Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

यत्रतत्र कुइजिन्को स्वाद लिँदा

July 23, 2021 by admin

हिमाल खबरपत्रिका (१६ असोज -१५ कात्तिक २०६८) बाट

हाम्रो विवाहपछि मात्र शान्तालाई थाहा भयो शायद, ‘कुइजिन्’को क्षेत्रमा मेरो सांस्कृतिक अल्लारेपन । खाँदा म हाम्ल्याङ्ग हाम्ल्याङ्ग गरेर भुईंचालो आउनै लाग्यो जस्तो गरी प्लेट साफ गर्दोरहेछु, डिश बाहेक अरू केही नदेखेझै गरी ।

बार्सिलोना शहरमा टेबुलमा खान तम्तयार ‘पाइआ’ ।

विवाह गर्नुको एउटा फाइदा रह्यो मेरो लागि, शान्तासँग समुद्रपारका ठाउँ–ठाउँमा पुगेर विभिन्न कुइजिन्को स्वाद लिने; बैङ्कक्का सडकपेटीको तोम्याङ्ग गुङ्क होस् वा न्यूयोर्क शहरका रेस्टुराण्टमा । तर पनि यति मैले भन्नैपर्छ— पाश्चात्य टेबुलमा बस्दा काँटा बायाँ हातमा र स्याँगी दायाँ हातमा राख्न मलाई अप्राकृतिक लाग्दछ, र ‘टेबुल सेटिङ’ विपरीत र शान्ताको कर्केनजर बाबजुद काँटा दायाँ हातमा गइहाल्छ ।

न्यूयोर्कमा एउटा इटालियन रेस्टुराण्ट छ, ‘कार्माइन्स्’ । सयौं जनाको भीडभाड हुने उक्त रेस्टुराण्टमा ठूला–ठूला पारिवारिक जमघट र कोलाहलमाझ् वेटरहरू यत्रतत्र दौडिरहेका हुन्छन् । तर यत्रो ठूलो ‘टर्नओभर’ हुने ठाउँमा पनि खानाको स्तर भने उच्चकोटिको ! काठमाडौंमा धेरै उत्कृष्ट रेस्टुराण्ट छन् तर त्यस खालको ‘हाइ भोलुम, हाइ क्वालिटी’ भान्साघर मैले भेटेको छैन ।

काठमाडौंका कुइजिन् सौखिनहरू भाग्यमानी छन्, किनकि यहाँ मध्यमवर्गीय पकेटको भरमा संसारभरका खाना पाइन्छ; मलेसियालीदेखि फ्रान्सेली, दक्षिण भारतीयदेखि खास तिब्बतीयसम्म । शान्ताले मलाई चिनाइदिएको चाहिँ ठमेलको मुखमै रहेको ‘फाएर एण्ड आइस्’ रेस्टुराण्ट हो, जुन युनियन जुझरुहरूका कारण हालै केही समय बन्द भएको थियो । आफ्नै मौलिक खालको पिज्जा तथा अन्य इटालियन खाना पस्कने त्यो रेष्टुराण्टलाई दक्षिण इटालीको नेपोली शहरकी आन्ना मारियाले सञ्चालन गरेकी हुन् । ‘फाएर एण्ड आइस्’को प्रस्तुतिबाहेक यहाँको विशेषता हो हँसिला चञ्चले वेटरहरू, जसले एक प्रकारको आत्मीयताको सौगात दिन्छन् ।

लेख्दै जाँदा हामी दम्पतीको इटालियन खानासँग विशेष लगाव प्रस्ट हुन्छ । सन् १९८७ मा मैले इटालियन आल्पमा हिमाल चढ्न जाँदा चिप्लिएर दाहिने खुट्टा ठनक्कै भाँचेको थिएँ, र उत्तर इटालीको टोरिनो शहरमा मेरो शल्यक्रिया भएको थियो । मेरो स्याहार गर्न न्यूयोर्कको पढाइ छाडेर आएकी शान्ता ट्रयाक्सनमा खुट्टा माथि तन्काएर अस्पतालमा राखिएको पतिसँग कति बस्नु ! त्यतिबेला शान्ताले हाम्रा पारिवारिक मित्र पाओलो बोफेत्ताको गाउँमा स्थानीय कुइजिन्को जिन्दगीभरि नबिर्सने स्वाद लिइन्— अक्टोपस सलाद, थरीथरीका पास्ता र ब्रेड, वाइन, चिज अनि बेक, सटे, फ्राइ र रोष्ट गरिएका आइटमहरू ।

खुट्टा आकाशतिर तन्काएर अस्पतालको बन्धनमा बसेको मेरा भागमा भने बेस्वादिलो न नुन, न मसलाको मिनस्थ्रोने सूप मात्र पर्दथ्यो; दिनरात, रातदिन । शान्ताले रसास्वादन गरेको उत्तर इटालियन कुइजिन् म आजसम्म मेरो जिब्रोले नै चाखेको जस्तो गरी सम्झ्रिहेछु ।

एकचोटि एम्स्टर्डयाम्मा एकजना साथीले सानो चिटिक्क परेको विशिष्ट रेस्टुराण्टमा लिएर गए । मात्र ५–६ वटा टेबुल, मधुर सङ्गीत, चुपचाप गफ र सेतो पञ्जा लगाएको ‘मेत्र दी’ श्रीमान् वेटर । यत्रो सानदार रेस्टुराण्ट, तर प्लेटमा भने विना मसला, विना झेल, बुच्चो माछाको डिनर आयो, प्लेटको छेउमा उसिनेको गाजर, आलु र फर्सी । के गरुँ के गरुँ भयो, मैले चाख्दै नचाखी ‘मेत्र दी’सँग कागती मागेँ । उसले एउटा आँखीभौं अन्तरिक्षमै जाने जस्तो गरी उचाल्यो । मैले चरक्क माछामाथि कागती निचोरेँ । यसो यताउता हेर्छु त वेटर साहब लड्ला जस्तो गरी भित्ता समाइरहेका । शान्ता दलिनतर्फ हेर्दै थिइन् चिनजान नै नभएको जस्तो गरी । आजसम्म उनले मलाई त्यो दिन, त्यो डिनर बिर्सन दिएकी छैनन् ।

‘ओत् कुइजिन्’, अर्थात् उच्चकोटिको खानपिन, को अनुभव जस्तो भएपनि साधारण खानपिनको स्वाद र मज्जा अर्कै हुन्छ । मैले सम्झ्ने गरेको स्पेनको बार्सिलोना शहरमा एक दम्पतीले हामी दुईलाई घरमा तयार पारेको ‘पाइआ’ हो । एउटा ठूलो ताप्केमा भुजा, विभिन्न खाले सी फुडलाई धेरैबेर मधुरो आगोमा पकाइएको त्यो ‘पाइआ’ डिश नै प्रमाण थियो, स्वाद लिन ‘ओत् कुइजिन्’ हुनुपर्दैन ।

उत्तरपूर्वी अमेरिकामा हामीले जताततै रेस्टुराण्टमा, साथीका घरहरूमा खाएको ‘सी फुड’ पनि उत्कृष्ट लाग्छ, जस्तै समुद्रप्राणीहरूको टुक्राटाक्री मिसाएर तयार पारिएको ‘क्ल्याम चाउडर’ । यो मात्र नुनिलो बिस्कुटसँग खाँदा हुन्छ, तृप्त हुन अरू केही चाहिँदैन । शान्ताको ‘फेभरेट’ भने लब्स्टर हो । लब्स्टर खान शुरुमा अलि मन दह्रो पार्नुपर्छ । सिङ्गो समुद्री गँगटोलाई ज्यूँदै उमालेको पानीमा डुबाएर बनाइने यो विना तामझमको खाना हो, ‘कुइजिन्’ भन्न नमिल्ने । प्लेस्टिक ‘बिब’ लाउनुपर्छ, हाड भाँच्दै भित्रको मासु खोतल्दा छिटाबाट लुगा जोगाउन । सेतो केस्रा–केस्रा मासु काँटामा राखेर पगालेको मक्खनमा चोपेर सीधै मुखभित्र । हरियोपरियोको लागि बन्दा र मेओनेज् मिसाएको ‘कोल् स्ल’ ।

ठाउँठाउँमा घुमिसक्दा शान्ताले सबैभन्दा स्वाद लिएको मैले देखेको चाहिँ उत्तरी मुस्ताङका चैले, घेमी र लोमान्थाङका गाउँघरमा प्रस्तुत फापरको ढिँडो र साग नै हो । मलाई भने दशैँको बेलामा खसीको मासु र काउलीको तरकारी भए अरू केही चाहिँदैन ।

Post navigation

Previous Post:

Adventures with a Nepali Frog

Next Post:

बालकृष्ण ढुंगेललाई कारागार!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes