Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

विधि र थितिको लागि गंगामायाको लडाइँ

July 28, 2021 by admin

हिमाल खबरपत्रिका (२६ कार्तिक-२ मंसिर, २०७४) बाट

गंगामायाले मानवअधिकारको फाँटमा नागरिकको न्यायको अधिकार नपाउँदै गर्दा कुनै अमूक लगानीकर्ताको पनि आफ्नो पूँजी, लगानी तथा मुनाफा गर्ने सम्भावना सुनिश्चित र सुरक्षित रहँदैन ।

छोराको हत्यामा न्यायको खोजीमा रहेकी गंगामाया अधिकारी र देशको आर्थिक उन्नतिबीच के साइनो छ भनेर सोध्नुहोला । सम्बन्ध टड्कारो छ, मात्र अलिकति सतहमुनि खोस्रेर हेर्नुपर्दछ ।

जब २४ जेठ २०६१ मा माओवादीले टाँडी, चितवनको बकुलर चोकमा १६ वर्षीय कृष्णप्रसाद अधिकारीलाई यातना दिएपश्चात् निर्मम ढंगले मारे, गोरखा फुजेल गाउँमा रहेका मातापिता गंगामाया र नन्दप्रसाद मर्माहत भए । उनीहरू न्यायको खोजीमा हिंडे, भौंतारिए ।

तर तलदेखि माथिसम्म सुनुवाइ भएन । निर्मम राज्यलगायत नागरिक समाजले मुन्टो बटारे । नन्दप्रसादले अनशनको दौरानमा देह त्यागे, वीर अस्पतालको क्याबिन नं. ७ मा रहेकी गंगामायाको न्यायिक लडाइँ जारी छ ।

तस्वीरः बिक्रम राई

द्वन्द्वकाल सकियो, तर त्यस समयका ज्यादतीकर्ताको बिगबिगी छ । यति कुरा चेतनशील नागरिकले बुझेकै छन् । अधिकांश ज्यादतीकर्ता शहरबजारमा फुक्काफाल हिंडेकै छन् । अझ कति त टिकट हत्याएर निर्वाचन लड्दैछन् । बल्ल एक जना बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । ‘भेटिङ’ शब्द नै कसैले चलाउँदैनन् आजकल, जबकि त्यस्ता व्यक्तिलाई निर्वाचनमा जान दिनु पूरै समाजको लागि हानिकारक छ ।

आजभोलि आवाज नउठाए पनि धेरैले बुझेकै कुरा भयो– पुष्पकमल दाहाल, बाबुराम भट्टराईलगायत नेपाललाई हिंसाको भुंग्रोमा ठेलेकोमा जवाफदेही छन् । ध्यान नदिइएको कुरा चाहिं के भने द्वन्द्वपीडितले न्याय नपाउनु र नेपालको आर्थिक अग्रगमन तथा समृद्धिको सपनाबीच रहेको ठाडो सम्बन्ध ।

यता पुराना कुरा बिर्सिदेऊ, निको हुन लागेको घाउ नकोट्याऊ भन्दै आदर्श छाँट्ने महानुभावहरूलाई सोध्नुपर्ने चार कुरा हुन्– यसमा पीडितको राय लिनुभयो ?, सेना र माओवादीबीच रहेका पीडकहरूलाई छुट्कारा दिन किन यसरी तम्सेको ?, ज्यादतीमा जवाफदेही नहुने समाजमा फेरि ज्यादती हुने सम्भावना रहँदैन र ?, ज्यादतीमा जवाफदेही नहुने समाजमा आर्थिक प्रगति सम्भव छ ? माओवादीको प्रभाव, पैसा र ‘पपुलिजम्’ (लोकरिझ्याइँ) बाट प्रभावित विचार निर्माताहरू यी प्रश्न छल्दै हिंडिरहेछन् ।

माथिको अन्तिम प्रश्नको जवाफमा भन्नुपर्ने कुरा यो हो– कानूनीराज र विधिको शासन एउटा क्षेत्रमा लागू नहुने अर्कोमा हुने भन्ने हुँदैन । मानवअधिकारको सन्दर्भमा कानूनको अपहेलना, न्यायालयको निष्क्रियता र राज्य पदाधिकारीहरूको मनोमानी हुन्छ भने त्यसैगरी राजकाज, व्यापार, सामाजिक सेवा अन्य क्षेत्रमा अवश्यंभावी हुन्छ नै ।

गंगामायाले मानवअधिकारको फाँटमा नागरिकको न्यायको अधिकार नपाउँदै गर्दा कुनै अमूक लगानीकर्ताको पनि आफ्नो पूँजी, लगानी तथा मुनाफा गर्ने सम्भावना सुनिश्चित र सुरक्षित रहँदैन ।

यतिवेला मुलुकलाई आवश्यक परेको वैदेशिक अनुदान होइन, वैदेशिक लगानी हो । नयाँ संविधान कार्यान्वयनको क्रममा पहिलो प्राथमिकता नै लथालिङ्ग बनेको हाम्रो राज्यव्यवस्थालाई विधिको शासनद्वारा सुचारु गर्ने हो । व्यापार, व्यवसाय तथा लगानीमा लागेकाहरूलाई पारदर्शी वातावरणमा स्वच्छ र प्रतिस्पर्धी व्यवसाय गर्न दिने हो भने अर्थतन्त्र आकाशिने छ, जनतालाई राहत मिल्नेछ ।

होइन, विधिको नभई बेथितिले शासन गर्ने हो भने विदेशी होउन् वा स्वदेशी, असल व्यवसायी अगाडि सर्ने छैनन् । मौकाको फाइदा उठाउने, कमसल उत्पादन गर्ने, मिलेमतो र ठगी व्यवसाय गर्नेहरूको खेलमैदान हुनेछ नेपाल । एक दशकको द्वन्द्व र एक दशककै संक्रमणकालमा समाजको यात्रा त्यतैतिर थियो, संविधान कार्यान्वयनको समय दिशा बदल्ने मौका हो ।

नेपालीमा ‘सुकुलगुण्डा’ भनिन्छ, बाहिर सुकिला, भित्र टपर्टुयाँलाई । त्यस्ता ‘भलाद्मी’ को विशेषता हुन्छ– छलछाम र ठगी । अनौठो कुरा, त्यस्तो चरित्रका व्यवसायीलाई अंग्रेजीमा उस्तै–उस्तै शब्द प्रयोग गरेको पाइन्छ– ‘कार्पेट्ब्यागर’ । दुई शब्दको उत्पत्ति वेग्लै छ, अर्थ एउटै ।

नेपाललाई सुकुलगुण्डे कार्पेट्ब्यागरहरूबाट बचाउनु पर्‍यो ताकि सही लगानी र स्वस्थ व्यावसायिक प्रतिस्पर्धीको आम्दानी र मुनाफाबाट व्यवसायी र आम जनता दुवैलाई फाइदा पुगोस् ।

मानवअधिकारमा कानूनीराज नरहेको समाजमा ‘कर्पोरेट’ क्षेत्रले पनि कानूनको सही कार्यान्वयनको अपेक्षा गर्न सक्दैन । अनि दुलो दुलोबाट सुकुलगुण्डे कार्पेट्ब्यागर बाहिर आउँछन् र अर्थतन्त्र कब्जा गर्छन् । यसैकारण मानवअधिकारको क्षेत्र र आर्थिक समृद्धिबीच सीधा सम्बन्ध छ ।

तसर्थ गंगामाया अधिकारीको मानवअधिकारकर्मीहरूले मात्र नभई, हर क्षेत्रका नागरिकले ख्याल गर्नुपर्ने हो । आफ्नो छोराको हत्यामा न्याय खोज्ने दौरानमा उनले बाँकी हामी सबैलाई चाहिने विधि र थिति बसाउन लडिरहेको बुझ्नुपर्छ ।

यसै कारण वीर अस्पताल क्याबिन नं. ७ मा मानवअधिकारकर्मी मात्र नभई साहित्यकार, वकील, व्यवसायी, राजनीतिज्ञ, संस्कृतिकर्मी, शिक्षक, इन्जिनियर, आर्किटेक्ट, ट्रेड युनियनकर्मी सबै पुग्नुपर्ने हो । किनकि, एकापट्टि जनता (र, अर्थतन्त्र) को लागि लड्ने गंगामाया र अर्कोपट्टि छन् सुकुलगुण्डे कार्पेट्ब्यागर !

Post navigation

Previous Post:

Still silently crying

Next Post:

पुराना बस्तीहरूकाे नमूना– बन्दीपुर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes