हिमाल खबरपत्रिका (१६ असोज -१५ कात्तिक २०६८) बाट
हाम्रो विवाहपछि मात्र शान्तालाई थाहा भयो शायद, ‘कुइजिन्’को क्षेत्रमा मेरो सांस्कृतिक अल्लारेपन । खाँदा म हाम्ल्याङ्ग हाम्ल्याङ्ग गरेर भुईंचालो आउनै लाग्यो जस्तो गरी प्लेट साफ गर्दोरहेछु, डिश बाहेक अरू केही नदेखेझै गरी ।
विवाह गर्नुको एउटा फाइदा रह्यो मेरो लागि, शान्तासँग समुद्रपारका ठाउँ–ठाउँमा पुगेर विभिन्न कुइजिन्को स्वाद लिने; बैङ्कक्का सडकपेटीको तोम्याङ्ग गुङ्क होस् वा न्यूयोर्क शहरका रेस्टुराण्टमा । तर पनि यति मैले भन्नैपर्छ— पाश्चात्य टेबुलमा बस्दा काँटा बायाँ हातमा र स्याँगी दायाँ हातमा राख्न मलाई अप्राकृतिक लाग्दछ, र ‘टेबुल सेटिङ’ विपरीत र शान्ताको कर्केनजर बाबजुद काँटा दायाँ हातमा गइहाल्छ ।
न्यूयोर्कमा एउटा इटालियन रेस्टुराण्ट छ, ‘कार्माइन्स्’ । सयौं जनाको भीडभाड हुने उक्त रेस्टुराण्टमा ठूला–ठूला पारिवारिक जमघट र कोलाहलमाझ् वेटरहरू यत्रतत्र दौडिरहेका हुन्छन् । तर यत्रो ठूलो ‘टर्नओभर’ हुने ठाउँमा पनि खानाको स्तर भने उच्चकोटिको ! काठमाडौंमा धेरै उत्कृष्ट रेस्टुराण्ट छन् तर त्यस खालको ‘हाइ भोलुम, हाइ क्वालिटी’ भान्साघर मैले भेटेको छैन ।
काठमाडौंका कुइजिन् सौखिनहरू भाग्यमानी छन्, किनकि यहाँ मध्यमवर्गीय पकेटको भरमा संसारभरका खाना पाइन्छ; मलेसियालीदेखि फ्रान्सेली, दक्षिण भारतीयदेखि खास तिब्बतीयसम्म । शान्ताले मलाई चिनाइदिएको चाहिँ ठमेलको मुखमै रहेको ‘फाएर एण्ड आइस्’ रेस्टुराण्ट हो, जुन युनियन जुझरुहरूका कारण हालै केही समय बन्द भएको थियो । आफ्नै मौलिक खालको पिज्जा तथा अन्य इटालियन खाना पस्कने त्यो रेष्टुराण्टलाई दक्षिण इटालीको नेपोली शहरकी आन्ना मारियाले सञ्चालन गरेकी हुन् । ‘फाएर एण्ड आइस्’को प्रस्तुतिबाहेक यहाँको विशेषता हो हँसिला चञ्चले वेटरहरू, जसले एक प्रकारको आत्मीयताको सौगात दिन्छन् ।
लेख्दै जाँदा हामी दम्पतीको इटालियन खानासँग विशेष लगाव प्रस्ट हुन्छ । सन् १९८७ मा मैले इटालियन आल्पमा हिमाल चढ्न जाँदा चिप्लिएर दाहिने खुट्टा ठनक्कै भाँचेको थिएँ, र उत्तर इटालीको टोरिनो शहरमा मेरो शल्यक्रिया भएको थियो । मेरो स्याहार गर्न न्यूयोर्कको पढाइ छाडेर आएकी शान्ता ट्रयाक्सनमा खुट्टा माथि तन्काएर अस्पतालमा राखिएको पतिसँग कति बस्नु ! त्यतिबेला शान्ताले हाम्रा पारिवारिक मित्र पाओलो बोफेत्ताको गाउँमा स्थानीय कुइजिन्को जिन्दगीभरि नबिर्सने स्वाद लिइन्— अक्टोपस सलाद, थरीथरीका पास्ता र ब्रेड, वाइन, चिज अनि बेक, सटे, फ्राइ र रोष्ट गरिएका आइटमहरू ।
खुट्टा आकाशतिर तन्काएर अस्पतालको बन्धनमा बसेको मेरा भागमा भने बेस्वादिलो न नुन, न मसलाको मिनस्थ्रोने सूप मात्र पर्दथ्यो; दिनरात, रातदिन । शान्ताले रसास्वादन गरेको उत्तर इटालियन कुइजिन् म आजसम्म मेरो जिब्रोले नै चाखेको जस्तो गरी सम्झ्रिहेछु ।
एकचोटि एम्स्टर्डयाम्मा एकजना साथीले सानो चिटिक्क परेको विशिष्ट रेस्टुराण्टमा लिएर गए । मात्र ५–६ वटा टेबुल, मधुर सङ्गीत, चुपचाप गफ र सेतो पञ्जा लगाएको ‘मेत्र दी’ श्रीमान् वेटर । यत्रो सानदार रेस्टुराण्ट, तर प्लेटमा भने विना मसला, विना झेल, बुच्चो माछाको डिनर आयो, प्लेटको छेउमा उसिनेको गाजर, आलु र फर्सी । के गरुँ के गरुँ भयो, मैले चाख्दै नचाखी ‘मेत्र दी’सँग कागती मागेँ । उसले एउटा आँखीभौं अन्तरिक्षमै जाने जस्तो गरी उचाल्यो । मैले चरक्क माछामाथि कागती निचोरेँ । यसो यताउता हेर्छु त वेटर साहब लड्ला जस्तो गरी भित्ता समाइरहेका । शान्ता दलिनतर्फ हेर्दै थिइन् चिनजान नै नभएको जस्तो गरी । आजसम्म उनले मलाई त्यो दिन, त्यो डिनर बिर्सन दिएकी छैनन् ।
‘ओत् कुइजिन्’, अर्थात् उच्चकोटिको खानपिन, को अनुभव जस्तो भएपनि साधारण खानपिनको स्वाद र मज्जा अर्कै हुन्छ । मैले सम्झ्ने गरेको स्पेनको बार्सिलोना शहरमा एक दम्पतीले हामी दुईलाई घरमा तयार पारेको ‘पाइआ’ हो । एउटा ठूलो ताप्केमा भुजा, विभिन्न खाले सी फुडलाई धेरैबेर मधुरो आगोमा पकाइएको त्यो ‘पाइआ’ डिश नै प्रमाण थियो, स्वाद लिन ‘ओत् कुइजिन्’ हुनुपर्दैन ।
उत्तरपूर्वी अमेरिकामा हामीले जताततै रेस्टुराण्टमा, साथीका घरहरूमा खाएको ‘सी फुड’ पनि उत्कृष्ट लाग्छ, जस्तै समुद्रप्राणीहरूको टुक्राटाक्री मिसाएर तयार पारिएको ‘क्ल्याम चाउडर’ । यो मात्र नुनिलो बिस्कुटसँग खाँदा हुन्छ, तृप्त हुन अरू केही चाहिँदैन । शान्ताको ‘फेभरेट’ भने लब्स्टर हो । लब्स्टर खान शुरुमा अलि मन दह्रो पार्नुपर्छ । सिङ्गो समुद्री गँगटोलाई ज्यूँदै उमालेको पानीमा डुबाएर बनाइने यो विना तामझमको खाना हो, ‘कुइजिन्’ भन्न नमिल्ने । प्लेस्टिक ‘बिब’ लाउनुपर्छ, हाड भाँच्दै भित्रको मासु खोतल्दा छिटाबाट लुगा जोगाउन । सेतो केस्रा–केस्रा मासु काँटामा राखेर पगालेको मक्खनमा चोपेर सीधै मुखभित्र । हरियोपरियोको लागि बन्दा र मेओनेज् मिसाएको ‘कोल् स्ल’ ।
ठाउँठाउँमा घुमिसक्दा शान्ताले सबैभन्दा स्वाद लिएको मैले देखेको चाहिँ उत्तरी मुस्ताङका चैले, घेमी र लोमान्थाङका गाउँघरमा प्रस्तुत फापरको ढिँडो र साग नै हो । मलाई भने दशैँको बेलामा खसीको मासु र काउलीको तरकारी भए अरू केही चाहिँदैन ।