Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

मेघालयमा ‘कोइला काट्दै’

November 7, 2017 by admin

हिमाल खबरपत्रिका (१९-२४ कार्तिक, २०७४) बाट

नेपाल राज्यको ७० वर्षको असफलता हो, नागरिकले जीवनयापनको लागि परदेशमा यति कष्टकर मजदूरी गर्नु परिरहनु ।

पूर्वोत्तर भारतको कोइला खानीमा कोइला काट्दै निशान्त राई, इन्सेटमा सुरज राई ।

नेपालीहरू देशबाहिर काम गर्न जाने क्रमसँग परिचित नै छौं हामी– पहिले लाहुरे पल्टन, या भारतमा चौकीदारी, रेस्टुरेन्ट मजदूरी, ‘कालापहाड’ मा सडक मजदूरी, पञ्जाब/हरियाणामा कृषि मजदूरी, कोठीहरूमा शोषित महिलाको जमात अनि खाडी र मलेशियामा खुलेका अनेक थरी नयाँ रोजगारी ।

पूर्वोत्तर भारतको मेघालय राज्यको कोइलाखानीमा काम गर्ने पूर्वी पहाडका नेपालीहरूबारे पनि हामीले सुनेका छौं, तर धेरै जानेका भने छैनौं । यसैकारण हालै फिल्म साउथएशिया वृत्तचित्र महोत्सवको ‘ओपनिङ फिल्म’ ले बढी महत्व राख्यो ।

बैंगलोर निवासी चन्द्रशेखर रेड्डीले केही वर्ष लगाएर बनाएको ‘फाएर फ्लाईज् इन् द एबिस’ वृत्तचित्रले सूक्ष्म र संवेदनशील हिसाबले ‘कोइला काट्ने’ नेपालीको जीवनको चित्रण गरेको छ । बिरानो देशमा एकआपसको आत्मीयताबाट थुपारेको शक्तिले मेघालयको त्यो मनोरम भू–सतह मुनि सुरुङभित्रको दर्दनाक कष्टलाई सह्य बनाउँछ ।

मेघालयका गाउँहरू जमीनमुनिको कालोधन माथि आधिपत्य जमाउन एकआपसमा लड्दैछन् । यहाँ मजदूरी भने बाङ्लादेशी र नेपालबाट आएकाहरूले गर्छन् । यस्तो काम अरु समूहकाले गर्दैनन् ।

आखिर ‘सप्लाई एण्ड डिमाण्ड’ न हो मजदूरी, जसको अरु कुनै विकल्प छैन उसले मात्र कोइलाखानीको त्यस्तो एक्लो, यातनायुक्त र खतरनाक काम गर्दछ । सतहमा मेघालयका होचा पहाड, जंगल र चौरहरू अति नै रमणीय छन् । तर जताततै चारपाटे खाडलहरू भेटिन्छन् । अलि होशियारीका साथ हिंडेन भने सीधै १००–२०० फिट तल खस्ने अवस्था रहन्छ ।

फलेक र पाइपका भर्‍याङबाट गहिराइमा पुगेपछि अर्कै संसार भेटिन्छ । निधारमा सानो टर्च बालेर तीन फिटजति अग्लो र चार–पाँच फिट चौडाइको सुरुङभित्र छिर्‍यो, आफू पछि–पछि त्यो सुरुङमा ‘फिट’ हुने दुईपाङ्ग्रे काठको गाडा घिसार्दै ।

निस्सासिंदो त्यो अन्धकारमा २००–४०० फिट भित्र पसेर साँघुरो ठाउँमा पल्टी–पल्टी पिकले कोइला कोतर्‍यो, त्यसलाई सुती–सुती सावेलले गाडामा भर्‍यो, घिसार्दै सुरुङको मुखमा ल्यायो अनि कोइलाको थुप्रो डोकोमा सार्‍यो, बोकेर माथिसम्म पुर्‍यायो ।

यस्तो परिश्रम स्क्रिनमै हेर्न पनि गाह्रो हुन्छ ।

बिरानो देशको कष्टकर जीवनलाई सह्य बनाउन जुवातास र मदिरामा कतिले आर्जेको पैसा गुमाउँछन् । कसैले एउटा नेपाली दम्पतीकहाँ खाना खाने गरेर अलिकति पारिवारिक माहोल बनाउँछन् ।

केटो सुरज राई अंग्रेजी पढ्न भागेर अर्को बस्तीमा जान्छन् । त्यहाँ उनलाई पढाउने जिम्मा नचिनेका कोइला मजदूरले लिन्छन्, “हामीले त पढ्न पाएनौं, यसले पढोस्…. !”

अर्का छन्, सुरुङभित्र घिस्रिंदै गरेका कोइलाले कालाम्मे निशान्त राई । उनी माथि सतहमा आएर जब नुहाएर कपडा फेर्छन्, उनको जीवनको अर्को पाटो उजागर हुन्छ । फोटोग्राफीमा रुचि भएका निशान्त आफ्नो सोखले कोइलाखानीका मजदूर र परिवारहरूको तस्वीर खिच्छन् । उनको आकांक्षा छ– नेपाल फर्केर आफ्नी ‘सपनाकी रानी’ लाई बिहे गर्ने, एउटा फोटोग्राफी स्टुडियो खोल्ने र पछि फिल्ममेकर बन्ने ।

निशान्तका एकजना दाइ छन् त्यहीं काठमाडौंमा फिल्म अभिनय पनि गरिसकेका गायक । उनलाई पनि नियतिले त्यहाँ कोइलाखानीमा पुर्‍ यायो । यहाँ मजदूर बनेपछि उनको कपडा, अनुहार, हातहरू सबै कालो । तर, उनी गितार पनि फिट्छन्– ‘चिसो चिसो हावामा, यसै मन बरालिन्छ…. ।’

ऐतिहासिक कालको कुरा नगरौं, नेपालको आधुनिक युग शुरु भएको अहिले सात दशक पुग्न लाग्यो । यो आधुनिक राज्यको असफलता हो कि सुरज, निशान्त जस्ता ठूला–साना उमेरका नागरिक कहालीलाग्दो मजदूरी गर्दैछन् विदेशमा । आफ्नो मुलुकमा मनग्गे प्राकृतिक स्रोतसाधन हुँदाहुँदै राजनीतिक र भूराजनीतिक पासोले अन्यत्र जानु प¥या छ, आजैसम्म ।

‘फाएर फ्लाईज् इन् द एबिस्’ काठमाडौंमा एक–दुई वृत्तचित्र महोत्सवमा मात्र होइन मुलुकभरका सिनेमा हलहरूमा देखाइनुपर्छ ताकि राजनीतिक दल र तिनका शीर्षस्थहरूलाई आत्मचिन्तन गर्ने मौका मिलोस् । र, बाँकी हामीले राजनेतालाई प्रश्न गर्न र हामी आफैंले आत्मसमीक्षा गर्ने अवसर जुटोस् ।

फिल्म निर्माता चन्द्रशेखर रेड्डीका अनुसार सुरज राई अझै कोइला काट्दैछन्, त्यहाँ । उनी नेपाल आएर काम गर्न चाहन्छन् रे ! निशान्त राई काठमाडौं उक्लिए भन्ने सुनिएको थियो, तर फेरि खबर आयो उनी त मलेशिया पुगे रे !

उनले कुनैवेला फर्केर कोइलाखानीमा मजदूरी गर्नेहरूको फोटो प्रदर्शनी काठमाडौंमा गरुन्, नेपालमै स्टुडियो खोलुन् र आफ्नी ‘सपनाकी रानी’ सँग सुखमय जीवन बिताउन् ।
—————–

‘फाएर फ्लाईज् इन् द एबिस’ दक्षिण एशियाली चलचित्र महोत्सवमा १९ कार्तिक दिउँसो १:३५ बजे यलमाया केन्द्र पाटनमा प्रदर्शन हुँदैछ । – हिमालखबर

Post navigation

Previous Post:

Statement of Kathmandu citizens on the Rohingya tragedy

Next Post:

Still silently crying

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes