हिमाल खबरपत्रिका (१–१५ वैशाख, २०५९)बाट
“लबे मर्यो भनेर हल्ला सुनेको त कुशे पो मरेको रहेछ ।” चोभारको डाँडो चढ्दै गरेको बेला, बिहानीपख गोरेटोमा दुई जना वृद्धबीचको संवादबाट शायद जुम्ल्याहा लब र कुशमध्ये कुनै एक जनाको देहान्त भएको बुझ्यिो । कसैको मृत्युका बारेमा यति सहज तरिकाले कुरा गरेको सुन्दा लाग्यो– अन्ठाउन्न सालले हामीलाई जीवन र मृत्युलाई सजिलो तरिकाले लिन सिकाइदिएछ ! सम्भवतः यही नै थियो २०५८ को क्रूर सौगात नेपाली जनतालाई ।
सन् १९९२ को वर्षलाई बेलायतकी महारानी एलिजाबेथले “एन्नस् हरिबलिस” संज्ञा दिएकी थिइन्– अर्थात् अति दुःखद् वर्ष । यसैगरी गएको १२ महिना नेपाल र नेपालीका लागि कालो वर्ष– एक लामो कालरात्रि भइदियो । अरू तरिकाले पनि वर्ष २०५८ कालो वर्ष हुन गयो– पर्यटन धरासायी भयो, अर्थतन्त्र खस्कियो, देशको प्रतिष्ठामा आँच आयो, र धमिलियो राष्ट्रिय लक्ष्य पनि । नेपालीहरू स्वदेशमै शरणार्थी बन्न पुगे, विकास योजनाहरूमा ‘ब्रेक’ लाग्यो र समाज र अर्थतन्त्र काटिएको चङ्गामा परिणत भए । अर्थतन्त्र र समाज मात्र होइन, देशको साँस्कृतिक जीवनमै हमला भयो ।
सयौँ वर्षदेखि घरमा रहेका, इतिहास सम्झउने भरुवा बन्दुक घरघरबाट या त माओवादीले लगे, या त सरकारलाई बुझइयो । अब त बन्दूक पड्काएर हर्षबढाइँ पनि विरलै गरिएला नेपाली डाँडाकाँडामा । सुदूरपश्चिममा, नगर्चीहरूलाई हातमुख जोड्न अप्ठेरो अवस्था छ किनभने विवाह ब्रतबन्धमा बाजागाजा बज्नै छाडिसक्यो । अन्नपूर्णा भेकमा विदेशी पदयात्रीको लागि भारी बोक्ने भरियाहरूको अहिले काम छैन । गाउँ–गाउँमा राति हिँड्न मिल्दैन । तेह्रथुमको सङ्क्रान्ति डाँडामा पहिलोचोटि यसपालि मदन मेला लागेन । थुप्रै ठाउँका जात्रा र मेलाहरू यो पल्ट लागेनन् । विविध पहाडी संस्कृति यस वर्ष ठहरै पर्यो र कसले भन्न सक्छ यसरी रोकिएको साँस्कृतिक चलन फेरि ब्युँतन्छ वा ब्युँतदैन !
२०५८ साललाई कालो वर्ष भन्नुको कारण चाहिँ अर्कै छ– त्यो हो नेपालीको मृत्युको १२ वर्षभरिको लामो सिलसिला । वर्ष शुरु के भयो, माओवादीले प्रहरी चौकीमा हमला गर्दै दर्जनौँ हवलदार/जवानलाई बन्दुक र बम मार्फत खतम पारे । लगत्तै, झ्ण्डै ३० वर्ष शासन गरेका राजाको रानी र राजपरिवारका अरू कैयन् सहित राजदरबारमै हत्या भयो। । कुनै पनि मुलुकले विरलै भोग्नु परेको पीडा नेपालीले व्यहोर्नु पर्यो । एउटा शाही वंश नै स्वाहा भएको आफ्नै आँखा अगाडि हेर्नु पर्यो र देख्नु पर्यो टेलिभिजनमा आफ्नो राजाको शिर वरिपरि झ्ँिगा भन्केको । त्रासदीको क्रम त्यतिमै रोकिएन– प्रहरी, शिक्षक, राजनीतिक कार्यकर्ता मार्ने क्रम चलिरह्यो माओवादीका हातबाट । त्यसपछि, दुनै, दाङ र अछाम काण्ड भयो, अनि त्यतिबेलासम्म ‘चोखो’ बसेको शाही नेपाली सेनाका सिपाहीको रगत पनि नेपाली माटोमा बग्न थाल्यो ।
अन्ततः सङ्कटकाल लागू भयो, र शुरु भयो कहिले जमिनबाट र कहिले हेलिकोप्टरबाट ‘सुरक्षा फौज’ को कार्बाहीमा दिनको सरदर १०–१२ जनाको सङ्ख्यामा ‘माओवादी’ को मृत्यु हुने क्रम । बन्दुक बोकेर राज्यव्यवस्था गिराउँछु भन्नेले त मर्ने कुरा पनि सोचेको हुनुपर्छ, तर, पर्याप्त सङ्केत छन्, यस्ता कार्बाहीमा माओवादी मात्र मरेका छैनन् । फेरि दश या पन्ध्र जना मरेको अवस्थामा साधारण तर्क लगाउने हो भने, पाँच या दश जना त घाइते हुनुपर्ने हो । तर, घाइते हुनेको खबर विरलै आउँछ । यसबारे प्रश्न पनि गरिँदैन ।
यही क्रममा २०५८ साल बीच कुन बेला हो, मृत्युको खबरले हामीलाई छुन छाड्यो । उपत्यका बाहिर हुने हत्या र हिंसाले नछोएको कुरा छाडौँ, चार भञ्ज्याङ्गभित्रको खबरको पनि अब त्यही परिणति छ । दुई वर्षअघि एउटा काठमाडौँवासी प्रहरी इन्स्पेक्टरको मृत्यु हुँदा अलिक चासो देखिएको थियो । तर, गत हप्ता सेनाका काठमाडौँवासी एक मेजर मर्दा सबैले त्यसलाई सहज तरिकाले लिएको देखियो ।
हुनत राजाकै त्यत्रो भयानक अवसान त देखेका नेपालीलाई अब केले छुने ? नपत्याए हेर्नुस् त, राजा वीरेन्द्र बितेको छ महिना नपुग्दै स्वर्गीय ऐश्वर्यकी बहिनी एवं स्वर्गीय धीरेन्द्रकी धर्मपत्नी, अधिराजकुमारी प्रेक्षा रारा दहमा हेलिकोप्टर दुर्घटनामा परी परलोक हुँदा त्यसलाई एउटा नियमित दुर्घटनाको रूपमा मात्र लिइयो र कसैले प्रेक्षाका लागि शोक मनाएको आभास नै भएन । कुनै बेला कुनै सक्षम इतिहासकारले २०५८ का बारेमा लेख्नेछन्, विश्लेषण गर्नेछन् र भन्नेछन्, “कुनै देशले यस्तो वर्ष खेप्नु परेको थियो, या खेप्नु पर्नेछ ।” नेपालका नेपालीले भने आशा मात्र गर्न सक्नेछन्– त्रासदीले भरिएको यति डरलाग्दो वर्ष २०५८ झ्ेलिसकेपछि आएको वर्ष २०५९ मा त कसो देशको स्थिति अलिकति नसप्रिएला, रनेपालीले शान्तिको सास फेर्न नपाउलान् ? हुन पनि, आश त जहिले पनि गर्न सकिन्छ– साह्रै छिटो बिग्रिएको देश, सप्रिन पनि अति नै छिटो सप्रिन्छ कि, के बेर ! आशा त्यति मात्र रह्यो– मानिसले त देशलाई बचाउन सकेन, देशले मानिसलाई बचाइदेला कि ?