Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

रुबी भ्याली रिपोर्ट

August 18, 2021 by admin

हिमाल खबरपत्रिका (२३– २९ मंसिर, २०७५) बाट

उत्तर धादिङको यो विकट ठाउँ विपन्न हुनुपर्ने कारण छैन, तर विपन्न छ ।

धादिङको उत्तरी भेकमा पर्ने खोंचमा, गणेश हिमालको फेदैमा छ, रुबी भ्याली गाउँपालिका । काठमाडौंबाट हप्ता दिन हिंडेर पुगिने ठाउँ अहिले मौका मिले हेलिकप्टरबाट आधा दिनमै घुमफिर गर्न पाइन्छ । यस्तै जुर्‍यो, जब काडूरी च्यारिटेबल ट्रष्टका भूकम्प पुनर्निर्माण निर्देशक (ब्रिटिश गुर्खा) मेजर जुद्धबहादुर गुरुङको एसएमएस निम्ता आयो ।

काठमाडौं उपत्यकाको उत्तर–पश्चिम किनारमा पर्ने ककनी र रानीपौवा बस्ती छिचोल्दै त्रिशूली नदी कटेर हामी बूढीगण्डकीको पानीढलो पस्यौं । तुवाँलोलाई तल छाडेर दाहिने पर्वतको काखतिर हेलिकप्टर मोडियो । गणेश हिमालको फेदमै पुग्दा भिरालो पाखा र खर्क मात्रै देखिए । क्याप्टेन सिद्धार्थ गुरुङले त्रिभुवन विमानस्थलबाट २३ मिनेटको उडानमा हामीलाई लिन्जो गाउँमा झारे ।

लिन्जो र छेउकै पुरु गाउँमा १२ वैशाख २०७२ को भूकम्पले प्रायः सबै घर ढालेको रहेछ । चार जनाको ज्यान गएछ । झोलुंगे पुल, साना जलविद्युत् निर्माण र कृषि प्रवद्र्धनमा पहिल्यैदेखि यहाँ लागिपरेका मेजर जुद्धबहादुरले पुनर्निर्माणको कार्यक्रम थालिहाले ।

उत्तरी धादिङको यो भेकलाई काठमाडौंका प्रशासक र बौद्धिकले पञ्चायतकालदेखि नै परैबाट भए पनि नियाल्दै आएका हुन् । सोमदाङ भन्ने ठाउँमा एउटा खानी सञ्चालन गरिएको थियो भने यो क्षेत्रमा राजदरबार मातहतको सेतो ‘आलुएट’ हेलिकप्टर खूब ओहोरदोहोर गथ्र्याे ।

गणेश हिमालमुनिको यो इलाकामा रुबी र अन्य बहुमूल्य रत्न पाइने बताइन्छ । स्थानीय जनता र राष्ट्रिय ढुकुटीलाई ‘वाइपास’ गर्दै यसको गोप्य रुपमा पैठारी भइरहेको हल्ला धेरै वर्ष चलेकै हो ।

उतिबेला नै यो ठाउँ चर्चामा आउने अर्को कारण थियो– धर्म परिवर्तन । विकट र विपन्न दुवै भएकोले शायद यो क्षेत्र यस्तो कार्यका लागि आकर्षक बन्यो । आज यो ठाउँमा इसाई धर्म पनि एउटा ‘परम्परा’ बनिसक्यो । बुझेसम्म यहाँका तामाङ र घले समुदायमध्ये करीब आधा आधा बुद्धमार्गी र इसाई छन् । नेपालको यो अनकन्टार कुनाका इसाईहरू तीन उप–समूहमा बाँडिएका छन्— क्याथोलिक, पेन्टकोस्टल र चर्च अफ क्राइस्ट ।

नयाँ संविधानअन्तर्गत राज्य पुनर्संरचनामा यहाँका विभिन्न गाविस र वडाहरूलाई मिलाएर एउटा नाम दिनुपर्दा ‘रुबी भ्याली गाउँपालिका’ नै रोजियो । यसो हुनुको कारण रुबी उत्खनन्को इतिहास नै हुनुपर्छ । सबै गाउँ मस्र्युङ लेकको उत्तरी मोहडामा अवस्थित छन्— सबैभन्दा माथि लिन्जो, अनि पुरु, लाप्दुङ, सेर्तुङ, टिप्लिङ (ठूलो गाउँ) र लावा । खोलापारि बस्ती नभई भेडीगोठ मात्र छन् । किनकि यहाँबाट गणेश हिमालको उँचाइको भिरालो पाखो शुरु हुन्छ ।

१२ वैशाख २०७२ को भूकम्पमा मृत्यु भएका चुलीमाया तामाङ र विकास तामाङको स्मृतिमा पुरु गाउँमा खडा गरिएको चौतारो । तस्वीरः कनकमणि दीक्षित

