Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

हामी नेपाली, हामी दक्षिणएशियाली

May 5, 2022 by admin

अनलाइन खबर(८ वैशाख,२०७९) बाट

नेपालको ‘खुला समाज’ नेपालीको लागि यथावत् राख्नु छ भने दक्षिणएशियाभरिका लोकतान्त्रिक खुलापनको आकांक्षा राख्नेहरूको लागि पनि ।

आन्तरिक राजनीतिको चपेटामा परेका हामी नेपाली जनताले अन्तर्राष्ट्रिय रंगमञ्चमा हाम्रो देश नेपाल कति शान्त, कति उत्कृष्ट विविधताले भरिएको, कति रमाइलो छ भन्ने कुरा बिर्सन्छौं । हो नेपालका शासकको ऐतिहासिक कर्तुत, यहाँको उत्पीडनको यथार्थ तथा केन्द्रीकृत राज्य शासनको आलोचना जायज छ, तर हाम्रो अवस्थालाई तुलनात्मक रूपमा हेरिनुपर्छ । आफ्ना सामाजिक, राजनीतिक समस्याहरू मेटाउने काम बाँकी छँदैछ, तर अरूको तुलनामा हाम्रो देश र समाज हेरेनौं भने आफैंमाथि अन्याय गरेको ठहर्छ ।

दक्षिणएशियाका अन्य मुलुकको दाँजोमा आफ्नो आन्तरिक कमजोरीका बावजूद नेपाल सबैभन्दा लोकतान्त्रिक, अन्तर-समुदाय सम्बन्ध सुमधुर र अन्यत्र भन्दा ‘खुला समाज’ रहेको देश हो, जहाँ मूलभूत नागरिक अधिकारहरू प्राप्त छन्, सुरक्षित छन् । दक्षिणएशियाको एउटै मुलुक नेपाल हो जहाँ द्वन्द्वपश्चात्को ‘संक्रमणकालीन न्याय’ को एजेण्डा राज्यले अँगालेको छ, भलै यस प्रक्रियालाई ‘साबोटाज्’ गर्न खोज्ने विभिन्न पात्र पनि जनताले नचिनेका होइनन् । नेपाल यस्तो मुलुक हो जसले शान्तिपूर्ण प्रक्रियाले परम्परागत राजालाई गद्दीबाट ओराल्यो, जहाँ हिंस्रक द्वन्द्वलाई बृहत् शान्ति सम्झौता मार्फत पूर्णविराम लगायो, अनि विश्वमा विरलै हुने काम भयो- निर्वाचित संविधानसभाबाट संविधानको निर्माण, पहिलेको असफलतापछि दोस्रो प्रयासमा ।

‘नो फेल्ड स्टेट’

काठमाडौंका कतिपय बौद्धिक नेपाल देशलाई ‘फेल्ड स्टेट’ घोषणा गर्न लागिपरेका पनि छन्, जबकि यहाँको मानव विकास सूचकांक, सामुदायिक वनको अभ्यास, सामुदायिक रेडियोको फैलावट, यहाँका मानिसको निष्फिक्री विचार राख्न सक्ने अवस्था- एक/एक कुराले नेपाल दक्षिणएशियाली क्षेत्रमा अगाडि देखिन्छ । हो; हामी ओरालो लाग्ने सम्भावना पनि छँदैछ- हरपल यहाँको उच्च तहमा खेलिने अराजक र मूल्य-मान्यताविहीन राजनीतिले गर्दा ।

हाम्रा नेपाली उग्र-प्रगतिशील जस्तै अंग्रेजीमा लेख्ने-बोल्ने उग्र-प्रगतिशीलको कुण्ठाग्रस्त लेखनले बेलाबखत विदेशीको नजर पनि बंग्याइदिन्छ र नेपाल त हो न हो ‘फेल्ड स्टेट’ नै हो भन्ने प्रचार बल्झिन्छ । जबकि यो निरन्तर प्रयास गर्ने र कतैबाट खुलापन र योसँग सम्बन्धित अग्रगमनमा खतरा आए जुर्मुराएर उठ्ने यहाँका नागरिक हुन् ।

नेपाल कस्तो गरिरहेछ, नियाल्न दक्षिणएशियाका अन्य समाज नियाल्नुपर्छ । श्रीलंकामा राजापाक्षे परिवारको राज्यमाथिको पकड जारी छ, जबकि जनताले सडकमा उर्लिएर आफ्नो विरोध जनाइरहेछन् । नेपालका दलहरूले सर्वोच्च अदालतको निर्णय चित्त नबुझे पनि मान्ने गर्छन् भने पाकिस्तानमा सर्वोच्चको निर्णय खिलाफ आन्दोलन शुरू भएको छ, र पर्दा पछाडि सेनाको प्रष्ट हस्तक्षेप पहिला जस्तै यसपालि पनि देखियो । म्यानमारका जनता गत वर्षदेखि फेरि ‘अ-लोकतन्त्र’ को चपेटामा छन् भने अफगानिस्तानका जनतालाई तालिवानी ज्यादतीले ग्रस्त पारेको छ । बंगलादेशले धुमधामकै आर्थिक छलाङ मारेको सत्य हो, तर पूरै शासन प्रणाली सत्तासीन आवामी लिगको एकदलीयतन्त्रमा परिणत भएको छ । भुटान र माल्दिभ्स लोकतान्त्रिक शासनमा आफूलाई ढाल्न अझै प्रयासरत छन्, एउटाले कठोर भई राजनीतिक बन्दी राख्दछ भने अर्कोमा राजनीतिक नेतामाथि घातक हमला हुने गर्छ ।

निरन्तर प्रयासरत

पछिल्ला दिनमा सबैभन्दा चिन्ताजनक हिसाबले ओरालो लागेको मुलुक हो भारत, जहाँ नरेन्द्र मोदीको नेतृत्वको सरकारमा मुस्लिम र अन्य अल्पसंख्यकमाथि बहुसंख्यक ‘हिन्दूवादी’ जमातले गर्दै आएको ज्यादती नियन्त्रण गर्ने सोच या चाहना देखिंदैन । एकातर्फ नयाँदिल्लीले चीनतर्फको सिमानामा हुँदै आएका क्रियाकलापमा बोल्ने आँट देखाउन सकेको छैन, अर्कोतर्फ हिन्दूत्वको नाममा आन्तरिक द्वन्द्व सल्काइँदा भारतको अर्थतन्त्रमै ब्रेक लाग्न थालेको छ । मोदी सरकार विरुद्ध बोल्ने आँट गर्नेको संख्या घट्दो छ ।

नेपालमा पनि समस्या नभएका होइनन् शासन र राजकाजमा र बृहत् समाजमा पनि समस्या बग्रेल्ती छन्, तर तुलनात्मक हिसाबले हेर्दा ठोकुवाका साथ भन्न मिल्छ : नेपाल आजको दिन दक्षिणएशियाकै शान्त, लोकतान्त्रिक, सहिष्णु मुलुक हो । अन्यत्र भन्दा आज यहाँ लोकतान्त्रिक खुला समाज छ, वाक् स्वतन्त्रतामा कटौती छैन, समुदायहरू त्रसित, भयभीत छैनन् ।

तर, यदाकदा हामी आफैं नेपालको कदर गर्न बिर्सने गर्छौं । यहाँको निरन्तर राजनीतिक गतिरोधले हाम्रो मुलुकका विशेषता तथा सफलताहरूतर्फ ध्यान जाँदैन । मेरो आफ्नो बुझाइमा नेपालको बौद्धिक वृत्तमा अलि बढी नै ‘उग्र-प्रगतिशील’ सोच हावी छ, जुन सोचले आफ्नो समाजको दुर्गुण मात्र चर्चा गर्न रुचाउँछ । जबकि अनेक दोषका बावजूद नेपाल यस्तो देश हो जो समुन्नत, समावेशी, शान्त र सामाजिक सुरक्षायुक्त समाज बनाउन कम्तीमा प्रयासरत छ । यति भन्न लाज मान्नुपर्दैन, तर हाम्रा नेपाली उग्र-प्रगतिशील जस्तै अंग्रेजीमा लेख्ने-बोल्ने उग्र-प्रगतिशीलको कुण्ठाग्रस्त लेखनले बेलाबखत विदेशीको नजर पनि बंग्याइदिन्छ र नेपाल त हो न हो ‘फेल्ड स्टेट’ नै हो भन्ने प्रचार बल्झिन्छ । जबकि यो निरन्तर प्रयास गर्ने र कतैबाट खुलापन र योसँग सम्बन्धित अग्रगमनमा खतरा आए जुर्मुराएर उठ्ने यहाँका नागरिक हुन् ।

‘भिसा रेजिम्’

नेपालको आवागमनको ‘भिसा रेजिम्’ संसारकै खुकुलो मध्ये छ । यसबाट अर्थतन्त्रमा पनि फाइदा लिन सक्नुपर्छ हामीले, पर्यटकलाई भित्र्याएर मात्र होइन, सभा, सेमिनार, महोत्सव, भेला, जमघट गरेर । एउटा कुरा पक्का हो- अन्य दक्षिणएशियाली मुलुकका साथीहरू त्रिभुवन विमानस्थल उत्रँदा स्वतन्त्रता महसूस गर्ने गर्छन्, यहाँको शीतलपन मात्र होइन खुलापनको कारण ।

यति मात्र होइन, बंगलादेशका स्वतन्त्र विचारक ‘र्‍याशनलिस्ट’ (यथार्थवादी) होउन् वा श्रीलंकाका ‘डिसिडन्ट’, सामाजिक वा सरकारी दमनबाट बच्न आउने मुलुक दक्षिणएशियाभित्र नेपाल मात्र हो । यसो हुनुमा नेपालको इतिहास, समाज, लोकतान्त्रिक पद्धति र यी सबसँग गाँसिएका हाम्रा मान्यताको उत्पत्ति नै हो । यसबारे गर्व गर्ने हो ।

२५ वर्ष भयो यही उपत्यकाबाट ‘फिल्म साउथएशिया’ वृत्तचित्र महोत्सव शुरू भएको, र यो दक्षिणएशियाकै अग्रपंक्तिको ‘डकुमेन्टरी फेस्टिभल’ हुन पुगेको छ । डकुमेन्ट्री भनेकै राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिका अधकल्चा, गम्भीर र अक्सर विवादित विषयमा बन्ने गर्छन् ।

यसको अर्थ डकुमेन्टरी निर्माणकर्ताहरू लगाव बोकेका स्वतन्त्र स्वभावका व्यक्तिहरू हुन्छन् । यसै कारण आजको दक्षिणएशियामा धेरै शासन व्यवस्था छैनन् जहाँ निर्भीक सरकार या व्यवस्थापनले वृत्तचित्र महोत्सव आयोजना हुन देओस् !

सेन्सरसिप, सरकारी कागजात र अन्य माध्यमद्वारा जनताले स्वतन्त्र फिल्महरू हेर्नै नपाउन् भन्ने हुन्छ राज्य संचालकहरूको ध्येय । नेपालमा त्यस्तो छैन, र यदाकदा अवरोध आए पनि (विशेषगरी विदेशी दूतावासको दबावमा) त्यसको सामना गर्न सकिएको छ ।

हामी हरेक दुई वर्षमा हुने वृत्तचित्र महोत्सव निरन्तर र लगातार १३ चोटि गर्न सफल भएका छौं र फिल्म साउथएशियाको आइकन चिह्न रहेका रामबहादुर तामाङको तस्वीर दक्षिणएशियामा र संसारभर फैलिएको छ ।

हाम्रो लागि, अरूको लागि

वृत्तचित्र महोत्सव यसरी निर्धक्क नेपालमा देखाउन पाउनुले नेपाल खुला समाज भएको पुष्टि गर्छ नै । र, यो खुला समाजलाई निरन्तर सुरक्षित राख्नुपर्छ, किनकि मानव मस्तिष्कको स्वतन्त्र स्वभावलाई यसले कदर गर्छ भने नेपाल जस्तो मुलुकको आर्थिक र सामाजिक उत्थान पनि खुला समाजबाट मात्र सम्भव छ । शाही अधिनायकवाददेखि द्वन्द्वकालसम्म देखे/भोगेका जनतालाई न फेरि बन्द कोठाभित्र जाक्न मिल्छ, न त यसो गर्न सम्भव नै छ । जनता जाग्नेछन् कोसिस भएमा ।

नेपाललाई खुला समाज राख्नुपर्ने आवश्यकता हाम्रा नागरिकको अग्रगमनको लागि नै हो । त्यस्तै; दक्षिणएशियाको लागि पनि नेपालीले आफ्नो मुलुकको निर्भीक, खुलापन कायम राख्नुपर्छ ।

नेपालको खुला समाज नेपालीलाई चाहिएको छ । यस्तै नेपालको खुलापन पूरै दक्षिणएशियाको लागि चाहिएको छ । फिल्म साउथएशिया आयोजना गरेको २५ वर्ष पुगिसक्दा मैले बुझेको कुरा यही हो ।

(लेखक दीक्षित द साउथएशिया ट्रष्ट संस्थाद्वारा संचालित ‘फिल्म साउथएशिया’ महोत्सवका अध्यक्ष हुन् ।)

Post navigation

Previous Post:

India Speak: Decoding China-Nepal Ties and Lessons for India

Next Post:

कौवा र सुन्दर परेवी:अन्तर्राष्ट्रिय काग र कौवा दिवसको अवसरमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes