हिमाल खबरपत्रिका (८ साउन, २०८३)
आम नागरिकलाई आफ्ना भावना, चाहना र आक्रोश पोख्ने ठाउँ चाहिन्छ। खुलामञ्च त्यसैका लागि हो।

रानीपोखरीदेखि दशरथ रंगशालासम्मको टुँडिखेल क्षेत्र केही वर्षअघिसम्म काठमाण्डू शहरका बासिन्दाको थियो। उपत्यकाव्यापी घना शहरीकरणको कारण टुँडिखेल क्षेत्र अब पूरै उपत्यकाबासीको स्वामित्व र सरोकारको विषय बनेको छ। नेपाल खाल्डोको भौगोलिक केन्द्रमा रहेको यो प्रांगणलाई हर किसिमको सार्वजनिक कार्यका लागि उपयोग गर्नु जरूरी छ। योग र व्यायामदेखि खेलकूद, बालक्रीडा, बाग र बगैंचा, प्रदर्शनी, प्रदर्शन, सांस्कृतिक पर्व तथा राजनीतिक र सामाजिक भेलासम्ममा यस क्षेत्रको उपयोग हुनुपर्छ।
तर, इतिहासको सौगात यो खुला क्षेत्र टुक्र्याएर विभाजित गरिएको छ। जसरी सार्वजनिक यातायात सहज नहुँदा उपत्यकाबासीको मनमस्तिष्कमा धक्का पुगेको छ, खुला सार्वजनिक स्थल उपलब्ध नहुँदा नेपाल खाल्डोमा बसोबास गर्ने ३५–४० लाख जनको मानसिक पीडा गहिरिंदो छ।
विश्वकै ठूला शहरमा जति सार्वजनिक प्रयोगका थलो हुन्छन्, यहाँ छैनन्, र जुन उपलब्ध छ— त्यसलाई पनि टुक्राटुक्रा बनाइएको छ। टुँडिखेल क्षेत्रको धेरै हिस्सा नेपाल सेनाको अधीनमा छ, जहाँ नागरिक निषेधित छन्। यता सैनिकमञ्च र आधा टुँडिखेल मैदान, उता सेनाकै ‘आर्मी अफिसर्स क्लब’ तथा खेलकूद ‘एरिना’, जो शहरी युवाका लागि छुट्टाइनु पर्थ्यो/पर्छ।
रानीपोखरीको प्रवेश खुला गर्नुपर्ने थियो, त्यो पनि छैन । रंगशाला र भृकुटीमण्डप पनि नियन्त्रित क्षेत्र नै हुन् । शहरबीच भद्रकाली डाँडाको शिरैमा मिलिटरीको त्यत्रो मुख्यालयको निर्माण गर्न हुन्थ्यो/हुँदैनथ्यो, तत्कालीन समयमा देश हाँकेका दल–नेताले भन्ने कुरा भयो। तिनै नेताले काठमाडौं भ्यूटावर बनाउने अनुमति दिएर शहरबासीलाई पायक पर्ने बसपार्कलाई मासिदिए। तिनै नेताले खुलामञ्चको चौरलाई मासेर अण्डरग्राउण्ड पार्किङदेखि केके केके बनाउन लागिसकेका थिए सौन्दर्यीकरणको नाममा।
लोकतन्त्र भित्र्याउने थलो
टुँडिखेल क्षेत्रको प्रमुख आकर्षण खुलामञ्च हो । पञ्चायतकालमा वि.सं. २०३२ तिर निर्मित अर्धगोलाकारको छतसहितको यस उत्कृष्ट शैलीको मञ्च हेर्नमा अति सुन्दर छ, स्टेजको छेउको दुई सहायक कोठासहित।
पञ्चायतका शासकहरूले आफ्नो राजनीतिक क्रियाकलापमा खुलामञ्च प्रयोग गरे। म सम्झन्छु, उति बेला घण्टाघरको अगाडि हिंड्दै गर्दा लाउडस्पिकरमा पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टले दिएको ‘मृत्युको घण्टी’ भाषणको कर्कस। समयक्रममा निरंकुश पञ्चायती व्यवस्थाको खिलाफमा जुझारू कार्यकर्ता र नेताले भाषण गर्ने, जनता सुसूचित गर्ने थलो बन्न पुग्यो खुलामञ्च । यसरी यो लोकतन्त्र भित्र्याउने थलो बन्न पुग्यो । यही खुलामञ्चमा हो— क्यान्सरपीडित बीपी कोइरालाको मसिनो स्वरमा २०३६ जेठ २५ गते अधिनायक शासनविरुद्ध आवाज घन्किएको।

२०३६ जेठ १० गते जनमतसंग्रह घोषणा भएपछि खुलामञ्चमा नेताहरूले आ-आफ्ना सभालाई सम्बोधन गरे । असार ८ गते डा. केशरजंग रायमाझीले खुलामञ्चको सभामा पञ्चायतको पक्षमा भाषण गरे भने ११ गते पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले बहुदलको पक्षमा मत मागे । असार २९ गते अर्का पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यले “प्रजातन्त्रका लागि बहुदलीय व्यवस्था चाहिन्छ। एउटा मात्र दल हुँदा अधिनायकवाद हुन्छ” भन्दै खुलामञ्चको सभालाई सम्बोधन गरे । त्यस वर्षको असारदेखि भदौसम्म खुलामञ्चमा आयोजित यस्ता आमसभामा अच्युतराज रेग्मी, डा. डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, शम्भुराम श्रेष्ठ, सहाना प्रधान र मंगलादेवी सिंहले सम्बोधन गरेका थिए।
२०४६ सालको जनआन्दोलन सफल भइसकेपछि वीर अस्पतालको शय्याबाट खुलामञ्चको विशाल र्याली गणेशमान सिंहले नियालेका हुन् । बिरामी गणेशमानलाई आन्दोलनको पछिल्लो समय त्यहाँ राखिएको थियो । आफैंले आह्वान गरेको जनआन्दोलन सफल हुँदा उनी वीर अस्पतालमै थिए।
पञ्चायती व्यवस्था ढलेपछि पहिलो आमसभा खुलामञ्चमै भएको हो, २०४६ चैत २७ गते जहाँ प्रतिबन्धित र भूमिगत राजनीतिक दलहरू प्रजातन्त्रको स्वागतमा भेला भए। वीर अस्पतालबाट गणेशमानलाई यहाँ ल्याइयो र उनको भाषणसहित कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी, सहाना प्रधानदेखि पद्मरत्न तुलाधरसम्मको उद्घोष लाउडस्पिकरले जनतासम्म पुर्याइदियो।
खुलामञ्चको त्यही सभामा हो, जहाँ गिरिजाप्रसादले “प्रजातन्त्रमा कसैको हार हुँदैन। यो सबैको जीत हो । राजा र जनता दुवैको जीत हो । पञ्च पनि जनता भएकाले तिनीहरूको पनि जीत हो” भनेपछि सभामा होहल्ला र हुटिङ भयो। गिरिजाप्रसादले भाषण पूरा गर्न पाएनन् । गणेशमान र पद्मरत्नले सभामा उपस्थितहरूलाई शान्त हुन आग्रह गरेपछि मात्र कोलाहल साम्य भयो।
दुर्दिनको शुरूआत
लोकतन्त्रकालमै खुलामञ्चको दुर्दिन शुरू भयो। २०७३ वैशाख २२ गते खुलामञ्चको चाैरलाई बसपार्क बनाइयो । त्यसभन्दा अघि यहाँ सस्तो बजार पनि बस्यो । २०७२ सालको भूकम्पका बेला उद्धार र पुनर्निर्माणका शिविर बनाइए। त्यसपछि ‘भ्यूटावर’को निर्माण सामग्री राख्ने थलो बन्यो।
खुलामञ्च परिसरको सार्वजनिक, सांस्कृतिक र राजनीतिक इतिहास जनमानसले बिर्सियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी शासकलाई हाइसन्चो ! किनकि जनताले प्रतिरोध जाहेर गर्ने यस थलोलाई निष्क्रिय बनाउँदा शासन चलाउन सजिलो । आफैंले आमसभा र अनगिन्ती भेला, सभा, प्रवचनको लागि चलाएको ठाउँलाई लोकतान्त्रिक दल र नेताले यसरी मासिन दिनु, विस्मृतिमा जान दिनु उदेकलाग्दो नै भयो।
खुलामञ्चको चार घेरा राजनीतिक चेतना र जागरणको केन्द्रबिन्दु थियो । यसलाई निष्क्रिय मात्रै गरेनन्, ‘लोकतान्त्रिक’ शासकहरूले जताततै ‘निषेधित क्षेत्र’ घोषणा गर्दै हिंडे । आज आएर यति ठूलो मुलुकको राजनीतिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, बौद्धिक, सार्वजनिक उकुसमुकुस व्यक्त गर्ने, भाषण गर्ने, धर्ना बस्ने सहज ठाउँ नै छैन।

२०६२/६३ र त्यसपछिका केही दिन माइतीघर मण्डलको गोलाभित्र कार्यक्रम हुन्थे, तर यातायात व्यवस्था ठप्प हुने र सर्वसाधारणलाई अप्ठेरो पर्ने हुनाले त्यो पायक परेन । फेरि बीचैमा पोखरीले घेरिएको मण्डलाकार भएकोले ठूलो भेला पनि हुन सक्दैनथ्यो।
केही वर्षयता राजनीतिक चिन्ता, रोष, आह्वान र अनशनको थलो माइतीघर मण्डलको दक्षिणपट्टिको सानो सहायक सडक र यसको पेटी बन्न पुगेको छ । यो अनर्थ हो, शासक र सुरक्षा निकायलाई सजिलो पार्ने र जुझारू तथा आन्दोलनकारीलाई गिजोल्ने हर्कत । सार्वजनिक यातायात अवरुद्ध हुँदा आम नागरिकलाई असुविधा हुन्छ भनेर पनि यहाँ ठूलो प्रदर्शन गर्न मिल्दैन।
खुलामञ्च र महानगरपालिका
खुलामञ्च सबै खालका राजनीतिक, सामाजिक र सांस्कृतिक क्रियाकलापका लागि उपत्यकाको सहज स्थल हो। यो शहरको केन्द्रमा छ भने राजकाजका महत्त्वपूर्ण केन्द्र (सर्वोच्च अदालत, सिंहदरबार, संसद् भवन, बालुवाटार प्रधानमन्त्री निवास) बाट अलग छ । ठूलो र फराकिलो प्राङ्गण भएको हुनाले यहाँ हुने भेला, आमसभा, प्रदर्शनी र भाषणबाजीले न सरकारी कामलाई सिधै असर पर्छ, नत यातायात आवतजावतलाई खलबल्याउँछ। बरु सार्वजनिक यातायातको केन्द्रमा रहेको यस ठाउँमा उपत्यकाभरिका नागरिकलाई आउन–जान यतिको सहज ठाउँ अरू छैन ।
समावेशी नेपालमा विभिन्न समुदायले टुँडिखेल चौरको दक्षिण भागलाई प्रयोग गर्ने गरेका छन् । ती सबै सांस्कृतिक कार्यक्रम खुलामञ्चमा आयोजना गर्न सकिन्छ । अहिलेको भन्दा त्यो बढी मर्यादित हुन्छ भने टुँडिखेलको चौरमा शहरी युगको लागि खेलकुदको थलो निरन्तर हुन जान्छ।
खुलामञ्च मात्र नभई पूरै बृहत् टुँडिखेल क्षेत्र नै काठमाडौं महानगरपालिकाको सरोकारको क्षेत्र हो । उसले यसको उचित नागरिक प्रयोगको लागि चाहिंदा व्यवस्थापन गर्नुपर्छ। भृकुटीमण्डप, भद्रकाली परिसर, भद्रकाली–सिंहदरबार बीचको फराकिलो ‘कजवे’, दशरथ रंगशाला, शहीद गेट, सेनाले निर्माण गरेको ‘ स्पोर्ट्स कम्प्लेक्स’, आर्मी अफिसर्स क्लब, जगन्नाथ मन्दिर, पूरै टुँडिखेल चौर, सैनिक मञ्च, रानीपोखरी, शान्ति बाटिका र खुलामञ्च चार घेरा सबैलाई एकीकृत योजनाअन्तर्गत ल्याउनुपर्छ । आम नागरिकका तर्फबाट यसका लागि आवाज उठ्नुपर्छ।

शुरूआतको काम भने महानगरपालिकाले तुरुन्तै गर्न सक्छ, त्यो हो खुलामञ्चको फराकिलो कम्पाउण्ड सार्वजनिक भेलाका लागि सहज बनाइदिने । यस प्रांगणको प्रयोगको ‘प्रोटोकल’ महानगरपालिकाले तयार पार्नुपर्छ— समय, सरसफाइ, सुरक्षा, इत्यादि— तर, राजनीतिक क्रियाकलापमा बन्देज लगाउने खालको नियम लगाउनु हुँदैन।
प्रष्टै छ— जसरी हिजोका शासकलाई खुलामञ्चमा राजनीतिक भेला निम्त्याउनु थिएन, त्यस्तै वर्तमान तथा भोलि सिंहदरबार बस्नेहरूलाई पनि यो सुझाव मन पर्ने छैन । तर शासकलाई मन नपर्ने कुरा जनताको लागि अपरिहार्य छ, एउटा थलो जहाँ लोकतन्त्र, मानवअधिकार, संक्रमणकालीन न्याय, वायु प्रदूषण, भाषा संरक्षण, सार्वजनिक यातायात, नदी संरक्षण, सम्पदा जगेर्ना आदिदेखि कविता सम्मेलन, शास्त्रीय संगीत, लोकनृत्य र बाजा, इत्यादि कार्यक्रम आयोजना गर्न सम्भव होस्।
भाषण गर्न चाहने, अनसन बस्न बाध्य पारिएका, गुनासो पोख्ने, रुने, कराउने, चिच्याउनेका लागि वर्तमान लोकतन्त्रमा मिल्दो ठाउँ छैन, र यसले बहुलवादलाई कमजोर बनाउँदै लगेको छ । समाज खुला छ भन्छौं, तर सबैतिर ताला लाग्दै गरेको छ । ख्याल रहोस् बोल्ने, कराउने, चिच्याउने ठाउँ नहुँदा जनमानसको मस्तिष्क मात्र कुण्ठित हुँदैन, कुरा गुम्सिंदै जाँदा विस्फोटको अवस्था आइपर्छ । समाजशास्त्र र मानवशास्त्र यही भन्छ । लोकतन्त्रको मर्ममा नै बोल्न, भेला गर्न, विचार प्रकट गर्ने अधिकार सुरक्षित हुनु हो।
तर, बोल्न र भेला गर्न जमीन पनि त चाहियो। यसै कारण खुलामञ्चको ढोका उघारिनुपर्छ । एकनासे दुबो रोपिएको हरियो चौर सुन्दर त देखिन्छ, तर आमसभाको उड्ने धुलो समाजको लागि त्योभन्दा महत्त्वपूर्ण हुन्छ । शासक चाहन्छ नियन्त्रण, हामीलाई चाहिएको छ खुला समाज।