Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

कोलुवाको ‘लुम्बिनी’ स्तम्भ

August 24, 2014 by admin

हिमाल खबरपत्रिका (०१ भदौ, २०७१) बाट

चन्द्रकिशोर, कनकमणि दीक्षित

सम्राट अशोकले एक–दुई दर्जन होइन; सयौं स्तम्भ, स्तूप, विहार, शिलालेख इत्यादि निशान छाडेर गएका छन्, दक्षिण एशियाभरि नै।

नेपालवासी लुम्बिनीमा रहेको अशोक स्तम्भसँग राम्ररी परिचित छन्, जसले ब्राहमी लिपि र प्राकृत भाषामा शाक्यमुनि सिद्धार्थ गौतमको जन्म ‘लुम्बिनी ग्रामे’ भएको पुष्टि गर्दछ। अलि बढी खोज गर्नेले उही मौर्य वंशका सम्राट अशोकले क्रकुछन्द बुद्ध र कनकमुनि बुद्धको स्मृतिमा ठड्याएको (तर जीर्ण अवस्थामा रहेका) स्तम्भको पनि ख्याल गरेका हुन्छन्, एउटा निग्लिहवा अर्को गोटीहवामा।

वास्तवमा सम्राट अशोकले एक–दुई दर्जन होइन; सयौं स्तम्भ, स्तूप, विहार, शिलालेख इत्यादि निशान छाडेर गएका छन्, दक्षिण एशियाभरि नै। स्तम्भहरूको उत्खनन् तथा कारिगरी बनारसबाटै दक्षिण पूर्वमा पर्ने चुनार नामको पहाडी क्षेत्रमा गरिन्थ्यो र ५० टनसम्मका ती स्तम्भ उपमहाद्वीपका कुना–कन्दरामा पुर्‍याइन्थ्यो।

अशोक स्तम्भहरुको टुप्पामा अक्सर कमल फूल आकारको ‘बेस’ मा कुनै जीवजन्तुको प्रतिरुप राखिन्थ्यो। सारनाथको स्तम्भमा चतर्मुख सिंह राखिएको थियो, जुन आज भारत सरकारको निशाना बनेको छ। यस्तै, ६ शताब्दीअघि आएका चिनियाँ पदयात्री हुवान साङ्गले लुम्बिनीको स्तम्भमाथि घोडाको मूर्ति देखेको उल्लेख गरे, जुन हराएको छ।

वीरगञ्ज शहरको सीमासँग जोडिएको भारतको चम्पारन र वैशाली क्षेत्रमा ठाउँ–ठाउँमा स्तम्भ र स्तूप भेटिन्छन्। रामपूर्व भन्ने ठाउँमा दुइटा स्तम्भ जीर्ण अवस्थामा छन्, निग्लिहवामा जस्तै सुतेका। लौरिया नन्दनगढमा झन्डै ५० फुट अग्लो स्तम्भमाथि सिंहको मूर्ति छ।

एक महीनाअघि हामी प्रस्तोताद्वय वैशाली पुग्यौं। त्यही वैशाली जो ‘विश्वको पहिलो गणतन्त्र’ भनेर प्रसारण गर्दछ र जहाँबाट लिच्छविहरू राज गर्न काठमाडौं उपत्यका उक्लिएका थिए। वैशालीको कोलुवा गाउँ आसपासमा शाक्यमुनि बुद्धले कपिलवस्तुमा सांसारिक सुख त्यागेपछि आएर धेरै बर्खायाम यहाँ बिताए। भनिन्छ, यहीं उनले पहिलोपल्ट भिक्षुणीलाई ‘संघ’ मा भित्र्याए र कुशीनगरमा परिनिर्वाण हुनु तीन महीनाअघि पछिल्लो प्रवचन पनि यही थलोमा दिएका थिए।

शाक्यमुनिको जीवनसँग जोडिएका चर्चित आठ स्थानमध्ये कोलुवालाई एक मानिन्छ। नभन्दै, यहाँ गरिएको उत्खनन्ले ठूलो स्तूप, अनेक साना चैत्य, स्तम्भ तथा भिक्षु बिहारको संरचना पाइन्छ। लुम्बिनीमा जस्तो पताकाले सजिएको छैन यो ठाउँ। न त्यहाँ जतिको भक्तजनद्वारा पूजाआजा भएको देखिन्छ यहाँ। यस अर्थमा कोलुवा आजसम्म पनि धार्मिक भन्दा पुरातात्विक ‘साइट’ रुपमा रहेको छ।

कोलुवाको स्तम्भ लुम्बिनीको भन्दा ठूलो छ, तर विभिन्न कालखण्डमा ढुंगामा कुँदिएका ‘ग्राफिती’ हुँदाहुँदै लुम्बिनी स्तम्भमा जस्तो यहाँको शिलामा सम्राट अशोकका उक्ति वा अन्यत्र पाइने उपदेश पाइँदैनन्। लुम्बिनीमा नभएको तर यहाँ भएको भनेका चिज स्तम्भको टुप्पोमा जनावरको मूर्ति नै हो। स्तम्भको शिरमा रहेको एशियाली सिंहको मूर्तिले इतिहास, धर्म, कलामा चासो राख्ने जो–कोहीलाई आकर्षित गर्दछ।

र, यसले कल्पनाशील पनि बनाइदिन्छ दर्शकलाई– कि लुम्बिनीमा हुवान साङ्गले देखेको ‘हर्स क्यापिटल’ (शिरमा रहेको घोडाको ढुंगे मूर्ति) कस्तो थियो होला, कतै माटोमुनि परेको छ भने फेला पर्ला कि…!

Post navigation

Previous Post:

Bringing back the Dakota

Next Post:

A Saarc to-do list

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes