Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

अँध्यारो आकाशको महत्व

October 23, 2018 by admin

हिमाल खबरपत्रिका (२१-२७ आश्विन, २०७५) बाट

प्रकाश प्रदूषणलाई नियन्त्रण गरी रातको आकाशलाई अँध्यारोमै हेर्न पाइयोस् ।

नेपाल तुलनात्मक रूपमा अँध्यारो मुलुक हो । हाम्रो पहाड–तराईमा जनघनत्व हुँदाहुँदै बिजुलीको पहुँच नपुग्दा अन्तरिक्ष यानबाट हेर्दा अँध्यारो देखिन्छ, आवादी नभएको ठाउँ जस्तो । बिजुली नहुनुको अर्थ यस्तो हुन्छ कि जसरी उत्तर र दक्षिणकोरियाको सिमाना रातको बेला उज्यालो र अँध्यारो बीचको रेखाले दर्शाउँछ, त्यसैगरी नेपाल र भारतको बिहार/उत्तरप्रदेशको सीमा पनि आजसम्म छुट्याउन सकिन्छ ।

आउँदा वर्षमा नेपालको जलविद्युत् आयोजना सञ्चालनमा आउँदै जाँदा अँध्यारो हट्नेछ, जनतालाई सुविधा हुनेछ, यसमा शंका छैन । तर, यो पनि हो— बिजुली प्रवर्द्धन हुँदा नेपालले पृथ्वीको भौगर्भिक र मानवीय ऐतिहासिक महत्व बोकेको रातको प्राकृतिक अँध्यारो गुमाउनेछ ।

कास्कीको धम्पुसबाट देखिएको ‘मिल्की वे’ । तस्वीरः विकास खड्गी ।

रातको उज्यालो भन्नुको अर्थ नेपाली जनताको लागि विकासको सुविधा प्राप्त हुनु हो । तर, यति भन्दै गर्दा ठाउँठाउँमा विश्व र मानव उत्पत्तिसँगै गाँसिएको ‘अँध्यारो क्षेत्र’ सुरक्षित राख्न सके राम्रो हुन्थ्यो ।

आश्चर्यको कुरा, यस्ता अँध्यारो क्षेत्र त पर्यटकीय दृष्टिकोणले पनि आकर्षक मानिंदोरहेछ । कतिपय देशमा ‘अँध्यारो रात अभियान’ चलेको छ, ठाउँ–ठाउँमा ‘अँध्यारो रात आरक्ष’ घोषित छन् । त्यहाँ पर्यटकको घुइँचो लाग्न थालेको छ । नेपालमा ‘अविकास’ लगायतका कारण अझै पनि धेरै अँध्यारा क्षेत्रहरू छन्, जसलाई अब अँध्यारै राखेर विकासको अभियानमा जोड्नु आवश्यक भयो ।

आज पर्यटकहरू अँध्यारो आकाशको खोजीमा संसारका विभिन्न कुना (उत्तर र दक्षिण अमेरिका, चीन, प्रशान्त महासागरका टापु इत्यादि) चहार्न थालेका छन् । कारणः

१) मानव उत्पत्तिको प्राचीन अवस्था र अनुभवसँग आफूलाई जोड्न

२) ताराहरूको अवलोकन गर्न (‘स्टार गेजिङ’) र

३) ग्रह/नक्षत्रमाझ पृथ्वीलाई सूक्ष्म रूपमा बुझ्न ।

अँध्यारो आकाशसँग सम्बन्धित पर्यटनले आम्दानी भित्र्याउने हुनाले यसमा उत्साह जाग्दै गएको देखिन्छ । एउटा ‘अन्तर्राष्ट्रिय अँध्यारो आकाश संघ’ समेत खडा भएको छ, जसले ‘प्रकाश प्रदूषण’ विरुद्ध लड्छ र संसारभर ‘अँध्यारो आकाश आरक्ष’ स्थापना गर्न अग्रसरता लिएको छ ।

मानव सभ्यताको थालनीदेखि नै कौतुहलका साथ रातको आकाश हेर्दै सभ्यताको विकास भएको हो । यसरी अँध्यारो आकाशले सभ्यता निर्माणमा सहयोग पुर्‍यायो । बोटबिरुवा र जीवजन्तुको उत्पत्तिका क्रममा धेरै जाति, उपजाति अँध्यारोको आडमा बचेका र बाँचेका छन् ।

अँध्यारो आकाश प्राकृतिक उत्पत्तिसँग मात्र नभई मानव संस्कृतिसँग पनि गाँसिएको भन्नुपर्‍यो । यसैले प्रकाश प्रदूषण नभएको अर्थात् उज्यालोले नबिथोलिएको रातको आकाशलाई पनि हाम्रो पुरातात्विक सम्पदा भन्न मिल्छ, भन्नुपर्छ ।

वायु प्रदूषण, जल प्रदूषण र ध्वनि प्रदूषणको कुरा गर्दै आएका हामीमध्ये कतिलाई ‘प्रकाश प्रदूषण’ भन्ने नै नमिले जस्तो लाग्न सक्छ । तर, प्रकाश प्रदूषण यथार्थ हो, किनकि रातको बेलामा अत्यधिक प्रकाशले प्राकृतिक प्रक्रियाहरूलाई बिथोलेको हुन्छ । ‘अँध्यारो आकाश’ का अभियन्ताहरू बिजुली बत्तीको उज्यालो चाहिने भन्दा बढी सकेसम्म नफैलियोस् भन्ने चाहन्छन् ।

त्यस्तो प्रकाश फैलिन जाँदा वायुमण्डलका स–साना धूलोका कणसँग ठक्कर खाएर रातको आकाशलाई उज्यालोले प्रदूषित पारिदिन्छ । प्रकाशले जमीन र आकाशलाई नचाहिंदो हिसाबले जति उज्यालो पार्छन्, तारा÷नक्षत्र अवलोकन गर्न उति नै असहज हुन्छ, र हामी पुरातात्विक अवस्थाबाट उति नै दूर हुन्छौं ।

नेपालका धेरैजसो भाग आजसम्म पनि प्रकाश प्रदूषणमुक्त छन् । ‘बिजुलीमय’ हुने अपेक्षा गरिएको आउँदो दशकमा हामीले दुई काम गर्नुपर्ने भयो ।

१) प्रकाश प्रदूषण न्यूनीकरण गर्न अगाडि बढ्ने ।

२) नेपालमा पनि पर्यटक आकर्षण गर्ने हेतुले वन्यजन्तु आरक्ष क्षेत्र र राष्ट्रिय निकुञ्ज जस्तै विभिन्न ठाउँमा ‘अँध्यारो आकाश आरक्ष’ स्थापना गर्ने ।

अमेरिकाको ग्राण्ड क्यान्यन राष्ट्रिय निकुञ्ज ‘अँध्यारो आकाश’ कै लागि परिचित छ । विश्वभरि यस्ता करीब ६० वटा ‘डार्क स्काई पार्क’ ले मान्यता पाएका छन् । यिनीहरूभन्दा नेपालका ‘अँध्यारो आकाश आरक्ष’ झनै आकर्षक हुने पक्का छ । किनकि यहाँ त रातको आकाश तारा÷नक्षत्र मात्र होइन, हिमाली चुचुरा तथा पहाडी शृङ्खलाले पनि सुसज्जित हुन्छन् । अन्यत्र भन्दा फरक, गाउँबस्तीबाटै अँध्यारो आकाश महसूस गर्न पाइने अवस्थालाई बिजुली बत्ती पुग्दा पनि यथावत् राख्न सकिन्छ, प्रकाश प्रदूषण न्यून गरेर ।

सगरमाथा बेसक्याम्प भन्नुस् वा ढोरपाटन शिकार आरक्ष वा पूरै डोल्पा जिल्ला, उत्तरी मुस्ताङ, कञ्चनजंगा क्षेत्र या त खप्तड क्षेत्र– प्रत्येक ठाउँलाई ‘अँध्यारो आकाश आरक्ष’ को मान्यता दिलाउँदै नयाँ खालका पर्यटक भित्र्याउन सकियोस् । यसले ‘नेपाल भ्रमण वर्ष २०२०’ को लक्ष्य प्राप्तिलाई पनि सहयोग पुगोस् ।

अँध्यारो आकाश निकुञ्ज अथवा आरक्ष स्थापना गर्दै पर्यटकीय फाइदा लिनुमा शायद कसैको विमति नहोला । त्यसभन्दा पनि महत्वपूर्ण कुरा, ऐतिहासिककालदेखि हाम्रा पूर्वजले जसरी रातको आकाश देखेथे, त्यसरी नै देख्न हामीले पनि पाउनुपर्छ । यसैले बिजुलीको खपत बढाउँदै गर्दा प्रकाश प्रदूषणलाई नियन्त्रणमै राखौं ।

Post navigation

Previous Post:

साथी शोहिदूललाई यस्तो कष्ट किन?

Next Post:

Bangladesh has jailed Shahidul Alam with malicious intent, to send a message to civil society

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes