हिमाल खबरपत्रिका (१६ असाेज – १५ कात्तिक, २०५९)बाट
विश्व घटनाक्रम र वैचारिक क्रियाकलापबाट हामी नेपाली वञ्चित छौँ । साक्षर भएर पनि शिक्षा र सूचना हासिल गर्न हामीलाई गाह्रो छ, किनभने आधुनिक युगसँग मुकाविला गर्न चाहिने स्पेनिस, फ्रेञ्च, जर्मन या अङ्ग्रेजी जस्ता युरोपेली भाषाहरू हामीसँग छैनन् । तसर्थ, समयको गति र आधुनिक संसारको वैचारिक मेलामा हामी सहभागी हुन सक्तैनौँ । ‘ब्रडशीट’ दैनिकहरूबाट कोरा खबर त केही हदसम्म पाउने गर्छौँ, तर विश्लेषण पाइँदैन । आफ्नो दिमागमा रहेको ज्ञानको भण्डार भन्दा बाहिरको अनुभव थाहा पाउने र प्रकट गर्ने भाषा नभएकै कारण शायद नेपालीमा खुशवन्त सिंह, इकवाल अहमद या टार्जी भिटाची जस्ता लेखकहरू जन्मिएन ।
नेपाली पाठकको दृष्टिमै नपरी अघिल्लो हप्ता विश्वमा के–कस्ता विवेचना र समीक्षा बगेर गए त भनी लण्डनबाट प्रकाशित हुने इकोनोमिस्ट साप्ताहिकको पछिल्लो (सेप्टेम्बर २०–२७) अङ्क पल्टाएँ । त्यसमा प्रस्तुत अनेकन् लेख, टिप्पणी, विश्लेषणहरूमध्ये केहीलाई नियाली हेरौँ, कुनैमा नेपाली सन्दर्भ पनि जोड्दै ।
• इराक–अमेरिका द्वन्द्वलाई लिएर जोर्डनका राजा अब्दुल्लालाई आफ्नै किसिमको पीर छ । अमेरिका समर्थक भनिने यो ‘हाशेमाइट अधिराज्य’ का तन्नेरी राजा यता आएर वाशिङ्गटन डीसीले सबैभन्दा मन पराउने अरब शासक हुन पुगेका छन् । इराक र इजरायलको छिमेकी रहेको यो अति संवेदनशील राज्यको घोषित नीति इराकमा अमेरिकाले हमला नगरोस् भन्नेछ । मन्त्री र भलाद्मीहरू अमेरिकी हमलाको खिलाफमा बोल्छन्, किनभने अमेरिकी आक्रमण भए जोर्डनी पर्यटन ध्वस्त हुनेछ र यहाँको नाजुक अवस्थाको राजनीतिमा पनि ठूलो असर पर्नेछ । तर मनभित्र जोर्डनीको अर्कै तर दबेको चाहना पनि छ । किनभने सद्दामको सट्टा अमेरिका समर्थक राज्यसत्ता बगदादमा आइदिए त्यसको मुख्य फाइदा जोर्डनलाई नै हुनेछ । त्यसो हुँदा जोर्डनको अकाबा शहर इराकको मुख्य बन्दरगाह हुनेछ र इराकको संसारसँगको व्यापार यहीँबाट हुनथाल्छ । “तर”, इकोनोमिस्ट लेख्दछ, “त्यो लूट हात लाग्नुअघि युद्ध त हुनुपर्यो नि !” र त्यसै कारण अम्मानमा अहिले सबै ‘नर्वस’ छन्; युद्ध चाहियो पनि चाहिएन पनि ।
• सच्चा वामपन्थीले कसरी सामाजिक क्रान्तिको बाटो रोज्दछन्, तिनमा कति दह्रो अठोट, सङ्कल्प हुन्छ; दशकौँसम्म पनि ती कसरी अथक प्रयासमा लागिरहन्छन् भन्ने कुराको उदाहरण ब्राजिलका वामपन्थीहरूले प्रस्तुत गरेका छन्; जुन बन्दुकको भरमा तुरुन्तै सत्तामा पुग्न हतारिएका कुनै पनि क्रान्तिकारी जत्था निम्ति उपयोगी पाठ हुनसक्छ । ब्राजिल वर्कर्स पार्टीका ‘र्याडिकल’ मानिने टे«ड युनियन नेताको नाम हो लुइस इनासियो लुला डा’सिल्भा, जसलाई ‘लुला’ भनेर दशकौँदेखि संसारले चिन्दै आएको छ । कैयौँ देशका वाम नेताहरू छिट्टै सत्तामा पुग्न या त बन्दुकधारी माओवादी भएर निस्किए (जस्तै हाम्रा माओवादी) या त पुरानै सिद्धान्त फलाक्दै पूँजीवादी परिवेशमा आफूलाई ढाले (जस्तै हामै्र एमाले) । थोरैले नै लुलाको वर्कर्स पार्टीले झैँ दशकौँको लागि मेहनत तथा शान्तिपूर्ण सङ्घर्ष गरिरहे, जनतालाई सचेत बनाउन कठोर सरकार र सत्तासँग वैचारिक मुकाविला गर्दै । विगतका तीन चुनावमा लुलाले राष्ट्रपतिको पदको लागि लड्दा नराम्रो हार खानु पर्यो र धेरै वर्ष भयो उनबाट कुनै जीत हुन्छ भन्ने आश हराएको । यसपालि भने उनको जीत निश्चित छ । रमाइलो मान्नुपर्ने कुरो हो कि इकोनोमिस्ट जस्तो ‘क्यापिटलिस्टटील्ट’ पत्रिका पनि आज आएर लुलाको प्रतिभाको प्रशंसा गरेर लेख्न बाध्य भएको छ ।
• सात वर्ष लामो माओवादीको हिंसात्मक कार्यले नेपाललाई सङ्कटापन्न स्थितिमा पुर्याइसकेको छ । लेटिन अमेरिकाको ग्वाटेमालामा वामपन्थी गुरिल्ला र सरकारबीचको लडाइँ (‘डर्टी वार’) ३६ वर्षलाई चल्यो, जसमा पूरै दुई लाख छापामारहरू मरे भनिन्छ । सरकारी पक्षबाट जनतामाथि धेरै ज्यादती भएकोले त्यसलाई ‘डर्टी वार’ भनिएको थियो । यही हत्याका कारण सन् १९९६ मा त्यहाँ एक खालको ‘शान्ति’ पनि स्थापित भयो । नागरिक शासन भए पनि आज ग्वाटेमालामा सेनाको बोलबाला छँदैछ, तैपनि न्यायको ढोका भने खुल्न आँटेको आभास मिलेको छ । एक दशकभन्दा अघि गैर कानूनी हत्यामा संलग्न भएको अभियोगमा गत हप्ता तीन सैनिक अफिसरमाथि मुद्दा चलाइयो । अर्जेन्टिनामा पनि यस्तै प्रक्रिया शुरु भएको केही वर्ष भइसक्यो, जहाँ धेरैलाई ‘डिस्अपियर’ गराइएको थियो– लापता । तर अर्जेन्टिनाभन्दा धेरै कम विकसित ग्वाटेमालामा शुरु भएको यो अदालती कार्वाहीले राम्रो सङ्केत दिन्छ, आज जतिकै लापर्वाही र बदमासी गरे पनि सभ्य समाज हो भने कुनै न कुनै बेला खानतलासी त हुन्छ नै, दशकौँपछि किन नहोस् ।
• चीन र तिब्बतको बारेमा कुरा चल्दा हामी नेपालीहरू मौन रहन रुचाउँछौँ । पत्रकार बन्धुहरू चीन सरकारले घुमाउन लगिदिँदा वाह वाह गर्दै फर्कन्छन् । तर ल्हासासँग हाम्रो भविष्य गाँसिएकोले त्यहाँको राजनीति र अर्थतन्त्रमा भएको चहलपहलले हामीलाई कसरी असर पार्छ भन्नेतर्फ हामी त्यतिको ध्यान दिँदैनौँ । तिब्बतमा हालसालै केही परिवर्तन आउन थालेको आभास मिलेको छ । इकोनोमिस्ट लेख्छ, “तिब्बती जनताको समर्थन पाउन त्यहाँ बेइजिङले अर्थतन्त्रको विकास र आधुनिकीकरणमा जोड दियो । शायद, यो रणनीतिले काम गर्न थालेको छ ।” किनभने उक्त पत्रिकाको भनाइमा दलाई लामाको धर्मशाला (हिमाचल प्रदेश) मा रहेको प्रवासी ‘सरकार’ र बेइजिङ सरकारबीच भेटघाटको क्रम रफ्तारमा शुरु भएको छ । दलाई लामाका अनौपचारिक दूतको रूपमा काम गर्ने उनका दाजु ग्यालो थन्डुपलाई एक्कासि ल्हासा जाने अनुमति दिइयो । त्यसपछि धर्मशाला सरकारका वरिष्ठ पदाधिकारी लोदी गारीले बेइजिङमा ठालूहरूलाई भेट्ने मौका पाए । हुन सक्छ, रिटायर हुन लागेका चिनियाँ राष्ट्रपति जियाङ जेमिनले आफ्नो कार्यकालको अन्त्यमा संसारका सामु केही स्मरणीय काम गरेर पद छाड्न आँटेका होउन् । भावी राष्ट्रपति हू जिन्टाओले आफू आउनुअघि केही नयाँ कदम थालेका पनि हुन सक्छन् । सम्झ्नुपर्ने कुरा, धेरै वर्षका लागि जिन्टाओ ल्हासामा बेङजिङका कमिसार नै थिए । इकोनोमिस्ट लेख्छ, “तिब्बतीहरूसँग सम्झैता गर्ने आखिर यिनै (जिन्टाओ) नै होलान् कि ?”
• एकताकाका खुँखार “आतङ्कवादी” र “पृथकतावादी” हरू कसरी वार्ताको टेबुलमा आउँदा रहेछन् भन्ने कुरा श्रीलङ्काको उदाहरणले देखाइरहेको छ । थाइल्याण्डमा भइरहेको ‘लिट्टे’ र कोलम्बोको सरकार बीचको वार्तामा १९ वर्ष लामो गृहयुद्ध समाप्त पार्ने प्रयास भइरहेछ, र पूरै श्रीलङ्काली जनता स्तब्ध भएर वार्ताको परिणाम पर्खिरहेछन्, के होला भनेर । ग्वाटेमालामा तीनदशकमा दुई लाख मरे भने यहाँ झ्ण्डै २ दशकमा ६५,००० मारिएका छन् नेपालको आँकडाः ७ वर्षमा करीब ७ हजारकै हाराहारीमा पुगेको छ । युद्ध चर्कियो र लम्बियो भने श्रीलङ्काकै हाराहारीमा नपुग्ला भन्न सकिन्न र यस्तो कहालिलाग्दो विचार कहिल्यै पोख्नुपर्ला जस्तो लागेको थिएन । लिट्टेका अधिनायकवादी हाकिम वेल्लुपिल्ले प्रभाकरणका प्रमुख सहयोगी एवं मुख्य वार्ताकर्ता एन्टन् वालसिंघमले थाइल्याण्डमा जनाए अनुसार पूर्ण स्वतन्त्र तमिल राष्ट्रको माग अब लिट्टेले गर्ने छैन । दक्षिण एसियामा नै सबैभन्दा क्रूर मानिने राजनैतिक सङ्गठन तमिल टाइगरका त लचकता देखाउने दिन आउँदा रहेछन् भने कमरेड प्रचण्डले प्रभाकरणबाट यो कुरा किन नसिक्ने ? कि यहाँ पनि १९ वर्षे युद्धको लागि मानसिक तयारी गर्ने ?
• लिसोथो, दक्षिण अफ्रिकाको एउटा अधिराज्य, हामी जस्तै भूपरिवेष्ठित र जलस्रोतको धनी । त्यहाँ पनि यहाँ जस्तै कमिशन एजेण्टमार्फत् ठूला ठूला बाँध बनाउने चक्कर हुँदोरहेछ, जुन ‘स्वाभाविक’ हो । तर यहाँ नभएको त्यहाँ भएको अनुभव चाहिँ, घूस खुवाएको अभियोगमा ठूलाठूला पश्चिमा अन्तर्राष्ट्रिय कम्पनीहरू र घूस खाएको अभियोगमा लिसोथो सरकारका अफिसरहरू माथि कानूनी कार्वाही चलाइएको छ । कति त दोषी पनि ठहरिइसकेका छन् । ‘लिसोथो हाइल्याण्ड वाटर प्रोजेक्ट’ अफ्रिकाकै सबैभन्दा ठूलो मानिने बाँध आयोजनामा एकर्स इन्टरन्याशनल नामक क्यानडेली कन्सल्टेन्सी कम्पनी प्रोजेक्ट हाकिमलाई झ्ण्डै ३ लाख डलर घूस ख्वाएको अभियोगमा दोषी ठहरियो लिसोथोको अदालतबाट । यो कम्पनी नेपालमा पनि त्रिशूली–देवीघाट पुनस्र्थापन लगायतका कैयौँ आयोजनाहरूमा वर्षौँदेखि संलग्न हुँदै आएको थियो । इकोनोमिस्ट का अनुसार जर्मनीको लाहमाएर कम्पनी माथि पनि लिसोथोको अदालतमा कार्वाहीको थालनी हुँदैछ यही अभियोगमा ।
लाहमाएर पनि नेपालको मस्र्याङ्दी, अरुण–३ लगायतका थुप्रै आयोजनामा काम गरेको कम्पनी हो । इकोनोमिस्ट का अनुसार खाली विकासोन्मुख राष्ट्रका सरकारहरूलाई भ्रष्टाचारको दाग लगाउने पश्चिमा मुलुकहरूको बानीसामु पश्चिमा कम्पनीहरूलाई नै यसरी दोषी फेला पार्दा अफ्रिकी बुद्धिजीवीहरू खुशी छन् । लिसोथोमा अचाक्ली गर्ने यी कम्पनीहरूले नेपालमा पनि हेल्चेक्र्याइँ गरेनन् होला भन्न त मिल्दैन । तर लिसोथोको अदालतले चलाएको जस्तो कार्वाही हाम्रा अदालतले कहिले चलाउलान् ?
• संसारमै नाम कहलिएका लेफ्टिएट बुद्धिजीवी, लेखक र सिद्धान्तकार एरिक हब्स्वम्ले हालसालै आफ्नो आत्मकथा लेखेका छन् (इन्टरेस्टिङ टाइम्स्ः ए टूवेन्टिएथ सेन्चुरी लाईफः प्यान्थिअन् प्रकाशन, अगस्ट २००२) । आफूलाई “लाइफ्लङ्ग कम्युनिष्ट” भनी चिनाउने हब्स्वम् चाहिँ सन् १९३० को दशकको अक्सफर्ड विश्वविद्यालयका “सबैभन्दा लाल तथा र्याडिकल जेनेरेशन” का सदस्य मानिन्छन् । उनको किताबको समालोचना पढ्दा नेपालका वामपन्थीहरू (अरू खेमाकाले त सैद्धान्तिक कुरै पढ्दैनन् जस्तो छ, त्यसैले उनीहरूको कुरै नगरौँ) ले सीधै माक्र्स र माओ बाहेक युरोपेली वाम बौद्धिकहरूका लेखन र जीवनी कति पढेका छन्, भन्ने मनमा लाग्यो । किनभने त्यस्ता अनुभव पढेर मात्रै जिन्दगीका गहिराइ र अप्ठेराहरू बुझन सकिन्छ जो रुखो सिद्धान्त मात्रले कहिल्यै दिँदैन । बर्लिनमा हुर्केका हब्स्वम्को नात्सी जर्मनीलाई परास्त गर्न कम्युनिष्ट रूस नै चाहिन्थ्यो भन्ने अडान आज पनि यथावत् नै छ, तर उनको विचारमा कम्युनिज्मको मर्मलाई स्टालिन र उनका उत्तराधिकारीहरूले मिच्न पुगे, र सोभियत राज्यको स्वार्थले ‘कम्युनिष्ट इन्टरन्याश्नल’को विश्वव्यापी क्रान्तिकारी आकांक्षालाई मेटाइदिए ।
८५ वर्ष नाघिसकेका र बूढा कम्युनिष्ट हब्स्वम्को चाखहरूमा साम्राज्यवादी साहित्यकार मानिने रुड्यार्ड किपलिंगका कविताहरू पर्छन्, बेलायतको ग्रामीण वेल्स् प्रान्तका चराहरू बारे यिनी विशेषज्ञ छन्, र उनको मनोरञ्जन भने ज्याज सङ्गीत हो । रूसले हँगेरीमाथि हमला गर्दा आफ्नो पार्टीप्रति खिन्न रहेका हब्स्वम् अझै पनि आफूलाई कम्युनिष्ट हुनुमा गर्व गर्छन्, तर धेरै वाम पार्टीहरूले अँगाल्ने “रगत र माटोमा भिजेको राष्ट्रियता” को भने उनलाई केही काम छैन । अति राष्ट्रवादी आफूलाई देखाउनुपर्ने हाम्रा पार्टी र नेताहरूले यो कुरा मनन् गर्नुपर्ने हुन्छ । र, आश गरौँ “इन्टरेष्टिङ्ग टाइम्स्” जस्ता कृतिहरू नेपालीमा अनुवाद भई पाठकसामु आउन् ।
इकोनोमिस्ट को एउटा अङ्कका अनगिन्ती लेखबाट केही मात्र छान्दाका प्रस्तुति हुन् यी । ज्ञान र सूचनाको विशाल नदी हामी नेपालीसामु बगिरहेछ, त्यो नदीको पानी पिउन जाने क्षमता हाम्रो छैन, र अञ्जुलीमा भए पनि अलिकति जल ल्याइदिने कर्मीहरू पनि यहाँ बनिसकेका छैनन् ।