हिमाल खबरपत्रिका (१६–२९ कात्तिक २०६६ ) बाट
१–१५ चैत २०६० को हिमाल मा छापिएको दोरम्बा हत्याकाण्डमा मारिएका माओवादी कार्यकर्ता तथा स्थानीय जुझरु नेता बाबुराम तामाङको तस्बिरको ‘क्रेडिट’ छुटेको थियो । वास्तवमा त्यो तस्बिर खिच्ने श्रेय दिनुपथ्र्यो ‘अज्ञात माओवादी’लाई ।
२०६० साउनमा सेनाको टुकडीले रामेछापको उत्तरपूर्वी कोप्चोमा पर्ने दोरम्बा गाउँमा दुई सर्वसाधारण र १९ जना माओवादीलाई मारेको खबर आयो । राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन सदस्य सुशील प्याकुरेलले सेनाको भिडन्तको कथन विश्वसनीय ठानेनन्, चार जनाको स्थलगत अनुसन्धान टोली खडा गरे र २७ अगस्ट २००३ को दिन टोली हेलिकप्टरबाट दोरम्बा पुग्यो । त्यस टोलीमा संयोजक पूर्व न्यायाधीश कृष्णजङ्ग रायमाझ्ी, सदस्यहरू नामुद फोरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती, पूर्व महान्यायाधिवक्ता प्रेमबहादुर विष्ट र म थियौँ । अधिवक्ता हरि फुँयाल आयोगको प्रतिनिधिको हैसियतले साथमा थिए ।
हाम्रो विस्तृत विवरण तथा ठहर आजसम्म पनि मानवअधिकार क्षेत्रको सबैभन्दा प्रस्ट र अकाट्य प्रतिवेदन हो जस्तो लाग्छ, जसले सेनाबाट ज्यादती भएको ठोकुवा ग¥यो र जर्साबहरूलाई प्रतिरक्षात्मक बनायो । अफसोच, न त यो तबरको अनुसन्धान फेरि आयोगले गरेको छ, न त्यस अनुसन्धानपश्चात् कुनै कानुनी कारबाही नै अगाडि बढ्यो । दोरम्बाको त्यो प्रतिवेदनले पनि दण्डहीनताको संस्कारलाई तोड्न सकेन ।
हत्याको दिन स्थानीय शिक्षक युवराज मोक्तानको घरमा करिब ५० जना माओवादी आफ्नो आन्तरिक छलफल तथा दुई कार्यकर्ताको विवाह तय गर्न बसेको बुझ्यिो । मन्थलीबाट दुई दिन लगाएर आएको सेनाको एक टुकडीले सो घरलाई घेरा हालेर १९ जनालाई पक्रियो र हात बाँधेर माथि सैलुङको जङ्गलतिर लग्यो । डाँडापारि दोलखापट्टि फायरिङ भएको सुनेर लस्करले अर्को बाटो लियो र डाँडाकटेरी भन्ने ठाउँमा लाम लगाएर हाहाकार र कोलाहलबीच १८ जनालाई नजिकैबाट टाउकोमा गोली हानी हत्या ग¥यो । र, विध्वंस लुकाउने कुनै चेष्टासम्म नगरी सबै लासलाई एकमाथि अर्को खप्टिने गरी गोरेटोछेउ गिराइदिएर सिपाहीहरूको टुकडी सदरमुकाम मन्थलीतिर झ्¥यो । यस घटनामा छुट्टै एक जना अन्तै मारिएका थिए भने ‘उषा’ नामकी एक महिला बेपत्ता पारिएकी थिइन् ।
राति ‘आमा !’, ‘बचाऊ !’ ‘बचाऊ !’ भन्दै गुहार मागेको मार्मिक डाँको सुनेको स्थानीयवासीले हामीलाई सुनाए, तर सेनाको भयावह क्रियाकलापबाट त्रसित गाउँलेहरूले उद्धार गर्ने आँट गरेनन् । पर्सिपल्ट मात्र माओवादी आए र हुस्सुले ढाकेको डाँडाकटेरी देउरालीको त्यो हत्यास्थलमा पुगे । पाखामा थुप्रिएको लासको तस्बिर खिचे अनि बाँसको खटमा ती लासलाई बोकेर नजिकैको चौरमा लगी सेताकपडा र हँसियाहथौडा अङ्कित झ्ण्डाले बेरे र सलामीसहित गाडिदिए ।
ती लासलाई उधिन्ने काम हामीले ग¥यौँ । स्थानीयवासीलाई पनि कोदालो चलाउन हौस्याउँदै डा. वस्ती हरेक खाडलमा छिर्नुभयो, हरेक लासको निरीक्षण गर्नुभयो, माथि नोट लेख्ने र फिल्म–फोटो खिच्ने काम गरिरहेका हामी हरि फुँयाल र मलाई चोटको प्रकार सुनाउँदै जानुभयो । हाम्रो दोरम्बा प्रतिवेदनमा श्रीमान् रायमाझ्ीको स्वीकृतिसहित अङ्ग्रेजीमा ‘एक्ज्युमेसन’ भनिने यो प्रक्रियालाई हामीले शव+उत्खनन = शवोत्खनन नामकरण ग¥यौँ ।
डा. वस्तीले निरीक्षण गरेका १९ लासमध्ये १८ वटामा कञ्चट, निधार या गालाबाट गोली छिरेका थिए र नजिकैबाट लागेकाले गोली निस्कँदा हरेकको खोपडी ध्वस्त भएको थियो । एउटै लासमा अनुहारमा कतै चोट थिएन, खाली बायाँ हातमा गोलीको चोट मात्र लागेको थियो । यिनै थिए— स्थानीय नेता तथा माओवादी कार्यकर्ता बाबुराम तामाङ । अरू लासमाझ् एक्लै उहाँको मृत्यु ‘ब्लडलस्’ (अत्यधिक रक्तस्राव) बाट भएको रहेछ । हामीले हत्याको १२ दिनपछि शवोत्खनन गरेर उनीहरूलाई फेरि चिरनिन्द्रामा माटोमुनि पुरिदिएका थियौँ । हामी अनुसन्धान सकेर देउरालीबाट तल झ्र्दा १४–१५ वर्ष ननाघेको एक जना ठिटो आयो र एउटा रोल फिल्म हामीलाई सुटुक्क दिएर गयो । उसले आफूलाई माओवादीको दौडधुप गर्ने कार्यकर्ता भनेर चिनाएको थियो । काठमाडौँ फर्केर उक्त फिल्म रोल धुलाउँदा सेनाले छाडेर गएको लासहरूको बीभत्स दृश्य देखियो । तीमध्ये एउटा लास चौरमा कोल्टे पारेर राखिएको थियो, सिपाहीले पछाडिपट्टि बाँधेका हात अझ्ै जस्ताको तस्तै थिए । द्वन्द्वकालको काटमारले बाबुराम तामाङ जस्ता धेरै जनसमर्पित नागरिकको ज्यान लियो ।
हाम्रो टोली त फर्कियो, तर दोरम्बाको पीडा निरन्तर चल्यो । माओवादी नेतृत्वबाट कडाइका साथ कारबाही चलाउने आदेश बमोजिम सुराकी गरेको आरोपमा त्यहाँ तीन जना स्थानीयवासी मारिए । सामुदायिक स्वास्थ्यकर्मी रेलिमाई तामाङलाई विशेष क्रूरताका साथ मारिएको खबर छ । उता हामीलाई त्यो फिल्म रोल बुझउने ठिटो पनि भिडन्तमा मारियो भन्ने सूचना पछि पाइयो ।
संयुक्त कमाण्डअन्तर्गत सेनाको नेतृत्वको त्यो टुकडीको त्यत्रो ज्यादतीमा सहभागी कसैलाई दण्ड दिइएन । टोलीको नेतृत्व गर्ने मेजर राममणि पोखरेलले पदोन्नति पड्काउँदै अवकाश समेत पाइसकेका छन् । विशेष क्रूरता देखाउने एक प्रहरी र सेनाका एक अफिसरको क्यारिअरमा कुनै धक्का लागेको देखिएन । गोली चलाउने जवानहरूको नाम सार्वजनिक भएको छैन, न त ‘चेन अफ कमान्ड’ द्वारा त्यो हत्या गर्न लगाउने को थियो भन्ने नै ठोकुवा भएको छ । आफूमाथि पनि औंला ठड्याइन्छ भन्ने विचारबाट त्रसित माओवादी पार्टी आफैँ दोरम्बा हत्याकाण्डको छानबिन भएको हेर्न तत्पर देखिएन । अन्ततः दोरम्बा अनुसन्धान समितिले सबल अनुसन्धान र प्रमाण सबै दिँदादिँदै पनि उदाहरणीय कारबाही गर्न आजसम्मका सरकार तत्पर देखिएनन् । सुनिन्छ, प्रधानमन्त्री माधवकुमार नेपाल दण्डहीनताको अवस्थालाई अन्त्य गर्न केही उदाहरणीय काण्डहरूको छानबिन र दोषीमाथि कारबाहीको पक्षमा हुनुहुन्छ । त्यसो हो भने दोरम्बा हत्याकाण्डका दोषीलाई कठघरामा उभ्याउनै पर्छ, माओवादी दल यसका लागि उत्साहित नहुँदा–नहुँदै पनि ।
(अर्को उकालो लाग्दा स्तम्भमा ‘माडी नरसंहारको सेरोफेरो’ ।)