Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘अफ् कोर्स् बुद्ध वाज् बर्न इन नेपाल!’

May 17, 2022 by admin

हिमाल खबरपत्रिका (२ जेठ, २०७९) बाट

भारतीय प्रधानमन्त्री आएर बुद्ध जन्मिएको देश नेपाल नै हो भनेर यस यथार्थलाई पुनःप्रमाणित गरिदेलान् भनेर पर्खिबस्नु परेन।

लुम्बिनीस्थित मायादेवी मन्दिर। तस्वीर: सहिना श्रेष्ठ

गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्नु बेठीक होइन, किनकि यो आफैंमा तथ्य हो। वर्तमान नेपाल (राज्य–राष्ट्र)को भूभागभित्र लुम्बिनी पर्दछ, जहाँ देवदहस्थित माइत जाने क्रममा मायादेवीले सिद्धार्थ गौतमलाई जन्माइन्। नेपालमा व्यापकता पाएको उद्घोष ‘बुद्ध वाज् बर्न इन नेपाल’ पनि आपत्तिजनक छैन, किनकि यो बुद्ध नेपालमा जन्मेको तथ्यको अंग्रेजी रूपान्तर हो।

तर प्रश्न उठ्छ, बुद्ध वाणीले सिकाएको सौम्य, करुणामय, सह–अनुभूतियुक्त अभिव्यक्तिको साटो किन यो उद्घोषमा आक्रोश मिसिएर आउने गर्छ? गीत, कविता, स्टिकर र ट्रक–आर्टमा ‘बुद्धको जन्मभूमि नेपाल’ भन्दा अलिकति राष्ट्रवाद नझल्कने होइन, साथै यसलाई कसैले हरण गर्न खोज्दै छ भन्ने मनोभाव पनि अन्तर्निहित देखिन्छ।

शाक्यमुनिको २५६५ वर्षअघि वैशाख पूर्णिमाको दिन जन्म हुनुले संसारमै मानवतामय ‘गैरधार्मिक’ दर्शन स्थापित भयो, जो लुम्बिनी र कपिलवस्तुबाट फैलिएर दक्षिणमा श्रीलंका र उत्तर तिब्बतसम्म पुग्यो। शाक्यमुनिको परिनिर्वाण नहुँदै आजको पाकिस्तान–अफगानिस्तानमा फैलिएको गान्धार राज्यमा बुद्धमार्गले जरो गाड्यो, र त्यहाँबाट महाचीनतर्फ फैलियो।

बुद्ध जन्मथलो सम्राट् अशोकले उहिल्यै प्रमाणित गरेपछि यसबारे प्रश्न उठाउने कसले? प्रश्न उठाउने कुरै भएन। अनि किन त निरन्तर हाम्रो उद्घोष, कि ‘बुद्ध वाज् बर्न इन नेपाल’?

विश्वका ठूला ‘धर्म’ मध्ये बुद्धमार्ग एक हुनु र यसको संस्थापकको जन्म नेपालमा हुनु सुखद बाहेक अरू केही होइन। तर, हामीले ‘बुद्ध वाज् बर्न इन नेपाल’ नाराबाट शाक्यमुनिको सम्झना मात्र गरेर बस्ने हो या शाक्यमुनिले सुझाएको चिन्तन र आचरण पनि अपनाउने?

शोधको दौरान हामी के कुरा पाउनेछौं भने, बुद्ध जन्मेको थलोबारे कतै कुनै विवाद नै छैन। अनि किन हामी यो विवादित विषय भएको ठान्दै आवाज ठूलो गरिरहेछौं? हाम्रो चर्को उद्घोष सहिष्णु र बौद्धिक चिन्तनसँग मेल खान्छ जस्तो लाग्दैन।

सीधै भन्नुपर्दा मौर्य सम्राट् अशोक ईसापूर्व २४९ मा लुम्बिनी आएर अभिलेख कुँदाएर गाडेको शिलास्तम्भ भेटिएपछि शाक्यमुनिको जन्मथलो लुम्बिनी भएको प्रमाणित भएको थियो। रुमिन्देई भनिने यस क्षेत्र चिनियाँ भिक्षु फाहियान र ह्वनेसाङले देखेर प्रचार गरे। समय बित्दै जाँदा यो ठाउँ झाडीमा परिणत भयो, र सन् १८९५ मा पाल्पाका बडाहाकिम खड्गशमशेर र अन्वेषक डा. एन्टन फ्युररको परिश्रमपछि मात्र उजागर भयो।

सन् १८९५ मा पाल्पाका बडाहाकिम खड्ग शमशेर र एन्टन फ्युररद्वारा उत्खनन गरिँदै लुम्बिनी स्तम्भ।


भन्नै परेन, बुद्ध जन्मथलो सम्राट् अशोकले उहिल्यै प्रमाणित गरेपछि यसबारे प्रश्न उठाउने कुरै भएन। अनि किन त निरन्तर हाम्रो उद्घोष, कि ‘बुद्ध वाज् बर्न इन नेपाल’? यसको कारण हो– हाम्रो बुझाइमा भारतले यसमा आफ्नो दाबी गर्न चाहन्छ। तर, दस्तावेजमा खोज्ने हो भने ‘बुद्ध वाज् बर्न इन इन्डिया’ भन्ने अभियान कतै पनि देखिँदैन, तर हामी झन् चर्को स्वरमा यो नारा लगाइरहेका हुन्छौं।

विशेष गरी ऐतिहासिक भारत (इन्डिया) को क्षेत्रमा बुद्ध जन्मेका हुन् भन्ने कुरा यदाकदा पढ्न पाइन्छ। यो कुनै षड्यन्त्रभन्दा पनि चेतनाको कमीका कारण हो। उपनिवेश नभएको नेपालको भूभागमा लुम्बिनी पर्ने हुनाले इतिहासकालमा पनि यो ‘इन्डिया’ भित्र परेन। अशोक स्तम्भमा ‘लुम्बिनी ग्रामे’ लेखेकोमा स्थानीयवासीको जिब्रोमा यो अपभ्रंश भई ‘रुमिन्देई’ कहलियो। आधुनिक युगका प्रशासकले जिल्लाको नाम ‘रुमिन्देई’ नभई ‘रुपन्देही’ राखिदिए।

इतिहासविद् रमेश ढुंगेल भन्छन्, “सम्राट अशोकले आएर स्तम्भ गाडेको लुम्बिनी र आजको रुपन्देही जिल्ला नामले यस क्षेत्रको ऐतिहासिक निरन्तरता देखाउँछ। तराईमा पर्ने सीमाना ‘जङ्गे पिलर’द्वारा सीमांकन गरेकाे चार दशकपछि फेला पर्न गएको लुम्बिनी परिसर नेपालभित्र सुनिश्चित गर्ने काम भने जङ्गबहादुरकाे तर्फबाट भएकाे हाे।”

कपिलवस्तुबारे विवाद

आधुनिक नेपाल र आधुनिक भारतका पुरातत्व विशेषज्ञ बीचमा कुन कपिलवस्तु भन्ने एउटा विवाद छ, तर त्यो लुम्बिनीबारे होइन। विवाद छ, शाक्यमुनिको गृहनगरी कपिलवस्तु कुन ठाउँलाई मान्ने। सिमानाको एकातिर ठूलो तिलौराकोट बस्तीको अवशेष छ, जसको उतिवेलाको जनघनत्व तथा बस्तीको फराकिलोपनले यो शुद्धोधनको राजधानी कपिलवस्तु भन्न सघाउँछ। तर, कपिलवस्तुको केही अंश तीन किमी दक्षिणमा रहेको अन्तर्राष्ट्रिय सिमाना पारि पिप्रहवा क्षेत्रमा पनि फैलिएको हुन सक्छ। उत्तर प्रदेशमा रहेको त्यस क्षेत्रको महत्त्व यसरी पनि देखिन्छ कि शाक्यमुनिको परिनिर्वाण पश्चात् आठ ठाउँमा बाँडिएको अस्तुमध्ये एउटा यहाँको पिप्रहवामा रहेको स्तूपमा राखियो।

त, शाक्यमुनिको जन्मथलोबारे विवाद छैन। थोरै विवाद छ कपिलवस्तुबारे। र, त्यो पनि त्यति ठूलो कुरा होइन। आजसम्मको पुरातात्त्विक उत्खननबाट हामी यति भन्न सक्ने अवस्थामा छौं, कि कपिलवस्तुको पर्खालले घेरेको मूल शहर आजको नेपालको भूभागभित्रै पर्छ, साथै यसको अन्य भाग वर्तमान भारतीय भूभागभित्र पर्न सक्छ।

लुम्बिनीस्थित विश्व शान्ति स्तूप । तस्वीर: सागर पाण्डे


अब प्रश्न उठ्छ– बुद्ध जयन्तीको दिन भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणमा ‘बुद्ध वाज् बर्न इन नेपाल’बारे भारतको औपचारिक स्वीकारोक्ति मान्ने कि के गर्ने? र सत्य कुरा–यो प्रश्नको औचित्य छैन, किनकि न नयाँ दिल्लीले न कसैले लुम्बिनी नेपालभित्र पर्छ भन्नेमा प्रश्न उठाएकाे छ, न त लुम्बिनी ग्राममा शाक्यमुनिको जन्म भएको यथार्थबारे प्रश्न नै गरेको छ।

अन्त्यमा ‘बुद्ध वाज् बर्न इन् नेपाल’ नारालाई अलि फेरबदल गरेर ‘तीन बुद्धको जन्म नेपालमा’ भन्नु राम्रो। किनकि सम्राट अशोकले शाक्यमुनिको जन्मथलोमा स्तम्भ गाडे जस्तै यहाँ रुपन्देहीमै अन्य दुई ऐतिहासिक बुद्ध (कनकमुनि र क्रकुच्छन्द)को नाममा पनि स्तम्भ प्रतिस्थापन गरे। तसर्थ, ‘थ्री बुद्धज् वेर बर्न इन् नेपाल।’

 

Post navigation

Previous Post:

The Crow and Pretty P: On the occasion of International Crow and Raven Appreciation Day

Next Post:

निजगढको बदर र सर्वदलीय आक्रोश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes