राष्ट्रपतिसँग दिल्ली जाँदा

हिमाल खबरपत्रिका (१६–२९ फागुन २०६६) बाट

तस्बिरहरूः कनकमणि दीक्षित

राष्ट्रपति रामवरण यादवको ‘मोटरकेड’ अन्तर्राष्ट्रिय विमानस्थलको अति–अति विशिष्ट प्राङ्गणबाट विस्तारै नेपाल वायु सेवा निगमको ‘गण्डकी’ बोइङ्ग ७५७ तर्फ आउँदा पछाडिपट्टि दोर्जे ल्हाक्पा हिमालले पहरा दिइरहेथ्यो । महामहिम बायाँपट्टिको ‘वान–ए’ सिटमा बसेको केही क्षणमा नै हवाईजहाज नयाँदिल्लीतर्फ लाग्यो, गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिलाई पहिलो विदेश भ्रमणमा लिएर ।

राष्ट्रपति सवार विमान नेपाली आकाशको पश्चिम सिमानातर्फ लाग्यो । राष्ट्रपति आफ्नो सिटमा दैनिक अखबार पढ्न व्यस्त थिए । हामी सुर्खेत पार गरेको केही मिनेटमै महेन्द्रनगरमाथि पुगेका थियौं । अनि महाकाली नदी र टनकपुर ब्यारेज पार गर्दै उत्तराखण्डको काठगोदाम र नैनीताललाई दायाँ पारेर दक्षिण नयाँदिल्ली विमानस्थलमा ओर्लियौं । राष्ट्रपतिको ‘एन्टूराज’ नयाँदिल्लीको ‘ताज प्यालेस’ होटलको आठौँ तलामा थियो । पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतसिंह भण्डारीसहित महामहिमका छोरा, छोरी र भतिजी साथमा थिए । योस्तरको औपचारिक र अनौपचारिक भेटघाटको क्रम शुरु हुँदा भारतको कूटनीतिक, भूराजनीतिक नसा छाम्न पाइने मौका भएकाले भ्रमण टोलीमा ठाउँ पाएका पत्रकार युवराज घिमिरे, चन्द्रकिशोर र यो पङ्क्तिकार खुबै उत्सुक थियौँ । कति कुरा सीधै कसैले नबताए पनि अड्कल लगाउने मौका जुरेको थियो ।

राष्ट्रपति यादवको सबैभन्दा महŒवपूर्ण भेट प्रधानमन्त्री मनमोहन सिंहसँग थियो, जसमा अरू राष्ट्रप्रमुखलाई भन्दा अलि बढी सत्कार दिने हिसाबले ‘हाइद्रवाद हाउस’ मा ‘लन्चन् मिटिङ’ राखिएको थियो । संवैधानिक राष्ट्रपति भएको कारण औपचारिक भेटवार्तामा मन्त्री भण्डारी साथमा रहन्थे । डा. यादव कार्यकारी नभएकाले कूटनीतिक मर्यादालाई ख्याल गरेर प्रधानमन्त्री सिंहले आफ्ना समकक्षी माधवकुमार नेपाललाई जानकारी गराउने गरी नेपाल–भारत दौत्य सम्बन्ध र योजनाहरूबारे एउटा लामो फेहरिस्त पढी सुनाए । अनि प्रम सिंहले ‘प्रणव’, ‘कृष्ण’, ‘चिदाम्वरम्’ भन्दै उपस्थित अर्थ, परराष्ट्र, गृह मन्त्रीहरूबाट राष्ट्रपति यादवलाई थप जानकारी दिन लगाए ।

नेपाल मामलामा विशेष चासो र दख्खल राख्ने पूर्व परराष्ट्र र हाल अर्थमन्त्री प्रणव मुखर्जी राष्ट्रपतिलाई भेट्न होटलमा पनि आए । सोनिया गान्धी, उनका विशेष सल्लाहकार करण सिंह, भाजपाका नेता लालकृष्ण आडवाणी, सीपीआईका एबी वद्र्धनलगायत विभिन्न ‘यादव’ नेताहरू पनि होटलमै आएका थिए । भारतीय राजनीतिको पर्दा पछाडिको प्रस्ट ‘पावर सेन्टर’ सोनिया गान्धी स्वयं भेट गर्न आउनुले विशेष महŒव राख्दथ्यो । किनकि, यसअघि उनलाई पूर्व राजा ज्ञानेन्द्रले भेटेको समाचार बाहिर आएको थियो । मुख्यतः भारतीय राजनेताहरूको चासो र चिन्ता आगामी १४ जेठमा संविधान बनेन भने नेपालमा ‘के हुन्छ ?’ भन्ने थियो । कर्मचारीतन्त्रले राष्ट्रपति ‘प्रोएक्टिभ’ हुनुपर्छ भन्ने विचार अगाडि ल्याएको बुझ्न्थ्यिो । राष्ट्रपति यादवबाट शान्तिप्रक्रिया र राजनीतिक दलहरूबीचको ‘कन्सेन्सस् पोलिटिक्स’ बाटै आगामी चुनौती हल गर्ने विचार राखिएको हामीलाई सुनाइयो ।

भारतीय ‘सेरेमोनी’

अधिकांश भारतीय नेताहरूको अर्को मुख्य चासो एनेकपा (माओवादी) तर्फ लक्षित देखियो । एकथरीको विचारमा माओवादीहरू बाह्रबुँदे समझ्दारीअन्तर्गतको शान्तिप्रक्रियामा वफादार नरहेको र लडाकू व्यवस्थापनमा आनाकानी गरेको आशय थियो भने अर्काथरी उनीहरूले हिंस्रक बोली र व्यवहार नत्यागेको भन्दै थिए । माओवादी शीर्षस्थ नेतृत्वले सरकारमा जान नयाँदिल्लीको सहयोग माग्दामाग्दै किन भारतमाथि गालीगलौज गरेको भन्ने तेस्रो विचार थियो । भारतीय कम्युनिष्ट नेता एबी वद्र्धनले चाहिँ माओवादीलाई हिंसा त्यागेको सन्दर्भमा सरकारमा ल्याउँदा राम्रो हुने सल्लाह दिए ।

राष्ट्रपति यादव नयाँदिल्ली पुगेकै दिन पश्चिम बङ्गालमा भारतीय माओवादीले २० जना प्रहरीको हत्या गरे भने पर्सिपल्ट बिहारमा १२ सर्वसाधारणको । भारतीय सरकार र त्यहाँका माओवादीबीच उर्लिंदो द्वन्द्व तथा केन्द्रीय राज्य संरचनामा आएको फेरबदलले नेपालका माओवादीविरुद्ध भारतमा कसरी एउटा दह्रो ‘माइन्ड्सेट’ तयार हुँदैछ भन्ने प्रस्ट भयो । नेपालको आफ्नै मौलिक शान्तिप्रक्रियाको लागि यो राम्रो होइन भन्ने कुरा दिगो राजनीति गर्ने चाहना राखेका माओवादी नेताहरूले बुझन जरुरी छ । सार्वजनिक भाषणहरूमा भारतलाई ‘दुस्मन’ भन्दै हिँड्नुभन्दा हालसम्मको भूराजनीतिक सन्दर्भहरूलाई पनि बुझ्ेर तर्कपूर्ण चुनौती दिनु बेस ।

नेपाली माओवादी नेतागणले विना संयम जथाभावी बोल्दा पनि नेपाली कूटनीतिको भारत विचार भने यही हुनुपर्नेछ— भारत सरकारको आफ्नो माओवादीसँगको लडाइँले नेपाली शान्तिप्रक्रियामा असर पर्न दिनुहुँदैन । यस प्रक्रियाको सफल निष्कर्षको लागि माओवादी लडाकू व्यवस्थापनको ‘समायोजन’ अपरिहार्य छ । दुर्भाग्यवश, नेपाली माओवादीको चर्को बोली र भारतभित्रको माओवादीलाई हेर्ने परिवर्तित ‘डाइनामिक’ ले आउँदा दिनमा नयाँदिल्लीको विचार बदलिँदै जाने देखिन्छ ।

संवैधानिक राष्ट्रप्रमुखको भ्रमणमा ‘सेरेमोनी’ र तामझम बढी हुने गर्छ, राष्ट्रपति यादवलाई पनि पर्याप्त उपलब्ध भयो । उनको औपचारिक स्वागत भारतीय राष्ट्रपति प्रतिभा पाटिलद्वारा ‘राइसिना हिल’ स्थित राष्ट्रपति भवनको प्राङ्गणमा भयो, जहाँ पश्चिमा पहिरनमा सजिएकी छोरी अनिता यादव पनि सरिक भइन् । त्यसको भोलिपल्ट राष्ट्रपति भवनमै आयोजित रात्रिभोजमा २०–२२ जनाको नेपाली टोली र उत्तिकै सङ्ख्यामा भारतीय अधिकारी सहभागी भए । त्यस अवसरमा राष्ट्रियस्तरका नेताबाहेक पत्रकार, पूर्व राजदूत, समाजका लव्धप्रतिष्ठित व्यक्तिहरूसँगै दिल्लीकी मुख्यमन्त्री शिला दीक्षित उपस्थित थिइन् । उक्त रात्रिभोज अमेरिकी राष्ट्रपति बाराक ओवामालाई दिइएको जस्तै भएको एक भारतीय अधिकारीले बताए । खानाअघिको भलाकुसारीमा नेपालका राष्ट्रपतिसामु भारतीय नेतागणको सत्कार भावना उनीहरूको ‘बडी ल्याङ्ग्वेज’ बाटै प्रस्ट भइरहेथ्यो । भारतको सबैभन्दा प्रभावशाली समुदायका सर्वशक्तिमान तीन नेताले राष्ट्रपति यादवलाई घेरामा राखेर त्यस भव्य कक्षको एउटा छेउमा लामो कुरा गरे । दुईहात जोडेका प्रधानमन्त्री सिंहले आफ्नो साविकको पोजमा सुनिरहे ।

 


 

अलि नजिक कान थाप्दा राष्ट्रपति यादवले नेपालको चुरे (शिवालिक) विनासले उत्तरप्रदेश र बिहारमा समेत निम्तिने खतराबारे बताउँदै गरेको थाहा भयो । आफ्नो समुदायको व्यक्ति नेपालको राष्ट्रप्रमुख भएकोमा खुसी देखिन्थे मुलायम सिंह यादव, लालुप्रसाद यादव र शरद यादव । राष्ट्रपति यादवको अभिव्यक्तिमा छुट्टै दम थियो । राष्ट्रपतिले “आप लोग ऐसा किजिए, वैसे किजिए…” भन्दा तीन नेता खुरुखुरु मुन्टो हल्लाउँथे, मनमोहन सिंह मुसुमुसु हाँस्दै सुनिरहेथे । भ्रमणको अन्तिम दिन हरिद्वारमा राष्ट्रपतिसँग भेटवार्ता गर्ने बाबा रामदेव र डुढेझ्री बाबा पनि यादव समुदायकै हुन् ।

 

मजबूत गणतन्त्र

गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको उचाइले गणतन्त्रलाई नै मजबूत पार्छ । यो पद सम्हाल्नेको क्रियाकलापमा पूर्वाग्रही शक्तिको खेल भयो भने यो पद कमजोर हुन जानेछ र अन्ततः गणतन्त्र नै खतरामा पर्नेछ । यसको मूल मान्यता र विश्वसनीयता नेपाली जनताबाट नै बटुल्नुपर्छ, तर अन्तर्राष्ट्रिय औपचारिक सम्मानले बढाउने महŒवको मूल्य आफ्नै खालको हुन्छ । यस सन्दर्भमा राष्ट्रपति पद सम्हालेको १९ महिनापछि त्यो पनि एमाओवादी ‘नागरिक सर्वोच्चता’ आन्दोलनको आक्षेप व्यहोर्नु परेको रामवरण यादवका लागि यो भारत भ्रमण अति महŒवपूर्ण थियो ।

यो पृष्ठभूमिमा भएको भ्रमण र भारतीय नेतृत्वसँगको प्रत्यक्ष चिनजान र औपचारिक सम्मानले नेपालको राष्ट्रपतीय पद्धतिलाई तथा रामवरण यादव स्वयंको राष्ट्रपतित्वको जगलाई मजबूत पारेको निष्कर्ष निकाल्न सकिन्छ । त्यसमाथि केन्द्रमा मजबूत पकड भएका बिहार र उत्तर प्रदेशलगायतका यादव समुदायका नेताहरूको विनयबाट पनि राष्ट्रपति यादवको उचाइ नै बढेको छ । बरु आउँदा दिनमा कसैको क्रियाकलापले राष्ट्रपतिको उचाइमा केही हदसम्म असर पर्छ भने त्यो राष्ट्रपतिका छोरा डा. चन्द्रमोहन यादवको ‘युवराज प्रवृत्ति’ बाट पर्ने देखिन्छ, जुन दिल्ली भ्रमणमै पनि देखियो ।

नेपालको राजनीतिमा अति धु्रवीकरण भइरहेको बेला राष्ट्रपति पदलाई स्थिर र उच्च राख्न पनि भारतको राजकीय भ्रमणले सघाएको भन्न मिल्छ । दिल्लीमा गिरिजाप्रसाद कोइरालाको प्रभाव र ‘इमेज’ एक्कासी खस्केको छ । यस कारण पनि हुनसक्छ, भारतीय नेताहरू नेपालमा एक राजनीतिक खम्बाको खोजीमा रहेको प्रतीत हुन्थ्यो । भारतबाट राम्रो ‘रिसेप्शन्’ पाएका राष्ट्रपतिले त्यो सदासयता र आफ्नो संवैधानिक पदमा अन्तर्निहित शक्तिलाई कसरी प्रयोग गर्ने छन्, त्यो भोलिको अति संवेदनशील विषय हो ।

मुलुकभित्र बढ्दो राजनीतिक ध्रुवीकरणमाझ्, विशेषगरी संविधानलेखनमा सङ्कट आइपर्दा, सबैले आशा अथवा शङ्काले हेर्ने पद राष्ट्रपति रामवरण यादवकै हुन गएको छ । दलहरूभित्र र दलहरूबीचको ध्रुवीकरणका कारण एउटा राजनीतिक शून्यता पैदा हुने सन्दर्भमा उनको भूमिका कस्तो रहने छ, राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय भएको छ । यस्तो अवस्थामा ‘देश बचाउन’ शक्ति आफ्नै हातमा लिने नभई त्यस्तो अवस्था परिआए दलहरूमाझ्बाटै निकास खोज्ने मनस्थितिमा राष्ट्रपति रहेको उनका सल्लाहकारहरूबाट बुझ्न्छि । तर, भोलिको बदलिँदो अवस्थामा छिमेकीहरूको समेत दबाब आए राष्ट्रपतिले के गर्नेछन् भन्न गाह्रो पर्ला, विशेषगरी मुलुकभित्रै विभिन्न राजनीतिक दलहरूबीच विद्वेषद्वारा सङ्कट पैदा हुन गएको अवस्थामा ।

हालका लागि राष्ट्रपति रामवरण यादवको राजनीतिक प्रतिबद्धता, इच्छा र लोकतान्त्रिक अडान ४ फागुनमा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाँदा आगन्तुक पुस्तिकामा कोरेका यी हरफले प्रस्ट पार्दछन्ः “गान्धीजीको भारत छोडो आन्दोलन र स्वतन्त्रता सङ्ग्रामले लोकतन्त्रको आन्दोलनमा प्रेरणा देओस् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *