हिमाल खबरपत्रिका (१–१५ असार, २०५९ ) बाट
पूर्वी रोल्पाको सुलिचौरबाट थवाङ जाने गोरेटोमा हिँड्नेहरू स्वाभाविक लाग्दैनन् । “ओ ! दाइ, को हौ, कताबाट आ’को, किन आ’को”, बाटोका सहयात्रीलाई सोध्ने रमाइलो बानी यहाँ हराएको छ । यो अस्वाभाविक नेपाल हो, जहाँ महिला र बालबच्चा पनि केही नबोली, आँखा यताउता नलगाई बाटो लाग्छन् । चिया पसलमा एक घण्टा बसिसक्दा पनि कसैले हुलिया माग्दैन ।
माओवादी आन्दोलनको केन्द्रविन्दु पूर्वी रोल्पाको अवस्था आज यस्तो छ । ‘चेप’ शब्दको प्रयोग यहाँ धेरै सुनिन्छ । एकजना मास्टर भन्छन्, “यो क्षेत्रको सर्वेसर्वा माओवादीको असहिष्णुता र सुरक्षा फौजको कार्वाहीको चेपमा परेका जनतालाई यहाँ बाँच्न गाह्रो परेको छ । देशकै सबैभन्दा शान्त कुना मानिन्थ्यो यो, खै के भएर बिग्रियो !”
रोल्पाका गाउँहरू बाँकी देशको लागि आज मरण क्षेत्रका रूपमा चिनिन्छन्, नुवागाउँ–होलेरी–लिस्ने–गाम । पछिल्लो कार्वाही गाममा भएको थियो, र पोबाङका गाउँलेले २४ वैशाखको रातभरी लुङ्ग्री खोलापारिको डाँडामा आकाशै उज्यालो पार्ने बमबारी र बन्दुक फायर भएको देख्नु–सुन्नु पर्यो ।
हामी सङ्कटकालको सात महिनापछि पूर्वी रोल्पाको जनजीवन कति खल्बलिएको रहेछ र माओवादीको ‘जनयुद्ध’ कसरी चलिरहेको रहेछ भन्ने हेर्न सदरमुकाम लिवाङ्ग नपसी सीधै सुलिचौरको नाकाबाट लुङ्ग्री उपत्यका छिरेका थियौँ । कुरा गर्न तयार हुने यहाँका बासिन्दा रोल्पा (र, यहाँभन्दा उत्तर पर्ने रुकुम) का जनताका लागि सङ्कटकाल, प्रकोपका रूपमा आएको छ भन्छन् । माओवादीलाई कुनै सहयोग नपुगोस् भनेर प्रशासनले सुलिचौरमा खाद्यान्नको नाकाबन्दी गरेको छ । यसले चोरबाटो गर्दै ढुवानी गर्ने माओवादी जत्थालाई धेरै असर परेको देखिँदैन भने गाउँलेहरूलाई आफ्नै खेतबारीको अन्नको भरमा जिउनुपर्ने बनाइदिएको छ । परिवारका सदस्यले मुग्लानबाट पठाएको भारतीय रुपैयाँ खर्च गर्दैछन् । थोरै मात्रामा खाद्यान्न किन्न पनि अचेल झ्न्झ्न् अप्ठेरो परेको उनीहरू बताउँछन् । सैनिक रणनीतिकारले जनतालाई आफ्नो बनाउन खाद्यान्नको समस्या अवलोकन ढिलाइ गर्नु नहुने देखिन्छ ।
“यदाकदा सिपाही आइपुग्छन् र सताउँछन्,” पोवाङका एक वृद्ध भन्छन्, “केही महिनाअघि हामी सबैलाई बोलाएर माओवादीलाई नसघाउने सुझव दिएका थिए ।” तर, माओवादीविरुद्ध बोल्ने कोही निक्लँदैन, र यहाँको जनजीवन अस्तव्यस्त पार्नमा उनीहरूको कम हात छैन । यहाँ विकासे क्रियाकलापमा लागेको लुथरन वल्र्ड सर्भिसका कार्यक्रमहरू ठप्प भएका छन् । स्कूल र स्वास्थ्य केन्द्रबाहेक राज्यको अस्तित्वै नभएकाले सबै अप्ठेरोमा परेका छन् ।
परम्परागत साँस्कृतिक जीवनमा पनि रोक लागेको छ । एक जना ४०–४५ वर्षका पुरुष भन्छन्, “हाम्रो पूजाआजा, मेला, भोजभतेर सबै बन्द भएको वर्षौँ भइसक्यो । माओवादीहरू भन्छन्, आजको वैज्ञानिक युगमा किन यो रुढीवाद ?” पोवाङमाथिको डाँडामा शिवपार्वतीको मन्दिर थियो, तर मूर्ति, घण्टा र छत सबै गायव भइसके, र यहाँ भदौको शुक्लपक्षमा हुने मेला अब लाग्दैन । गाउँ वरिपरिका विभिन्न पीठमा मङ्सिरमा बराह पूजा हुँदैन, बुद्ध पूर्णिमाको सिद्ध पूजाको अब सम्झ्ना मात्र छ । र, असार पूर्णिमामा महादेवको पूजा पनि अब हुँदैन । “यहाँ अब देवी–देउता छैनन्, पूजाआजा हराइसक्यो”, तिनै व्यक्तिले बताए ।
गाउँमा खुला राजनीति गर्नेहरू सबै लिवाङ, दाङ र अन्त सरेको धेरै भइसक्यो । पहिले राजनीति गर्ने स्कूलका शिक्षक आज निरीह प्राणी बनेका छन् । माओवादीको दबाबमा ‘हो’ र ‘हुन्छ’ बाहेक केही गर्न नसक्ने भएका छन् । भिन्न विचार बोक्नेलाई यहाँ माओवादीले टिक्न नदिने प्रस्ट छ ।
हुन त गरीबी नै माओवादी आन्दोलनको जड हो भनिन्छ, र दक्षिण रोल्पाको मादी उपत्यकाभन्दा निश्चय नै उत्तरी क्षेत्र विकट र पिछडिएको छ । तर, विपन्नताभन्दा राज्यबाट पुर्याइनुपर्ने सेवा नपुग्दा यहाँका बासिन्दाको जीवन कष्टकर भएको प्रस्ट हुन्छ । स्कूलका कोठा अँध्यारा छन्, भुईँमा माटै माटो छ र स्वास्थ्य केन्द्रमा अहेवलाई ‘डाक्टर’ मान्नुपर्छ । यी पहाडमा आर्थिक सम्भावनाहरू धेरै छन्, तर वास्तविकतामा परिणत हुन सकेका छैनन् ।
यहाँ माओवादी छापामारहरूलाई “जङ्गलको बगाल” को संज्ञा दिइन्छ । उनीहरूप्रति आक्रोश राख्नेहरू पनि सरकारसँग रिस पोख्छन् । मलेसियामा मजदुरी गरी कमाई फर्केर दोकान खोलेका वार्लेस रोका भन्छन्, “पहिलो सङ्कटकाल गाह्रो थियो, दोस्रो अझ् बढी, अहिले त असह्य भएको छ ।” रोकाको दोकानमा चामल र चाउचाउका प्याकेटले भरिभराउ हुने तख्ताहरू सुरक्षा फौजको नाकाबन्दीका कारण अहिले रित्ता छन् ।
पोवाङबाट पश्चिमपट्टिको उपत्यकामा जेलवाङ पर्दछ । तीन चार दशक अघिदेखि नै जागरुक गाउँ, जसले थवाङ जस्तै क्रान्तिकारी थलोको उपाधि पायो । “यहाँका ५१ जना माओवादी क्रान्तिमा शहीद भएका छन्”, एकजना बताउँछन् । जेलवाङ जाने गोरेटोमा “क्रान्ति गर्नु जनताको अधिकार हो,” एउटा ढुङ्गामा लेखिएको छ, साथै राजतन्त्र र प्रजातन्त्रविरोधी अन्य नाराहरू पनि । शेलुङ पुलछेउ रूखको टुप्पामा रङ्ग खुइलिइसकेको माओवादी झ्ण्डा फरफराउँछ । यो पुलमा पनि जेलवाङबाट झ्रेका गाउँले महिला कुरै नगरी, बाटो सोध्दा पनि जवाफ नदिई उँधो सुलिचौरतिर लाग्छन् ।
यो भेकमा माओवादी छापामारहरू आउने–जाने हुनाले बालकहरूलाई पनि विभिन्न खालका बन्दुकका नाम कण्ठ छन् । एक शिक्षक भन्छन्, “यसअघि हामीलाई के थाहा, थ्री–नट–थ्री भनेको के हो, एसएलआर र जीपीएमजी भनेको के हो !” हुँदाहुँदै माओवादीले पुरानो भरुवा बन्दुकलाई पनि अलि गहकिलो नाम दिएको थाहा भयो– एसबीएम्एल् (सिङ्गल ब्यारल मजल लोडर) ।
भारतबाट २८ वर्षको प्रवासपछि विकसित नेपालमा बुढेसकाल बिताउँला भनेर फर्केका ६६ वर्षीय कुम्भसिंह पुन भन्छन्, “म सिमलामै बस्न सक्थेँ, तर सन् १९९३ मा आफ्नै जन्मथलो वापस आएँ । यो ठाउँ कति शान्त थियो, अहिले त कस्तो–कस्तो भयो । म त मरुँला, तर आजका बच्चा कस्तो रोल्पामा हुर्केलान्… ।”
प्रत्यक्षदर्शनः माओवादी
जलजला लेकमुन्तिर पूर्वी रोल्पाका भयङ्कर अग्ला–अग्ला पहाडबीच माओवादीको खोजीमा हिँड्दाहिँड्दै दुई घरछेउ सानो चौरमा भलिबल खेलिरहेका युवाहरू देखिन्छन् । अचम्म लाग्छ, यो अनकन्टारमा कुन स्कूलको टोली पिकनिक आएछ । अलि नजिक पुग्दा छापामार बर्दीमा रहेको एउटा युवाले एसएलआर राइफल बोकेको देखियो । माओवादी भेट्ने भनेको त टे«निङ्ग क्याम्पमै पुगिएछ !
पूरा चौरभरी व्यागहरू छरिएका र किसिम किसिमका बन्दुक– थ्री–नट–थ्री, एसएलआर र एउटा एलएमजी देखियो । सबै छापामार युवाले हामी (केनडेली पत्रकार डेनियल ल्याक, सम्पादक दीपक थापा र म) लाई उत्सुकताका साथ हेरे । एउटाले करायो, “त्यो हतियार लुकाउ भनेको, के हेरिरहेको ?” अनि अलि सिनियर लाग्ने लडाकु आएर सोध्न थाल्यो, जुन कुरा यस भेकका गाउँलेले सोध्न छाडिसकेका थिए– “को हौ, कताबाट आयौ, किन आयौ ?”
केही छिनपछि “जनमुक्ति सेना” का कम्पनी कमाण्डरले छेउको घरभित्र कोठामा भित्याएर केर्न थाले र अन्त्यमा भने, “हामी डाँडापारि अर्को क्याम्पमा जाँदैछौँ, तपाईँहरू हामीसँगै आउनुपर्नेछ ।” हामीले समाचार लेख्ने ‘डेडलाइन’ को कारण त्यसो गर्न नसक्ने भन्दा पनि केही लागेन, र ठूलो झ्रीका बीच हिँड्ने तयारी गर्न बाध्य भयौँ । बाहिर युवा छापामारहरूको नास्ताको समय भएछ । ठूला साना सबै स्टिलको गिलासमा कुनै पौष्टिक पदार्थ चिसो पानीसँग चम्चाले घोल्दै खाइवरि उनीहरू पनि बन्दुक भिरेर लाइनमा लागि हिँड्ने तयारी गरे ।
हामी कुन अनकन्टारमा कति दिन हिँड्नुपर्ने हो विचार गर्दागर्दै योजना फेरिन गयो । एउटा अलि उच्च तहका नेता त्यहाँ आइपुगे, परिचय कमरेड विजय भनेर दिए । उनको भनाइमा माथि लेकमा हिँडिरहेका अझ् सिनियर नेताले हाम्रो हुलिया बुझ्ेपछि अन्तर्वार्ता दिई फिर्ता गर्न अनुमति दिएछन् । हँसिला स्वभावका कमरेड विजयले भने, “तपाईंहरूलाई शङ्का गर्नुपर्ने ठाउँ त थुप्रै छ । यस्तो नाजुक परिस्थिति छ यहाँ, दुई दिनअघि मात्र हाम्रा छ जना कार्यकर्ता लिवाङ इलाकामा शहीद भए । तपाईंहरू चाहिँ पर्मिसन पनि नलिई आउनुहुन्छ ।”
हामीले रिपोर्टिङका सिलसिलामा आएको पक्का गरेपछि उनले मैनबत्तीको उज्यालोमा अन्तर्वार्ता पनि दिए । ३०–३५ वर्षका देखिने कमरेड विजयले आफ्नो राजनैतिक जीवन अखिल भारतीय नेपाली विद्यार्थी संघबाट शुरु भएको र त्यतिखेर सोही संघका नेता बाबुराम भट्टराईको चेलो रहेको पनि बताए । उनी नेकपा माओवादीको जिल्ला समिति सदस्य रहेछन् र ‘जनमुक्ति सेना’ का क्याडरलाई राजनीतिक र सैद्धान्तिक प्रशिक्षण दिने काम गर्दा रहेछन् । ‘जनयुद्ध’ को प्रगतिबारे कमरेड विजयले भने, “हामीले शुरु गर्यौँ घरायसी औजारबाट । एसवीएमएल र थ्री–नट–थ्रीको प्रयोग गर्दै आज हामी मेशिनगनसम्म पुगिसक्यौँ । होलेरीबाट एउटा नयाँ आयाम शुरु भयो र यहाँसम्म आइपुग्यौँ ।”
रोल्पाका माओवादीको आत्मबलको मुख्य कारणचाहिँ यहाँको भूबनोट नै हो– ठूल्ठूला पहाड, जसका अनेकौँ कन्दरामा सुरक्षा फौज आएको थाहा हुने बित्तिकै लुक्न सजिलो हुन्छ । “हाम्रा सुराकी लिवाङमा छन्, शत्रुका सुराकीले सदरमुकाम छाड्दैनन्,” उनी भन्छन् । माओवादी लडाकुको आत्मबलबारे सोध्दा उनी राज्यले गरेको अन्याय र कुकृत्यको कुरा गर्छन्, तर आजभोलि बढ्दै गएको बलजफ्ती ‘कन्स्क्रिप्सन’ (भर्ती) को कुरा भने गर्दैनन् ।
यो विकट पहाडमा उही रेडियो नेपालको अविश्वसनीय समाचार पनि यी लडाकुका लागि खबर हुँदोरहेछ, माओवादीको स्थिति कहाँ के भइरहेछ बुझ्न । आफ्नो क्षेत्रमा सर्वेसर्वा जस्तो भए पनि, सैन्य पोख्तता कमाए पनि भविष्यमा कता जाने भन्दा कमरेड विजयको जवाफ अलि रोमाञ्चक लाग्यो, “हामी संसारभरिका पीडितको प्रतिनिधित्व गर्दैछौँ, र हेर्नुभएकै होला आज आएर हाम्रो लडाइँ काठमाडौँको सरकारविरुद्ध नभई सिङ्गो साम्राज्यवादविरुद्ध हुन पुगेको छ ।”
तर अन्त सफल नभएको माओवाद नेपालमै कसरी सफल होला त ? “सफल हुन्छ किनभने अन्तको भूलबाट हामी सिक्ने छौँ, र मध्यम वर्गलाई जसरी पहिले वास्ता गरिएको थिएन, त्यो भूल हामी दोहोर्याउने छैनौँ ।” प्युठानको झ्मिरुक जलविद्युत् केन्द्र जस्ता जनमुखी संरचनालाई किन तारो बनाएको ? भन्ने प्रश्न गर्दा उनले भने, “जुन संरचनाले जनतालाई सुविधा हुने भए पनि सरकारलाई बढी फाइदा दिन्छ, त्यसलाई हामी ध्वस्त पार्छौँ । झ्न् झ्न् ठूलो पुल पनि भत्काउँदै जाउँला । जनतालाई सताउने बोर्डिङ स्कूल बन्द गराउने कारण पनि यही हो ।”
एउटा अर्को प्रश्नमा कमरेड विजय भन्छन्, “न हामी मानव ढाल प्रयोग गर्छौँ– किनभने हाम्रो सेनाले धावा गर्दा त्यो चाहिँदैन– न त हामी शहीद भएका कमरेडको टाउको बोकेर लग्छौँ । जिउँदालाई पो त शत्रुले चिन्नु भएन, मरेपछि के को डर ?”
भविष्यमा कता ? सोध्दा उनी भन्छन्, “माओवाद र माक्र्सवादलाई नेपाली धरातलमा संयोजन गर्ने सिद्धान्त नै प्रचण्डपथ हो, र, यसअन्तर्गत राजनीतिक र सैनिक पहल दुवै एकसाथ अगाडि बढ्नेछन् ।” आफ्नो हाइकमाण्डबाट छिट्टै एउटा “राजनैतिक दस्तावेज” सार्वजनिक हुने उनको आश्वासन सुन्दै हाम्रो अन्तर्वार्ता सकियो ।
आवरणः
लुङ्ग्री खोला उपत्यकाबाट उत्तरतर्फ माओवादीको जन्मथलो थवाङतिर हेर्दै गरेकी महिला ।