धेरैलाई थाहा भएकै कुरा हो, हिमालका ‘फेद वासी’ हरूमध्ये हिमशिखरको आफ्नै मौलिक पुरानो नाम हुन्छ, जसलाई परैबाट नेपाली नाम दिइन्छ, कि त विदेशी पर्वतारोहीले नामकरण गरिदिन्छन् । (जस्तै, चोमोलोङ्गमा नामलाई सगरमाथा र एभरेष्ट भनियो ।) गणेश हिमाल शृंखलाको सन्दर्भमा गणेश १, २, ३ को समूहलाई पाबिल भनिन्छ, र पूर्वको पर्वतलाई पाल्डोर । सोध्दै गर्दा रुबी भ्यालीको खोंचमा बस्ने धेरैले आसपासका शिखरको पुरानो नाम बिर्सिसकेको भान हुन्छ । एक घले युवाले आफ्नो हजुरबुवाले सुनाएको भन्दै बल्लतल्ल सम्झने चेष्टा गरे— पाबिल भनिएको हिमाललाई ‘शायद’ लाप्साङ गर्बो भनिन्थ्यो ।

‘पाबिल’ नाम कसरी आयो भन्नेमा एउटा तर्क भेटियो— माथि हिउँमुनिको खर्कलाई ‘बाबुल खर्क’ भन्दा रहेछन्, स्थानीय । हुनसक्दछ, काठमाडौंका प्रशासक अथवा विदेशी पर्वतारोहीहरूले ‘बाबुल’ को अपभ्रंश गरी हिमाली चुचुरालाई नै ‘पाबिल’ नामकरण गरिदिए ।

पर्वतारोहीको कुरा गर्दा यस भेकको भविष्य पर्यटन प्रवद्र्धनमा आधारित हुनुपर्ने हो । तर, लिन्जो गाउँका एक ठालु भन्छन्, “यहाँ के गर्न सकिन्छ भनेर हामीलाई कसैले बताउँदैन, त्यसैले कतार र मलेशिया जान बाध्य छौं ।”

उनलाई कसले भनिदेओस्, २००५–०६ सालतिर मोहनशमशेरको शासनकालमा पश्चिमा पर्वतारोहीको नेपालमा पहिलो ‘एक्सपिडिशन्’ यहीं आएको थियो । बेलायती एच्. डब्लु. टिल्म्यान् एक नामुद आरोही तथा राम्रा लेखक थिए, जसले टोलीसहित गणेश हिमाल चढ्न कोशिश गरे ।

असफल भएपछि पूर्वतिर लाङटाङ र जुगल हिमाल क्षेत्रको अनुसन्धान गर्दै इन्द्रावती उपत्यका झरे । उनले लेखेको पुस्तक ‘नेपाल हिमालय’ नै यस रुबी भ्यालीको चिनारीको पहिलो स्रोत सामग्री मानौं ।

घाम ढल्कँदै जाँदा हामी पनि ठीक २३ मिनेटको हेली यात्रामा काठमाडौं उपत्यका फर्कियौं । क्याप्टेन सिद्धार्थ गुरुङको हातमा यसपालि बूढीगण्डकीको खोंच नभई सीधै मस्र्युङ लेक छिचोल्ने गरी हेलिकप्टर आकाशियो ।

लिन्जो र पुरु गाउँ माथिको जंगल–पाखामा चक्कर लगाउँदै हामीले पाङसाङ भञ्ज्याङ काट्यौं, करीब १२ हजार फिट नाघेर । तल हेर्छु त यतिको उँचाइ र अनकन्टारमा पनि अन्यत्र जस्तै डोजर–निर्मित बाटो बन्दै !

उत्तरी धादिङमा मोटरगाडी प्रवेशले थप विपन्नता र पलायन होइन, आर्थिक÷सामाजिक ऊर्जा भित्र्याउनुपर्छ । यसको सम्भावना मुख्यतः पर्यटन र पर्वतारोहणबाट पूरा हुने देखिन्छ, जबकि शुरुआत समेत हुनसकेको छैन । केही युवासँग कुरा गर्दा भने रुबी भ्याली गाउँपालिकामा एक किसिमको भाग्यवादले अड्डा जमाएको देखियो– “हामीलाई केही थाहा छैन सर, कता के कसरी गर्ने हो ।”

तर गर्ने कुरा धेरै देखिन्छन् । अधिकांश परिवारले आफ्ना बालबच्चा धादिङबेंसी अथवा काठमाडौं पठाउँदा रहेछन् यहाँको सरकारी स्कूलमा भरोसा नभएर । सडक जोडिन लागेको यस क्षेत्रमा तरुणहरू फर्केर यतै इलम गर्ने अवस्था सृजना गर्नु नै पहिलो योजना हुनुपर्‍यो ।

यसको लागि गणेश हिमालमा आधारित पर्यटन र पर्वतारोहणको सम्भावना छ । यहाँका घले र तामाङ युवा पर्यटन र पर्वतारोहण पथप्रदर्शकमा आकर्षित हुनुपर्‍यो, गराउनुपर्‍यो ।

Post navigation

Previous Post:

Two Punjabs, one South Asia

Next Post:

Nepal Mandal in Manhattan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes