Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

हाम्रा वास्तविक अगुवा

September 20, 2022 by admin

हिमाल खबरपत्रिका (९ भदौ, २०७९) बाट

प्रकृति र समाजका लागि क्रियाशील अभियन्ताहरूले अँगालेको बाटो बुझ्ने चेष्टा गरौं, उनीहरूलाई सघाउन र जोगाउन भूमिका खेलौं।

जहाँ पैसा र शक्ति हुन्छ, त्यहाँ यी दुवैको दुरुपयोग हुने सम्भावना हुन्छ। नैतिक शिक्षा नै पढाउन बिर्सेको हाम्रो विद्यालय शिक्षा, पैसा कमाउने धेरै बाटा नभएको हाम्रो अर्थतन्त्र, तथा फट्याइँ नियन्त्रणमा चासो नदिने हाम्रो राजनीतिका कारण दुष्प्रयोगको सम्भावना झनै बढेको छ।

धनुषाको औरही खोलामा २०७६ सालमा हत्या गरिएका ओमप्रकाश महतो (दिलीप) को हत्यारालाई कारवाही माग गर्दै काठमाडौंमा गरिएको प्रदर्शनका सहभागी। तस्वीरः सन्त गाहा मगर/हिमालखबर

नयाँ संविधानले राज्यशक्ति र स्रोत विस्तार गर्दै काठमाडौंमा केन्द्रीकृत पैसा तथा अधिकार प्रादेशिक र स्थानीय सरकारमा पुर्‍यायो। यससँगै प्रदेश र पालिकाले आफ्नै तजबिजमा खर्च गर्न पाउने भए, जो विकेन्द्रीकरण र संघीयताको सिद्धान्त अनुसार पनि भयो। यसरी रकम र निर्णयशक्तिको स्थानीयकरण हुँदा नियमन र निगरानी गर्ने संरचना भने बनेको छैन।

एकातर्फ, सरकारी लेखा परीक्षण कार्यले राम्ररी खुट्टा टेकिसकेको छैन, अर्कातिर, निगरानीको मूल अस्त्र पत्रकारिताले पनि प्रादेशिक र स्थानीय खोजखबर राम्ररी गर्न सकेको छैन। रेडियो सेवा मुलुकभरि फैलिए पनि अधिकांश क्षेत्रमा यसले खोजीनिती गर्दैन। छापा पत्रकारिता सबैतिर सुकेको छ भने स्थानीय तहमा विस्तार हुने कुरै भएन। अनलाइन पत्रकारिता स्थानीय तहसम्म फस्टाउँदो त छ, तर विश्वसनीयता कमाइसकेको छैन।

निगरानी गर्ने अर्को माध्यम नागरिक संस्थाहरू हुन्, तर यहाँ पनि समस्या छ। संघीयताको अभ्याससँगै स्वतन्त्र गैरसरकारी संस्था (गैसस)हरू पनि स्वस्फूर्त प्रदेश प्रदेशमा जन्मनुपर्नेमा केन्द्रीकृत संस्थागत संरचना यथावत् छ। विदेशबाट आउने पैसा धेरै क्षेत्रमा घटेको हुनाले पनि नयाँ संस्था र सञ्जाल निर्माणमा समस्या छ। फेरि, रकमको ठूलो स्रोत आजभोलि तिनै प्रदेश, स्थानीय तह हुन पुग्दा तीमाथि नै खबरदारी गर्नुपरेको छ। अर्को समस्या, गैससहरू जागीरको थलो हुन पुगेका छन्। जुझारु अभियन्ताहरू समेत कुनै गैससमा आबद्ध भएपछि अभियन्ताको बाटो छाडेर जागीरेमा परिणत भएका छन्।

नैतिक शिक्षा नै पढाउन बिर्सेको हाम्रो विद्यालय शिक्षा, पैसा कमाउने धेरै बाटा नभएको हाम्रो अर्थतन्त्र, तथा फट्याइँ नियन्त्रणमा चासो नदिने हाम्रो राजनीतिका कारण दुष्प्रयोगको सम्भावना झनै बढेको छ।

विशिष्ट सोच भएका कर्मठ नागरिकले स्थानीय स्तरमा कुनै कुरा बेठीक लागेमा लिने कुनै संस्थागत बाटो नहुँदा एक्लो जुझारु बन्न पुग्छन्। सिमसार बचाउन, दलित उत्पीडन विरुद्ध लड्न, बजारको बेलगाम महँगी रोक्न वा मिटर ब्याजमा ऋण दिने साहुलाई चुनौती दिन– स्थानीय एकल जुझारुहरू जाग्छन्।

ऐतिहासिक चेत, सामाजिक उत्तरदायित्वबोध, सामाजिक न्यायप्रतिको लगाव, वातावरण र अर्थतन्त्रको उत्कृष्ट बुझाइका कारण उनीहरू अभियन्ता बन्छन्। यस्ता व्यक्ति कसैमाथि बलमिचाइँ, अन्याय, जालझेल खप्न नसक्ने स्वभावका हुन्छन्, र जिम्मेवार पदमा बसेकाबाट जवाफदेही खोज्छन्। उनीहरूले आफ्नो काम विभिन्न तरीकाले गर्छन्– लेख लेखेर, ज्ञापनपत्र बुझाएर, सडकमा उभिएर।

यी जुझारुलाई अन्याय या अवैध काम यति असह्य हुन्छ कि, त्यस विरुद्ध डट्ने क्रममा आफ्नो सुरक्षा समेतको परवाह नगरी मैदानमा उत्रन्छन्। यिनको सुरक्षामा ध्यान दिनुपर्ने सरकारी र सामाजिक संयन्त्रहरू कमजोर या शक्तिकेन्द्रको प्रभावमा हुन्छन्। त्यसैले धम्की, भौतिक आक्रमण र हत्या समेतका शिकार बन्छन्, यी जुझारु नागरिक। नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व हो। सामाजिक र वातावरण अभियन्तालाई त झन् सुरक्षा दिइनुपर्ने हो, तर त्यसो हुँदैन। एक त, सबैतिर राज्य प्रशासन र प्रहरीको पहुँच हुँदैन, दोस्रो, कतिपय संयन्त्रलाई पैसा र प्रभावले नै निष्क्रिय बनाइदिएको हुन्छ।

थाहा भएकै हो, कमजोर राज्य र अवसरवादी राजनीति भएको समाजमा फरक र स्वतन्त्र विचार राख्ने मानिसलाई खतराका रूपमा हेरिन्छ। फट्याइँगिरी गर्ने प्रभावशालीले त शत्रुको नजरले हेरिहाल्छन्, अनि अभियन्तालाई नातेदार र साथीहरूको सुझाव हुन्छ– ‘मुख किन खोल्ने, आफ्नो ज्यान किन जोखिममा पार्ने, तिमी एक्लैले गरेर के हुन्छ, एक्लै यस्तो मूर्खतामा नलाग, घरपरिवारमा कस्तो दबाब र जोखिम आउला भन्ने पनि विचार गर।’

एक्लो अभियन्ताको बाटोभरि काँडा छरिएका हुन्छन्, तर यिनै जुझारु समाज र मुलुकका वास्तविक अगुवा हुन्।

अन्ततः अभियन्ताको साथमा न सरकार हुन्छ, न समाज। अक्सर उनीहरू सामाजिक सञ्जाल मार्फत ‘ट्रोल’को शिकार बन्छन्, कसैले ‘विकास विरोधी’ भन्लान् त कसैले ‘डलरे’। अनेक कारण साथीभाइ हराउँदै जान्छन्। कोही नहुँदा हाम्रा अभियन्ता एक्लै अगाडि बढ्नुपर्ने हुन्छ, जसका कारण उनीहरूमाथि झनै खतरा बढ्छ। कसैले मानसिक दबाबमा पार्छन्, कसैले भौतिक आक्रमण गर्छन्। कसैको त ज्यान नै हरण गरिन्छ।

एक्लो अभियन्ताको बाटोभरि काँडा छरिएका हुन्छन्, तर यिनै जुझारु समाज र मुलुकका वास्तविक अगुवा हुन्। यिनीहरू ताली र विभूषणका लागि वा कुनै ‘प्रतिभा’का रूपमा गनिन मैदानमा उत्रिएका हुँदैनन्, प्रकृति र मानवमाथि भएको ज्यादती सहन नसकेर साहसिक लडाइँमा होमिएका हुन्छन्। उनीहरू आफूले रोजेको खतराको बाटोमा हिँडेका हुन्छन्।

बाँकी हामी नागरिकको जिम्मा भनेको राष्ट्रिय, प्रादेशिक र स्थानीय परिस्थिति बुझेर अभियन्ताले लिएको बाटो बुझ्ने चेष्टा गर्ने हो, र सकिन्छ भने यी मानवरत्नहरूको रक्षा गर्न आआफ्नो ठाउँबाट भूमिका खेल्ने।

दिलीप महतो अमर रहून्!

(हिमालको २०७९ भदौ अङ्कबाट।)

Post navigation

Previous Post:

Transitional injustice in Nepal

Next Post:

अधिनायकतन्त्र रोक्न ‘पञ्चायत अध्ययन केन्द्र’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes