Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

नागरिक समाज होइन, नागरिक सञ्जाल

May 2, 2016 by admin

हिमाल खबरपत्रिका (१९-२५ बैशाख, २०७३)

केही क्षेत्र मात्र नभई पूरै मुलुक दुष्ट सिन्डिकेटको नियन्त्रणमा जाँदैछ, यसलाई परास्त गर्न नयाँ र जागरुक नागरिक सञ्जाल चाहियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा मलाई वीर अस्पतालको पुरानो आईसीयूमा उपचार गराउन लेराउँदा गंगामाया अधिकारीको छेउकै शैय्यामा राखिएको रहेछ । गंगामाया– जसको आमरण अनशनमा बसेका श्रीमानलाई बचाउन मानवअधिकारका क्षेत्रबाट म र साथीहरू लागिपरेका थियौं, तर सकेनौं । न्याय, कानूनी शासन र जवाफदेहिता स्थापनाको लडाइँमा गंगामाया आफू पनि निरन्तर लागिरहनुभएको छ । उहाँ २४ जेठ २०६१ मा चितवनमा मारिएका आफ्ना छोरा कृष्णप्रसादका हत्याराहरू कानूनको दायरामा आएको हेर्न चाहनुहुन्छ ।

अख्तियारको हिरासतमा शैय्या नं. १६ मा रहँदा मैले ड्यारन एसमोग्लु र जेम्स ए रबिन्सन्को संयुक्त कृति ‘ह्वाई नेशन्स फेलः द ओरिजिन अफ पावर, प्रस्पेरिटी एण्ड पोभर्टी’ पढें र अन्यत्रको तुलनामा हाम्रो समाजको अवस्था धेरथोर पहिल्याउन सकें । यस कृतिको सार हो– समाज अग्रगमनको लागि समावेशी नागरिक सञ्जालको निर्माण आवश्यक छ जसले आविष्कार, उद्यमशीलता तथा समृद्धिको लागि लोकतान्त्रिक स्थायित्वको वातावरण बनाउँछ ।

संवेदनशील मोडमा पुगेको समाजको अग्रगमन पूर्वनिर्धारित हुन्न र बृहत् नागरिक सञ्जाल निर्माण हुनु वा नहुनुबाट समाज कि लोकतन्त्र–समृद्धिको बाटोमा जान्छ कि त शक्तिका दलाल र आसेपासे पूँजीवाद (क्रोनी क्यापिटलिजम्) द्वारा बर्बादीतिर ।

अस्पताल शैय्यामा बसेर यी सब विषयहरूमाथि घोत्लिंदा म के भन्न सक्छु भने, नेपाललाई प्राप्त प्राकृतिक स्रोत–साधनको बुद्धिमत्तापूर्ण दोहनबाट नेपाली धनी हुन सक्छन्, मात्र चाहिएको छ– लोकतान्त्रिक राजनीतिक स्थायित्व । २०४६ को घुम्ती पार गरेपछि हामीले लोकतान्त्रिक स्थायित्वको बाटो समात्नुपर्ने थियो, तर आजसम्म पनि लड्नुपरेको छ; र दुर्भाग्य, विकासका चिन्तनहरू छाडेर लोकतन्त्र–बहुलवादको रक्षा तथा प्राप्तिको लडाइँमा नै रहनुपरेको छ ।

यो लडाइँमा हामीले जहिल्यै खुला विचार र तर्कहरूको हतियार प्रयोग गरेका छौं, गोप्य गठजोडको योजना र अस्त्र होइन । माओवादीहरूले लोकतन्त्र ध्वस्त पार्न हिंसाको अस्त्र प्रयोग गर्दा हामीले खुला विचार र तर्कबाट प्रतिकार ग¥यौं । दरबार हत्याकाण्डले समाजको जग हल्लाइदिंदा निडर भई स्थिति सम्हाल्न सघायौं । त्यही बीचमा ज्ञानेन्द्रले निरंकुश राजतन्त्र पुनस्र्थापनाको मूर्खतापूर्ण प्रयास गरे । उनको दुष्प्रयासलाई सहज रूपमा पराजित गरेका हामीले द्वन्द्वकालका ज्यादतीका लागि राज्य र माओवादी दुवै पक्षलाई जवाफदेही बनाउने लडाइँ जारी राख्नुपरेको छ ।

माओवादी खुला राजनीतिमा आएपछि पनि हामीले तिनको एकल पार्टी अधिनायकवाद लाद्ने चेष्टा विरुद्ध ज्यान छाडेर प्रतिकार गर्नुप¥यो । सँगसँगै हामीले पश्चिमा ‘डिप्लो–डोनर’ हरूलाई पनि हाँक दिनुपर्‍यो, जो नेपाली समाजको विशेषता नै नबुझी हाम्रो ‘सोसल इन्जिनियरिङ’ गर्न उद्यत रहे । चीन र अझ अचम्म लाग्दो गरी भारतमा लोकतन्त्र विरोधी राजनीति हावी भइरहँदा हामी नेपालको खुला लोकतान्त्रिक समाजको प्रतिरक्षामा झनै लाग्नुपरेको छ ।

पछिल्लो पटक नेपाल भूराजनीतिक पासोमा पर्दैछ भन्ने बुझेकाहरु भारतको सूक्ष्म व्यवस्थापन विरुद्ध लड्यौं, त्यसमा पनि खास गरेर उसको खुफियातन्त्रको दायित्वविहीन तर खुला गतिविधिले निम्त्याएको परिणाम विरुद्ध । राजनीतिक शीर्षस्थको लाचारीसामु बोल्नुपर्ने अभिभारा पनि हामीमा नै आयो । ती कथित लोकतान्त्रिक दलहरू विरुद्ध पनि गतिविधि गर्नुपर्‍यो, जसले देशमा कानूनी राज र जवाफदेही स्थापनामा खुला अरुचि देखाउन थाले । माओवादी शीर्षस्थसहित भारतपरस्त सिन्डिकेट राजनीति गर्न थालेका विरुद्ध पनि लड्नुपर्‍यो ।

विकृत संघीयताको बहसले मधेशी नागरिकको हित विपरीत प्रान्त निर्माण गर्न खोज्दा पनि समथरमा चलेको लोकरिझयाइँ विरुद्ध लड्यौं, ‘मधेश विरोधी’ को बिल्ला लगाइदिंदा पनि । हामी नेपालको नयाँ संविधानप्रति असहमति जनाउँदै भारतले गरेको नाकाबन्दीबारे प्रष्ट हुनुपर्छ भन्दै लड्यौं, नेपाली नागरिक र यहाँका निर्वाचित जनप्रतिनिधिहरू आन्तरिक विवाद समाधान गर्न सक्षम छन् भन्यौं ।

हामी लड्यौं, तर सधैं विजयी भएनौं । नेपालमा नागरिक तथा मानवअधिकारको लागि लड्नेहरूको शक्तिमा पनि ह्रास आइदियो । कोही थाके, कोही अन्यत्र लागे, थोरै बाँकी छौं । नयाँ, जुझरु नागरिक समाजको पर्खाइमा छ भर्खर संविधान निर्माण गरेका मुलुक र जनता । संविधान त बन्यो, तर यसलाई कार्यान्वयन गर्न सकिएन भने हाम्रो शक्ति अझ् क्षीण भएर, स्थिति अझ् बिग्रिएर जानेछ । नागरिक समाजको कामै आवाज उठाउने हो– मौनतामा जानुहुँदैन ।

नागरिक समाज ब्यूँताउने कुरा गर्दा आजसम्मको असफलता पनि हृदयङ्गम गर्नुपर्छ । मेरो विचारमा सबभन्दा ठूलो असफलता भनेको नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारलाई नन्दप्रसाद र गंगामाया अधिकारीको न्यायको मागको सम्मान गराउन नसक्नु थियो । ६ असोज २०७१ मा भएको नन्दप्रसादको मृत्यु नागरिक समाजको कलंक हो । र आजै पनि हामी मौन छौं, जब उनको सद्गत समेत हुनसकेको छैन, शव अझै शिक्षण अस्पतालमा छ ।

हामी ‘नागरिक समाज’ भनिनेहरूको अर्को ठूलो असफलता राजनीतिक दलहरूलाई स्थानीय निकाय निर्वाचन गर्न बाध्य पार्ने गरिको दबाब सिर्जना गर्न नसक्नु हो । यो असफलताले १२ वैशाख २०७२ को महाभूकम्पपछिको उद्धार, राहत र पुनःनिर्माणमा ठूलो असर पुर्‍यायो । न त हामीले सरकारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण बनाएर चलायमान पार्ने दबाब नै दिन सक्यौं ।

बौद्धिकहरूमा होशियारीको अभाव हुँदा नेपालका समुदायहरूमा विभाजन बढ्यो । जुझारुहरू तलबी र पढैयाहरू ‘कन्सल्ट्यान्ट’ बन्न पुगेको देशमा समुदाय–समुदाय विभाजित बनाउने काम भयो । पहाडे बाहुन जातिको राज्य संयन्त्रमा प्रतिनिधित्वलाई यथोचित रूपमा घटाउँदै अधिक भन्दा अधिक समावेशी संरचनाहरू निर्माणका लागि राज्यलाई खबरदारी गर्न असफल हामी नागरिक समाजका सदस्य हौं ।

बहुलवादी समाजका लागि खतराहरू बढेकै गतिमा नागरिक समाजको दायित्व पनि चुलिन पुगेको छ, तसर्थ ‘नयाँ नागरिक समाज’ चाहियो, जसले चुस्तताका साथ बहुलवाद, लोकतन्त्र, स्थायित्व जोगाउन विभिन्न तप्कालाई जोड्ने सञ्जाल बनाओस् । अब उर्लिंदो विकृतिहरूसँग लड्न राष्ट्रिय जीवनका हर क्षेत्रका नागरिकले यथाशीघ्र मोर्चाबन्दी गर्नुको विकल्प छैन । यसका लागि नागरिक समाज मात्र नभई नागरिक सञ्जाल चाहिएको छ ।

सबै नेपाली मिलेर चुनौती दिन सकेकैले ज्ञानेन्द्रको अधिनायकवादी ‘डिजाइन’ पराजित भयो । १० वर्षपछि आज त्योभन्दा खतरनाक ‘डिजाइन’ देखिएको छ । ज्ञानेन्द्रको एक्लो रथ थियो, रोक्न सकियो, तर आज लोकतान्त्रिक स्थायित्वको ठाउँमा पुग्नै नदिने दुष्टहरूको सञ्जाल नै तयारीमा छ । यो गठजोडमा सहभागी छन्, राज्यका महत्वपूर्ण निकायका प्रमुखदेखि दुईनम्बरी व्यापारी/व्यवसायी, वर्तमान र पूर्व कर्मचारी तथा प्रभावशाली राजनीतिज्ञहरू । नेपाललाई सिन्डिकेट बनाएर ‘आसेपासे पूँजीवाद’ को बाटोमा हिंडाउन वैदेशिक स्वार्थसँग सहकार्य गरिरहेको छ, यो गठजोड ।

ज्ञानेन्द्र विरुद्ध लड्न सजिलो थियो, उनीसँग सत्ताको शक्ति भए पनि ‘नेटवर्क’ नभएकोले । आज पन्पिएको गठजोडले दल, कर्मचारीतन्त्र, उद्योग–व्यापारदेखि मिडियासम्मलाई वशीभूत पारेको छ । यस्तो दुष्ट सञ्जालले नेपाली समाजमा अशुभको बादल लगाइसक्दा पनि हामी केही गर्न अक्षम रह्यौं, यो गाह्रो कुरा ।

शुभसंकेत के भने, नेपाली समाजको कुभलोका लागि जतिसुकै ठूला ‘डन’ को वरिपरि गठजोड बने पनि त्यो असफल हुनेछ, किनकि देशका सबै कलपुर्जामा तिनको नियन्त्रण पुग्दैन ।

Post navigation

Previous Post:

Peak Tourism

Next Post:

अख्तियारको कारबाहीबारे मेरो भन्नु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes