हिमाल खबरपत्रिका (१६–३१ जेठ ,२०५९) बाट
वर्षौँदेखि अपहेलित र उपेक्षित स्मारकक्षेत्रको रूपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनीमा बल्ल केही चहलपहल देखिन थालेको छ । १० वर्षअघि उत्खननको लागि भत्काइएको मायादेवीको मन्दिर पुनर्निर्माण गर्ने काम युद्धस्तरमा भइरहेको छ । यो कामको नेतृत्व गरिरहेको लुम्बिनी विकास कोष र डिजाइन तथा निर्माणमा संलग्न इन्जिनियरिङ्ग अध्ययन संस्थानका आर्किटेक्ट र इन्जिनियरहरूको टोली रातोदिन खटिरहेका छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष ओमकार गौचन कमिज सुरुवाल लगाएर जेठ महिनाको घामबाट जोगिन छाता ओढ्दै बरोबर निर्माणस्थलको निरीक्षण गरिरहेका देखिन्छन् । बुद्धजयन्ती (१२ जेठ) सम्ममा ‘नयाँ’ मायादेवी मन्दिरको करीब एकतिहाई काम र मायादेवीको मूर्ति रहने खण्डको निर्माण पूरा भइसकेको छ ।
बुद्धजयन्तीकै दिन मन्दिरमा मूर्ति प्रतिस्थापन समेत गरियो । मन्दिर परिसरको उत्खननमा भेटिएको मायादेवीले बुद्धलाई जन्म दिएको ठाउँ पुष्टि गर्ने चिनोको रूपमा राखिएको शिला चिह्न (मार्कर स्टोन) पनि देखिने गरी भवनको निर्माण भएको छ । मन्दिरको निर्माण पूरा भएपछि उत्खननका बेला फेला परेका शिला चिह्नलगायत ईसापूर्व तेस्रो शताब्दीका पुरातात्विक महत्वका भग्नावशेषहरू पनि यहीँ भित्रै रहनेछन् । यही गतिले काम हुँदैगयो भने बुद्धको जन्म भएको ठाउँ र मायादेवीको मन्दिर अब केही महिनामै भक्तजन र पर्यटकका लागि खुला हुनेछ ।
विगतका दशकहरूमा लुम्बिनीको लागि केही गरिएन भन्न सकिने आधारहरू प्रशस्तै छन् । त्यसका लागि काठमाडौँको पार्टी–केन्द्रित राजनीतिक संस्थापन, कुनै चासो नराख्ने कर्मचारीतन्त्र र लुम्बिनी विकास कोषमा आफ्नो नियन्त्रण जमाउन सङ्घर्षरत विभिन्न गूट, उपगूटमा बाँडिएका बुद्धमार्गी समूहहरू नै प्रमुख समस्या बनेका थिए । काठमाडौँ उपत्यकाका मात्र नभई पहाडी र हिमाली भेगका बौद्ध सम्प्रदायहरूको पनि तानातानको थलो बन्न पुगेको लुम्बिनीमा स्थानीय तराईली मुसलमानहरूको असन्तोष पनि थपिएको छ, जो आफूलाई लुम्बिनीको पर्यटकीय र धार्मिक सम्भावनालाई भजाउनेहरूको होडदौडबाट बाहिर रहेको अनुभव गर्दछन् । लुम्बिनीमा वर्षने डलर–येनको आशा र यस्तो उद्गमस्थलमाथि नियन्त्रण गर्दा प्राप्त हुने शक्तिले पनि धेरैलाई लुम्बिनीको होडबाजीमा संलग्न हुन डोर्यायो । त्यसबाहेक दाताहरूको उपस्थितिले पनि उल्लेखनीय प्रभाव पार्ने गरेको छ यहाँ ।
यो क्षेत्र लुम्बिनी विकास कोषको अधिकार क्षेत्रमा पर्ने भए पनि सन् १९९७ मा युनेस्कोले लुम्बिनी बगैँचालाई ‘विश्व सम्पदास्थल’ घोषणा गरेकोले यो युनेस्कोको रेखदेख अन्तर्गत पनि रहन थालेको छ । लुम्बिनी विकास कोष चाहिँ बेलाबखत आउने धेरथोर सहयोगको कारण जापानी बौद्ध महासंघलाई आफ्नो एक्लो संरक्षकजस्तो ठान्दै त्यसप्रति बढी नै लचिलो हुने गरेको छ ।
जापान बौद्ध महासंघ र युनेस्कोकै वरिपरि रुमल्लिएका कोषका सञ्चालकहरू संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा ‘इन्टरनेशनल कमिटी फर दि डिभेलपमेन्ट अफ लुम्बिनी’ भनिने लुम्बिनीकै संरक्षण र विकासको लागि प्रतिबद्ध एउटा अन्तर्राष्ट्रिय समिति छ भन्ने कुराबाट पनि बेखबर रहने गरेका छन् । सन् १९६७ मा लुम्बिनीमा पुगी त्यहाँको दुर्दशा देखेर आँसु खसाल्ने राष्ट्र संघका भूतपूर्व महासचिव स्वर्गीय उ थान्तको अग्रसरतामा स्थापित यो समिति लुम्बिनीको विकासको लागि कोष सङ्कलन गर्न र यसप्रति अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान आकर्षित गर्न खडा गरिएको थियो । तर, काठमाडौँका हाकिम वर्गको बेवास्ताले गर्दा एक दशकभन्दा लामो समयदेखि राष्ट्रसंघीय समिति मृतप्रायः छ । हिजोआज त समितिको नाम राष्ट्रसंघको वेबसाइटबाट पनि हराएको छ । र, राष्ट्रसंघस्थित नेपालको स्थायी नियोग उक्त समितिलाई ब्युँताउन पटक्कै इच्छुक देखिँदैन ।
त्यसो भए यसबीच त्यस्तो के परिवर्तन भयो, जसले गर्दा मायादेवीको मन्दिर पुनर्निर्माण हुन थाल्यो त भन्ने प्रश्न उठ्न सक्छ । लुम्बिनीमा अकस्मात् निर्माण गतिविधिहरू बढ्नुको पछाडि तीन पक्ष छन्ः एउटा, ‘केही गर्न खोज्ने’ संस्कृति तथा पर्यटन मन्त्री बलबहादुर केसी, जो लुम्बिनी विकास कोषका पदेन अध्यक्ष पनि हुन्; अर्को, मन्त्रीको पूरा समर्थन पाएका, बौद्ध समुदायहरूमा विद्यमान विभिन्न गूट उपगूटभन्दा माथि रहेका नेपाली काङ्ग्रेसका ओमकारप्रसाद गौचनको नयाँ र प्रतिबद्ध नेतृत्व; र, त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थानका आर्किटेक्ट र इञ्जिनियरहरूको सहयोग, जसले मन्दिरको डिजाइन र संरचना निर्माण गर्ने अभिभारा आफ्नो काँधमा लिए ।
इञ्जिनियरिङ अध्ययन संस्थान टोलीको नेतृत्व संस्थानका डीन, संयुक्त अधिराज्यको योर्क विश्वविद्यालयका पीएचडी, कन्जर्भेसन आर्किटेक्ट जीवराज पोखरेलले गरेका छन् । उनलाई संस्थानको वरिष्ठ फ्याकल्टीले साथ दिएको छ, जसमा सुदर्शनराज तिवारी, सुधा श्रेष्ठ र प्रेमनाथ मास्के आदि छन् । मास्केको विशेष जिम्मा चाहिँ मन्दिरको भित्रपट्टि लुकेर रहने विशाल स्टिल संरचनाको राम्ररी निर्माण गर्नु हो ।
आजको ‘लुम्बिनी गार्डेन’ मा सम्राट अशोकले ईसापूर्व तेस्रो शताब्दीमा बुद्धको जन्मस्थल भनेर चिनाउने एउटा ढुङ्गाको स्तम्भ राख्न लगाएका थिए । पाँचौँ र आठौँ शताब्दीका चिनियाँ यात्रीहरू फा हियेन र हियून शाङले विभिन्न स्मारकहरू भएको उल्लेख गरेका ठाउँ हो यो । उपनिवेशकालीन भारतका पुरातत्वविद्हरूले सन् १८९० को दशकमा यही अशोक स्तम्भ फेला पारेका र राणाहरूमध्येमा विद्वान् मानिएका केशर शमशेरले सन् १९३९ मा मायादेवीको मूर्ति रहेको ढिस्कोलाई छोप्ने गरी इँट्टाको चारकुने प्लेटफर्म बनाउन लगाएका थिए । ६० वर्षयता मानिसहरूको मस्तिष्कमा सिद्धार्थ गौतम जन्मेको ठाउँ भनेकै सेतो रंगको डिब्बा आकारको यही मन्दिर हुनगयो । एक छेउमा पछि एउटा पिपलको रूख उम्रिएर झयाङ्गिदै गयो । अशोक स्तम्भको अलि अगाडि, छेउपट्टि रहेको त्यो डिब्बा नै मायादेवी मन्दिर र त्यसलाई झ्ण्डै झ्ण्डै ढाक्न पुगेको पिपलको रूखले लामो समयदेखि बुद्धको जन्मस्थलको रूपमा प्रतीकात्मक मान्यता पाइरहेको थियो ।
सन् १९९२ मा लुम्बिनी विकास कोषले जापानी बौद्ध महासंघलाई पुरातात्विक उत्खनन गर्न दिएपछि यो ठाउँ शाक्यमुनि सिद्धार्थ गौतमको जन्मसँग सम्बन्धित तीर्थस्थलबाट पुरातात्विक उत्खनन स्थलमा परिणत भयो । पिपलको बोटले ढाक्न लागेको ६० वर्ष पुरानो मायादेवी मन्दिरको सेतो डिब्बा जस्तो संरचना भत्काएर त्यसमुनि उत्खनन कार्य थालिँदा लागेको थियो– लुम्बिनीको पवित्रता नष्ट भयो, अब केही बाँकी रहेन । सन् १९९६ मा उत्खनन सकिएपछि पनि फेला परेका बस्तुहरूलाई टीन र त्रिपालले छोपेर राखियो र सो पवित्रस्थल जनताको लागि खुला गरिएन ।
उत्खनन सकिएपछि त्यस ठाउँमा के गर्ने भन्ने कुरालाई लिएर विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूबीच तानातानी मच्चियो । यस क्रममा पुरातात्विक सम्पदास्थलहरूको संरक्षणसम्बन्धी युनेस्को मार्गदर्शनलाई पनि विचार पुर्याउनुपर्ने थियो । केहीले प्रार्थना हल बनाउने प्रस्ताव गरे भने अरूले भित्र खोक्रो भएको विशाल स्तुप बनाउने कुरा अघि सारे । अरू केहीले ‘नेपाली’ शैलीको भवन निर्माण गर्ने चाहना व्यक्त गरे भने केहीले मौर्यकालीन मन्दिर बनाउने सल्लाह दिए । अन्त्यमा इन्जिनियरिङ अध्ययन संस्थानले पेश गरेको पहिलेकै (केशर शमशेरको) जस्तो ढाँचाको प्रारुपलाई पुनर्मूल्याङ्कन गरी सदर गरियो ।
संस्थानको टोलीका सामु सबैभन्दा ठूलो चुनौती भवनको लागि एउटा उपयुक्त डिजाइनको परिकल्पना गर्नुथियो ताकि त्यसभित्र सन् १९९२ मा उत्खननको बेला सुरक्षाको लागि हटाइएको मायादेवीको मूर्ति पहिलेकै पवित्र स्थलमा प्रतिस्थापन गर्न र उत्खननको क्रममा फेला पारिएका पुरातात्विक वस्तुहरूलाई प्रदर्शन गरेर राख्न सकियोस् । केशर शमशेरले बनाउन लगाएको भन्दा पहिले त्यहाँको ऐतिहासिक संरचना कस्तो देखिन्थ्यो भन्ने थाहा नभएको हुनाले सुन्दरताको दृष्टिकोणले त्यति राम्रो नभए पनि जनताको भावना र स्मृति गाँसिएको त्यही संरचनासँग मिल्दोजुल्दो मन्दिर निर्माण गर्ने निर्णय लिइयो । भवनको भित्री भाग पुरातात्विक बस्तुहरू प्रदर्शनका लागि राख्न र तीर्थयात्री एवं पर्यटकहरूलाई प्रवेश दिन सकिने गरी निर्माण गर्ने तय भयो ।
सम्पदास्थलको वास्तुकलासम्बन्धी सिद्धान्त अनुसार सबै संरचनाहरू पुरातात्विक स्थललाई कुनै हानि–नोक्सानी नपुर्याई हटाउन सकिने गरी निर्माण गर्नुपर्ने त छँदैथियो । “कुनै दिन कसैलाई पुरातात्विक सम्पदा रहेको यो ठाउँमा अझ् राम्रो केही गर्ने विचार आउन सक्छ । त्यसैले हामीले यहाँ भएका पुरातात्विक महत्वका वस्तुहरूलाई कुनै हानि नहुने गरी यो भवन यहाँबाट हटाउन सकिने गरी डिजाइन गरेका छौँ”, आर्किटेक्ट जीवराज पोखरेल बताउँछन् ।
मन्दिरको निर्माणमा स्टिल गर्डर प्रयोग गरिएको कारण भवनमा पिलर छैनन्, जसले गर्दा आगन्तुकहरूले मन्दिरभित्र पस्नेवित्तिकै उत्खनन गरिएका भग्नावशेष, शिला चिह्न र मायादेवीको मूर्ति सबै देख्न पाउने छन् । डिजाइन टोलीले सामना गर्नु परेको एउटा प्रमुख चुनौती सम्पदास्थलको पुरातात्विक अखण्डता नबिगारिकन त्यति विशाल स्टिल फ्रेमको भार थाम्न सक्ने मजबूत जग कसरी बनाउने भन्ने थियो । तर, मन्दिर वरिपरि पुरातत्वविद्हरूले उत्खननका बेला अन्वेषणको लागि खनेको खोल्सो पत्ता लाग्यो जसले गर्दा आर्किटेक्टको काम सजिलो हुनगयो ।
अर्कै विचार
लुम्बिनीमा हाल भइरहेको पुनर्निर्माण कार्यप्रति लुम्बिनी विकास कोषका पूर्व सदस्य–सचिव प्रा. आशराम शाक्य असन्तुष्ट हुनुहुन्छ । १२ जेठको दि राइजिङ्ग नेपाल मा उहाँ लेख्नुहुन्छ– मायादेवी मन्दिरको भवन निर्माण गर्दा ‘बौद्ध वास्तुकला’ प्रति ध्यान दिनुपर्छ र लुम्बिनी प्राङ्गणको धार्मिक स्वच्छतालाई उथलपुथल पार्नुहुन्न । यस्तै, स्टिलको संरचनालाई तामाको पाताले ढाक्नुपर्ने र बीचमा स्वयम्भू स्तुपको आकार हुनुपर्नेमा कोषले ‘रोमन वास्तुकला’ लाई ठाउँ दियो, उहाँ भन्नुहुन्छ ।
वास्तविक अवस्था, राष्ट्रियता, पुरातात्विक र वास्तुकलाको हिसावले मायादेवी मन्दिरको महत्व नबुझेकोले “सारा नेपाल र संसारकै बौद्धमार्गीहरू लुम्बिनी विकास कोष सञ्चालन गर्नेहरूप्रति क्षोभ प्रकट गर्दछन्,” शाक्यले लेख्नुभएको छ
यही खोल्सालाई जगको रूपमा लिइयो र यहीँ रहेका सत्तरीहरूले स्टिल फ्रेमको भार लिने भए । त्यतिले मात्र त पुग्दैनथ्यो, अझै गहिरो जग पनि चाहिन्थ्यो, तर खन्न या सिमेण्ट/कंक्रिट हाल्न युनेस्कोको सम्पदास्थल सम्बन्धी नियमले दिएन ।
यो समस्या पार गर्न सालका ३० फीट लामा खम्बा गाड्न ठीक पारियो । काठ ठोकेर गाड्दा वरिपरि पुरातात्विक भग्नावशेषमा धेरै कम्पन पैदा हुने हुनाले पटनाबाट ‘वर्मावाला’ मिस्त्री बोलाएर वर्माको प्रयोग गरी खम्बा गाडिए ।
१८ वर्षदेखि लुम्बिनी विकास कोषका प्रमुख पुरातत्वविद् रहेका वसन्त विडारी यहाँ भइरहेको कामबाट सन्तुष्ट भएको बताउँछन् । टीनको छहारीले ढाकेर राखिएको बुद्धको जन्मस्थलको रखवारी गर्ने अपजसे काम गरिरहनु पर्दा दिक्क भएका विडारी परियोजनाका विशेषताको वर्णन गर्दै भन्छन्, “परियोजनामा युनेस्कोको मार्गदर्शन अबलम्बन गरिएको, नेपालीहरूको भावना र स्मृतिको कदर गरिएको र सम्पदास्थलको निर्माणका लागि निर्धारित वास्तुकलाका मान्यताहरूलाई पालना गरिएको छ ।”
आयोजनाको कुल निर्माण लागत रु.७ करोड छ । लुम्बिनी विकास कोषले रु.३ करोड लगाउने भएको छ भने बाँकी सरकारले हाल्नुपर्नेछ । उपाध्यक्ष गौचनका अनुसार, पैसा दिने वचन प्राप्त भएको छ, तर स्वीकृत भइसकेको चाहिँ छैन । “नेपाल बुद्धको जन्मस्थल भएकोमा हामी जति गर्व गर्छौँ, उनको जन्मस्थलप्रति हाम्रो स्नेह चाहिँ ज्यादै कम रहेछ,” गौचन भन्छन् । लुम्बिनी अझ्ै पनि विभिन्न समूह र गूट–उपगूटको खिचातानीमा पर्न सक्छ । काठमाडौँमा हुने राजनीतिक परिवर्तनले लुम्बिनी विकास कोषको कार्यकारी नेतृत्वमा सीधै प्रभाव पार्ने गर्छ ।
सेप्टेम्बर सन् २००० देखि डेढ वर्षयता लुम्बिनीमाथि अधिकार भएका सात जना पर्यटन तथा संस्कृति मन्त्रीको फेरबदल भइसक्यो । सन् १९९० यताका १२ वर्षमा हाल गौचन बहाल रहेका उपाध्यक्षको पदमा पाँच जना आइसकेका छन् । उनीहरू सबैले तोकिएको पाँच वर्ष पूरा गर्न पाएका भए निश्चय नै केही न केही गहकिलो काम गर्ने थिए होलान्, तर लुम्बिनी सधैँ राजनीतिज्ञहरूको फूटबल बन्न पुग्यो । धर्म र राजनीतिको अदृश्य क्रीडास्थल बन्न पुगेको लुम्बिनी सम्पूर्ण संसारले ‘आफ्नो’ ठान्न सक्ने पवित्र आध्यात्मिक स्थल पनि बन्न सक्थ्यो । अझै पनि त्यस्तो बनाउन सकिन्छ ।
जन्मस्थल क्षेत्रमा भइरहेका कामले लुम्बिनीको महत्तालाई बुझ्न थालिएछ भन्ने सङ्केत चाहिँ दिएका छन् । यो सङ्केत सही हो भने जापानी आर्किटेक्ट केन्जो टांगेले सन् १९७५ मा तयार पारेका लुम्बिनी गुरुयोजना कार्यान्वयन हुने आशा गर्न सकिन्छ । ओमकार गौचन भने यो काम गर्न इच्छुक छन्, र भन्छन्, “हेर्दै जाउँ जतिसम्म काम गर्न पाइन्छ, त्यतिसम्म काम गर्दै जाने हो ।”