Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

श स ँ फ श् ज

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१६–३० साउन ,२०५८ )बाट

मखमली चोलो चाहिँदैन

रेशमको सारी चाहिँदैन…

हिट्स म्यूजिक एवार्ड बाँड्ने रात अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मीरा राणाले आफ्नो लोकप्रिय गीत उही पुरानो जोशका साथ गाउनुभयो । तर, एउटा कुरा नराम्ररी खट्कियो, साङ्गीतिक चिउरामा ठूलै ढुङ्गा लागेजस्तो भयो । किनभने, उहाँले गाउनुभयो, “म त शानी शानी, पहाडकी नानी…” पुरानो रेकर्डमा त, “म त सानी सानी, पहाडकी नानी…” थियो, कुन बेला, कहाँ, कसरी हो स बनेछ श । त्यस्तो नामी कलाकारले रङ्गमञ्चमा आफ्नो गीत प्रस्तुत गर्दा, नेपाली बोलीको चिरपरिचित दन्ते ‘स’ लाई किन बङ्गाली पाराले तालव्य ‘श’ उच्चारण गर्नु प¥यो ? कुनै पाठकहरूसँग जवाफ होला, तर मसँग छैन । खस बोलीबाट उत्पन्न नेपाली भाषामा निश्चित शब्दमा लेख्दा ‘श’ को प्रयोग हुन्छ नै, बोलचालमा उच्चारण गर्दा नभए पनि, जस्तै ‘शान्ति’ लेख्नु तर ‘सान्ति’ भन्नु । तर, कैयन् शब्दमा भने बोलाइ र लेखाइमा ठेट नेपाली भनेकै ‘स’ हो । तैपनि दुर्गानाथ शर्माको उँचाइका व्यक्तित्वदेखि क्याम्पसका स्वागत कार्यक्रममा गीत गाउने ‘फस्ट इयर’ का विद्यार्थीसम्म एवं रेडियो, चलचित्र, पाठशाला, मन्त्रीको भाषण र अफिसरको अथ्र्याइँमा ‘भलाद्मी’ तालव्य ‘श’ कै राज चल्न थालेको छ । भन्नुहुन्छ उद्घोषक, “आज मौशम अधिराज्यभरि शफा रहनेछ ।” भन्नुहुन्छ, कार्यक्रम सञ्चालक, “अब हामी अध्यक्षज्यूको मन्तव्य शुनौँ ।” अनि भन्नुहुन्छ मन्त्रीज्यू, “शुनमा शुगन्ध थपिदिनुभो’, मलाई बोल्न लगाएर ।” अनि भन्छन् विद्यार्थी, यी सबै अग्रजहरूका कुरा सुनेर, “शुन्नु भो, शर ?”

कुन सड्को यो आधुनिक युगमा ‘श’ ले ‘स’ लाई पराजित ग¥यो ? शबैका (माफ गर्नुस् !) सबैका आ–आफ्ना अड्कल होलान् । मेरो ‘हाइपोथिसिस्’ मा भने यो पूर्वी नेपालको साहित्य र मिडियामाथि सामाजिक प्रभावको उपज हो । पूर्वी नेपालका भलाद्मीहरू पश्चिम बङ्गालका सिलिगुडी र कलकत्तामा पढे, प्रभावित भए, जसरी दार्जीलिङका पनि भए । बङ्गाली बोलाईमा (लेखाइमा भए पनि) हाम्रो चलनचल्तीको दन्ते ‘स’ नै हुँदैन, हुन्छ त खाली भद्रलोगको ‘श’ । यही प्रभावले हुनुपर्छ, जानी नजानी पूर्वी नेपालको झपा, इलाम, धनकुटाबाट पूरै देशमा आफ्नो विचार र शैली फैलाउन सफल भएका यी पूर्वेलीले नेपाली बोलीचाली र साहित्यमा ‘श’ घुसाउन पनि सफल भए । अब मेरो यो अड्कल बेठीक पनि हुन सक्छ, र त्यसो भएमा पहिलो ‘फोन कल’ त मित्र दुर्गानाथ शर्माबाट आइहाल्नेछ ।

XXX

गिर्दो ‘स’ लाई छाडौँ र अप्ठेरोमा परेको ‘फ’ कै कुरा गरौँ । नेपाली ‘फ’ क्या मज्जाको रैथाने अक्षर हो, जसलाई उच्चारण गर्दा राम्रै अङ्ग्रेजीमा भन्ने हो भने ‘एस्पिरेट’ गर्नुपर्छ । मतलब; दुई ओँठ बन्द गरेर हावाको जोडले एकैचोटि मुख खोल्दाको ‘फ’ आवाज नेपालीपन सहित उच्चारण हुन जान्छ । तर, आजकलका ठिटाठिटीहरूलाई ‘फ’ फापेन, र उनीहरू अङ्ग्रेजीकै एफ (‘F’) उच्चारण गर्न बढी मन पराउँछन्, जसको लागि दाँतको माथ्लो लहरले तल्लो ओँठमा छोएर उच्चारण गर्नुपर्छ । अरुले फन्को लाउँछन् भने उनीहरू ‘FANKO’ लाउँछन् । उनीहरूलाई फ–फ–फेरी भन्न आउँदैन, ‘FERI’ निक्लिहाल्छ ओँठबाट । के गर्ने, ‘KASTO FASAD !’ कतिपय भाषाविद्हरू कडिकडाउ नियम लगाइयो भने भाषा मर्दछ भन्छन् । यहाँ मैले पनि कुनै नियम चाहियो भन्न खोजेको हैन । मेरो आग्रह यत्ति हो कि नचाहिने र जनजिब्रोबाट नउब्जिएको नयाँ उच्चारण निकालेर केही फाइदा छैन । र, त्यससँग सहमति जनाउने हो भने रेडियो टेलिभिजनमा किन सरकारलाई ‘शरकार’ भन्ने वा ‘टिन्एजेर’ ले ‘फ्याउरो’ लाई ‘FYAURO’ भन्ने ?

XXX

कुरा त्यतिमा टुङ्गिएको छैन । बिचरो ‘ज’ को त कुरै गरेको छैन, कसरी अङ्ग्रेजी अल्फाबेटको अन्तिम अक्षर ‘Z’ ले उसमाथि हमला गरेको ग¥यै छ । र, कसले यो स्थितिमा पु¥यायो भन्न म सक्तिनँ । फारसी र उर्दूमा ६ प्रकारका ‘ज’ छन्, बङ्गालीमा दुई । हाम्रो त एउटै छ ‘ज’, यसलाई किन सौता हाल्ने ? तर, दुई दशकअघि कुनै आधुनिक नेपाली ‘रक’ गायकले आफ्नो लवजमा पश्चिमापनमा ल्याउन होला ‘ज’ को ठाउँमा अङ्ग्रेजीको ZZZ को जस्तो उच्चारण गर्न थाले र, अहिलेको टेप र एफ्एम् क्रान्तिले जन्माएका धेरै जसो युवा–युवतीलाई त्यतैतिर तान्यो । तारादेवी आजको पप स्टार भएको भए गाउनुहुन्थ्यो होला, “ZAHA ZAHA ZAANCHHAU TIMI” !

आज बिहान मात्र एफ्एम् रेडियोमा सुनेँ, कसैको “SHUBHA ZANMOSHAB” रहेछ । ‘जिन्दगी’ त उहिले “ZINDAGI” भइसक्यो । यसले अर्को कुरा के दर्शाउँछ भने पश्चिमा मात्र नभई ‘ज’ माथि ‘Z’ को आक्रमणमा उर्दू÷फारसीको पनि हात हुनुपर्छ । उर्दूमा पनि ‘ज’ नभई ‘Z’ उच्चारण हुन्छ । तर, नेपालीमा ‘जमिन’ को उच्चारण ZAMEEN होइन JAMEEN हुनुपर्छ । (यो Z आवाज कसरी उच्चारण गर्छन् थाहा पाउन पश्चिमाहरूले ‘Z-TV’ कसरी भन्छन्, सुन्नुहोस् ।) यो गन्थनको निचोड चाहिँ शब्दोच्चारण परिवर्तन हुनमा पनि केही बिगार छैन । विशेष गरी हाम्रा देशका विभिन्न राष्ट्रिय भाषाहरू मार्फत नेपाली भाषामा परिवर्तन आउँछ भने गजब– (GAJAB ! GAZAB)। बाहिरबाट पनि सजिलैसँग नयाँ उच्चारणको आयात हुन्छ भने पनि ठीकै छ । तर, सबैभन्दा राम्रो त बहुसङ्ख्यक भाषाभाषीका नेपाली जनतामाझ् भिजेर आएको नयाँ लबज नै राम्रो हुन्थ्यो, शहरी सम्पन्न वर्गले माथिबाट थोपर्नु भन्दा । भन्दै जाँदा हाम्रो ‘र’ हाम्रै छ– यसलाई अमेरिकी ढङ्गले जिब्रो बङ्गाएर ‘ट्वाङ्ग’ भरेर ‘RRR’ किन भन्नुपर्छ मैले बुझ्ेको छैन । आशा छ, अर्को पटक स्टेजमा कसैले मीरा राणालाई उही पुरानो गाना फेरि गाइदिन आग्रह गर्दा उहाँ आफ्नै पुरानो शैलीमा फर्कनुहुनेछ, “म त सानी, सानी… ।”

Post navigation

Previous Post:

सुरक्षामा छड्के

Next Post:

Yasser Arafat, Govinda Mainali and us

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes