Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

तथ्य र तर्कको खाँचो

July 4, 2021 by admin

हिमाल खबरपत्रिका (१६-३० जेठ ,२०६० )बाट

समाजमा परिवर्तन ल्याउन भौतिक क्रियाकलापभन्दा विचार र चिन्तनको बढी महत्व हुन्छ । सूचनाको निष्पक्ष विश्लेषण गरी तथ्य र तर्कलाई प्राथमिकता दिए समाजमा स्वतः विकास आउँछ । तर, सम्वेदनशील विषयमा अक्सर नेपाली समाजले गहिरिएर हेर्दैन । कुनै कुरा अप्ठेरो लाग्यो भने बरु पन्छाएर अगाडि बढ्न खोज्दछ । तथ्य केलाउनुको साटो नीति–निर्माता र “ओपिनियन मेकर” हरू षड्यन्त्रको गन्ध सुँघ्न रुचाउँछन् । यसो गर्दा समाजमा विकृतिले जग बसाल्छ । स्कूलदेखि सिंहदरबार सचिवालयसम्म सबैलाई कृत्रिम वातावरण नै सहज लाग्न थाल्छ । आफ्नो सैद्धान्तिक, वर्गीय वा जातीय चस्मा उतारी, अर्काले के भन्लान् भन्ने त्रासबाट मुक्त भई तथ्य र तर्कलाई प्राथमिकता दिएमा नेपाली समाज हरक्षेत्रमा अगाडि बढ्ने थियो । नेपाली समाजलाई परिवर्तन चाहिएको छ, र त्यसको पूर्वाधार भनेको नयाँ, साहसिक, चिन्तनशील विचार पेश गर्न सक्ने क्षमता नै हो ।

हेर्ने, देख्ने, लेख्ने, बोल्ने बानी

मदन भण्डारीको अवसानको विषयबाटै कुरा अगाडि बढाउँ । भण्डारीको हत्या गरिएको हो भन्ने कुरा आजसम्म पनि स्वीकार्ने हो भने कसले र किन हत्या ग¥यो भन्ने कुरा पनि अगाडि ल्याउन सक्नुपर्छ । परिस्थितीय प्रमाणले उहाँको मृत्युको कारण त्यसलाई दुर्घटना देखाएका छन् । तर, यस सम्बन्धमा जाने–बुझ्ेकाले आफूलाई लागेको कुरा पेटमै राख्न रुचाएका छन् । धेरैको मनमा लागेको कुरा माथि कृत्रिम बिर्को लगाइएको छ । यसो गर्दा राजनीति गुम्सिन्छ र विकृतिमय हुन्छ भन्ने कुरा बिर्सिइयो । उता राजा वीरेन्द्र र परिवारलाई सङ्कलित प्रमाणको आधारमा युवराज दीपेन्द्रले नै हत्या गरेको देखिन्छ भन्ने कुरा पनि पढेलेखेकाहरू सीधा भन्न डराउँछन् । समाजलाई यसरी ‘सस्पेन्डेड एनिमेशन्’ अर्थात् ‘यता त उता’ को बनाएर राख्नैमा हामी सन्तुष्टि लिन्छौँ, किनभने यसो गर्दा आफूले कुनै अडान लिनु पर्दैन, र व्यर्थको खतरा पनि बेहोर्नु परेन । अनपढ व्यक्तिले समेत तथ्य र तर्कका आधारमा आफ्नो दिनचर्या निर्धारण गर्दछ भने किन होला खानलाउन र चिन्तन गर्ने सुविस्ता पाएकाले भने निरन्तर षड्यन्त्रको खोजी गर्न रुचाउने र ‘ग्य्राण्डडिजाइन’ को तलतलमा झ्ुम्ने ? देशलाई वैचारिक नेतृत्व दिने वर्गले दूरदर्शिता, परिपक्वता तथा साहस देखाए समाज र अर्थतन्त्रले फड्को मार्छ । नहेर्ने, नदेख्ने, नलेख्ने, नबोल्ने चलनले गर्दा कैयन् विघ्नबाधा अगाडि आएका छन् । हेर्न, देख्न, लेख्न र बोल्न थाल्यौँ भने हाम्रो वास्तविक परिवर्तनको ढोका खुल्छ ।

कसको लागि राष्ट्रियता ?

पञ्चायतकालमा शासक वर्गले आफूलाई वैधता (लेजिटिमेसी) प्रदर्शन गर्न प्रोत्साहन गरेको अतिराष्ट्रवादले यसरी जरो गाड्यो कि आजसम्म पनि सही राष्ट्रियता (जसमा जनताको आर्थिक र सामाजिक भलो सर्वोपरि हुनुपर्छ) को बाटो बिर्सेर पार्टीका नेतादेखि माओवादीसम्मले पञ्चायतकालीन अतिराष्ट्रवाद नै अँगाल्न रुचाएका छन् । यस्तो सतही र “शभिनिस्टिक” राष्ट्रवादमा आफूलाई राम्रो देखाउन अरूलाई गिराउनुपर्ने हुन्छ; जस्तै मौका प¥यो कि भारतलाई गाली गरिहाल्ने अथवा जेमा पनि आँखा चिम्लेर नयाँदिल्लीको हात र गन्ध देख्ने । यसमा थोरै मात्र दम छ । भारतलाई गाली गर्दै अगाडि बढेको नेकपा (माओवादी) को सैद्धान्तिक पक्ष बलियो थियो भने सङ्कटकालपछि किन चुप ? सन् १९५० को सन्धि खारेज गर्ने सजिलो नारा लगाउन हामी सबै तयार, तर सन्धि खारेज या फेरबदल भए त्यसबाट तत्काल नेपालीलाई बढी मर्का पर्छ कि विदेशीलाई भन्ने तर्फ चाहिँ कसैले सोचेको पाइँदैन । सन्धि खारेजपछि दुई देशको सम्बन्ध कसरी व्यवस्थित गर्ने अथवा सन्धि संशोधन गर्ने भए त्यसनिम्ति नेपालको प्रस्ताव के हुने भन्ने बारे ‘होमवर्क’ गर्ने खाँचो त कसैलाई महसूस नै हुने गर्दैन । नेपाली नागरिकता बोकेका युवाहरू भारत र बेलायतको सेनामा अर्कै झ्ण्डा फहराएर लड्दा हामीलाई आफ्नो सार्वभौम सम्पन्नता बारे चिन्तन गर्न मन लाग्नुपर्ने होइन र ?

सगरमाथा कसको ?

राष्ट्रियताकै कुरा गर्दा सगरमाथाको आरोहणको ५० औँ वर्ष पुग्दा नेपाली शिर उच्च भयो रे ! तर यस्तो कसरी भन्न सकिन्छ ? “सगरमाथा हाम्रो” भन्दै गौरव गर्न सिकाउँछौँ हामी स्कूले बालकहरूलाई; तर यति पनि विचार पु¥याउँदैनौँ कि चीनसँगको सिमाना सो चुचुराको ठीक बीच धारबाट गएको छ । हो, “आधा सगरमाथा हाम्रो” भन्न सकिन्छ, जसरी तिब्बती–चिनियाँले पनि दावी गर्नसक्छन् “आधा चोमोलोङमा हाम्रो” भनेर ।

उता किल्ला काँगडाको र टिष्टा नदीमा खुकुरी बिसाएको कुरा गर्दै हाम्रो राष्ट्रिय पहिचान अगाडि बढाउन आजसम्म खोजिन्छ, यद्यपि त्यो इतिहासको क्षण न धेरै लामो थियो, न त्यति गौरवमय नै । राष्ट्रियता जगाउन नेपाललाई बुद्धको देश भनेर संज्ञा दिइन्छ, तर सिद्धार्थ गौतम जन्मेको मात्र लुम्बिनीमा हो र उनको मावली कपिलबस्तु । इतिहाससँग सम्बद्ध भएर भन्ने हो भने शाक्यमुनि नेपालमा होइन, “आजको नेपालको भूभागमा” जन्मेका थिए र “आजको भारतको भूभाग” मा ज्ञान पाए, शिष्यलाई पढाए र निर्वाण कमाए । असफल राज्य (‘फेल्ड स्टेट’) हुन लागेको नेपालमा राष्ट्रियताको मापदण्ड न लुम्बिनी, न सगरमाथा, न खुकुरीको धारलाई मान्न सकिन्छ । जुन जुन भावना र क्रियाकलापले भोट क्षेत्र, हिमाल, पहाड र मधेशका नेपालीहरूको आर्थिक र सामाजिक प्रगति हुन्छ, त्यसलाई मात्र राष्ट्रियताको आधार वा प्रतीक भन्नुपर्ने बेला आएको छ । त्यसैले प्राकृतिक, ऐतिहासिक वा मित्थ्या उदाहरण दिएर गौरव मान्ने बानी बिर्सिनु नै राम्रो हो ।

तथ्य र तर्क बुझने जनता÷पाठकलाई तथ्य र तर्क नै पेश गर्नुपर्छ । भाँडभैलो, निर्बल, सङ्कुचित भावना र कलम लिएर खाली षड्यन्त्रको आडमा विश्लेषण गर्ने र अतिराष्ट्रवादको भरमा राजनीति गरिरहने हो भने जनता र देश जहाँको त्यहीँ बस्दछ । भाग्यवश, जनता सचेत भइसके । अब लेखक–विश्लेषकहरु पनि तिनको तहमा उक्लनुपर्छ ।


खाली षड्यन्त्रको आडमा विश्लेषण गर्ने र अति–राष्ट्रवादको भरमा राजनीति गरिरहने हो भने जनता र देश जहाँको त्यहीँ बस्दछ । भाग्यवश, जनता सचेत भइसके । अब लेखक–विश्लेषकहरु पनि तिनको तहमा उक्लनुपर्छ ।

Post navigation

Previous Post:

Why do we need tanks?

Next Post:

Nepal: King and Parties

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes