Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

दोरम्बाका दोषी

July 21, 2021 by admin

हिमाल खबरपत्रिका (१६–२९ कात्तिक २०६६ ) बाट

१–१५ चैत २०६० को हिमाल मा छापिएको दोरम्बा हत्याकाण्डमा मारिएका माओवादी कार्यकर्ता तथा स्थानीय जुझरु नेता बाबुराम तामाङको तस्बिरको ‘क्रेडिट’ छुटेको थियो । वास्तवमा त्यो तस्बिर खिच्ने श्रेय दिनुपथ्र्यो ‘अज्ञात माओवादी’लाई ।

२०६० साउनमा सेनाको टुकडीले रामेछापको उत्तरपूर्वी कोप्चोमा पर्ने दोरम्बा गाउँमा दुई सर्वसाधारण र १९ जना माओवादीलाई मारेको खबर आयो । राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन सदस्य सुशील प्याकुरेलले सेनाको भिडन्तको कथन विश्वसनीय ठानेनन्, चार जनाको स्थलगत अनुसन्धान टोली खडा गरे र २७ अगस्ट २००३ को दिन टोली हेलिकप्टरबाट दोरम्बा पुग्यो । त्यस टोलीमा संयोजक पूर्व न्यायाधीश कृष्णजङ्ग रायमाझ्ी, सदस्यहरू नामुद फोरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती, पूर्व महान्यायाधिवक्ता प्रेमबहादुर विष्ट र म थियौँ । अधिवक्ता हरि फुँयाल आयोगको प्रतिनिधिको हैसियतले साथमा थिए ।

हाम्रो विस्तृत विवरण तथा ठहर आजसम्म पनि मानवअधिकार क्षेत्रको सबैभन्दा प्रस्ट र अकाट्य प्रतिवेदन हो जस्तो लाग्छ, जसले सेनाबाट ज्यादती भएको ठोकुवा ग¥यो र जर्साबहरूलाई प्रतिरक्षात्मक बनायो । अफसोच, न त यो तबरको अनुसन्धान फेरि आयोगले गरेको छ, न त्यस अनुसन्धानपश्चात् कुनै कानुनी कारबाही नै अगाडि बढ्यो । दोरम्बाको त्यो प्रतिवेदनले पनि दण्डहीनताको संस्कारलाई तोड्न सकेन ।

हत्याको दिन स्थानीय शिक्षक युवराज मोक्तानको घरमा करिब ५० जना माओवादी आफ्नो आन्तरिक छलफल तथा दुई कार्यकर्ताको विवाह तय गर्न बसेको बुझ्यिो । मन्थलीबाट दुई दिन लगाएर आएको सेनाको एक टुकडीले सो घरलाई घेरा हालेर १९ जनालाई पक्रियो र हात बाँधेर माथि सैलुङको जङ्गलतिर लग्यो । डाँडापारि दोलखापट्टि फायरिङ भएको सुनेर लस्करले अर्को बाटो लियो र डाँडाकटेरी भन्ने ठाउँमा लाम लगाएर हाहाकार र कोलाहलबीच १८ जनालाई नजिकैबाट टाउकोमा गोली हानी हत्या ग¥यो । र, विध्वंस लुकाउने कुनै चेष्टासम्म नगरी सबै लासलाई एकमाथि अर्को खप्टिने गरी गोरेटोछेउ गिराइदिएर सिपाहीहरूको टुकडी सदरमुकाम मन्थलीतिर झ्¥यो । यस घटनामा छुट्टै एक जना अन्तै मारिएका थिए भने ‘उषा’ नामकी एक महिला बेपत्ता पारिएकी थिइन् ।

राति ‘आमा !’, ‘बचाऊ !’ ‘बचाऊ !’ भन्दै गुहार मागेको मार्मिक डाँको सुनेको स्थानीयवासीले हामीलाई सुनाए, तर सेनाको भयावह क्रियाकलापबाट त्रसित गाउँलेहरूले उद्धार गर्ने आँट गरेनन् । पर्सिपल्ट मात्र माओवादी आए र हुस्सुले ढाकेको डाँडाकटेरी देउरालीको त्यो हत्यास्थलमा पुगे । पाखामा थुप्रिएको लासको तस्बिर खिचे अनि बाँसको खटमा ती लासलाई बोकेर नजिकैको चौरमा लगी सेताकपडा र हँसियाहथौडा अङ्कित झ्ण्डाले बेरे र सलामीसहित गाडिदिए ।

ती लासलाई उधिन्ने काम हामीले ग¥यौँ । स्थानीयवासीलाई पनि कोदालो चलाउन हौस्याउँदै डा. वस्ती हरेक खाडलमा छिर्नुभयो, हरेक लासको निरीक्षण गर्नुभयो, माथि नोट लेख्ने र फिल्म–फोटो खिच्ने काम गरिरहेका हामी हरि फुँयाल र मलाई चोटको प्रकार सुनाउँदै जानुभयो । हाम्रो दोरम्बा प्रतिवेदनमा श्रीमान् रायमाझ्ीको स्वीकृतिसहित अङ्ग्रेजीमा ‘एक्ज्युमेसन’ भनिने यो प्रक्रियालाई हामीले शव+उत्खनन = शवोत्खनन नामकरण ग¥यौँ ।

डा. वस्तीले निरीक्षण गरेका १९ लासमध्ये १८ वटामा कञ्चट, निधार या गालाबाट गोली छिरेका थिए र नजिकैबाट लागेकाले गोली निस्कँदा हरेकको खोपडी ध्वस्त भएको थियो । एउटै लासमा अनुहारमा कतै चोट थिएन, खाली बायाँ हातमा गोलीको चोट मात्र लागेको थियो । यिनै थिए— स्थानीय नेता तथा माओवादी कार्यकर्ता बाबुराम तामाङ । अरू लासमाझ् एक्लै उहाँको मृत्यु ‘ब्लडलस्’ (अत्यधिक रक्तस्राव) बाट भएको रहेछ । हामीले हत्याको १२ दिनपछि शवोत्खनन गरेर उनीहरूलाई फेरि चिरनिन्द्रामा माटोमुनि पुरिदिएका थियौँ । हामी अनुसन्धान सकेर देउरालीबाट तल झ्र्दा १४–१५ वर्ष ननाघेको एक जना ठिटो आयो र एउटा रोल फिल्म हामीलाई सुटुक्क दिएर गयो । उसले आफूलाई माओवादीको दौडधुप गर्ने कार्यकर्ता भनेर चिनाएको थियो । काठमाडौँ फर्केर उक्त फिल्म रोल धुलाउँदा सेनाले छाडेर गएको लासहरूको बीभत्स दृश्य देखियो । तीमध्ये एउटा लास चौरमा कोल्टे पारेर राखिएको थियो, सिपाहीले पछाडिपट्टि बाँधेका हात अझ्ै जस्ताको तस्तै थिए । द्वन्द्वकालको काटमारले बाबुराम तामाङ जस्ता धेरै जनसमर्पित नागरिकको ज्यान लियो ।

हाम्रो टोली त फर्कियो, तर दोरम्बाको पीडा निरन्तर चल्यो । माओवादी नेतृत्वबाट कडाइका साथ कारबाही चलाउने आदेश बमोजिम सुराकी गरेको आरोपमा त्यहाँ तीन जना स्थानीयवासी मारिए । सामुदायिक स्वास्थ्यकर्मी रेलिमाई तामाङलाई विशेष क्रूरताका साथ मारिएको खबर छ । उता हामीलाई त्यो फिल्म रोल बुझउने ठिटो पनि भिडन्तमा मारियो भन्ने सूचना पछि पाइयो ।

संयुक्त कमाण्डअन्तर्गत सेनाको नेतृत्वको त्यो टुकडीको त्यत्रो ज्यादतीमा सहभागी कसैलाई दण्ड दिइएन । टोलीको नेतृत्व गर्ने मेजर राममणि पोखरेलले पदोन्नति पड्काउँदै अवकाश समेत पाइसकेका छन् । विशेष क्रूरता देखाउने एक प्रहरी र सेनाका एक अफिसरको क्यारिअरमा कुनै धक्का लागेको देखिएन । गोली चलाउने जवानहरूको नाम सार्वजनिक भएको छैन, न त ‘चेन अफ कमान्ड’ द्वारा त्यो हत्या गर्न लगाउने को थियो भन्ने नै ठोकुवा भएको छ । आफूमाथि पनि औंला ठड्याइन्छ भन्ने विचारबाट त्रसित माओवादी पार्टी आफैँ दोरम्बा हत्याकाण्डको छानबिन भएको हेर्न तत्पर देखिएन । अन्ततः दोरम्बा अनुसन्धान समितिले सबल अनुसन्धान र प्रमाण सबै दिँदादिँदै पनि उदाहरणीय कारबाही गर्न आजसम्मका सरकार तत्पर देखिएनन् । सुनिन्छ, प्रधानमन्त्री माधवकुमार नेपाल दण्डहीनताको अवस्थालाई अन्त्य गर्न केही उदाहरणीय काण्डहरूको छानबिन र दोषीमाथि कारबाहीको पक्षमा हुनुहुन्छ । त्यसो हो भने दोरम्बा हत्याकाण्डका दोषीलाई कठघरामा उभ्याउनै पर्छ, माओवादी दल यसका लागि उत्साहित नहुँदा–नहुँदै पनि ।

(अर्को उकालो लाग्दा स्तम्भमा ‘माडी नरसंहारको सेरोफेरो’ ।)

Post navigation

Previous Post:

The other sanctuary

Next Post:

A response to the Secretary-General

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes