बाज र भँगेरी

हिमाल खबरपत्रिका (१६–३१ वैशाख २०६६) बाट

परम्परागत घरहरूमा काठका झयाल हुन्थे या आँखीझयाल । एक शताब्दीअघि सिसा भित्रिएपछि पहिले महल र दरबारमा पछि सर्वसाधारणका घरका खापामा स–साना ऐना गाँसेर झयाल बनाइन थाले । गत दशकयता एक्कासी ठूला–ठूला प्लेट ग्लासलाई काठको या आल्मुनियमका खापामा राखेर झयाल र ढोकामा समेत जडान गर्ने क्रम बढ्दो छ । यसरी नयाँ प्रविधि र वास्तुअन्तर्गत निर्मित भवनहरू सबैलाई आकर्षक लाग्नु स्वाभाविक हो । कोठा उज्यालो हुन्छ, ‘क्रस भेन्टिलेशन’ ले घरलाई वातानुकूलित गर्छ ।

किरण पाण्डे

हामी मानवलाई यी ठूला ऐनाका झयाल–ढोका जत्तिकै पायक परे पनि विभिन्न पक्षी प्रजातिका लागि यो विकास खतरनाक सावित भएको छ । यद्यपि मानवीयताको दृष्टिकोणले हामी अर्को प्राणी जातितर्फ त्यति संवेदनशील हुनसकेका छैनौँ । अलि ठूलो ऐना जडेको झयाल–ढोका भएको कुनै पनि कोठामा समय बिताएको जो कोहीले अनुभव गरेको कुरा हो– बेलाबखत ‘टङ्ग…’ या ‘डङ्ग…’ आवाज । त्यो हो विभिन्न चराचुरुङ्गीहरूले ऐना नदेखी खुला ठाउँतर्फ उडिरहेछु भन्दा ऐनामा ठक्कर खाँदाको आवाज । यदि भँगेरो या फिस्टे जस्तो सानो चरो हो भने आवाज ‘टङ्ग’ आउँछ । तर परेवा या ढुकुर जस्तो ठूलै पक्षी हो भने ठूलै ‘डङ्ग’ सुनिन्छ ।

कुनै बबुरो चराको यस्तो ठक्करबाट घाँटी नै भाँचिन्छ र तत्कालै मृत्यु हुन्छ । कुनै झयालको तल पिँढीमा खस्छन् र अलिबेर फट्फटाएपछि ज्यान अर्पण गर्दछन् । कुनै कुनै भँगेरो या फिस्टे रन्थनिएर यसै डिलमा बस्छन्, अलि पछि उडेर नजिकको बुट्यानतर्फ लाग्छन् । तर तिनीहरूको पनि भविष्य पक्का हुँदैन, यस्तो अवस्थामा कुकुर बिरालाको सजिलै आहार बन्न पुग्छन् ।

आखिर यसरी किन पक्षीहरू सीधै ऐनाको भित्तामा ठोक्किँदै ‘आत्महत्या’ गर्न तम्सन्छन् त ? कारण, उत्पत्तिको क्रममा आधुनिक आविष्कार प्लेट ग्लास उनीहरूको मस्ितष्कमा अङ्कित भएको छैन । न त चमेराको प्रजातिहरू जस्तो ‘सोनार’ र प्रतिध्वनिद्वारा कानले सुन्दै उनीहरू बाटो पहिल्याउँछन् । यी पक्षीहरू त आँखाको भरमा उड्नेहरू हुन् र पारदर्शी प्लेट ग्लास राखिएका झयाल–ढोका हेर्दा उनीहरूले खुला कोठा देख्दछन्, जहाँ ओत लिन सकियोस् अथवा एउटा झयालबाट छिरेर अर्को झयालबाट निक्लन सकियोस् । अक्सर यसरी मानवगृह भित्रिने चराहरू बाज या चीलजस्ता ‘बर्डस् अफ् प्रे’ को हमलाबाट बच्न छहारी खोज्दै आएका हुन्छन् । परेवा र भँगेराजस्ता अलि बढी मानव वस्तीमा हेलमेल गर्ने प्रजाति बढी यसरी दुर्घटनामा परेको हामी पाउँछौँ । काग जस्तो बढी चतुर अथवा धोवी चरो, जुरेली÷बुलबुल या भद्राई जस्ता अलि बढी ‘जङ्गली’ प्रजाति यस्तो दुर्घटनामा कम पर्ने गर्दछन् ।

आधुनिक प्रविधिद्वारा उत्पादित पारदर्शी ऐनाबाट सुसज्जित भवनमा छहारी खोज्ने क्रममा बित्थामा यसरी दिनहुँ हजारौँ पक्षीलाई चोट परिरहेको हुन्छ । यस्तो दैनिक प्रकोपबाट यी चराहरूलाई बचाउने एउटा उपाय पनि छ, तर अन्य धेरै पीरमर्का र हिंसाको शृङ्खलाबाट आजित हाम्रो समाजले यसतर्फ ध्यान दिन भ्याएको छैन । पश्चिमी मुलुकमा एउटा तरिका अपनाइन्छ, जुन हामीले पनि अँगाल्नु जरुरी छ । स–साना चराहरू आफूलाई आहार

बनाउने चील या बाजसँग सदैव सतर्क रहन्छन् । माथि आकाशको पृष्ठभूमिमा ती मांसहारी चराहरूको कालो आकार तुरुन्तै पहिचान गर्न सक्ने शक्ति उत्पत्तिको क्रममा भँगेरा र परेवाको मस्ितष्कको ‘जिन’ मै कोरिएको हुन्छ । त्यो आकार देख्दा नै उनीहरू सशङ्कित भई अन्यत्र रफूचक्कर हुन पखेँटा फिजाइहाल्छन् । तसर्थ, त्यस्तो बाज या चीलको छायाँ परेको जस्तो कालो आकार झयाल ढोकाका ठूला ऐनामा टाँसिदिने हो भने चराहरू त्यो आकार देखेर अन्तै भाग्छन् र ठक्कर खानबाट बच्दछन् । प्राणीको जीवन बचाउने यो एउटा तरिका हो ।

कुनै पनि खालको प्रताडनाबाट बच्न भनेर कुनै भवनको कोठाभित्र छहारी खोज्न आउने निर्दोष चरालाई ‘यता होइन है, खतरा छ !’ भनेर सन्देश दिनु जरुरी छ । त्यहाँ एउटा बाज या चील आकारको सि्टकर ऐनामा टाँस्ने हो भने प्रकृति र प्राणीप्रति हामी संवेदनशील रहेको ठहर्छ । भन्नै पर्दा हिंसा र मरण विरुद्ध अर्को प्राणी र प्रजातिको बचाउ गरेकै हुन्छौं ।

अफसोच, नेपाली बजारमा त्यस्तो ‘बर्डस अफ् प्रे’ को आकारको सि्टकर पाइँदैन । यदि मेरो सुझव तपाईंलाई मन पर्यो भने, यसै लेखसँग पेश गरिएको आकारलाई फोटोकपीमा करिब डेढ बित्ता ठूलो बनाई कटिङ गरी आफ्नो झयालको ऐनामा बाहिरपट्टि देखिने गरी टाँस्नुहोला । यसरी निर्दोष, यस जगतको प्राणीलाई खतराबाट आफूलाई बचाउन सूचना दिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *