विदेशमा काम गर्न जान्छन्। स्वास्थ्य प्रणालीले त्यस्ता चिकित्सकलाई रोक्न सक्नुपर्छ। ‘लिपफ्रग’ अर्थात् छलाङ नगरीकन देश अगाडि बढ्न सक्दैन।

हाम्रो चिकित्सा सेवा उच्च स्तरको हुने बित्तिकै ‘मेडिकल टुरिज्म’ पनि शुरू भइहाल्छ, किनकि नेपालको हावापानी, नेपालीको मिलनसार व्यक्तित्व त हामीसँग छँदै छ। तर, जनतालाई राम्रो चिकित्सा सेवा नदिने र टुप्पोमा विदेशीलाई मात्र राम्रो सेवा दिने प्रणाली सफल हुन सक्दैन।

चिकित्सा क्षेत्रमा ‘लिपफ्रग’ भन्नाले के बुझिन्छ?

यसको अर्थ हो, हामी गरीब देश, हाम्रो अवस्था सुधार्ने बिस्तारै बिस्तारै हो, पहिला छिमेकी मुलुकको अवस्थामा पुगौं भनेर हुँदैन। एकैचोटि छलाङ मार्ने हो, र गर्न पनि सकिन्छ। हामीकहाँ विभिन्न स्वास्थ्य सूचक सुधारिएको भनिए पनि अरू देशको तुलनामा दयनीय स्थिति छ। राज्यले सानो उद्देश्य राखेर यस्ता सूचक सुधार्न सम्भव छैन।

केही वर्षभित्रै हामी यस्तो स्थितिमा पुग्छौं कि पूर्वाधार अभाव, सञ्चार असुविधा र भौगोलिक अवरोधले काम गर्न सकेनौं भनेर छूट कसैले दिँदैन। समस्या सम्हाल्ने पहिलो तरीका त प्रतिभावान् युवा देशमै टिकाउनु हो। अहिले २० देखि ३५ वर्षका झण्डै ६० प्रतिशत युवा बाहिर छन्। राज्य नै व्यापार जसरी चलाएपछि कसरी हुन्छ?

राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा देखिएको भाँडभैलो चिकित्सा क्षेत्रमा पनि फैलिन्छ भन्न खोज्नुभएको हो?

हामीले स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच बनाउनुपर्छ। निःशुल्क सेवाको सट्टा बरु थोरै रकम तिर्नुपर्ने होस्, तर पहुँच-वितरण समान हुनुपर्छ। स्वास्थ्यको संरचना भ्रष्टाचारमुक्त हुनैपर्छ। त्यसै गरी हरेक अस्पतालमा रजिस्ट्री राखिनुपर्छ र मेडिकल अडिट हुनुपर्छ। स्वास्थ्य मन्त्रालयले सबै अस्पतालको स्वास्थ्य सेवाको मेट्रिक्स (सूचना) लिनुपर्छ। जस्तै- त्यहाँको सङ्क्रमणदर, मृत्युदर अनि उपचारको सफलतादर।

कुन अस्पतालको सूचक कस्तो छ भन्ने अहिले अभिलेख नै छैन। जबकि, अन्यत्र यस्ता तथ्याङ्क राख्नु आधारभूत कुरा मानिन्छ। सम्बद्ध अस्पतालमा सङ्क्रमणदर र मृत्युदर के-कस्तो छ, विभिन्न शल्यक्रिया र उपचारको नतीजा के छ, थाहा पाउनु बृहत् समाज र सेवाग्राहीको अधिकार हो।

निजी अस्पतालले बिरामीबाट पैसा कमाउन खोज्छ नै। त्यस्तोमा खर्च धान्न नसक्ने बिरामी आउँदा चिकित्सकलाई नैतिक सड्ढट पर्छ कि पर्दैन? तपाईंको अनुभव कस्तो छ?

एकदमै गाह्रो छ। म मुटु र फोक्सोको सर्जरी गर्छु। त्यसमा पनि प्रत्यारोपणमा केन्द्रित छु। प्रत्यारोपण गर्नुपर्ने ९० प्रतिशतले त्यसको शुल्क धान्न सक्दैनन्। तिनमा भर्खरका युवा पनि हुन्छन्। उनीहरू अस्पतालबाट गएको केही साता या महीनामै मर्दै छन् भन्ने थाहा हुन्छ, तर म केही गर्नै सक्दिनँ। त्यस्तो वेला मलाई निदाउन गाह्रो हुन्छ। नेपाल र भारत जस्ता देशमा यस्तो हुनुको कारण सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीमा लगानी नगर्नु हो।

अहिले पनि नेपालमै डाक्टरी तथा नर्सिङ पढ्न चाहनेले काठमाडौं या अन्य ठूला शहर धाउनुपर्छ। धेरै शुल्क तिर्नुपर्छ। तर, त्यस अनुसार पारिश्रमिक हुँदैन। त्यसैले उनीहरू अमेरिका तथा यूरोपेली देशतर्फ लम्कन्छन्। अमेरिकामा हरेक दुई वर्षमा २४ हजार हाराहारी चिकित्सक आवश्यक पर्छ। यसरी अन्तर्राष्ट्रिय जालोमा हामी नफस्ने हो भने नेपालको स्वास्थ्य प्रणाली नै परिवर्तन गरिनुपर्छ।

डाक्टर दूरदराज जान चाहँदैनन्, यो यथार्थ हो। यो समस्या कसरी सम्हाल्ने?

नेपाल र भारतमा नर्सले काम गर्न सक्दैनन् भनेर हेप्ने चलन छ। तर, तालीमप्राप्त ‘नर्स प्राक्टिशनर’ ले ग्रामीण क्षेत्रमा गएर राम्रो सेवा दिन सक्छन्। त्यसका लागि सरकारले आवश्यक नीति बनाएर कार्यान्वयन गर्नुपर्छ। स्वास्थ्यकर्मीको सेवा-सुविधा बढाई रेफरल प्रणाली बनाएर काम गर्नुपर्छ। निजी अस्पतालले पनि केही ठूला शहर बाहेक अन्यत्र सेवा विस्तार गरेका छैनन्। निजी र सरकारी दुवैको रेफरल प्रणाली राम्रो छैन।

२०७२ को भुइँचालोका वेला म नेपालका विभिन्न ठाउँ पुगें। कतिपय ठाउँमा सरकारले पठाएका चिकित्सक तीन-चार महीनादेखि गएकै थिएनन्। तर, सरकारलाई पत्तै छैन। यसको कारण ‘चेक एन्ड ब्यालेन्स’ नहुनु हो।

देशभरका सरकारी अस्पताल गुणस्तरीय भए बिरामी निजी अस्पतालमा जानै पर्दैनथ्यो, होइन?

हो। अस्ट्रेलियामा पनि यस्तै अवस्था छ। त्यहाँ पनि ‘आउटब्याक’ भनिने दूरदराज क्षेत्रमा चिकित्सक जान नमानेपछि विभिन्न सुविधा दिएर नेपाल जस्ता देशबाट गएका चिकित्सक खटाइएका छन्। नेपालबाट चिकित्सक त्यहाँ जान्छन्, तर आफ्नै देशको ग्रामीण क्षेत्रमा काम गर्न जाँदैनन्।

यो यथार्थ हो र यसको कारण पनि बुझ्न सकिन्छ। त्यसैले नेपालका स्थानीय तह र विकट क्षेत्रमा दक्ष र तालीमप्राप्त नर्स खटाउनुपर्छ भनिएको हो। यसले जनताको चिकित्सा पहुँचमा धेरै फरक पार्छ।

यसको मतलब, ग्रामीण जनतालाई चाहिं विशेषज्ञ सेवा चाहिँदैन? तालीमप्राप्त नर्सले नै त्यो अभाव पूर्ति गर्न सक्छन् र?

ग्रामीण भेगमा देखिने धेरै स्वास्थ्य समस्या ‘नर्स प्राक्टिशनर’ ले नै समाधान गर्न सक्छन्। त्यसका लागि राज्यले क्षेत्र क्षेत्रमा स्वास्थ्योपचारको एउटै सरल मापदण्ड बनाइदिनुपर्छ। आज नेपालमा झण्डै ७० प्रतिशत मानिस आधा घण्टाभित्र स्वास्थ्य केन्द्र पुग्न सक्छन्। यो उपलब्धि हो। तर, उपकरण, पूर्वाधार र जनशक्तिको डरलाग्दो अभाव छ, भवन छ, उपचार न्यून छ। स्थानीय तहका स्वास्थ्य संस्था मजबूत बनाए आम नागरिकका धेरै समस्या समाधान हुन्छन्।

चिकित्सक नहुँदा पनि क्षमतावान् नर्सले पनि धेरै सेवा दिन सक्छन् नि। अनि बिस्तारै विशेषज्ञ चिकित्सक राख्न पूर्वाधार तयार गर्दैै जानुपर्छ। तत्काललाई प्राथमिक स्वास्थ्य केन्द्रले चिकित्सकको ओपीडी क्यालेन्डर बनाउनुपर्छ। बिरामीको चाप हेरेर विभिन्न रोगका विशेषज्ञ गाउँ गाउँ लगी महीनामा एक पटक ओपीडी सञ्चालन गर्न सकिन्छ।

आजकल टेलिमिडिसिन प्रणाली पनि सर्वत्र फैलिइसक्यो, यो प्रणालीद्वारा चिकित्सकको कमीलाई मध्यनजर राखी स्थानीय स्वास्थ्य चौकीका नर्सहरूलाई ‘इम्पावर’ गर्नुपर्छ। स्थानीय सरकारले यति काम गरिदिए सामान्य समस्या भएका बिरामी धेरै रकम खर्चेर काठमाडौं आउनु पर्दैन। दिल्ली धाउनु पर्दैन। नयाँ संविधानले दिएको अधिकार र अभिभारा प्रयोग गर्दै भर्खरै निर्वाचित स्थानीय नेतृत्व अघि बढ्दै आउँदो पाँच वर्षमा चिकित्सा सेवालाई कायापलट गर्नुपर्छ।

स्वास्थ्य प्रणाली सुधार्न स्वास्थ्य मन्त्रालय तथा मेडिकल काउन्सिल जस्ता निकायलाई सुझाव दिनुभएको छ कि?

पटक पटक दिएको छु, तर यहाँको अस्थिर राजनीतिमाझ कसैले सुन्ने अवस्था रहेनछ। स्वास्थ्य प्रणालीको विकेन्द्रीकरण गर्ने, विदेशी तथा नेपाली चिकित्सकलाई ग्रामीण भेगमा लगेर काम गराउने जस्ता सुझाव दिएको छु। कार्यतालिका सहित जाने ठाउँ तोकेर पठाइएको भए वर्षैभरि त्यस्ता विशेषज्ञ चिकित्सकले ग्रामीण नागरिकलाई सेवा दिन्थे। नेपालमा काम र सहयोग गर्न धेरै विदेशी इच्छुक छन्। तर, त्यस्तो सहयोग लिन सक्ने अवस्था स्वास्थ्य मन्त्रालयमा मैले पाइनँ।

तपाईंले विकास गरेको मुटु र फोक्सो प्रत्यारोपण प्रविधि भित्र्याउन भारतीय अस्पताल लालायित छन्। त्यही काम नेपालमा चाहिं किन गर्न सक्नुभएन?

हाम्रो संस्कार र मानसिकता अलि फरक छ। अरू देशका मानिस विज्ञका कुरा सुन्छन्, म जस्तालाई स्वागत गर्न इच्छुक हुन्छन्, सिक्न र सिकाउन लालायित छन्। तर, नेपालमा आफूभन्दा अलिकति विशेषज्ञता हासिल गरेको, चिकित्सकको स्वागत हुँदो रहेनछ। यो कुरा म जस्ता विदेशमा रहेका अन्य धेरै चिकित्सकले भोगेका छन्। यस्तो किन हुन्छ, मैले बुझिसकेको छैन, तर हरेस खानेवाला छैन।

हाम्रो नेपाल हामी नेपालीका लागि चुम्बक जस्तो छ, यहाँ सेवा गर्न पाए, आफ्नो दक्षताले बिरामी, अर्थतन्त्र, समाजलाई राम्रो गर्न पाए त्यसले दिने सुख र आनन्द अन्यत्र पाइँदैन। त्यसैले मेरो आफ्नो प्रत्यारोपणको सीप र अनुभव नेपालमा ढिलो-चाँडो स्थानान्तरण गर्न कटिबद्ध छु।

नेपाल फर्कन यसअघि पनि कोशिश गर्नुभएको थियो?

धेरै पटक प्रयास गरें। मैले गर्ने प्रत्यारोपणको क्षेत्र नेपालका लागि नयाँ हो, तर यहाँ गर्नै नसकिने होइन। विशेष पूर्वाधार र राज्यको इच्छाशक्ति चाहिं चाहिन्छ। यहाँ विदेशमा पढेर, वर्षौं काम गरेर आएका चिकित्सकले फेरि परीक्षा दिनुपर्ने, आधिकारिक मान्यता नदिइने जस्ता समस्या पनि छन्। फर्किएका चिकित्सकलाई राज्यले काम गर्ने वातावरण नदिंदा अन्योलमा छन्।

नेपाली चिकित्सकले विश्वका थुप्रै प्रसिद्ध अस्पतालका विभिन्न विभागको नेतृत्व गरिरहेछन्। देश फर्किने वातावरण पाए उनीहरूले नेपालमा नभएका विशेषज्ञ उत्पादन गर्न सक्छन्। त्यसले देशलाई नै फाइदा गर्छ। यहाँको स्वास्थ्य प्रणालीको नेतृत्व गरिरहेकाहरूले यो तथ्य स्विकार्नुपर्छ अनि मानसिकता र नीति-नियम दुवै फेर्नुपर्छ।

अहिले मैले ब्याङ्लोरमा काम गरिरहेको अस्पतालले अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत देशमा काम गरिरहेका भारतीय मूलका चिकित्सक खोजिरहेको छ। उनीहरूलाई कसरी देश फर्काउन सकिन्छ भनेर प्रस्तावहरू तयार पारेको छ। नेपालमा यस्तो कुरा कल्पना पनि गर्न सकिन्न। हामीकहाँ पूर्वाधार, पारदर्शिता, कानून, नीति र नियमन कमजोर भएकाले समस्या छ।

पहिला हाम्रा नागरिकलाई मेरो जस्तो विशेष चिकित्सा सेवा उपलब्ध होस्, अनि त्यसको आडमा नेपाल अन्तर्राष्ट्रिय स्तरको चिकित्सा प्रदान गर्ने देश बनोस्, जहाँ विदेशबाट पनि बिरामी आऊन्। मेरो सपना यो हो।

(हिमालको २०७९ असार अङ्कबाट।)

Post navigation

Previous Post:

निजगढको बदर र सर्वदलीय आक्रोश

Next Post:

विलक्षण प्रतिभाशाली हाम्रा ‘मोटरसाइकलवादी’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes