Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

हिमालको जन्म र मान्यता

August 17, 2021 by admin

हिमाल खबरपत्रिका (१ भदौ, २०७८) बाट

पुनः छापा प्रकाशनतर्फ फर्कंदा शुरूदेखि नै बोकेको दर्शन र मान्यतातर्फ वफादार रहनेछ हिमाल- विशेष गरी मानवअधिकार, सामाजिक न्याय र प्रतिनिधिमूलक शासनको पक्षमा निगरानी।


हिमालको बिउ न्यूयोर्क शहरमा सन् १९८७ मा रोपिएको हो, जब म संयुक्त राष्ट्रसंघको ‘प्रेस अफिस’ मा जागीरे थिएँ। र, नेपाल फर्किने ध्येयमाझ दिनरात बित्दै थिए। ‘लङफर्म’ र खोजमूलक सामग्री छाप्ने दि एट्लान्टिक, न्यू योर्कर र हार्पर्स् पत्रिकाको कामबाट उत्साहित भएर नेपालको मात्र नभई पूरै हिमालय क्षेत्रका लागि एउटा ‘रिभ्यू म्यागजिन’ निकाल्ने निधो गरें। पहिलो दुई वर्ष उतै छाप्ने गरी पत्रिका निक्लियो- अंग्रेजी हिमाल।

१० वर्षको न्यूयोर्क प्रवासपछि नेपाल फर्कंदा एउटा प्रकाशक संस्था चाहियो। तर, २०४६ सालको जनआन्दोलन भर्खर सफल भएको त्यो वेला ‘संस्था दर्ता ऐन’ थिएन। मलाई नेपाल फर्कन प्रेरणा दिने अग्रज अधिवक्ता भरतराज उप्रेतीले ‘हिमाल एसोसिएट्स’ कम्पनी दर्ता गराइदिनुभयो। मेरा अग्रज पत्रकार भारतदत्त कोइराला अध्यक्ष रहेको कम्पनी हिमालको प्रकाशक भयो, म सम्पादक। भारत दाइ जहिल्यै भन्नुहुन्थ्यो, “हामीले कनकले पत्रिका निकाल्न संस्था खोलिदिएको।”

पछि संसद्‍बाट संस्था दर्ता ऐन पारित भए लगत्तै हाम्रो पत्रिका निकाल्न ‘हिमाल एसोसिएशन’ संस्था जन्मियो। समय क्रममा प्रकाशक मात्र नभई हिमाल एसोसिएशनले वृत्तचित्र प्रदर्शनी ‘फिल्म साउथएशिया’ तथा ‘हिमाल किताब’ समेत जन्मायो।

अंग्रेजी हिमालले पञ्चायतको कालखण्डमा राजनीतिभन्दा वातावरणीय, सांस्कृतिक तथा समाजशास्त्रीय विधालाई प्राथमिकता दियो, जसले पछि गएर दक्षिणएशिया उपमहाद्वीप हेर्ने गरी आफूलाई फैलायो। यता, नेपालमा छापिने पत्रिकाले मुख्यतः अंग्रेजीभाषी पाठकलाई मात्र लक्षित गरेकाले हिमालको सामग्रीलाई नेपालीमा पनि प्रस्तुत गर्ने विषयमा छलफल भयो। शुरूमा उल्था सामग्री सहित वार्षिक रूपमा पुस्तकाकारमा छाप्ने काम भयो। प्रकाशकीयमा भारत दाइले लेख्नुभयोः ‘हिमालले चासो राखेका विषयहरूमा नेपाली भाषाका आम पाठकको पनि ध्यान पुगोस् भनेर वार्षिकांकका रूपमा आएको हो।’

अंग्रेजी हिमालको शुरूआतमा केसाङ छेदेन, मन्जुश्री थापा आदि सहयोगी हात थिए भने नेपाली संस्करणको यात्रा वसन्त थापा, केदार शर्मा, प्रत्यूष वन्त र मनीषा अर्यालको साथमा भएको थियो।

बामे सर्दो प्रजातन्त्र (आज चलनचल्तीको ‘लोकतन्त्र’) युगमा हिमाल पनि समसामयिक हुनुपर्ने भयो, र राजनीतिक समाचार र विश्लेषण पनि पस्कनुपर्‍यो। यसै कारण अंग्रेजी हिमालबाट अलग्गिएर हिमाल द्वैमासिक बन्यो, त्यसपछि पाक्षिक अनि साप्ताहिक। जुन दौरानमा हिमालमिडिया प्रकाशन गृहले पत्रिकाको स्वामित्व लियो। उति वेलाको ‘हिमाली’ हिमालको लोगोलाई ‘स्टाइलाइज्ड’ गरेर अगाडिको इकारलाई सेतो चुच्चो दिने काम कलाकार टेकवीर मुखियाबाट भएको थियो।

यसरी अंग्रेजी हिमालको सेतो त्रिकोण सहयात्री बन्यो, नेपाली हिमालको सेतो झण्डा। हिमाललाई व्यावसायिक पत्रिकाको रूप र सामग्री दिने काम सम्पादक राजेन्द्र दाहालबाट भयो, उहाँ र म मिलेर खबर+पत्रिका ‍= ‘खबरपत्रिका’ शब्दको न्वारन पनि गर्‍याैं, उर्दू/फारसी र संस्कृत मिसाएर।

राजेन्द्रजीको नेतृत्वमा हिमाल  खबरपत्रिकाले रफ्तार लियो र पत्रकारिताको नौलो स्वाद पाठकले पाए। राजेन्द्रजीपछि शिव गाउँले, कुन्दन अर्याल तथा अन्तिम चरणमा किरण नेपालले हिमालको सम्पादकीय नेतृत्व गर्नुभयो। यस मासिक प्रकाशनको शुरूआत सहित सम्पादकको पद रविन गिरीले लिनुभएको छ, साथै हिमालखबर डटकमको सम्पादकको कार्यभार सन्त गाहा मगरले सम्हाल्नुभएको छ।

हिमालले आफ्नो शुरूआती ‘दर्शन’ निरन्तर बोकेको छ जस्तो लाग्छ। धेरै पटक सामाजिक र राजनीतिक धारलाई चुनौती दिने गरी सम्पादकज्यूहरूको नेतृत्वमा साहसिक भूमिका पनि रच्यो। शुरूका हिमालका अंकहरूले पहिचान, सामाजिक न्याय जस्ता पञ्चायतकालदेखि नै वर्जित विषयमा बौद्धिक लेखन प्रस्तुत गर्‍यो, पछि यो राजनीतिक खबरपत्रिकाको हिसाबले नै अघि बढ्यो।

माओवादीको हिंस्रक आन्दोलन (व्यक्ति हत्यादेखि युद्ध मैदानमा बालबालिकाको प्रयोगसम्म), राज्यको कठोर प्रतिक्रिया, नारायणहिटी हत्याकाण्ड, ‘असोजतन्त्र’, भारतीय नाकाबन्दी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको उदय (र पतन) लगायत विषयमा हिमालले आफूलाई बलियो गरी उभ्यायो।

वार्षिक संकलनबाट द्वैमासिक हुँदै खबरपत्रिका पाक्षिक भएको हिमाल पछि साप्ताहिक भयो। अहिले आएर पहिलो पटक आफ्नो इतिहासमा मासिक बनेको छ।

मिडियाको परिवर्तित अवस्थामा प्रकाशक कम्पनी हिमालमिडिया पनि पौडिइरहेछ। अनलाइन मिडिया र सामाजिक सञ्जालको प्रवर्द्धनले छापाखानामा आधारित ‘लेगेसी मिडिया’ लाई परेको असरले हिमाललाई पनि नछोएको होइन, कोभिड-१९ महामारी रोकथामका लागि २०७६ चैतमा लगाइएको बन्दाबन्दीमा हिमाल खबरपत्रिका वितरण गर्न सम्भव नभएपछि प्रकाशन स्थगन गरियो, अनलाइन पोर्टल हिमालखबर चलिरह्यो।

कम्प्युटर र स्मार्टफोनसँगको सम्पर्क बढ्ने क्रममा पत्रिका हातमा लिएर पढ्ने बानी धेरैको टुटेको छ, तर कागजमा छापिएको पत्रिका पढ्ने मानव चाहना मेटिँदैन भन्ने हाम्रो बुझाइ हो, त्यसैले हिमालमिडियाको विचार रह्यो- विचारोत्तेजक मासिक पत्रिका पाठकसामु प्रस्तुत गर्ने। दैनिक चासोका विषयमाथि आँखा लगाउने काम हिमालखबर अनलाइन समाचार पोर्टलले गरिरहने नै छ।

शुरूआती दर्शन

पुनः छापा प्रकाशनतर्फ फर्कंदा शुरूदेखि नै बोकेको दर्शन र सिद्धान्ततर्फ वफादार रहनेछ हिमाल, विशेष गरी मानवअधिकार, सामाजिक न्याय र प्रतिनिधिमूलक शासनको पक्षमा निगरानी। लोकतन्त्रप्रतिको वफादारी हिमालको जग हो, र सदैव ‘वास्तविक प्रतिगमन’ तर्फको चिप्लेटीबारे सजग रहने र परे अनुसार बिगुल फुक्ने। जनताको तन्त्रको प्रतिरक्षाका लागि विधिको शासन र पद्धतिप्रति समर्पित छ हिमाल। वर्तमान संविधानको रक्षा हाम्रो धर्म हो, किनकि नेपाललाई अराजकता, अन्तरसामुदायिक विग्रह, राजनीतिक अवसरवाद तथा कुशासनबाट बचाउन २०७२ सालको संविधानको मूलभूत मान्यता फेरबदल हुनु हुँदैन भन्ने मान्यता हो, कम्तीमा अर्को दुई लहर संघीय निर्वाचन नभएसम्म।

संघीयता अन्तर्गतका प्रदेश निर्माण भइसकेपछि राज्यका वर्तमान संरचनालाई बचाउनुपर्दछ। देखा परेका विकृतिहरू हटाउने हो, संघीयता खारेज गर्ने होइन, स्थानीय स्वायत्त शासनको मर्मलाई अहिलेको व्यवस्थाले अँगालेको छ, यसको प्रतिरक्षा गर्ने हो। नयाँ संविधानमा ‘धर्मनिरपेक्षता’ राखिसकेपछि पादटिप्पणीको शर्त सहित धर्मनिरपेक्षतालाई आत्मसात् गर्नु पनि हाम्रो धर्म हो।

नेपालको गणतन्त्रात्मक व्यवस्था अब फेरबदल हुनु हुँदैन। नयाँ संविधानका आधारभूत मान्यताहरू बदल्ने कोशिश भयो भने अनेकन् राजनीतिक र सामाजिक समस्या बल्झिएर मुलुक फेरि अर्को दश वर्ष पछाडि पर्छ राजनीतिक अस्थिरता र अर्थ-सामाजिक उतारचढावका कारण, हाम्रो बुझाइमा।

दश वर्षको सशस्त्र द्वन्द्वले नेपाललाई २० वर्ष पछाडि धकेलेको हो। हिंसात्मक राजनीतिको घातक असर हामीले अझै पनि मनन गरेका छैनौं। अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको फैसला अनुरूप संक्रमणकालीन न्याय नटुंग्याउने हो र द्वन्द्वपीडितलाई निरन्तर अपहेलित गर्ने हो भने फेरि पनि २०५२ सालमा उदाएको माओवादी जस्तै अर्को हिंस्रक शक्ति उदाउनेछ र नेपाली सम्भावना फेरि मेटिनेछन्।

अहिले अराजक पार्टीगत राजनीतिक परिस्थितिले वर्तमान व्यवस्था उल्टाउन उग्रवाम तथा उग्रपुरातनपन्थी र दक्षिणपन्थीलाई हौस्याएको जस्तो देखिन्छ। दर्शनको आफ्नो ठाउँ छ, तर व्यावहारिकताको दृष्टिले पनि अहिले संविधानका मूलभूत मान्यता र सिद्धान्त हल्लाउने हो भने एक एक नेपाली नागरिकको अग्रगमन र परिवर्तनका आशामा फेरि कुठाराघात हुनेछ।

दशकौंको अस्थिर सरकारका कारण सचेत ठानिने कतिपयमा समेत सरकार बदलिरहने तलतल छ। यस्तै, सरकार र राज्यलाई नछुट्याई देशलाई नै कमजोर पार्ने अवसरवादी राजनीति पनि चलिरहेकै छ, र राजनीतिको अपराधीकरण र भ्रष्टीकरण पनि अघि बढ्दै छन्। फेरि यहाँ कुनै कुरा राम्रो भइहाल्यो भने त्यो स्विकार्न हामी लजाउँछौं, मानौं यो देशले अरू कुनै समाजभन्दा राम्रो गर्नै सक्दैन।

दक्षिणएशियाको हरेक मुलुकको तुलनामा नेपाल आज बढी लोकतान्त्रिक छ, यहाँको अन्तरसामुदायिक सम्बन्ध तुलनात्मक सुमधुर छ, आर्थिक, भौगोलिक तथा मानव स्रोतले दिगो विकासको वास्तविक सम्भावना पेश गरेका छन्। नेपाल मुलुकको आमजनलाई दिन सक्ने राम्रो जीवनयापनको सम्भावनाले शुरूआती दिनदेखि नै हिमाल मण्डली हौसिएको हो, र आज पनि हामी उत्साहित छौं।

अन्तर्राष्ट्रिय उपस्थितिको पाटोमा नेपालको सौम्य शक्तिको भण्डार ठूलो छ। अन्तर्राष्ट्रिय मञ्चमा शिर ठाडो गरेर उभिन सक्छ यो मुलुक भन्ने हाम्रो मान्यता हो। नेपालको ‘भिसा रेजिम्’ संसारकै सजिलोमध्ये छ, तर यसको आधारमा हाम्रो देशलाई ‘संसारकै भेटघाटको थलो’ बनाउन सकेका छैनौं।

यता, भारत र चीनबीच वर्तमान ‘शीतयुद्धको अवस्था’ मा नेपालको कूटनीतिक आचरण स्वाभिमानी र चनाखो हुनु जरुरी छ। आफ्नो पार्टीगत राजनीतिका लागि देशको परराष्ट्र नीतिको दुष्प्रयोग गर्ने प्रवृत्ति जुन कतिपय नेताहरूमा देखिन्छ, त्यो निन्दनीय छ र मेटाइनुपर्छ।

जनताको आत्मबल तथा नेपाली हावा-पानी-माटोले दिएको सम्भावना बोकेर देशलाई शान्त र समृद्ध बनाउन हामीले सकिरहेका छैनौं। तर, यसको दोष राजनीतिकर्मी र कार्यकर्तामा मात्र जाँदैन, बौद्धिक वर्ग, व्यवसायी, गैरसरकारी क्षेत्र, नागरिक समाज तथा आमसञ्चारका संस्था र कर्मीहरूले पनि आफ्नो जवाफदेही स्विकार्नुपर्दछ।

आशा गरौं, कोभिड-१९ को कालरात्रि ढिलोचाँडो उघ्रिनेछ। त्यसैको प्रतीक्षामा पनि हिमाल फेरि छापा मासिकका रूपमा पाठकसामु आएको छ। राजनीतिक स्थिरता आजको खाँचो हो, तर त्यति मात्र भनेर पुग्दैन, ‘लोकतान्त्रिक, संसदीय, राजनीतिक स्थिरता’ नेपाली जनताको भावी यात्राको पथप्रदर्शक हो- तसर्थ वर्तमान संविधानको प्रतिरक्षा गर्दै, गैरहिंस्रक राजनीतिद्वारा संसदीय लोकतान्त्रिक स्थिरताका लागि नै हिमाल आगामी दिनमा केन्द्रित हुनेछ।

१ भदौमा प्रकाशित हुने हिमाल मासिकको प्रकाशकीय। 

Post navigation

Previous Post:

उता अफगानान, यता नेपाल

Next Post:

Nepal and the Taliban’s second coming

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes