Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

साहसको प्रतिगमन

July 23, 2021 by admin

हिमाल खबरपत्रिका (१६-२९ माघ २०६०) बाट

नरेन्द्र श्रेष्ठ

अहिले मैदानमा उत्रिएका ‘युवा नेता’ हरूले यदि प्रजातन्त्रकै लागि आफ्ना अग्रज नेताहरूलाई आड दिन त्यसो गरेका हुन् भने हामीले गगन थापा, राजेन्द्र राई, रामकुमारी झँक्री, रामबाबु यादव आदिलाई धन्यवाद र स्याबासी नै दिनुपर्छ । यदि तिनको आन्दोलन सिद्धान्तमा आधारित र ‘संयमित’ हो भने सरकारी गाडी तोडफोड र सार्वजनिक बाटो अवरुद्ध पार्दा पनि सहिदिन सकिएला । तर कहाँ थिए यी विद्यार्थी र युवा नेता जब वर्षौँसम्म माओवादीहरू प्रजातन्त्र नष्ट पार्न अगाडि बढ्दा ? के उनीहरूलाई थाहा थिएन माओवादीको तारो अन्ततः प्रजातन्त्र नै थियो भनेर ? प्रतिगमनको कुरा त गत वर्ष मात्र अगाडि सारिएको हो । अनि त्रि.वि.वि.मा महिनैपिच्छे एक या अर्काे निहुँमा हड्ताल बोलाउने विद्यार्थी युनियनहरू ती वर्षहरूमा किन चुप बसे ? माओवादी आन्दोलन अगाडि बढेपछि युनिभर्सिटी हड्तालको औचित्य एक्कासी कसरी हरायो ?

जवाफ हाजिर छः देशको सार्वजनिक क्षेत्रमा लागेका अरूहरू जस्तै विद्यार्थी र ‘युवा’ नेताहरूमा साहस र आत्मबलको कमी । माओवादीले हिंसात्मक आन्दोलनको सुरुआत गर्दादेखि आजसम्म अलिकति पनि चर्काे स्वर नउठाउने भोलिका यी नेताहरूलाई सोध्नुपर्छ, तिमीहरू डराएका थिएनौ भने कहाँ थियौ त यतिका वर्ष ? आज आएर तिनै माओवादीको सिको गरेर विध्वंस अँगालेका त होइनौँ ? र आज विध्वंस पचाएजस्तै भोलि हिंसा पनि तिमीहरूको रणनीति त बन्दैन ? तर साहसको कमीको ‘मनोपोली’ यी ‘युवा’ नेताहरूमा मात्र सीमित छैन । स्वयं माओवादी पङ्क्ति पनि ‘साहसको कमी’ बाट ग्रस्त देखिन्छ । सेना र प्रहरीका जवान, निहत्था राजनीतिक कार्यकर्ता र सामाजिक कार्यमा लागेका व्यक्तिलाई लुकीलुकी मार्नु न कुनै क्रान्तिकारी काम हो नत त्यसनिम्ति ठूलो आँट र आत्मबल नै चाहिन्छ । लुकीछिपी विद्युतीय धराप राखेर जो पायो त्यसैको हत्या गर्नुमा कुन खालको क्रान्तिकारी सिद्धान्त लुकेको छ र ?

माओवादीको नेतृत्व पङ्क्तिमा पनि गैर क्रान्तिकारी दलको नेतृत्वमा भन्दा बढी विचार र साहस सञ्चित नरहेको कुरा यता आएर खुल्न थालेको छ । कम्युनिस्ट राज्यको सपना देखाएर गाउँगाउँका युवाहरूलाई आफूतिर तान्न र बन्दुक बोकाउन त यो नेतृत्व सफल भएको हो । तर आठ वर्षको ‘युद्ध’ अनुभवले केन्द्रीय सत्ता परास्त नहुने र अन्तर्राष्ट्रिय परिस्थिति तथा भूराजनीतिक अवस्थाले समेत नेपालको राज्यपक्षलाई हार्न नदिने प्रस्ट भइसकेपछि पनि माओवादी नेतृत्वले आफ्ना लडाकूहरूलाई मृत्युको मुखमा धकेल्न किन छाडेका छैनन् ? राजनीतिक धारलाई छोडेर सैन्य बाटोबाट अगाडि बढ्दा आफैँले जगाएको युवाशक्तिको पतन हुनेछ भन्ने कुरा माओवादी नेतृत्वले नबुझ्ेको कुरा हुनसक्दैन । तर राज्यलाई परास्त गर्ने सपना सफलतापूर्वक बेचेका यी नेताहरूले आफ्नो जमातलाई ‘अब बन्दुक बिसाऊँ र राजनीतिक बाटोमा लागौँ’ भन्ने आँट गर्न सकेका छैनन् । यो पनि साहसको कमी हो । संविधान मान्ने राजनीतिक दलहरूमा साहस र स्वाभिमानको कमी त्यहाँ प्रकट हुन्छ; जब देशको साझ भविष्यको लागि पार्टीहरू भित्र र पार्टी–पार्टीहरू बीच सिद्धान्तमा आधारित सहमति कायम हुन सक्दैन । दरबारले सीधै अप्रजातान्त्रिक बाटो अपनाउन थाल्दा पनि दलहरू मिलेर बलियो प्रतिक्रिया दिन नसक्नु; आफ्नो युवा जमातलाई सार्वजनिक सम्पत्ति तोडफोड गर्न छूट दिनु तथा माओवादीको बन्दुकसँग चाहिनेभन्दा अलि बढी नै तर्सिएर जिल्ला–जिल्ला, गाउँगाउँमा राजनीति गर्न जान छोड्नु जस्ता सबै व्यवहारले स्वाभिमान र साहसको कमी दर्शाउँछन् ।

अनि पेशाले नै साहस देखाउनुपर्ने सेनाको अवस्था चाहिँ कस्तो छ ? ‘लजिष्टिक्स्’ छैन भन्दै जे पनि टार्न खोज्ने ‘कर्साप’ र ‘जर्साप’ हरूबाट ‘होल्डिङ एक्सन्’ मात्र देखिएको छ । सशस्त्र विद्रोहीहरू विरुद्ध ‘अफेन्सिभ’ अभियान चालिएको खबर सुन्न–पढ्न पाइएको छैन । ‘इन्टेलिजेन्स्’ मा सफलता प्राप्त गरेर निर्दाेष जनता नमर्ने स्थिति सिर्जना गर्न सकेको पनि देखिँदैन । जाजरकोटमा माओवादीले खुलेयाम आमसभा गर्दा ‘कर्डनिङ्ग एक्सन’ नगरिनु ‘लजिष्टिक्स्’ को कमी मात्र हो या साहसको ? यता ‘मानवअधिकार’ मा काम गर्छु भन्ने अधिकांश संस्थाहरूले आज पनि “सिभिल र पोलिटिकल राइट्स” को कुरा सीधा भाषामा उठाउन थालेका छैनन् र हल्काफुल्का मानवअधिकारमै केन्द्रित छन् जो अरू समयमा उचित हुन्थ्यो । जनजाति आन्दोलनमा लागेकाहरूले द्वन्द्वमा बढी जनजातिहरू मारिइरहेको कुरामा आवाज माओवादी र सेनाविरुद्ध उठाउनुपर्ने खाँचो देखेका छैनन् । यातना विरुद्ध काम गर्ने संस्थाहरूको त मुख्य काम गर्ने बेला नै यस्तै अवस्थामा हो । तर खोई त ?

पढैया वर्गको त कुरै नगरुँ । वास्तवमा माओवादीको यतिको भयङ्कर रुप हुन दिनमा हामी पढ्ने र लेख्ने वर्गको हात अरूभन्दा बढी छ । नेपालको सामाजिक बनौट, भूगोल तथा भूराजनीतिक स्थितिले गर्दा यहाँ अन्यत्रको माओवाद जस्ताको तस्तै भिœयाउन खोज्दा देश र जनताको बर्बादी हुन्छ भन्ने कुरा शुरुमा अरूले नबुझ्ेका भए पनि प्रोफेसर र लेक्चररहरूले त बुझ्ेकै कुरो थियो । वर्षौँसम्म किन उनीहरू चुप रहे ? यसको जवाफ हाजिर छ । अझ्, राजदरबारमा शक्ति केन्द्रित हुनथालेपछि त्यसबारे लेख्नु–बोल्नु प¥यो भन्दा देशका एकथरि विद्वान् र विश्लेषकहरूको प्रतिक्रिया थियो, “अहिलेको अवस्था प्रस्ट छैन त्यसैले केही भन्न मिल्दैन । केही समयपछि स्थिति प्रस्ट भएपछि लेखौँला ।” जब धमिलो कुरालाई छर्लङ्ग पारिदिनुपर्ने भूमिका भएका व्यक्तित्वहरू ऐनमौकामा चुप रहन चाहन्छन्, त्यहाँ कायरता बाहेक अरू केही भेटिँदैन ।

जति ‘माथि’ गयो उति कायरताको मात्रा बढी पाइन्छ । र, जति गाउँ र जिल्लातर्फ गयो उति साहसको मात्रा बढी । अर्थात् सुर्खेतमा तैनाथ मेजर र सिपाहीको साहस कहिल्यै युद्धमा बन्दुक नउठाएका काठमाडौँका जर्सावको भन्दा बढी हुन्छ । त्यस्तै मन्त्रीको भन्दा सिडिओको र माओवादी केन्द्रीय सदस्य भन्दा जिल्ला सदस्यको । तर फेरि पनि यसअघिको स्तम्भमा भनेको कुरा दोहो¥याउन मन लाग्छ– सबैभन्दा बढी साहस र आत्मबल प्रदर्शन गरेका र त्यसबापत सबैभन्दा बढी पीडा खप्नेमा देशका माओवादीग्रस्त जिल्लामा छापामार र सेनाको बीच असहज परिस्थितिमा जिउन बाध्य स्कूले शिक्षकहरू हुन् । अरूसँग नभएको साहस उहाँहरूसँग छ ।

Post navigation

Previous Post:

विदेशी चासो कति हर्ष, कति बिस्मात ?

Next Post:

Nepal’s tarnished image

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes