हिमाल खबरपत्रिका (१–१५ साउन २०६६ ) बाट
सरकारले आफ्ना पीरमर्का बुझिदेयेास्, केही गर्ने आँट र क्षमता देखाइदियोस्, साङ्केतिक रूपमा भएपनि केही गरिछाडोस् भन्ने हुन्छ नागरिकको मनमा । द्वन्द्वकालदेखि कमजोर बन्दै गएको राज्य सम्हाल्नु एकपछि अर्को सरकारका लागि चुनौती थियो र, छ । कानूनी शासन, सक्षम गृह–प्रशासन, मनोबलयुक्त प्रहरी, स्वाभिमानी परराष्ट्र नीति, विकास निर्माणको पुनः थालनी, राजनीतिक स्थायित्व, आर्थिक छलाङजस्ता पहिलेदेखिका आशा र अपेक्षाहरू छँदैछन्, कुनै दलले जनताको निराशालाई उल्ट्याउन सकेका छैनन् । केही नयाँ समस्याहरू प्रधानमन्त्री माधवकुमार नेपालको ढोकामा पनि गएर थुप्रिएका छन्, तर पनि राज्यका भयावह चुनौतीमाझ् हरेक नागरिकका निजी अपेक्षा हुन्छन् । यो लेखकका पनि छन्ः
– काठमाडौं उपत्यकाको कुरा गर्दा आर्यघाट, शङ्खमूल र टेकुमा शवदाह गृह (क्रिमेटोरिएम) बनुन् ।
– यो बर्खामा समथलमा बाढी र पहाडमा पहिरोको प्रकोपबाट छिटोछरितो उद्धारको लागि संयन्त्र ‘तयार’ अवस्थामा रहोस् ।
– बिजुली गाडीले बजेटमा भन्सार सहुलियत पाओस् (जो पाएन) ।
– आउँदो हिउँदमा हुने महा–लोडशेडिङको अवस्था सम्हाल्ने प्रभावकारी योजना बनोस् ।
– काठमाडौं चक्रपथमा ‘लाइट रेल’ दौडियोस् र मुलुकभर ‘सार्वजनिक यातायात’ फस्टाओस् ।
– जनकपुर–ढल्केबर सडकलाई उपेक्षाको खाडलबाट उद्धार गरियोस् ।
– सडक–दुर्घटना न्यूनीकरण योजना कार्यान्वयन होस् (बजेटमा उल्लेख छ) ।
– दुर्घटनाबाट उद्धार गर्दा ‘ट्राउमा केयर’ चाहिने बिरामीलाई ‘च्याकुल्झयाइँ’ पार्दै ओसार्ने प्रवृत्ति अन्त्य गर्ने अभियान चालियोस् ।
– शहरबजारमा ‘भुस्याहा’ भनिने कुकुरलाई ‘सामुदायिक कुकुर’ को संज्ञा दिइयोस् र विष खुवाएर कुकुरको सङ्ख्या नियन्त्रण गर्ने कार्य अन्त्य होस् ।
– रूख रोप्दा विदेशबाट आयातित होइन, रैथाने बिरुवा रोप्ने चलन बढोस् ।
– बागमती ढललाई बागमती नदीमा परिणत गर्न सक्ने जति कामको थालनी आजैदेखि होस् ।
– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पारदर्शी र वैज्ञानिक छनोट प्रक्रियाद्वारा हिउँदसम्ममा दुई होइन, चार वटा हजाईजहाज ल्याओस् ।
– डिसेम्बरमा कोपनहेगेनमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा नेपालले ‘लो कार्बन इकोनोमी’ को लागि विकासोन्मुख राष्ट्रमाझ् नेतृत्वको भूमिका निर्वाह गरोस् ।
– द्वन्द्वकालमा उपद्रव गर्ने सिपाही, छापामार जो–कोहीको ज्यादतीको कानूनअन्तर्गत अनुसन्धानको थालनी होस् । … आदि ।
‘विश लिस्ट’ हरेक नागरिकको लामै हुन्छ र यो पङ्क्तिकारको पनि छ । तर ‘साङ्केतिक’ रूपमा भएपनि अहिल्यै गर्नुपर्ने काम भन्नुहुन्छ भने मेरो मनमा एउटै कुरा घरी–घरी आउँछ, जुन कुरा पूरा भयो भने मेरो लागि चिन्तनशील, क्रियाशील र संवेदनशील सरकार ठाउँमा आएको सूचना मिल्नेछ । र, कुरा अति नै ‘स्पेसिफिक’ छ— साइकल गाडा र अन्य साधनबाट खतरनाक हिसाबले छड, पाता, डण्डी, बाँस, पाइपजस्ता धारिलो र सुइरो परेका सामान पछाडि लामो पुच्छर जस्तो निकालेर ओसार्ने तरिकाको निवारण ।
मुलुकभर बाटोघाटोमा बटुवा र अन्य यात्रुका छाती ताकेर ट्याक्टर, ट्याम्पो, ठेलागाडा, साइकलगाडा, ट्रक अथवा गोरुगाडामा घातक सामानको ढुवानी भइरहेको तपाईं जताततै देख्न सक्नुहुन्छ । एउटा नियम हुनुपर्ने हो— गाडीको चार भित्ताभित्र अट्ने गरी मात्र सामान ओसार–पसार गर्न पाइने । कुनै कुनै सामान बाहिर निकालेर राख्नै परेपनि कम्तीमा पछाडिपट्टि रातो या पहेँलो झ्ण्डा र राति बत्ती बालेर खतराको सङ्केत दिने चलन अनिवार्य हुनुपर्दथ्यो । तर अन्य अनगिन्ती समस्याले पिरोलेका प्रशासन, प्रहरी र नागरिक चिन्तकहरूले यतातिर ध्यान दिनै नपाएको जस्तो छ ।
तर ध्यान दिने बेला भइसकेको छ, किनभने समस्या विकराल हुँदैछ । ढुवानीको यो आपत्तिजनक तरिका विशेषगरी शरीरको कम सुरक्षा हुने साइकल, मोटरसाइकल र स्कुटरमा हिँडेका यात्रुहरूका लागि घातक हुन्छ । रोकिरहेको अथवा हिँडिरहेको छड बोकेको ट्रक पछाडि रोपिएर धेरै मोटरसाइकल यात्रु मरिसकेका छन् भने पाताले काटिएर धेरैको अङ्गभङ्ग भएको छ । मोटरसाइकलमा कहिलेकाहीँ पूरै परिवार बसेको हुन्छ, अझ् अगाडिपट्टि हेण्डल समाउँदै रमाएर नाबालक पनि । बाटोका विभिन्न बाधा–अड्चन छल्दै मोटरसाइकल वेगले कुदिरहेको हुन्छ, अचानक अगाडि फलामे छड पछाडि तेस्र्याएर सुस्त गतिमा हिँडिरहेको साइकलगाडा देखापर्दछ । मोटरसाइकल चालकले एक्कासी त्यो देख्छन्, र छल्दै आफू र आफ्नो परिवारलाई बचाउँदै अगाडि बढ्छन् ।
ढुवानीको यो तरिका कसरी यति खतरनाक हुन्छ भन्ने वैज्ञानिक आधार नियालौं । छेउबाट हेर्दा छड गाडाको पछाडि तन्किएको सबैले देख्दछन्, किनकि त्यो लम्बाइमा तेर्सिएको हुन्छ । तर गाडाको ठीक पछाडि तपाईं हुनुहुन्छ भने गाडा बाहिर निस्केको ८–१० फीटसम्म लामो चोसो पनि आँखाले हत्पत्ति ठम्याउन सक्दैन । ‘प्यारल्याक्स्’ को कारण डण्डी या छडको पातलो ‘मुख’ पट्टिबाट हेर्दा यसको लम्बाइको अनुमान हुँदैन । आँखाले हेर्दा साइकलगाडा या ट्रक अलि परै हुन्छ र तेर्सिएर आफूतर्फ आएको डण्डीमा ध्यान जाँदैन । देखेर छल्न खोज्दा ढिलो भइसकेको हुन्छ कहिलेकाहीँ । मोटरसाइकल चालक सतर्क भएन र एकैछिनको लागि पनि उसको÷उनको मन बरालियो भने सत्यानाश हुन्छ, अनुमान गरेभन्दा नजिक छडको सुइरो भेटिन्छ र दुर्घटना हुनजान्छ । हाम्रो बाटाघाटामा दिनहुँ यस्ता घटना भइरहेका हुन्छन् । सरकार, सामाजिक अगुवा सबैलाई सोध्नुपर्ने कुरा— केही गर्न सकिन्न ?
हरेक सरकारका सामुझैं माधवकुमार नेपालको सरकारका सामु पनि समाजका अनगिन्ती चुनौती र समस्याहरू छन् । सबै कुरामा एकैचोटि ध्यान दिनसक्ने अवस्था छैन । फेरि न्याय, कानून र राज्यव्यवस्था चुस्त बनाउँदै गएपछि समाजमा स्थायित्व तथा आर्थिक अग्रगमन स्थापित हुन्छन् र बाँकी अनगिन्ती समस्या लाखौँ नागरिकको योगदानमा सुल्झ्ँदै जान्छन् पनि । तर पनि हरेक नागरिकले ‘सरकारले यति गरिदिए कस्तो राम्रो हुन्थ्यो’ भन्ने अपेक्षा राख्दछ र यो पङ्क्तिकारको अपेक्षा मैले भनिहालें । गृह–प्रशासन, नगरपालिका, सडक विभाग, ट्राफिक प्रहरीजस्ता संयन्त्रबीच कुरा मिलाएर चोसो परेका घातक सामानको यस्तो असुरक्षित ढुवानीमा तुरुन्त रोक लगाई ‘सभ्य’ पाराले ढुवानी गर्ने परिपाटी बसालिदिए कति राम्रो हुन्थ्यो ! सडकमा मोटरसाइकल चालक तथा अन्य नागरिकको जीउ र ज्यान बच्ने थियो र सरकार नागरिकप्रति संवेदनशील भएको देखिन्थ्यो । मेरो लागि ‘साङ्केतिक कदम’ यही हो ।