Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

भाग्ने ठाउँ

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१६–३१ भदौ ,२०५९)बाट

थाइको एयरबस विमानमा हामी ३१,००० फीटको उँचाइमा जलमग्न बङ्गलादेश माथि उडिरहेका छौँ । एक महिनाअघि मात्र म भूमार्ग हुँदै यही बाटो आएको थिएँ, काठमाडौँदेखि ढाकासम्म, तर अहिले यो हवाईजहाज ब्याङ्ककतर्फ लाग्दैछ । मेरो सीट ‘५०–ए’ को अगाडि ‘४९–ए’ र ‘बी’ मा काठमाडौँका समृद्ध परिवारका दुई केटी अङ्ग्रेजीमा कुरा गर्दैछन्, अमेरिका पढ्न जान लागेका । पछाडि ‘५१–ए’ र ‘बी’ मा दुई युवक, एक जना इटहरीका र अर्का झापाका । उनीहरू गाउँले एजेन्टले इलेक्ट्रीकल काम मिलाइ दिएको गर्न क्वाललम्पुर जान लागेका । मेरो अगाडि–पछाडिका दुवैथरि युवा आ–आफ्नो भविष्य बनाउन विदेश हिँडेका– अर्कोथरि जमातलाई भने घरमै छाडेर । ती हुन् माओवादीमा लागेका युवा/युवतिहरू, कोही सैद्धान्तिक आगोको रापले तातेर, कोही करकापले त कोही सिर्फ रोजगारको लागि । हवाईजहाजमा विदेश पलायन हुनुको साटो यिनीहरू नेपाली पहाड र कन्धरामा बस्न र बाँच्न झ्न्–झ्न् बाध्य हुँदैछन् ।

हाम्रो जहाज बङ्गालको खाडी माथि भएर मनसुनी बादल छिचोल्दै बर्माको भूभागतर्फ उड्दैछ । इटहरीको केटोले झपाको केटोलाई पछाडि भन्दैछ, “दुई वर्ष चाहिँ मरेर काम गर्ने बुझ्स् :!” मेरो अगाडि, दुवै केटीको कपालको रंग हेयर डाइले कैलो छ, र करियरको छलफल गर्दैछन् । मानौँ, संसारको कुनै पनि काम, कुनै पनि अन्तर्राष्ट्रिय चुनौती, उनीहरूले सामना गर्न सक्छन् । भविष्यप्रति उत्साहित बनाएको छ उनीहरूलाई आफ्नो पारिवारिक सम्पन्नताले । पछाडिका दुई केटाले भने आफ्नो पसिनाले भविष्य बनाउनुपर्ने अवस्था छ, तर उनीहरूको उत्साह पनि प्रेरणादायक छ ।

मेरो मन चाहिँ माओवादीमा लागेका युवाहरूको भविष्यतर्फ नै डोरिएको छ । तीन महिनाअघि, पूर्वी रोल्पाको जेलबाङ गाउँ माथिको जङ्गलमा बीबीसीका ड्यानिएल ल्याकसँग माओवादी पहिल्याउँदै जाँदा जम्काभेट भएका ‘जनसेना’ का ४०–५० जना युवक–युवतिको सम्झ्ना आउँछ । नराम्ररी बाटो बिराउन पुगेका ती केटाकेटीहरूको भविष्य के छ ? उनीहरूका उच्चस्थ नेताहरूले काठमाडौँको राजनैतिक व्यवस्थापनसँग सम्झैता गर्लान् । टाठाबाठा कम्पनी कमाण्डर र कमिसारहरू मुग्लान पस्लान् । तर ती माओवादी तन्नेरी लडाकुहरूको के होला ? सेनाका सिपाहीले उनीहरूलाई भेट्टाएमा छाड्लान् ?

घामको रापले कालै भएका ती मगर केटा जसले भन्थे खारा, गाम, सत्वरिया, दाङ सबै ठाउँमा म लडेको छु भन्थे; ती गोरी, बब्कटमा छोटो कपाल काटेकी बाहुन–क्षेत्री जस्ती देखिने बन्दुकधारी युवति; अनि ती तराईका थारू या कुनै मधेसी समुदायमा देखिने, अग्ला जवान, जो अरूसँग अलग आफैँ उभिइरहेका छन्; के होला तिनको भविष्य ?

मनले भन्छ, आउँदा दिनहरूमा यिनीहरूको अवस्था नाजुक हुँदै जानेछ । यी माओवादी युवा लडाकुहरू अहिले स्कूल कलेज पढ्ने बेला छ, तर संसारको विकासक्रमबाट अलग्गिएर अहिले डाँडाकाँडा काँधमा बन्दुक बोकी चहार्दैछन् । लडाकु मनस्थितिले गर्दा उनीहरू आफैँलाई जीउज्यानको माया छैन । उनीहरूको माया माओवादी नेता र कमाण्डरहरूलाई पनि छैन । र, बहृत् समाजलाई त झ्न् छँदैछैन । अन्तर्राष्ट्रिय भूराजनैतिक अवस्था उनीहरूलाई कसैले बताइदिएको छैन, जस अन्तर्गत सेनाले उनीहरूको खानतलास गर्न दीगो सहयोग प्राप्त गरिरहेछ, जसको मतलब हो आज नभएर भोलिको ‘भिडन्त’ मा तिनको मरणको सम्भावना टड्कारो छ । तर चाहेर पनि रणभूमिबाट भागेर जाने अवस्था छैन यी युवाहरूको ।

यिनलाई भागेर जाने ठाउँ तयार पारिदिनु परेको छ । यता या उताको हातको मरणबाट बचाउने हो भने उनीहरूलाई निकास जुटाइदिनुपर्छ । सरकार, पार्टी, सेना र पुलिस सबै राजनैतिक दलदलमा फसेको बेला होला यो, तैपनि यतातिर ध्यान दिन जरुरी छ । गल्तीले या करकापले लडाकु बनेका यी युवाप्रति समाजका विभिन्न अङ्गले सम्वेदनशीलता देखाई उम्कने व्यवस्था मिलाइदिनुपर्छ । माओवादी सेनामा धकेलिएका युवक–युवतिमध्ये धेरैलाई पक्कै लडाइँ गर्न र मार्न मन छैन, तर तिनीहरूसँग अरू विकल्प छैन जब यिनीहरूलाई ‘सिध्याउने’ एजेण्डा छ ।

सङ्कटकाल लागेको ८ महिनायता नेटिभीमा लासहरू हेर्दा हेर्दा मन छुन पनि छाडिसक्यो, तैपनि बाटो बिराएका यी माओवादी युवाप्रति मानवीयताको कारणले जाग्नुपर्ने चिन्तन कतै जागेको देखिँदैन । हो; यिनीहरूले जथाभावी हत्या र सफाया गर्न सिके, तर यिनीहरूलाई सिकाउनेको गल्ती बढी छ, यिनलाई चाहिँ आफ्नो अवस्थाबाट उम्कने मौका दिनुपर्छ । पक्कै पनि यीमध्ये धेरैलाई परिबन्दले माओवादी बनाएको हो, नत्र तिनै युवक आज सेनामा या सशस्त्र प्रहरीमा भर्ती खोज्दै हुन्थे होलान्, या भारत पस्दथे होलान् कामको खोजीमा, या गल्फ या मलेसिया या जापान ।

जो जसले आज आँखा खुलेर या मरणको डरले ‘जनसेना’ त्याग्न चाहन्छन्, उनीहरूको लागि अहिले निकास छैन । त्यो निकास दिनु पर्यो । सरकारले सेनालाई एउटा सुरक्षित शिविर खोल्न निर्देशन दिनसक्छ, जहाँ माओवादी त्याग्न चाहने लडाकुहरूले आश्रय पाउन् । सो कार्यक्रम सफल हुने देखियो भने हरेक विकास क्षेत्रमा एउटा एउटा त्यस्तो शिविर पनि खोल्नु पर्ला । त्यहाँ सेना या सशस्त्र प्रहरीको सुरक्षामा कसैले हमला गर्न नसक्ने गरी एक–दुई वर्ष यी ‘पूर्व माओवादी’ युवालाई राख्न सकिन्छ, जहाँ सुरक्षा सँगै तिनले गाँसबास र सीप, तालिम पनि पाउन् । यसो गर्नु एउटा मानवीय कार्य मात्र नभई माओवादी विरुद्धको युद्धमा यसको रणनीतिक महत्व पनि हुन्छ ।

सेना या प्रहरी आफैँले यस्तो शिविर खोल्ने विचार गर्नुपर्ने थियो । भए राजनैतिक पक्षको त दायित्व हो यसो गर्न भनेर निर्देशन दिनु । आश्रय शिविर बनाएर माओवादी लडाकु युवालाई बाँच्ने मौका दिनु पर्यो । आत्मसमर्पण गर्दा ज्यान रहन्छ नै, उनीहरूले बुझनुपर्ने हुन्छ, बरु सुरक्षित शिविरमा राखिनेछन्, अनि एक दुई वर्षपछि इलम गर्न चाहिने सीपसहित नयाँ नेपालमा उनीहरू अवतरण गर्न सक्नेछन् । बाटो बिराएका तन्नेरीलाई मरणको मुखतर्फ धकेल्नुको साटो यसै गर्नुपर्छ ।

Post navigation

Previous Post:

Upper Mustang in Kathmandu

Next Post:

Fighting by the rules

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes