Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘नेपाल’ शब्दको पुरातत्व

December 4, 2018 by admin

हिमाल खबरपत्रिका (१६– २२ मंसिर, २०७५) बाट

प्रखर बौद्धिक, भाषाशास्त्री, शिक्षक तथा समालोचक कमलप्रकाश मल्लको गएको १ मंसीरमा अमेरिकाको जर्जिया राज्यमा निधन भयो । उहाँले विभिन्न विधामा लेखेका सयौं लेखमध्ये सन् १९८३ मा प्रकाशित ‘नेपालः आर्कियोलोजी अफ द वर्ड’ उहाँको स्मृतिमा उल्था गरी पेश गरेको छु । शब्द प्रयोग र अर्थमा पूर्णतः ध्यान दिने कमलप्रकाश मल्लले स्वर्गबाट यस कार्यमा हुन गएका गल्ती माफ गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।
पूर्ण लेख नभई सारांश यहाँ पेश छ । – कनकमणि दीक्षित

– कमलप्रकाश मल्ल

‘नेपाल’ शब्दको स्रोत त्यति प्रष्ट छैन । सबैभन्दा पुरानो र विश्वासिलो प्रयोग सम्राट समुद्रगुप्त (सन् ३३५–४७५) को इलाहावाद स्तम्भमा पाइन्छ, जसमा नेपालका राजा सम्राटसामु झुक्दै आउने सन्दर्भ उल्लेख छ ।

नेपालभित्रैको सबैभन्दा पहिलो उल्लेख उपत्यका आउने–जाने बाटोमा पर्ने टिस्टुङ बस्तीमा पाइन्छः ‘नेपालका शासकलाई स्वस्ति’ ।

अवश्यै भारतको शास्त्रीय लेखनमा ‘नेपाल’ प्रशस्तै पाइन्छ, जस्तै वैदिक भनिएको ‘अथर्वपरिशिष्ट’ मा, कौटिल्यको ‘अर्थशास्त्र’ मा, महाभारतका कुनै संस्करणमा, केही बुद्धमार्गी र जैन लिखतमा पनि । तर यी दस्तावेजमा ‘नेपाल’ प्रयोग पाइँदा पनि शब्दको उत्पत्ति के हो र प्रयोग कति पुरानो हो ठम्याउन सकिंदैन ।

नेपालभित्रकै दस्तावेज हेर्ने हो भने सन् १३०० ताका तयार पारिएको ‘गोपाल राजवंशावली’ र सोही समयका अन्य वंशावलीमा ‘नेपाल’ को व्याख्या पाइँदैन, तर पछि आउने स्थानीय वंशावली (मुख्यतः १८२०–१८८० को समय) मा भने ‘नेपाल’ नामको व्याख्या र विश्लेषण हामी पाउँछौं । यी पछिल्ला हिन्दू र बौद्ध दस्तावेजमा या त ‘नेपाल’ को उत्पत्ति ने मुनि, ने नाम गरेको गाई या यही नामको आदिबुद्ध– बाट भएको भन्ने दाबी छ ।

१५–१६ शताब्दीमा नेपाल खाल्डोभित्र सांस्कृतिक–धार्मिक राष्ट्रवाद हावी भएको भान हुन्छ । यसै बेलामा ‘नेपाल महात्म्य’, ‘स्वयम्भूपुराण’ र ‘पशुपतिपुराण’ तयार पारियो, शायद त्यतिबेला केही कारण स्थानीय पीठ, नदीनालाको बढी बखान गर्नुपर्ने आवश्यकता थियो । मिथ्या तयारीको यस उर्वर समयमा ‘नेपाल’ को धर्म र पन्थ अनुसारको व्याख्या रचियो ।

प्रख्यात नर्वेली संस्कृत विद्वान् क्रिश्चियन लासेन (सन् १८००–१८७६) ले ‘ने’ नाम गरेका मुनि थिए भन्ने कुरा स्वीकार्न सकेनन् र ‘नेपाल’ को अर्थ ‘निपा+आलय’ बाट आउँछ भनी प्रस्ताव गरे– ‘पहाडको बेसीमा रहेको ठाउँ ।’

प्रकाण्ड फ्रान्सेली विद्वान् सिल्भाँ लेभी (सन् १८६३–१९३५) ले लासेनको सुझाव बेठीक ठहर गरे, तर आफैंले ठोस प्रस्ताव भने राखेनन् । उनले भने– “या त ‘नेवार’ शब्दको उत्पत्ति ‘नेपाल’ बाट भएको हो, या त स्थानीय नाम संस्कृतिकरणद्वारा ‘नेपाल’ भएको हो ।” भाषाविद् सर राल्फ टर्नरले आफ्नो प्रख्यात शब्दकोशमा लेभीको कुरालाई नै मान्यता दिएका छन् ।

इतिहास शिरोमणि बाबुराम आचार्यले शुरुमा ‘नेपाल’ पुरानो नाम ‘नेपार’ को अपभ्रंश भन्ने विचार राखे पनि पछि गएर उनी पनि उक्त शब्द ‘नेवार’ कै संस्कृतिकरण भन्नेमा आए ।

यो निष्कर्ष यसकारण पनि विश्वसनीय छ कि, नेपालका पुराना अभिलेखमा पाइने नदीनाला, नहर, थुम्का, टार, चौर इत्यादिका नामको गैर–संस्कृत उत्पत्ति हामी पाउँछौं । धेरै नदीका नाम र यिनको अपभ्रंशको अध्ययनले देखाएको छ कि तिब्बती–बर्मन नाम संस्कृतिकरण भएर आएका छन् ।

सिल्भाँ लेभी, राल्फ टर्नर, इतिहासविद् सुनितिकुमार च्याटर्जी र बाबुराम आचार्य एकै कुरामा सहमत छन् कि ‘नेवार’ को संस्कृतिकरणद्वारा ‘नेपाल’ भएको हो । हामीले ‘नेपाल’ लाई शिक्षित संस्कृत प्रयोग र ‘नेवार’ लाई स्थानीय वा रैथाने प्राकृत प्रयोग भन्न पनि मिल्छ– एउटै शब्दको दुई उच्चारण ।

दक्षिणएशियाको इतिहासमा थात–थलोको नाम अक्सर समुदाय वा जातजातिको नामअन्तर्गत रहेको हामी पाउँछौं, जस्तैः भारत, मगध, विदेह, आन्ध्र, कलिङ्ग र कुरु । नेपालका पुराना लिखतबाट पनि बुझिन्छ, कि यो देशको नाम यहाँका वासीको नामबाट बनेको हो । कसै कसैले भनेजस्तो उपत्यकाको भूगोलको कुनै उत्कृष्ट अंगको नामबाट ‘नेपाल’ को उत्पत्ति भएको पक्कै होइन ।

‘नेवार’ को संस्कृतिकरणले ‘नेपाल’ दियो होला, तर पनि शब्दको उत्पत्तिबारे जान्नुपर्ने हुन्छ । यत्ति हामीलाई थाहा छ कि हिन्दूवंशी लिच्छविभन्दा अगाडि उपत्यकामा गोपाल र महिषपालको बसोबास थियो ।

नेपालका तिब्बती–बर्मन भाषाहरूमा ‘ने’ भन्नाले चौपाया, गाई या भैंसी जनाउँछ, र ‘पा’ ले मानव । अतः हामी यति भन्न सकौंलाः १. ने (गाई, भैंसी, चौपाया) र पा (वासी, रखवाला) दुई मिलेर बन्न गयो ‘नेपा’ । २. ‘नेपा’ को संस्कृतिकरणले दिन्छ ‘नेपाल’ ।

Post navigation

Previous Post:

The rationalism of regionalism

Next Post:

Two Punjabs, one South Asia

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes